विद्यार्थीलाई तह लगाउन भर्नाअघि अनुशासन फाराम भर्नुपर्ने
Posted by
purwanews
Published on
Thursday, April 28, 2011
म्याग्दी÷शिक्षकले भनेको नटेर्ने। उल्टै धम्क्याउने, कुट्नसम्म पछि नहट्ने। कपाल पाल्ने, दादागिरी गर्ने, नियमित स्कुल नजाने, मोबाइल फोन बोक्ने, पढाइमा ध्यान नदिने।
विद्यार्थीको बदमासीबाट दिक्क यहाँका दुई स्कुलले नयाँ थिति बसालेका छन्- भर्नाअघि नै ‘अनुशासन बाहिर नजाने प्रतिबद्धता'सहितको फारम भराउने। विद्यार्थी अनुशासनहीन बन्दै गएको भन्दै सर्वोदय मावि र ज्ञानप्रकाश माविले अनुशासन फारममा हस्ताक्षर गरेर भर्ना आवेदन दिनुपर्ने व्यवस्था गरेका छन्।
फारममा विद्यार्थीले शिक्षक र अभिभावकसामु हस्ताक्षर गरेपछि मात्र स्कुलले भर्ना लिन्छ। फारममा अभिभावकलाई समेत हस्ताक्षर गराइन्छ।
‘अनुशासनमा रहेर अध्ययन गर्छु भनेर विद्यार्थीले अभिभावक र शिक्षकसामु हस्ताक्षर गरेपछि बल्ल भर्ना लिन्छौँ,' सर्वोदय मावि व्यवस्थापन समिति अध्यक्ष अनिल हिराचनले भने, ‘विद्यार्थी उद्दण्ड बन्दै गएपछि नयाँ नियम लगाएका हौँ।' चैत १० गते स्कुल बैठकले विद्यार्थी भर्ना गर्दा अनुशासनमा बस्नुपर्ने नियम बनाएको हिराचनले बताए।
‘परीक्षामा चिट चोर्न पाउनुपर्ने, अनिवार्य उत्तीर्ण गराउनुपर्ने, पोसाक लगाउनु नपर्नेलगायत सर्त राख्दै शिक्षकलाई धम्की दिन्छन्,' हिराचनले नागरिकसँग भने, ‘अनुशासनमा रहेर शिक्षा लिनुपर्छ भनेर नयाँ थालनी गरेका हौं।'
उनले अनुशासित विद्यार्थी उत्पादन गर्न नयाँ नियमले सघाउने बताए। केही समयअघि अनुशासनमा रहन कडाइ गरेको भन्दै छिमेकी गाउँका एक विद्यालयका शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका थिए।
अधिकांश अभिभावक अनपढ भएकाले विद्यार्थी सुधार्ने जिम्मा विद्यालयको रहेको सर्वोदयका प्रधानाध्यापक सीमबहादुर गुरुङले बताए।
‘विद्यार्थी विद्यालय जान्छु भनेर घरबाट निस्कने तर अन्यत्रै घुम्न जाने गरेका छन्,' गुरुङले भने, ‘विद्यार्थीलाई कारबाहीभन्दा पनि सचेत गराउन खोजेका हौँ।'
विद्यालयले एक वर्षअघि नै विद्यार्थीलाई कक्षाकोठामा मोबाइल बोक्न रोक लगाएको थियो। शिक्षकले पनि पढाउन जाँदा मोबाइल बोक्न नपाउने, बोक्नै परे ‘स्विच अफ' गर्नुपर्ने वा कार्यालयमै राख्नुपर्ने नियम छ।
ज्ञानप्रकाश मावि व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर पुर्जाले बाध्यताबस अनुशासनको नियम लगाएको बताए। ‘विद्यार्थीलाई अनुशासनमा राख्न यस्तो नगरी सुखै पाइएन,' पुर्जाले भने, ‘विद्यार्थी कसैसँग नडराउने प्रवृत्ति बढ्दै गएपछि नयाँ सोच ल्याएका हौ।' उनले केही दिनपछि सुरु हुने भर्ना कार्यक्रममा अनिवार्य अनुशासन फारम भर्नुपर्ने नियम लगाउने बताए।
विद्यालयले लगाएको नयाँ नियममा अभिभावकले पनि समर्थन जनाएका छन्। ‘हामीले पढेका छैनौँ, के गर्नुहुन्छ, के हुँदैन थाहा छैन,' १० कक्षामा पढ्ने छोरी भर्ना गर्न विद्यालय आएकी अभिभावक निमिसरा पुर्जाले भनिन्, ‘विद्यार्थी नबिग्रून् भनेर यसो गरेको होला . -gful/s_
प्रतिक्रिया दिनुहोस् >>