वर्षकै महँगो विवाह
Posted by
purwanews
Published on
Sunday, May 8, 2011
गत अप्रिल २९ तारिख शुक्रबार। बेलायतको राजदरबार बकिंघम प्यालेसमा लामो समयपछि एउटा भव्य समारोह सम्पन्न भयो। राजकुमार विलियम तथा उनकी प्रेमिका केट मिडल्टन औपचारिक रूपमा विवाह-बन्धनमा बाँधिए। अब विलियम अधिराजकुमार ड्युक अफ क्याम्बि्रज बनेका छन् भने मिडल्टन अधिराजकुमारी डचेज अफ क्याम्बि्रज भएकी छिन्। बेलायती राजपरिवारको परम्पराअनुसार उनीहरूले ती उपाधि पाएका हुन्। विवाहपछि केट अब क्याथरिनका नामले बोलाइनेछिन्।
भव्य समारोहबीच बेलायतको वेस्टमिनिस्टर एबेमा विलियम र केटको विवाह भएको हो। वेस्टमिनिस्टर एबे प्रसिद्ध गिर्जाघर हो। त्यहाँ इसाइ परम्पराअनुसार विभिन्न समारोह हुन्छन्। विलियम र केटको विवाह पनि इसाई परम्पराअनुसार नै भएको हो। उक्त दिन सिंगो विश्वको ध्यान उक्त वैवाहिक समारोहमा थियो। करिब २ अर्ब दर्शकले टेलिभिजन र अन्य सञ्चार-माध्यमबाट उक्त समारोहलाई प्रत्यक्ष रूपमा हेरेका थिए। करिब १ हजार ९ सय अतिथिलाई उक्त समारोहमा आमन्त्रण गरिएको थियो। विलियमकी हजुरआमा अर्थात् हालकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले ६ सय ५० अतिथिका लागि विशेष भोजको व्यवस्था गरेकी थिइन्। करिब ९० मिनेटको वैवाहिक समारोह सकिएपछि उनीहरू नवदम्पतीले बकिङ्घम प्यालेसको बरन्डामा उभिएर सर्वसाधारणको विशाल भीडसँग शुभकामना आदानप्रदान गरेका थिए। उक्त अवसरमा उनीहरूले एक-अर्कालाई चुम्बन गरे। उनीहरूको चुम्बन देखेर भीड उत्साहित भएको थियो। यो चुम्बनको चर्चा अब सधैं हुनेछ।
विवाहमा केटले लगाउने पहिरनका बारेमा सबैको चासो थियो। उक्त दिन उनको पहिरन कस्तो हुन्छ भन्ने कुरा गोप्य नै राखिएको थियो। उनी लेसयुक्त लामो सेतो पोसाकमा देखिइन्, जसलाई म्याक्विनकी सारा बुर्टनले डिजाइन गरेकी थिइन्। कुनै समय मोनाकोकी राजकुमारी ग्रेस केलीले विवाहमा लगाएको पोसाकलाई सबैभन्दा राम्रो मानिएको थियो। केटको अहिलेको पोसाक त्यही पोसाकवाट प्रभावित भएको मानिन्छ। विवाहमा सैनिक पोसाकमा सजिएका राजकुमार तथा रंगीन र स्टाइलिस पोसाकमा सजिएका राजपरिवार र अतिथिहरूको फेसनले समेत सबैको ध्यान तानेको थियो।
यो विवाह वर्षकै सवैभन्दा महँगो विवाह भएको विभिन्न सञ्चार माध्यमले बताएका छन्। विवाहमा करिब ७ करोड अमेरिकी डलर अर्थात् करिब ५ अर्ब रुपैयाँ खर्च भएको छ। विवाहमा सुरक्षा खर्च मात्र ३ करोड ३० लाख अमेरिकी डलर लागेको थियो। विवाहको सुरक्षामा २ सय उच्च प्रहरी अधिकृतसहित ५ हजार प्रहरी र ३५ तालिमप्राप्त कुकुर खटिएका थिए। विवाहका लागि आवश्यक फुलका लागि ८ लाख अमेरिकी डलर खर्च भयो। त्यसैगरी बेहुली अर्थात् केटको पहिरनका लागि ३ देखि साढे ४ लाख डलर खर्च भएको अनुमान गरिन्छ। विवाहमा प्रयोग भएको केकको मूल्य नै झन्डै ७८ हजार अमेरिकी डलर थियो। त्यसैगरी पाहुनाहरूका लागि बनाइएको खानाका लागि ६ लाख तथा सरसफाइका लागि ६३ हजार अमेरिकी डलर खर्च भएको थियो।
वैवाहिक समारोहमा महारानी एलिजावेथ द्वितीया, उनका श्रीमान् राजकुमार फिलिप, विलियमका पिता चाल्र्स, चाल्र्सकी दोस्री पत्नी क्यामिला, राजपरिवारका सदस्यहरूका साथै कैंयौ चर्चित व्यक्तित्व उपस्थित थिए। विलियम चाल्र्स र स्वर्गीय राजकुमारी डायनाका पुत्र हुन्। डायना पनि एक समय निकै चर्चित थिइन्। सन् १९९७ मा कार दुर्घटनामा परेर उनको मृत्यु भएको थियो। चाल्र्सले क्यामिलासँग दोस्री श्रीमतीका रूपमा सन् २००५ मा विवाह गरेका हुन्।
विवाहपश्चात विलियम र केट एक हप्तासम्म बकिङ्घम प्यालेसमै छन्। त्यसपछि विलियम आफ्नो काममा र्फकनेछन्। विलियम हाल रोयल एयर फोर्सको सर्च एन्ड रेस्क्यु पाइलटका रूपमा कार्यरत छन्। उनी सामान्य व्यक्तिसरह नै त्यहाँको सैनिक सेवामा कार्यरत छन्। हनिमुनका लागि उनले बिदा स्वीकृत गराउनुपर्छ। उनीहरूको हनिमुन कहाँ हुन्छ भन्ने कुरा गोप्य राखिएको छ। पत्रकार र अरूले पिछा गर्ने डरले त्यसलाई गोप्य राखिएको बताइन्छ।
बेलायती राजपरिबारमा ओहोदाका हिसाबले केट ४६ औं स्थानमा रहनेछिन्। वरियताक्रमअनुसार पहिलो नम्बरमा महारानी एलिजावेथ, त्यसपछि राजकुमार चाल्र्स, विलियम, उनका भाइ ह्यारी गर्दै केट ४६ औं नम्बरमा छिन्।
बेलायतमा राजपरिवार निकै सम्मानित मानिन्छ। यो राजतन्त्र विश्वमै उदाहरणीय पनि छ। राजनीतिमा खासै चासो नराख्ने र एउटा परम्पराका रूपमा रहेकाले पनि बेलायतीहरूले राजतन्त्रलाई गर्वका रूपमा लिएको पाइन्छ। यसले गर्दा पनि विलियम र केटको विवाहको चर्चा धेरै भएको हो।
नेपालीहरूले पनि विलियम र केटको विवाहको अवसरमा बधाई दिए। बधाई दिन चाहनेहरूका लागि नेपालस्थित बेलायती दूतावासले लैनचौरको आफ्नो कार्यालयमा शाही विवाह बधाई ज्ञापन पुस्तक अर्थात रोयल वेडिङ बुक अफ कङ्ग्रयाचुलेसन्सको व्यवस्था गरेको थियो। उक्त अवसरमा नेपालीहरूले केट तथा विलियमको सफल वैवाहिक जीवनका लागि शुभकामना प्रदान गरेका थिए। यसबाहेक नेपालमा रहेका अन्य देशका राजदूत एवं सर्वसाधारणले समेत शुभकामना प्रदान गरे। (saptahik)
प्रतिक्रिया दिनुहोस् >>