सिलिण्डर बम काण्ड : हालसम्मका घटनाहरु





प्रशासनको मिलेमतोमा सुगम ग्यासका सिलबन्द सिलिन्डर गायब

सुनसरीको खनारस्थित नेपा पेट्रोलियम टे्रड लिंक्स प्रालिमा अवैध रूपमा भण्डारण गरिएका विभिन्न ग्यास कम्पनीका सिलिन्डर प्रशासनले सिलबन्द गरेकै अवस्थामा प्रशासनको मिलेमतोमा अन्यत्र स्थानान्तरण गरिएको खुलासा भएको छ ।
शिवप्रसाद घिमिरे सञ्चालक रहेको नेपा पेट्रोलियम टे्रड लिंक्स प्रालिमा नेपाल ग्यास विक्रेता संघको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वले गत वैशाख २२ मा छापा मारी अवैध रूपमा संकलन गरिएका विभिन्न ग्यास कम्पनीका १५ हजारभन्दा बढी सिलिन्डर जफत गरी सिलबन्द गरिएको थियो ।
प्रशासनले छापा मार्दा फुटरिङ काटिएको अवस्थामा विभिन्न कम्पनीका सिलिन्डरका साथै जडान गर्न तयार गरिएका सुगम ग्यासका फुटरिङ फेला परेका थिए ।
उपभोक्ताको जीउधनमाथि खेलवाड गर्ने गरी जोखिमपूर्ण ग्यास बजारमा वितरण गर्ने सुगम ग्यास तथा नेपा पेट्रोलियम टे्रड लिंक्स प्रालिका सञ्चालक घिमिरेमाथि कारबाहीका लागि चौतर्फी दबाब आइरहेका वेला सुनसरी प्रशासनको मिलेमतोमा सिलबन्द गरिएकै अवस्थामा ग्यास सिलिन्डर अन्यत्र स्थान्तरण गरिएको पत्ता लागेको छ ।
दसैँको मौका छोपी मुद्दा कमजोर बनाउन आर्थिक चलखेल गरी सिलबन्द जोखिमयुक्त सिलिन्डर प्रशासनकै मिलेमतोमा अन्यत्र स्थानान्तरण गरिएको दाबी खनारका स्थानीयको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा नापतौल क्षेत्रीय कार्यालय, वाणिज्य घरेलु तथा साना उद्योग, उपभोक्ता मञ्चलगायत सरोकारवाला सम्मिलित टोलीले उजुरीका आधारमा सिल गरिएका ग्यास सिलिन्डर रातारात गायब बनाइएको छ ।
अनुगमनका क्रममा सुगम कम्पनीका फुटरिङ जडान गरी बजारमा पुर्‍याउन तयारी अवस्थामा राखिएका दुई हजार थान सिलिन्डर र सुगम ग्यासका सैयौँ फुटरिङ फेला परेका थिए । रङ लगाइएका ग्यास सिलिन्डर कमजोर हुने भएकाले चाप बढेपछि जुनसुकै समयमा पनि सिलिन्डर पड्कन सक्ने खतरा हुन्छ । बजारमा जोखिमयुक्त ग्यासका सिलिन्डर तीन लाख भएको अनुगमनका क्रममा पत्ता लागेको थियो । घिमिरे जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माको प्रत्यक्ष संग्लनतामा ३८ लाख ४३ हजार रुपियाँ नगद धरौट राखी रिहा भएका थिए । भदौ १२ मा प्रहरीले सुनसरीको सदरमुकाम इनरुवाबाट नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाइएका भनिएका घिमिरे जिल्ला प्रशासन कार्यालयमा हाजिर नै नभई बिगो राखेर रिहा भएका थिए ।
धादिङमा रहेको सुगम ग्यास कम्पनीका विषयमा जिल्ला प्रशासनले कारबाही गर्न बाँकी रहेकाले घिमिरेलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले धरौटी बुझी थप कारबाहीका लागि धादिङ पठाउनुपर्नेमा एकाएक ग्यास सिलिन्डर गायब गरिएको छ ।  उपभोक्ता हित संरक्षण ऐन, नापतौल तथा गुणस्तर विभाग, घरेलु तथा साना उद्योग कार्यालय सुनसरीलगायत सम्बन्धित सरोकारवाला निकायले घिमिरेमाथि कारबाहीको नसकिएको बताउँदै आएका छन् । प्रेम बाँस्तोला, २९ असोज

"भेष बद्लेर गएको थिएँ ।"
कालोबजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय सुनसरीमा ३८ लाख ४३ हजार रुपैया धरौटी बुझाएको भोलीपल्ट सुगम ग्याँसका सञ्चालक शिव घिमिरेले धरौटी बुझाउन र बाँकी बयान सक्न विहीबार भेष बदलेर कार्यालय पुगेको दावी गरेका छन् ।
सञ्चार माध्यम र विभिन्न सरकारी निकायले आफ्नो एकोहोरो खेदो गरेको आरोप लगाउँदै उनले सञ्चारकर्मीहरु आफूलाई पर्खेर बसेको थाहा पाएपछि आफू टोपीले मुख छोपेर भित्र पसेको जनाए ।
ग्याँस सिलिण्डरको चोरी र फुटरिङ परिवर्तनमा संलग्न रहेको आरोपमा विभिन्न निकायबाट कारवाही भोग्ने क्रममा रहेका घिमिरेले धरौटी बुझाइसकेपछि इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आफू कार्यालय समयमै गएर धरौटी बुझाएको घिमिरेले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग मिलेर रातारात धरौटीमा कारवाही भोगिसकेका घिमिरेले फुटरिङ परिवर्तन गरिएको सिलिण्डर बरामद गरीएको स्थान सुनसरीको खनारस्थित नेपाः पेट्रोलियम ट्रेड लिंक अर्कै व्यक्तिलाई भाडामा दिइसकेको जनाउँदै आफू दोषी नभएपनि कानुनी झण्झटबाट बच्न धरौटी तिरेको दावी समेत उनले गरे । 
जिल्ला प्रशासन कार्यालयमा १३ गते रातारात कागजपत्र मिलाएर विहीबार ३८ लाख ४३ हजार रुपियाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका थिए । विहीबार पत्रकारहरु आफूलाई प्रशासन कार्यालयमा कुरेर बसेको थाहा पाएपछि टोपी लगाएर कसैले नचिन्ने भएर गएको र लेखा फाँटमा अन्तीम काम सकेर बाहिरीएको दावी उनको थियो । 
सञ्चारकर्मीहरु भने विहीबार विहानैदेखि घिमिरे आउने सुचना पाएर विहीबार प्रशासन कार्यालयमा कुरेर बसेका थिए । विहीबार पत्रकारहरुको सामना गर्नुपर्ला भनेर लुकेर गएको बताउने घिमिरेले शुक्रबार विभिन्न सञ्चारमाध्यममा शंकास्पद कारवाही सम्बन्धि समाचार प्रकाशित भएपछि पत्रकार सम्मेलन गर्ने भएका थिए । उनी पत्रकार सम्मेलनमा निम्तो गर्न इटहरीको सडकमा पत्रकारहरुले समाचार संकलन गरिरहेको ठाउँमा समेत आएका थिए । १६ भदौ


पत्रकार ढाँटे प्रमुख जिल्ला अधिकारीले :
ग्याँस सिलिण्डरको फुटरिङ काटेर अवैद्य रुपमा व्यवशाय गर्ने व्यवसायी शिवप्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालयमा कार्यालय समयमा उपस्थित नै नभइ ३८ लाख ४३ हजार रुपियाँ धरौटी बुझाएर चोखिएका छन् । 
घिमिरे जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यालय समयभित्रै उपस्थित भएर धरौटी बुझाएर गएको प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माले बताएपनि घिमिरे विहीबार इनरुवा नै नपुगेको स्रोतले जनाएको छ । विहिबार १० बजे नै प्रशासन कार्यालय पुगेका घिमिरेले बैंक जमानत राखेपछि उनलाई सही गराएर छाडिएको शर्माले जनाएका छन् ।
कार्यालय समयभित्रै ‘फस्र्ट आवर’ मा घिमिरे कार्यालय पुगेर धरौटी बुझाएको भनिएपनि घिमिरे जिल्ला प्शासन आउने सुचना पाएपछि नौ बजे देखि नै कार्यालयमा कुरेर बसेका पत्रकारहरुले भने न त घिमिरेलाई प्रशासन कार्यालयमा भेटे, न त प्रमुख जिल्ला अधिकारी नै १० बजे कार्यालय पुगेका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे साढे ११ बजेपछि मात्र कार्यालय प्रवेश गरेका थिए । पहिला सहायक प्रमुख जिल्ला अधिकारी र त्यसपछि प्रमुख जिल्ला अधिकारी कार्यालय प्रवेश गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी शर्माले भने १० बजे नै घिमिरे स्वयं प्रशासन कार्यालयमा उपस्थित भएर धरौटी बुझाएर गएको भनी सञ्चारकर्मीलाई ढाँटेका छन् । घिमिरे आउने सुचना पाएर विहीबार विहानैदेखि प्रशासन कार्यालयमा कुरेर बसेका सञ्चारकर्मीहरु घिमिरे प्रशासन कार्यालय पुगेर धरौटी बुझाएर गएको जवाफ शर्माबाट पाएपछि छक्क परेका थिए ।
घिमिरेले कसरी धरौटी बुझाए भन्ने विषय अहिले शंकाको घेरामा परेको छ । धरौटी बुझाउनको लागि प्रशासन कार्यालय नै पुग्नुपर्ने र हस्ताक्षर गर्नुपर्ने भएपनि जिल्ला प्रशासन सम्बद्ध स्रोतले भने घिमिरे कार्यालय समय भन्दा अघि नै कार्यालय पुगेर धरौटी बुझाएको हुनसक्ने संकेत गरेका छन् भने केहीले घिमिरे धनाढ्य व्यवशायी भएकै आधारमा प्रशासनका कर्मचारी नै घिमिरेको सुविधा अनुसार कार्यालय बाहिर गएर धरौटी लिएको हुनसक्ने बताएकाछन् । ‘घिमिरेको लागि कार्यालय समय अघि वा पछि कार्यालय खोलेर काम गरिएको हुनसक्छ ।’ एकजना कर्मचारीले भने, ‘कानुुनले नदिने भएपनि बेलाबखत यस्ता काम जिल्ला प्रमुखको आदेशमा हुँदा रहेछन् ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माले उनीमाथि कालाबजारी गरेको अभियोगमा १० वर्षसम्म कैद वा बिगो बमोजिमको जरिवाना गर्ने व्यवस्था भएअनुसार धरौटी लिएर छाडिएको बताएका छन् । तर उनले जमानी राखेको बैंकको बारेमा समेत जानकारी दिन सकेनन् । उनले धरौटी बुझाएको बैंक जमानत आफूसँग नभएको उत्तर दिएपछि धरौटी लिइएको हो वा होइन, समेत स्पष्ट हुन सकेको छैन । 
गत भदौ १३ गते प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएका व्यवसायी घिमिरे सो दिन समेत गैह्रकानुनी रुपमा राती सात बजे छाडिएका थिए । जिल्ला प्रहरी कार्यालयले थुनामा राख्न भन्दै प्रशासन कार्यालय पठाएको जनाएपनि शर्माले उनलाई सात बजे छाडेका थिए । कारवाहीको लागि आधारभुत काम गर्ने प्रयासमा अबेरसम्म बसेपनि गर्न नसकिएकोले उनलाई बुधबार कार्याल समयभित्रै उपस्थित हुने शर्तमा छाडिएको शर्माले बताएका थिए । घिमिरेलाई सो समयमा नै धरौटीमा छाड्ने आश्वासन शर्माले दिएको समेत स्रोतले जनाएको छ । बुधबार घिमिरे प्रशासन कार्यालय पुग्ने भनिएपनि तीजको विदाका कारण उनीमाथिको कारवाही एक दिन ढिला भएको हो । ‘धरौटीमा छाड्ने प्रक्रिया मंगलबार नै पुगीसकेको थियो ।’ स्रोतले भन्यो, ‘पत्रकारको आँखा छल्न मात्र घिमिरे विहीबार प्रशासन कार्यालय पुगेको भनेर ढाँटिएको हो ।’
अवैध रुपमा उपभोक्ताको स्वास्थ्यमा हानी गर्नेगरी ग्याँसको फुटरिङ काटेर लेवल परिवर्तन गरी ग्याँस बेचेको आरोप लागेका घिमिरेमाथि तात्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले विभिन्न कार्यालयलाई परिपत्र गरी नियमानुसारको कारवाही गर्न निर्देशन दिएका थिए ।
उपभोक्ता हित संरक्षण ऐन, नापतौल तथा गुणस्तर विभाग, घरेलु तथा साना उद्योग कार्यालय सुनसरी लगायतका निकायले समेत व्यवसायी घिमिरेलाई कार्वाही गर्न बाँकी छ । यसअघि व्यवसायी घिमिरेलाई वाणिज्य विभागले अभियोगको कसुर अनुसार ५ लाख जरिवाना सहित धादिङमा रहेको सुगम ग्याँस उद्योग ६ महिना सञ्चालनमा रोक लगाई सकेको छ । १५ भदौ



शिव घिमिरे पक्राउ परेर छाडिए
पिँध काटि सिलिण्डर बेचेको अभियोगमा विभिन्न आधा दर्जन निकायले कारवाही चलाएका व्यवशायी शिव घिमिरेलाई पक्राउ गरेर छाडिएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आएका प्रहरीहरुले सुनसरीको इटहरीबाट उनलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पुर्याएको जनाइएको छ । उनलाई कारवाही चलाउन प्रारम्भिक प्रयास गरेतापनि समय अभावका कारण कारवाहीको प्रारम्भिक प्रक्रिया समेत चलाउन नभ्याइएकोले उनलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने शर्तमा छाडिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले जनाउनुभयो ।
शर्माले आफूले घिमिरेलाई बढीमा १० वर्ष कैद वा विगो बमोजिमको जरीवाना गर्न सक्ने भएकोले सोही अनुसार कारवाही प्रक्रिया अघि बढाइने जनाउनुभयो ।
घिमिरे प्रहरीले कार्यालयमा उपस्थित हुन आदेश जारी गरेतापनि फरार थिए । उनीमाथि विभिन्न आधा दर्जन बढी आरोप छ र विभिन्न निकायले कारवाहीको प्रक्रिया अघि बढाइसकेको छ । उनलाई सुनसरीका प्रमुख जिल्ला अधिकारीले कालोबजारी ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउनेछन् । भदौ १३


सुगम ग्यासलाई आयल निगमको संरक्षण 
उपभोक्तालाई असुरक्षित सिलिन्डर बेचेकोमा 'कम्पनी खारेजी' सम्मको कारबाही हुनुपर्छ भनिएको सुगम ग्यासलाई आयल निगमले उल्टै संरक्षण दिएको छ। पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे सञ्चालक रहेको यो कम्पनीको बजार हिस्सा नगुमोस् भन्ने सदासय राख्दै निगमले सुगम ब्रान्डको कारोबार जारी राख्न अनुमति दिएको छ।
निगमले चार दिनअघि एभरेस्ट ग्यास उद्योगलाई सुगमको सिलिन्डर भरेर बिक्री गर्न अनुमति दिएको हो। एभरेष्ट उद्योगले ग्यास भरेपनि सुगमलेनै ग्यास बिक्री गर्न पाउनेछ। निगमले बजारमा सुगमको ४० हजार सिलिन्डर रहेको र त्यो मध्ये काठमाडौं उपत्यकामा १७ हजार सिलिन्डर एभरेस्ट ग्यासलाई भर्न दिएको हो।
निगमको उच्च अधिकारीको मिलेमतोमा जोखिममा रहेको सुगमको ग्यास सिलिन्डरमा ग्यास भरेर बिक्री गर्न दिइएको स्रोतले बतायो। निगमले अर्काको पिँध काटेको पुष्टि भएपछि सुगमको ग्यास आयात इजाजत रोक्का मात्र गरेको थियो। व्यापक दबाबपछि ग्यास आयात इजाजत मात्र रोक्का गरेको निगमका उच्च अधिकारीले एलपी ग्यास कारोबार सम्वन्धी विनियमावलीको आफ्नो अनुकुल व्याख्या गदै सुगमलाई ग्यास कारोबार गर्न अनुमति दिएको हो।
निगमले एलपी ग्यास कारोबार सम्वन्धी विनियमावलीको १७ टेकेर सुगमको ग्यास सिलिन्डिर बिक्री गर्न दिएको दावी गरेको छ। यो बुँदामा कुनै कारणवश उद्योग पूर्ण, आशिंक वा अस्थायी रुपमा सञ्चालनमा नरहँदा ग्यास आपूर्ति गराउन नसकेको कुरामा निगम विश्वस्त भएमा अन्य उद्योगमा ग्यास भराउन दिनसकिने उल्लेख छ। यही बुँदामा टेकेर निगमले सुगमलाई ग्यास भर्न दिएको दावी गरेको छ।
'हामीले विनियमावली टेकेर सुगमको ग्यास भर्न अनुमति दिएका हौ,' निगमका प्रवक्ता मुकुन्द ढुंगेलले विहिवार नागरिकसँग भने, 'उपभोक्ताले ग्यास नपाउने अवस्था आएकोले यो निर्णय गर्नुपरेको हो।' उनका अनुसार सुगमका सिलिन्डर एभरेस्टले भर्नेछ भने त्यसमा एभरेस्टको सिल लगाइनेछ।
सुगमको सिलिन्डिर भरेरपछि उसकै डिपो मार्फत बिक्री हुनेछ। 'एभरेस्टको प्राविधिक सहयोगमा सुगमको सिलिन्डरमा ग्यास भरिनेछ,' उनले भने। निगमले सुगमलाई दिदै आएको ग्यासको कोटा एभरेस्ट ग्यासलाई दिने निर्णय गरेको छ।
सुगमलाई मासिक रुपमा दिइने ग्यास मध्ये २ सय टन एभरेस्ट ग्यासले पाउनेछ। उपभोक्ताको अनुरोधको आधारमा सुगमको ग्यास सिलिन्डर भर्न दिइएको दावी गरेपछि उपभोक्ताको बारेमा निगमले केही खुलाएको छैन।
'छदमभेषी नाममा कुनै उपभोक्ताको आधार बनाएर निगमले सुगमको ग्यास बिक्री गर्न अनुमति दिएको छ,' निगमका एक अधिकारीले विहिवार नागरिकसँग भने, 'ग्यास कारोबारमा अनियमितता गर्दा कुनै कानुन नभएको भनेर पन्छिने निगमका उच्च अधिकारीले बम पनि बिक्री गर्न दिदाँ रहेछन्।'
तर फुटरिङ र नेकरिङ गरिएको भेट्टिएको ग्यास कम्पनीलाई ग्यास भर्न दिनु उपभोक्ता माथिको खेलवाड भएको ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। 'फुटरिङ र नेकरिङ गरिएका १५ हजार भन्दा बढी ग्यास सिलिन्डिर प्रमाणसहित भेटिएको कम्पनीका ग्यास सिलिन्डर भरेर बिक्री गर्न दिनु निगमभित्रको भष्ट्राचारको चरम रुप हो,' उनले विहिवार नागरिकसँग भने, 'उपभोक्तालाई बम बिक्री गर्न दिने निगमका अधिकारीलाई कारवाहीको कठघरामा उभ्याउनुपर्छ।' उनले सुगम ग्यासका सञ्चालकले उपभोक्तामाथि ठगी गरेकोले उनीहरुको रकम फिर्ता गर्न दबाब दिनुपर्नेमा निगमले बैधता दिएको आरोप लगाए।
'उपभोक्ताको भबिष्यमाथि खेलवाड गर्नेले उनीहरुको रकम फिर्ताको निर्णय गर्नुपर्थ्यो,' अर्यालले भने, 'निगमले चोरलाई चौतारो दिने काम गरेको छ।' धादिङस्थित सुगम ग्यासले सुनसरीको खनारमा १५ हजार ३ सय १४ थान चोरीका सिलिन्डर पिँध काटेर तयारी अवस्थामा राखेको एकमहिना अघि फेला परेको थियो। घिमिरे नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्।
पिँध काटिएका सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। ग्यास बाल्दाबाल्दै तापक्रम बढ्दा चुहिएर विष्फोट हुनसक्छ। सिलिन्डर दुर्घटनामा गत वर्ष माओवादी सभासद रामकुमारी यादवको मृत्यु भएको थियो। त्यसै वर्ष वीर अस्पतालमा ग्यास विष्फोटनबाट ज्यान गुमाउनेमा यादवसहित ६ जना थिए। यस्तो सिलिन्डर ओसारपसार गर्दा पनि बढी दबाब पर्‍यो भने पड्कन सक्छ। भारतमा कसैले यस्तो सिलिन्डर बेच्यो भने तत्काल कम्पनीको इजाजत खारेज हुने व्यवस्था छ। (जेठ १९- Nagarik)


घिमिरेले पार्टी गुहार्न थाले
इटहरी/उपभोक्ताहरुले सुगम ग्याँसका सञ्चालक शिवप्रसाद घिमिरेविरुद्ध कानुनको ढोका ढक्ढक्याउन थालेपछि घिमिरेले भने विभिन्न राजनीतिक दलको ढोका ढक्ढक्याउन थालेका छन् ।
जिउ ज्यान नै खतरामा पार्ने गरी फुटरिङ (सिलिण्डरको पिँध) काटेर व्यवशाय सञ्चालन गरेको भन्दै उपभोक्ता तथा व्यवशायीहरुले विरोध तथा उजुरी गरेपछि घिमिरे दलको शरणमा पुगेका छन् ।
उपभोक्ताबिभिन्न ग्यास उद्योगका खाली सिलिण्डर चोरी गरि फुटरिङ गर्ने(पिँध ) काटेर आफ्नो कम्पनीको लेवल लगाउने सुगम ग्यास उद्योगका संचालक शिबप्रसाद घिमिरे कानूनी कार्वाहीमा पर्ने भएपछि बचाउका लागि मुख्य राजनितिकदलको ढोका ढक ढक्याउन थालेका छन् ।
उनका विरुद्ध विभिन्न निकायबाट मुद्धा परेपछि र गृह मन्त्रालयले पनि कडा कानूनी कार्वाही गर्ने बताएपछि अत्तालिएका घिमिरे बचाउका लागि दलका माथिल्लो तहकै नेताहरुको घर दिनहुँ धाइरहेको उनि निकट स्रोतले जनाएको छ ।
घिमिरेले सबै भन्दा पहिले एकृति माओवादीको कोचिला राज्य समितिमा आफुलाई बचाइ दिन आग्रह गरेको बुझिएको छ । उनले कोचिला राज्य समितिका एकजना सचिवालय सदस्य शिब डाँगीसँग कुरा गरि आफुबाट गल्ती काम भएको स्वीकार गर्दै कसरी हुन्छ आफुलाई सहयोग गर्न अनुयविनय गरेको माओवादी निकट स्रोतले बतायो । उनले डाँगीसंग आफु लामो समयदेखि कमल थापा निकट राप्रपामा रहेको र मुख्य तीन दलमा नआएकाले अहिले समस्या भएको बताएका थिए । उनले आफुलाई बचाईदिए माओवादी पार्टीमा खुलेरै प्रवेश गर्ने प्रस्तावसम्म डाँगीलाई राखेको बुझिएको छ ।
यता घिमिरेको अनुनय माओवादीका कोचिला राज्य समिति सदस्य हरिबोल गजुरेलसम्म पुगिसकेको छ । गजुरेलले घिमिरेको काम उपभोक्ताको हित विपरीतको भएको जनाउँदै कारवाही गर्नुपर्ने प्रतिक्रिया दिएपनि जिल्ला स्तरीय नेताहरुमा भने घिमिरेलाई शरण दिने वा नदिने भन्ने विषयमा तीव्र मतभेद भइरहेको बुझिएको छ ।
माओवादीका केही जिल्लास्तरीय नेताले भने घिमिरेको जस्तो ठगी सबै इन्धन व्यवशायीले गर्ने जनाउँदै उनलाई सहयोग गर्नुपर्ने दबाब समेत आफ्ना माउ नेताहरुलाई दिइरहेको बुझिएको छ । तर केही भने सञ्चारमाध्यममा समेत आइसकेको र अन्य व्यवशायीहरुले समेत कारवाहीको माग गरेको हुँदा घिमिरेलाई कारवाहीको लागि छोड्नु नै राम्रो हुने धारणा राखेका छन् ।
मुख्य राजनीतिक दल भएकाले माओवादीसमक्षा घिमिरेको आग्रह आउनु स्वभाविक भएको डाँगीले जनाए । व्यापारी भएको नाताले थोर बहुत रुपमा घिमिरेले सबै पार्टीलाई चन्दा दिएकै छन् । त्यही भएर पनि अफ्ठ्यारो परेका बेला ती पार्टीका नेताहरुसंग हारगुहार माग्न जानु ठूलो कुरा नभएको उनको भनाई छ । तर उनले पार्टीसंग सहयोग माग्दैमा घिमिरेमाथि हुने कानूनी कार्वाहीलाई टार्ने कुरा असम्भव रहेको उनले बताए ।
यता माओवादीको कोचिला राज्य समितिले उनको आग्रहलाई लिएर कुनै निर्णय दिइनसकेको समयमै उनि एमाले र कांग्रेसका केन्द्रिय तहका नेताहरुको समेत घर घरमा पुगेर आफुलाई जोगाई दिन आग्रह गर्दै हिडिरहेको बुझिएको छ । आर्थिक प्रलोभन देखाउँदै उनले नेताहरुलाई आफ्नो पक्षमा उभिइदिन आग्रह समेत गरीरहेको घिमिरे निकट स्रोतको भनाई छ ।
वाणिज्य विभागको जिम्मेवारी पनि पाएका घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख रमानाथ शर्माले आफुले पनि घिमिरे कार्वाहीबाट जोगिन पार्टीका नेताहरुको घर धाईरहेको समान्य सूचना पाएको बताए । उनले जुनै पार्टीका नेताको घर धाएपनि कानूनले उनलाई नछाड्ने शर्माले बताए । जसरी भएपनि उनलाई कानूनी कार्वाही गरेर छाड्ने बताए । प्रसासन कार्यालयले गरे नगरेपनि आफु भने उनीमाथि कार्वाही गरेरै देखाउने उनले बताए ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले विभिन्न निकायलाई आफ्ना आफ्नै तरिकाले घिमिरेका विरुद्ध मुद्धा चलाउन अनुमती दिएपछि विभिन्न विभिन्न निकायले विभिन्न तरिकाले मुद्धा चलाउने तयारी समेत थालेका छन् ।
सो अन्तर्गत घिमिरेलाई उपभोक्ता संरक्षण ऐन २०५४ र नियामावली २०५६ अनुसार कार्वाही गर्ने शर्माले बताए । त्यसका लागि मिसिल सोमबार सरकारी वकिल कार्यालय रायका लागि पठाएको उनले बताए । एक दुई दिनभित्रमा बयानका लागि घिमिरेलाई घरेलु कार्यालय झिकाउने उनले बताए । पहिले पनि घिमिरेले फटाई गरेको तर कार्वाही नभएको अवस्थालाई पनि गम्भिरता पूर्व लिएर यस पटक घरेलु कार्यालय कडा रुपमा प्रस्तुत भएको शर्माको भनाई छ ।
यता आयल निगमले समेत घिमिरेको उद्योग खारेज गराउने अधिकार राख्छ । निगमले सुगम ग्याँसको नाममा ग्याँस दिन रोक्का गरिसकेको छ । अब थप अनुसन्धान गरी उद्योग खारेज गर्नसक्ने जनाइएको छ ।
यस्तै व्यापारी घिमिरेलाई नापतौल क्षेत्रीय कार्यालय बिराटनगरले भने गुणस्तरीय भए(नभएको अनुसन्धान थाल्ने र सोही अनुसार कारबाही चलाउने भएको छ । यस्तै घिमिरेलाई वाणिज्य कार्यालयले अर्काको टूेड मार्क परिवर्तन गरेकोमा कारबाही चलाउन सक्नेछ । यस्तै घिमिरेलाई राजस्व अनुसन्धान इकाई कार्यालयले राजस्वमा भएको चुहावटका विषयमा अनुसन्धान गरी मुद्दा चलाउने तयारीमा छ ।
दश दिन अघि सुनसरीको खनारस्थित नेपाः पेटूोलियम टूेड लिंकमा छापा मारि संयुक्त अनुगमन टोलीले १६ हजार बढी अवैद्य रुपमा ल्याइएका ग्याँस सिलिण्डर नियन्त्रणमा लिएको थियो । घिमिरेको नाममा रहेको उक्त कम्पनिमा देशभरका विभिन्न २४ ग्याँस कम्पनिका सिलिण्डर चोरी गरी आफ्नो फुटरिङ र लेबल लगाइ बिक्रि गर्ने गरिएको थियो ।
यस अघि पनि पेटूोलमा मट्टीतेल मिसाउदा मिसाउदै माओवादी निकट वाईसियलले रंगहात पक्राउ गरेपनि घिमिरेलाई दलका नेताहरुकै संरक्षणका कार्वाही भएको थिएन् । आफुलाई अफ्ठ्यारो पर्दा पैसाको खोलो बगाउन खप्पीस घिमिरेले त्यसबेलापनि निकै ठूलो रकम खर्च गरेका थिए । त्यसबेला उनि पेटूोलियम डिलर्स एशोशिएसनका केन्द्रिय अध्यक्ष थिए ।
घिमिरेलाई कारवाही गर्न व्यवशायी तथा उपभोक्ताले अलग अलग पहल गरिरहेका छन् । कानुन विपरीत आफ्नो लाखौंका सिलिण्डर चोरिएको र आफ्नो बजार घटाउने षड्यन्त्र भएको विरोधमा व्यवशायीहरुले घिमिरेको व्यवशाय दर्ता खारेज गरी कडा कारवाही गर्न माग गरेका छन् । यता चोरीको सिलिण्डरमा ग्याँस बेचेर सर्वसाधारणको जिउ ज्यान जोखिममा पारेको भन्दै उपभोक्ताहरुले समेत घिमिरेलाई कडा कारवाहीको माग गरेका छन् । (जेठ २)





घिमिरेलाई फितलो कार्वाही हुने संकेत : ६ दिनपछि बुझाइयो प्रतिवेदन
अवैध रुपमा अन्य कम्पनिका ग्याँस सिलिण्डर चोरी गरी बिक्रि गर्ने ग्याँस उद्योगका संचालक शिबप्रसाद घिमिरेलाई कारवाही गर्न मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रतिवेदन पेश गरिएको छ ।
सुनसरीको खनार स्थित घिमिरेकै नेपाःट्रृेड लिंकमा ६ दिनअघि वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीले छापामारी विभिन्न दर्जर्नौ कम्पनीका १६ हजार बढी खाली सिलिण्डर बरामद गरेको थियो । तर छापा मार्न गएका नापा तौल तथा गुणस्तर विभाग क्षेत्रीय कार्यालय विराटनगर, वाणिज्य विभागको अख्तियारी पाएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधिहरुले छापा मारेको ६ दिनपछि मात्र प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई प्रतिवेदन बुझाएका हुन् ।
विभिन्न कम्पनीका खाली सिलिण्डर चोरी गरि फुटरिङ काटेर आफ्नो कम्पनीको लेवल लगाई ग्याँस बिक्री गर्दै आएका सुगम ग्याँस उद्योगका संचालक शिबप्रसाद घिमिरेलाइ कानूनी कार्वाही गर्नुपर्ने माग उपभोक्ता तथा व्यवशायीहरुले गर्दै आएका छन् । व्यवशायीहरुको सिलिण्डर चोरी गरेको तथा उपभोक्ताहरुको समेत जिउ ज्यानमा खेलबाड हुने गरी सिलिण्डर कमजोर बनाइएको आरोप लगाइएइको समयमा उनको उद्योगको प्रतिवेदन बुझाउनै ६ दिन लगाएपछि उनी विरुद्ध कारवाही समेत फितलो हुने अनुमान गरिएको छ ।
अन्य ग्याँस कम्पनीका खाली सिलिण्डरका पिँध काटेर आफ्नो कम्पनीको लेवल लगाईरहेको अवस्थामा १५ हजारबढी ग्याँसका सिलिण्डरहरु बरामद भएपछि चारैतीरबाट घिमिरेमाथि तत्कालै कडा कानूनी कार्वाही अगाडी बढाउनु पर्ने माग भएको थियो । तर प्रतिवेदनमा घिमिरेको सुगम उद्योग धादिङमा रहेको र ग्याँस भर्नका लागि सिलिण्डर बनाउने काम चाँही सुनसरीमा गरेको उल्लेख गरिएको छ । स्रोतका अनुसार घिमिरेको आर्थिक प्रलोभनमा परेर फितलो प्रतिवेदन तयार गरि बुझाइएको छ ।
प्रतिवेदनमा घिमिरेले नेपालका प्रायः सबै ग्याँस उद्योगका खाली सिलिण्डर चोरी गरि आफ्नो लेवल मात्र लगाउने काम गरेको उल्लेख गरिएको छ । बरामद गरिएका सिलिण्डर खाली रहेको र ग्याँस भरेर उपभोक्तासम्म नपुगेको कुरा पनि प्रतिवेदनमा उल्लेख गरेको बुझीएको छ । घिमिरेको नेपाःटे«ड लिंकमा छापा मार्दा जे फेला पर्यो । त्यही कुरा हामीले प्रतिवेदनमा उल्लेख गरेका छौं । प्रतिवेदन अध्ययन गरेर कस्तो कानूनी कार्वाही चलाउने हो, त्यो निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख रमानाथ शर्माले बताए ।
घिमिरेलाई कसले र कून कानून अनुसार कानूनी कार्वाही गर्ने हो भन्ने बिषयमा वाणिज्य विभाग नै अन्यौलमा रहेकाले प्रतिवेदन बुझाउन ढिलाई भएको शर्माको जिकिर थियो । सुगम ग्याँसको उद्योग धादिङमा रहेको र  सिलिण्डर तयार गर्न सुनसरीको जमिन प्रयोग गरेकाले यस मुद्धामा वाणिज्य विभाग केन्द्रिय कार्यालयबाटै आवश्यक प्रकृया अगाडी बढाउनु पर्ने सुझाव आफुले दिएको शर्माले बताए ।
शर्माले मुद्धाको प्रकृति हेर्दा आफ्नो अधिकार र कार्यक्षेत्र भित्र नभएपनि वाणिज्य विभागको आदेश बमोजिम आफु बाध्य भएको जनाए । उनका अनुसार वाणिज्य विभागले घिमिरेमाथि आवश्यक कानूनी कार्वाही गर्नका लागि घरेलु तथा साना उद्योग कार्यालय सुनसरीलाई आधिकारीक पत्र आएको छैन । यसअघि विभागले घरेलुलाई पत्र काटीसकेको जनाएको थियो ।
घिमिरेलाई कुन मुद्धामा कारवाही गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय नै अन्यौलमा छ । स्रोत अनुसार घिमिरेलाई गर्ने कारवाहीको निर्णय प्रमुख जिल्ला अधिकारीको हातमा छ । तर प्रतिवेदन बुझाउन नै ढिलाइ भएकोले घिमिरेमाथिको कारवाही फितलो हुने संकेत देखिएको छ ।
सिलिण्डर कमजोर बनाइ उपभोक्ता हित विपरीत काम गरेका घिमिरेमाथि संरक्षण ऐनमा उल्लेख भएबमोजिम ५ बर्षसम्म देखि १४ बर्षसम्मको कैंद र ५ लाखसम्म जरिवाना गर्नुपर्नेमा समेत कानुनविद्हरुले सुझाव दिएका छन् । तर स्रोतका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई १ लाख रुपियाँसम्म जरिवाना गरेर छाड्ने तयारीमा पुगेका छन् ।
यता अधिकारी थपलियाले भने बुझाइएको प्रतिवेदन अध्ययन गरि सकेर सरकारी वकिलसंग सल्लाह गरेर मात्र घिमिरेमाथि कानूनी कार्वाही अगाडी बढाउने बताए । मुद्धाको टुंगो नलागिसकेको हुनालाई घिमिरेलाई यस्तो कार्वाही हुन्छ भन्ने स्थिती नरहेको उनको भनाई छ । यता आरोपित घिमिरे भने आफुलाई हुने कारवाहीको घोषणा कुरेर बसेका छन् । अन्य व्यवशायीहरुले पनि आफूले गरेजस्ते गरी व्यवशाय विस्तार गर्ने गरेको जनाउँदै उनले व्यवशायीक प्रतिष्पर्धाका कारण व्यवशायीहरले आफूमाथि लान्छाना लगाएको समेत उनले जिकिर गर्दै आएका छन् । (२७ बैशाख)


नियममा भन्दा बढी ग्यास पाएको खुलासा
अवैद्य रुपमा २४ भन्दा बढी अन्य कम्पनिको सिलिण्डर भेटिएपछि शिलबन्दी गरीएको सुनसरीको खनारस्थित नेपाः का प्रबन्धक घिमिरेले आयल नियमका प्रमुख दीगम्बर झालाई प्रभावमा पारेर नियममा भन्दा बढी ग्याँस प्राप्त गर्ने गरेको व्यवशायीहरुले जनाएका छन् ।
घिमिरेले आफ्नो सुगम ग्याँसका लागि निगमको कृपाबाट नियममा पाउने व्यवस्था गरिएको भन्दा झण्डै दुई गुणा बढी ग्याँस पाउने गरेका हुन् ।
६ महिना अघि मात्र सुगम ग्याँस कम्पनि सञ्चालनमा ल्याएपनि नियममा भन्दा बढी ग्याँस पाउने गरेको दावी व्यशायीहरुले गरेका छन् । ‘नयाँ व्यवशायीले नियमतः मासिक १०८ टन पाउनुपर्ने हो ।’ कोशी ग्याँस व्यवशायी संघका पुर्वाञ्चल प्रमुख सचिद उपाध्यायले भने, ‘तर झालाई प्रभावमा पारेर उनले २८४ टन भन्दा बढी ग्याँस पाउँदै आएका थिए ।’
बढी ग्याँस पाएपछि ग्याँस बिक्रिको लागि आफ्नो बजार पर्याप्त नभएको हुँदा घिमिरेले अरुको बजारलाई  प्रभावमा पारेर ग्याँस बिक्रि गरेका हुन् । सो परिमाणको ग्याँस पाउनको लागि २० हजार सिलिण्डर हुनु आवश्यक मानिन्छ । घिमिरेसँग ७ हजारको हाराहारीमा सिलिण्डर रहेकोले उनले अरुको सिलिण्डर बजारबाट अवैद्य तरिकाले उठाएको जनाइएको छ ।
यता नेपाः पेट्रोलियम ट्रेड लिंक्सका मालिक शिवप्रसाद घिमिरेको कम्पनिको गतिविधिलाई सरकारले निगरानी बढाएको स्रोतले दावी गरेको छ । दुई दर्जनभन्दा बढी पेट्रोल पम्पमा लगानी गरेका र सुनसरीमा दुईवटा आफ्नै निजी पेट्रोल पम्पका सञ्चालक व्यवसायी घिमिरेको अवैध कारोबार खुलेपछि प्रशासनले उनका अन्य फर्म तथा उद्योगमा निगरानी बढाएको.जनाइएको छ ।
यता शुक्रबार कम्पनिमा शिलबन्दी गरीएपछि सार्वजनिक विदाका कारण घिमिरेको विषयमा शनिबार कुनै प्रक्रिया अघि बढ्न सकेन । शुक्रबार शिलबन्दी गरीएपछि जिल्ला प्रशासन कायाृलय सुनसरीका प्रतिनिधिले बुझेर लगेको कम्पनिको मुचुल्का आइतबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई बुझाइने बताइएको छ ।
यता थपलियाले मुचुल्का प्रतिवेदन आइसकेपछि अध्ययन गरी सरकारी वकिलको सल्लाहबमोजिम कारवाही अघि बढाइने जनाएका छन् । उनले उजुरीकर्ताहरुले आफूसँग भेट नगरीसकेको अवस्थामा प्रतिवेदन आइसकेपछि मात्र आवश्यक छलफल गरिने जनाए । विषय नयाँ भएकोले वकिलको सल्लाहबमोजिम अघिबढ्ने जनाएका हुन् । यता स्रोतले भने घिमिरेलाई सार्वजनिक मुद्धा चलाएर धरौटीमा रिहा गर्ने तयारी भइरहेको र सरकारी वकिलसँग थपलियाको सोही प्रकारको सल्लाह भएको जनाएको छ । तथापी थपलियाले विषय नयाँ भएकोले के गर्ने भन्ने निर्णय भइनसकेको जनाएका छन् । यता घिमिरेलाई तीन दिनभित्र उपस्थित हुन शनिबार आदेश आएको भनिएपनि आदेशबारे पुष्टि हुन सकेन ।
अन्य कम्पनिका सिलिण्डर बजारबाट चोरी गरी आफ्नो फुटरिङ लगाएर बेच्ने गरेको जानकारी पाएपछि व्यवशायी, जिल्ला प्रशासन कार्यालय सुनसरी र गुणस्तर तथा नापतौल विभाग समेतको सहभागितामा विहीबार नेपाः मा छापा मारिएको थियो । सो क्रममा विभिन्न २४ कम्पनिका १७ हजार बढी सिलिण्डरहरु फुटरिङ फेरीएको अवस्थामा बरामद गरिएको थियो । देशभरका ग्याँस सिलिण्डरहरु सो स्थानमा ल्याइ घिमिरेले आफ्नो सुगम नामक ग्याँसको फुटरिङ र छाप लगाइ बेच्ने गरेको खुलासा भएको थियो । (वैशाख २४)


बीस हजार ग्याँस सिलिण्डर फेला

इटहरी/अन्य कम्पनीका एल पी ग्यासका सिलिण्डरहरु अबैधानिक तबरमा सङकलन  गरि राखिएको भेटिएपछि सुनसरीको खनारमा रहेको नेपाः पेटो«लियम टे«ड लिङ्कलाइ जिल्ला प्रशाशन कार्यालय सुनसरीले शील गरेको छ ।
सो कम्पनिलाई अनुगमन टोलिले सिलबन्दी गरेको हो । जिल्ला प्रशाशन कार्यलय सुनसरी, बाणिज्य कार्यालय बिराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बिराटनगर, उद्योग बाणिज्य सङ्घ तथा विभिन्न डिलर एसोसिएसनहरुले विहीबार सो स्थानमा छापा मारेको थियो । सो क्रममा कानुन विपरीत अन्य कम्पनिका ग्याँस सिलिण्डरहरु चोरी गरी सो स्थानमा भण्डार गरी आफ्नो फुटरिङ लगाइ बेच्ने गरेको पाइएपछि कम्पनि शिल गरिएको हो ।
टे«ड लिङसले बिभिन्न कम्पनीका १५ हजार ३ सय ३४ थान एल पि ग्यासका खालि सिलिण्डरहरु भण्डारण गरि राखेको पाइएको बाणिज्य कार्यालय बिराटनगरका प्रमुख गोपि घिमिरेले बताए ।
शिव घिमिरेको नाममा रहेको सो कम्पनिबाट बजारबाट चोरेर ल्याइएका ठूलो परिमाणमा ग्याँस सिलिण्डरहरु संयुक्त अनुगमन टोलीले विहीबार बरामद गरिएको हो । फुटवेयर परिवर्तन गर्दा ग्याँसको क्षमता घट्ने भएको हुँदा उपभोक्ताको लागिसमेत त्यस्ता ग्याँस सिलिण्डरहरु जोखिमपूर्ण रहेको विज्ञहरुको भनाई छ ।
व्यवशायीहरुको सुचनाको आधारमा सो कम्पनिलाई बुधबारदेखि नै व्यवशायीहरुले नियन्त्रणमा लिएका थिए । आफ्नो ग्याँसहरु बजारबाट हराउन थालेपछि कोशी, सुगम लगायतका ग्याँस बिक्रेताहरुले गरेको अनुसन्धानमा नेपाःले बजारबाट अनाधिकृत रुपमा सिलिण्डर चोरी गरी सो कम्पनिमा ल्याइ आफ्नो फुटवेयर र नाम परिवर्तन गर्ने गरेको प्रमाणित भएको हो ।
बरामद गरिएका ग्याँस सिलिण्डरहरुमा कोशी, सुविधा, राजधानी, गृहलक्ष्मी, सुर्य, नारायणी लगायतका ग्याँस सिलिण्डर छन् । यसरी अर्कोे कम्पनिको ग्याँस सिलिण्डर उठाउनुलाई नेपालको कानुनले अपराध मानेको छ । त्यसमाथि सिलिण्डर मोडिफाइ गर्दा उपभोक्ताको लागि जोखिमपूर्ण अवस्था सृजना हुने गरेको बताइन्छ ।
अन्य कम्पनिका ग्याँसलाई बजारबाट विस्थापित गराइ आफ्नो ‘सुगम’ लोगो अंकित ग्याँसको बिक्रि प्रबद्र्धन गर्न बजारबाट अनाधिकृत रुपमा अन्य कम्पनिको ग्याँस सिलिण्डर कब्जा गरेको अवस्थामा भेटिएको हो । बजारबाट चोरी गरेर ल्याएका अन्य कम्पनीका ग्यास सिलिन्डर कलर गर्न तीन जना कर्मचारी खटाउने गरेको पाइएको छ । बारा निजगढ घर भई सिलिन्डर कलर गर्न काम गर्दै आएका लिलाबहादुर सापकोटाले अन्य कम्पनीका सिलिन्डर कलर गरेबापत मासिक तीन हजार रुपैयाँ तलब पाउने गरेको बताए ।
यसरी हुन्छ सिलिण्डर चोरी :
कम्पनिले थोक तथा खुद्रा विक्रेताहरुसँग मिलेर.ग्यास सिलिण्डरको चोरी गर्ने गर्छ । कोशी ग्याँसका क्षेत्रीय इन्चार्ज सचित उपाध्यायले आफ्नो ग्याँसको खाली सिलिण्डर बोकेर आउने उपभोक्तालाई बिक्रेतासँग मिलेर आफ्नो ग्याँसको सिलिण्डर भिडाउँछन् । ‘कोशी ग्याँसको सिलिण्डर बोकेर आउनेलाई कोशी छैन, सुगम छ, त्यही लानुस् भन्छन् ।’ उपाध्यायले भने, ‘कोशी ग्याँसको सिलिण्डरलाई नेपाः मा ल्याएर आफ्नो फुटवेयर जोडेर बनाउँछन् ।’
व्यवशायीले गर्ने यस्तो चोरीका कारण एकातिर विभिन्न ग्याँस कम्पनिका सिलिण्डरहरु बजारबाट विस्थापित हुँदै एउटै कम्पनिको सिलिण्डर मात्र छ्यापछ्याप्ती देखिन्छ भने अर्कोतर्फ उपभोक्ताहरुमा पनि सजिलै नपाइने ग्याँसप्रतिको आकर्षण घट्छ । बजार विस्तार तथा प्रबद्र्धनको यो चोर शैलीलाई सुगम ग्याँसले अपनाएको पुष्टि भएको हो ।
बम जस्तै खतरनाक :
ग्याँस उद्योग संघका प्रतिनिधि धर्म बड्तौलाका अनुसार पुरानो कम्पनिको नम्बर अंकित रिङ काटेर कम्पनिले आफ्नो रिङ जोड्दा त्यसबाट सिलिण्डरको संरचना कमजोर हुन्छ । जसको कारण सिलिण्डर विष्फोट भइ जन धनको क्षती हुने समेत कोशी ग्याँसका क्षेत्रीय इन्चार्ज सचित उपाध्यायले जनाए । नेपा पेट्रोलियम ट्रेड लिंकले चोरीका साथै उपभोक्ता अधिकार विपरीत काम समेत गरेको आरोप लगाइएको छ ।
सिलिण्डरमा कुनैप्रकारको प्राविधिक काम गर्न नहुने विज्ञहरु बताउँछन् । ग्याँसले भरिएको सिलिण्डर आगोको सानो प्रभावमा नै कुनैपनि बेला पड्कन सक्छ । ‘अझ यसरी अदक्ष प्राविधिकले मोडिफाइ गरिएका सिलिण्डर खतराजन्य हुन्छन् ।’ यता गुणस्तर तथा नापतौल नियन्त्रण विभाग पुर्वाञ्चल प्रमुख शशिभुषण यादवले जनाए ।
को हुन् शिव घिमिरे :
देशभर दुई दर्जन बढी पेट्रोल पम्पमा लगानी गरेका र सुनसरीमा दुईवटा आफ्नै निजी पेट्रोल पम्प सञ्चालक व्यवसायी हुन् घिमिरे । धादिङको नौबिसेमा सुगम ग्याँसको प्रमुख उद्योग छ । खनारस्थित नेपाः लाई उनले शाखा कार्यालयको रुपमा सञ्चालन गरेको जनाएपनि सो स्थानमा देशभरका सिलिण्डर ल्याइ मोडिफाइ गरी आफ्नो लेबल हालेर बेच्ने ठाउँको रुपमा प्रयोग गरिरहेका छन् ।
चौतर्फी लगानीबाट करोडौं कमाउने घिमिरेले कत्था उद्योगमा लगानी गरेका छन् भने इटहरीस्थित एक टेलिभिजनमा समेत उनले लगानी गरेका छन् ।
यता ब्लाष्टलाई प्रतिक्रिया दिँदै घिमिरेले खनारमा रहेको कम्पनिको भवन राजन भन्ने व्यक्तिलाई भाडामा दिएकोले आफूलाई केही थाहा नभएको जनाए । उनले सिलिण्डर चोरी गरेर ल्याउने भन्ने विषयप्रति आश्चर्य समेत प्रकट गरे । राजनलाई आफूले व्यक्तिगत रुपमा नचिनेको जनाउँदै फोन नम्बर समेत नरहेको जिकिर गरे ।
कारवाही के हुन्छ :
यता गुणस्तर तथा नापतौल नियन्त्रण विभाग पुर्वाञ्चल प्रमुख शशिभुषण यादवका अनुसार नेगु ३७६–२०५३ मा व्यवस्था भएअनुसार अरुको सिलिण्डर उठाएको प्रमाणित भएमा कारवाही हुने जनाए । उनलाई जिल्ला प्रसासन कार्यालयले कालाबजारी ऐन अन्तर्गत उपभोक्ता संरक्षण ऐन २०५४ र नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरीय ऐन अन्तर्गत कार्वाही गर्नसक्छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अनुगमन टोलीले विस्तृत रिपोर्ट पेश गरेपछि र आवश्यक छलफल गरेपछि सोही अनुसार कार्वाही प्रक्रिया अगाडि बढाउने बताए । (वैशाख २३)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :