सुकुम्बासीका फाइल भट्टिमा

लेखनदासले सुकुम्बासी ठगे
इटहरी, १५ फागुन
सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्न गठन गरिएको सुकुम्बासी समस्या समाधान आयोगले पैसाको भरमा धनीलाई लालपुर्जा वितरण गरेको आरोप सुकुम्बासीले लगाउँदै आएका छन् भने यता आयोगले पनि सुकुम्बासी नेताहरुले लालपुर्जा बनाइदिने भन्दै सुकुम्बासीहरुसँग विभिन्न शीर्षकमा रकम उठाएको आरोप लगाउँदै आएको छ ।
सुकुम्बासीको नाममा आयोग र सुकुम्बासी नेताले कुम्ल्याए नकुम्ल्याएको स्पष्ट थाहा नभएतापनि सुकुम्बासी समस्या समाधान आयोगको कार्यालय अगाडी बसेर लेखापढी गर्ने एक व्यवसायीले भने जग्गा दिलाइदिने भन्दै मोटो रकम असुलेर फरार भएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा अगाडी बसेर लेखापढी गर्दै आएका इनरुवा ९ बलाहा निवासी सानो गोपाल नामले चिनिने गोपाल दाहालले जग्गाधनी प्रमाणपुर्जा दिलाइदिने भन्दै आयोगको कार्यालय आउने सुकुम्वासीहरुबाट रकम असुल गरेको पीडितले बताएका छन् ।
आयोगका अध्यक्ष आफ्नो मान्छे भएको र आफूले भन्नसाथ चाँडै धनीपूर्जा पाउने बताउँदै दाहालले रकम संकलन गरेको बताइएको छ । उनले त्यसका लागि आयोगका अध्यक्षलाई समेत घुस खुवाउनु पर्ने बताउदै ४० भन्दा बढी सुकुम्बासीबाट २ हजार देखि २५ हजारसम्म असुल गरेको सुनसरीका अधिकारकर्मी राजेन्द्र पोख्रेलले बताए ।
एक साताभित्रमै धनी पूर्जा पाउने बताउँदै दाहालले रकम लिएको बताइएको छ । लामो समय बितिसक्दा समेत धनीपूर्जा पाउने छाँट नदेखेपछि पछि सुकुम्बासीहरु शंसकित भएका थिए । शंका लागि केही सुकुम्बासीहरुले उनलाई केरकार गर्दा बोर्ड बैंठक बस्न बाँकी रहेको र दुई दिनभित्रमा काम हुने बताएका थिए । ‘तर दुई दिनपछि आउँदा दाहाल थिएनन्, बरु मैले जिम्मा लाएको फाइल नजिकैको भट्टिमा भेटियो ।’ धरानकी सुकुम्बासी धनमाया राईले बताइन् ।
दाहालबाट आफूहरु ठगिएको थाहा पाएपछि आयोगको कार्यालय गई प्रमुख केशबप्रसाद भट्टराईलाई जानकारी गराउँदा उनले बाहिर कस कसले ठग्छन् त्यसको जिम्मेवारी लिन नसक्ने भनि जवाफ दिएको पिडित राईले बताइन् । त्यतीमात्र होइन, अनपढ र सोझा सिधा सुकुम्बासीहरुलाई त आयोगको अध्यक्ष नै आफू भएको बताउँदै पैसा असुलेको अर्का पिडित झुम्काका श्यामलाल चौधरीले बताए ।
दाहाल जस्तै करिब एक दर्जन व्यक्तिले सुकुम्बासीको फाइल तयार पार्ने काम गरेको र सो क्रममा मोटो रकम असुलेको खुलासा भएको अधिकारकर्मी पोख्रेलले बताए ।
यता आयोगका अध्यक्ष केशव भट्टराईले भने कर्मचारी कम तथा काम बढी भएको आयोगमा कार्यालय बाहिरको काम हेर्ने फुर्सद नभएको बताए । ‘दर्जनौ लेखनदास आयोगको कार्यालय बाहिर चौरीमा बसेर लेख्ने काम गरिरहेका हुन्छन् ।’ उनले भने, ‘बाहिर कसले कसलाई ठग्छ, त्यो हेर्न नै सकिदैन ।’
अध्यक्ष भट्टराईले समेत दाहाल ठग भएको बताए । कार्यालयका पिएनको साईकल १ हजार ५ सयमा बेचेर खाएको उनले जानकारी दिए । पुर्जा दिलाइदिने भन्दै ठगिए पछि केही सुकुम्बासीहरु कार्यालय आएर जानकारी दिएको बताउँदै प्रशासनमा जान सल्लाह दिएको बताए । अन्य नठगिउन भनेर कार्यालयका पिएनलाई कार्यालय परिसरमा निगरानी गर्न निर्देशन दिएको बताउँदै कर्मचारी कम भएको गुनासो गरे ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले दाहालले भने कुनै उजुरी नआएको बताउँदै उजुरी आएमा पक्राउ कार्वाही गर्ने उनले बताए । यसैबीच सभासद् र धनाड्यलाई आयोगले जग्गाधनी पूर्जा दिन तयार गरेको बिषयमा ब्लाष्टमा समाचार प्रकाशित भएपछि उनिहरुलाई जग्गा प्रमाणपूर्जा नदिन आयोगलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्देशन दिएको समेत बताइएको छ । सुकुम्बासीका नामम धनाढ्यले लालपुर्जा पाउन लागेको विषयमा ब्लाष्टले निरन्तर समाचार प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालयले लालपुर्जा वितरणमा चनाखो हुन आयोगलाई आदेश दिएको थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :