धान रोप्नेको अभावमा 'धान दिवस' - असार १५ विशेष
Posted by
purwanews
Published on
Tuesday, June 28, 2011
हिमाल दहाल-
अघिल्ला वर्षहरुको जस्तो तामझाम छैन । खेतहरु निरश लाग्दा छन् यो वर्ष । असार १५ भनेपछि छुट्टै रौनक हुन्थ्यो खेतमा । आधा भन्दा बढी जमिनमा धान रोपिसकेर दहीच्युरा खाँदै हुन्थे किसान । तर यसपटक अवस्था त्यस्तो छैन । जन नपाएपछि किसानहरुमा चिन्ता छाएको छ, ‘रोपाइ कसरी गर्ने ?’
अघिल्ला असारमा पानीको मात्र समस्या थियो । पानी नपरेको कारण खेतबारी बाँझै हुन्थे । पानी परेको समयमा सुनसरीका आधा जसो खेत रोपाइ गरिसकिएका हुन्थे । असार लाग्दा देखिकै तामझामले खेतबारीको रौनकै भिन्न हुन्थ्यो ।
‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो ।
पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।’
यसरी बाउसे गाउने रोपाहार नहुँदा कमाउनका लागि अधियामा खेत लिने किसानहरु आफै ऋणमा डुब्ने अवस्थामा छन् । किनकी अघिल्ला वर्षहरुमा दिदै आएको ज्यालामा कोही काम गर्न चाहँदैन । अनि फेरी बढी ज्याला दिन पनि सकिँदैन । खनार ४ का भुन्टु चौधरीलाई समयमै काम सकिने हो वा होइन, चिन्ता लागेको छ । ‘जन नै पाउँदैन ।’ उनी भन्छन्, ‘पोहोर डेढ सय दिँदा काम गर्नेहरु अहिले अढाइ सय चाहिन्छ भन्छन्, कहाँबाट ल्याएर दिनु ?’
उनले आफ्नो अढाइ विगाहा खेतको लागि काममा लगाएका रोपाहारहरु पनि बुढा पाका मात्रै देखिन्थे । उनका अनुसार गाउँका लठैतहरु विदेश गइसके रे । बाँकी रहेकाहरु पनि औद्योगिक करिडोरका उद्योगहरुमा काम गर्छन्, दैनिक पाँच सय बढी कमाउँछन् ।

किसान नपाएपछि कामदारहरुको ज्याला बढेको छ । अधियामा खेत लिएका भुन्टुले कामदारलाई बढी ज्याला दिएर काममा लगाउन समेत सक्दैनन् । अन्यत्र काम नगर्ने र घरैमा बसेर दिन बिताउने महिला तथा वृृद्धहरु मात्र पाइन्छन् धान रोप्न । ती पनि भनेजति ज्याला दिएमा मात्र ।
यता जिल्ला कृषि विकास कार्यालयले समेत सुनसरीको २० प्रतिशत जमिनमा मात्र खेती भएको जनाएको छ । तर कार्यालयका प्राविधिकलाई भने कामदार अभाव भएको कुरा थाहै छैन । किसानहरुले एकैपटक काम गर्ने हुँदा धान रोप्ने मानिसको अभाव हुने कार्यालयका प्राविधिक दुर्गा सिग्देलको ठम्याइ छ । ‘समस्या हुँदा पानीको समस्या हुने हो, पानी छ भने कामदारको त्यस्तो समस्या नहोला ।’ उनले भनिन् ।
सुनसरीमा करिब ५६ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । जसबाट वार्षिक करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुन्छ । मनसुन सुरु भइसक्दा समेत खाद्यान्न उत्पादन गर्ने जनशक्ति अभाव तथा मनसुन झरी असार अघि नै सुरु भएका कारण यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । असार १५
प्रतिक्रिया दिनुहोस् >>