उपन्यास अंश
Posted by
purwanews
Published on
Sunday, May 8, 2011
... आइसक्रिम सकिनै लाग्दा चिरिक्क घाम चक्र्यो । मैले निधारभरी टलपलाउँदा पसिना हातैले पुछेँ । अचानक हातको बिचबाट एउटा मानिसको अनुहार देख्दा देख्दै भाग्यो । मैले यता उती हेरेँ । तर देखिँन । तर त्यत्ती नै बेला, दश सेकेण्डभित्रै मेरा वरीपरी बसीरहेका मानिसहरु ज¥याकजुरुक उठे । अनि चौक तिर लागे । मैले देखिरहेको थिएँ, चारैतिरबाट त्यसरी नै युवाहरु चौकतर्फ गइरहेका थिए । अब के हुने हो ? हठात् म बसेको ठाउँबाट उठेँ । औंला टोकेँ । अब के हुने हो ?
हेर्दा हेर्दै उनीहरुले पछाडी लुकाएर बोकेको मुङ्ग्रा र रड निकाले । अनि शालिकको बार नाघेर भित्र पसे । ३०–४० जनाको संख्याले शालिक भएको स्थान पुरै भरियो । एक माथि अर्को खप्टिँदै केही मानिस त्यो शालिकको टुप्पामा पुगे र शालिकमा मुङ्ग्राले हान्न थाले । अहो । म त्यतीबेला आश्चर्यले झण्डै ढलेँ । शीर्ष स्थानमा बसेर शालिक फुटाउने त्यो मानिसलाई मैले निकै ध्यान दिएर हेरेँ । निकै नियालीसकेपछि म निश्चित भएँ कि त्यो मानिस त्यही गोविन्द हो । म विस्मित मुद्रामा केही बेर त्यत्तीकै उभिएर टोल्हाउन थालेँ । अचानक कुनै ठूलो आवाजले म झस्केँ । देखेँ, शीर्ष स्थानमा बसेर मूर्ती फुटाउने त्यो व्यक्तिको हातबाट मुङ्ग्रो उछिट्टीयो । आहत भएर लड्यो । म आत्तिएँ । वरीपरी हेरेँ । अनि बेवास्तापूर्ण तरिकाले त्यही भिड तिर गएँ । मैले विश्वास नै गर्न सकिरहेको थिइँन कि त्यो मानिस गोविन्द हो, अनि त्यसलाई भर्खरै गोली लागेको छ ।
हिड्दा हिँड्दै फेरी अर्को आवाज आयो । भन्न रिँगटा लाग्यो । माथि आकाशमा हेरेँ, एउटा होइन, निकै सूर्यहरु चम्किरहेको देखेँ । खुट्टामा निकै पीडा भइरहेको थियो । कसैसँग सहारा खोज्दा खोज्दा खोज्दै म बिच बाटोमा पछारिएँ । एकछिनसम्म तातेको रोडको तातो राप अनुभव गरेँ । अनि अन्धकार ...
---
आँखा खोल्दा म अस्पतालमा थिएँ । खुट्टामा निकै पीडा भइरहेको थियो । हेरेँ, पट्टी बाँधिएको थियो । यताउती हेरेँ, कोही देखिँन । म उठ्न खोजेँ । ‘आराम गर्नुस् ।’ कतैबाट सेतो पोशाकमा नर्स देखिइन्, ‘तपाइ निकै कमजोर हुनुभएको छ ।’ उसले भनी । मैले केही सोध्न खोजेँ । तर घाँटी ख्याप्प बसे जस्तो अनुभव गरेँ ।
फेरी उसैले भनी, ‘तपाइँ त निकै साहसी हुनुहुँदो रहेछ ।’
ऊ मेरो नजिक आइ अनी मेरो प्रतिक्रिया जान्ने हिसाबले भनी, ‘यती सानै उमेरमा गोली खानुभयो, अलि पछि तपाइ पक्कै नेता बन्नुहुनेछ ।’
उसले त्यसरी भनेपछि मात्र मैले थाहा पाएँ, कि मलाई गोली लागेको रहेछ । हो, त्यतीखेर मलाई खुट्टामा निकै पीडा भएको थियो । चर्को घाम, भीड र आफ्नो साथीलाई गोली लागेको पीडाको अघि मलाई लागेको गोलीको कष्ट केही लागेन मलाई । मैले फेरी आफ्नो खुट्टातिर हेरेँ अनि सोचेँ, धन्न त्यो गोली मेरो अघि झुकेछ । गोली मेरो छातीमा लागेको भए ... ??? ...
आफैमा एउटा कथा बनिसकेको मेरो उपन्यासको अन्तीम तिरका केही अंश , शिक्षा, प्रेम र समाजसँगको एउटी किशोरीको अनुभव, यसअघि यसै ब्लगमामा राखिएका केही अंशहरु को लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस् >>