निर्णय (कथा)


सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्रतिनिधित्व गर्दै चन्द्रमाले सूर्यलाई विदाइको हात हल्लाउँदै थियो । चन्द्रमाको विदाइमा मग्न भएर सूर्यले आफ्नो रातो रंगीन प्रकाशले बादलका सिरकहरु रंगाउँदै थियो । बादलले छोपिनसकेका दुई धार प्रकाशले चन्द्रमा र ताराहरुको चर्तिकला हेर्न चियाउँदै गर्दा एक हुल चमेराहरु चन्द्रमा र मेरो बीचबाट उडे । म झसंग भएँ । अहो, म कहाँ हराइरहेको छु ?
मनमनै आफैसँग प्रश्न गर्दै हठात्, उनको अनुहारमा हेरेँ । ऊ पनि शान्त थिइ । लाग्थ्यो, कुनै सोचाइमा तल्लिन थिइ । तर मेरा आँखाले सूर्यलाई विदाइ गर्दा उसको दृष्टि शायद मेरो मलिन हुँदै गएको छायाँमा थियो । म चल्मलाउने वित्तीकै उसले मतिर पुर्लुक्क हेरी । शायद उसले मबाट कुनै जवाफ चाहेकी छे र मेरो अनुहारको भावभंगीलाई हेरेर मेरो बोलीको अनुमान लगाउन खोजिरहेकी छे । तर ऊ बोल्दिनँ । मतिर हेर्दा हेर्दा थाकेर मेरो दृष्टिसँगै उसले पनि भुईँका झार केलाउँछे । व्यग्रता र छट्पटीको भाव आफ्नो अनुहारमा छरपष्ट पार्दै यताउता हेर्छे ।
उसको छटपटी मेरो चाहना होइन । तर मैले के बोल्ने ? घडीतिर छड्के नजर लगाउँदै करीब आधा घण्टा त्यसरी नै बितेको निक्र्यौल मैले गरेँ ।
“तिम्रो जवाफ भन्दैनौ ?” बिचैमा उसले सोधी । मैले केही भन्न सकिँन । न भन्छु भनुँ, न भन्दिनँ भनुँ । के भनुँ, के गरुँ ? अन्यौलमा रहेँ म । फेरी पाँच जोडा जती मिनेट बिते । मैले तिमीलाई के जवाफ दिउँ दिव्या ? तिमी आफैं भन । तिमी नै प्रश्न गर अनि तिमी नै उत्तर देऊ । तिम्रो उत्तर मेरो लागि शिरोधार्य हुनेछ । मैले त कुनै निर्णय नै गर्न सकिरहेको छैन ।
===
“परिवारले मेरो विवाह गरिदिने भएकाछन् । मलाई कतै लग विश्वास । म तिमी विना बाँच्न सक्दिँन ।” उसले अघि मात्र यी कुराहरु यसरी भनी कि कुनै संकटबाट जोगिने निकै दह्रो आड पाएकी छे । उसको विश्वास टुट्ने हो वा होइन, मलाई नै थाहा थिएन । तर उसले भन्ने आँट चाहिँ गरी अनि मेरो हातमा आफ्नो जीन्दगी सुम्पिने निर्णय पनि ।
उसको कुरा सुनेर म तीनछक्क परेँको थिएँ । के भनौं ? कसरी भनौं ? के गरौं, के नगरौं ? मैले निर्णय नै गर्न सकिँन । निकै बेर मौनता छायो । उसले मेरो मुखमा हेरीरही । मैले केही भन्न सकिरहेको थिइँन । एक्कासी आइपरेको यस्तो विपत्तीलाई कसरी समाधान गर्ने ? मसँग न त कुनै उपाय थियो, न त पूर्वतयारी नै । मेरो जीवनमा त्यो समयमा घटनाहरु यसरी घटिरहेका थिए कि मानौं, विपत्तीहरु मेरो टाउकोमाथि खनिन नै बनेका हुन् । चार दिन अघि मात्र परीक्षामा अनुत्तीर्ण भएको नतिजा हात पर्नु, गरीरहेको काम गुमाउनु, साथीको सुसाइड समाचार पाउनु यी सबले मेरो दिमाग निकै अशान्त बनाइसकेको थियो ।
त्यसमाथी अचानक कुनै ठूलो निर्णय गर्नुपर्ने गरी आइपरेको यो संकट समाधानको लागि मैले आपूmलाई कसरी तयार गर्ने ? त्यो केही मिनेटको समयमा मैले कसरी सोच्न सक्नु ? मात्र फिल्ममा हुने गरेको यस्तो घटना मैले वास्तविक जीवनमा भोग्नुपरेकोमा म छक्क परिरहेको थिएँ ।
“अब के गर्ने ?” उसले सोधी
“त्यही त म पनि सोचिरहेको छु ।” अब के गर्ने ? उसको यो सोधाइलाई मैले झर्केर जवाफ दिनु हुँदैन थियो । तर के गर्ने ? म आफै कति समस्यामा छु । न त राम्रो जागिर वा आम्दानीको कुनै बाटो छ, न त उसलाई लगेर राख्न हुने कुनै ठाउँ नै ।
पानी पर्न लागेको चिसो मौसममा पनि चर्को घाममा मेरो दिमाग चरक्क चर्केला जस्तो भयो । मन्दिरअघिको भ¥याङको रेलिङ दह्रो गरी समातेँ । अनि निर्दोष भावका साथ मेरो जवाफ पर्खिरहेको उसको अनुहारतिर नहेरेरै भने– “म भोलीसम्ममा कुनै निर्णय दिन्छु ।”
“छिटो गर विश्वास । मलाई कतै टाढा लग ।” मेरो काँधमा आफ्नो शिर अड्याउँदै निकै माया लाग्दो स्वरमा उसले भनी– “तिमी विना म बाँच्न सक्दिँन । अरु कसैसँग पनि म तिमीसँग जति खुसी हुन सक्दिँन । मैले मेरो जीवन तिमीलाई सुम्पिसकेँ । जस्तो सुकै समस्या आएपनि म तिमीसँग नै जीवन बिताउन चाहन्छु ।”
आकाशले पानीका छिटा झार्न थालेको समयमा मैले उसको पाखुरामा दह्रो गरी समात्दै विश्वास दिलाउन खोजेँ– “म छु नि । किन आत्तिएकी ? म पनि तिमी बिना बाँच्न कहाँ सक्छु र ?”
===
राती खाटमा पल्टिएर मैले निकै बेर आफ्नो दिमागमा समस्या खन्याएँ । अनि समाधानको उपयुक्त जवाफ पर्खिन थालेँ । तर दिमागले कुनै निर्णय गर्न सकिरहेकै थिएन ।
“परिवार मेरो कुरा सुन्नै चाहँदैन । अमेरिकाबाट आएको केटा भनेर उनीहरु मेरो लागि मरिहत्ते गरिरहेकाछन् ... ” उसले यो कुरा भनेको सम्झने बित्तीकै मैले मेरो खाली खल्तीलाई सम्झेँ । तीन चारवटा पसलमा तिर्न बाँकी उधारोलाई सम्झेँ । मन परेको लुगा किन्न नसकिरहेको अवस्थालाई सम्झेँ ।
“मलाई बिहे गरेर अमेरिका नै लाने रे ।” उसले सुनाएकी थिइ ।
तर मैले भगाएर कहाँ लाने ? म स्वयं डेरामा बसेको छु । मेरो परिवारले कदापी उसलाई स्वीकार्दैन । किनकी मेरो दाजुले बनाएको इतिहास म दोहो¥याउँदै थिएँ शायद । जात नमिल्ने केटी भगाएर ल्याएपछि दाजुले परिवारसँगको सम्बन्ध तोड्नुपरेको थियो । दाजु, भाउजु अहिले अमेरिकामा छन् । तर आजसम्म पनि परिवारले उनीहरुलाई स्वीकारेको छैन । अनि मेरा अरु आफन्तहरुले सहयोग गर्लान् र ? कहीँ पनि बास पाइनँ भने, उसले कति दुःख पाउली ? आफन्तहरुको मनको कुरा थाहा पाएको छैन । बुझी हेरौं भने पनि के भनेर सोध्ने ?
हुन त साथीहरुसँग सहयोग माग्दा पनि हुन्छ । तर कतिञ्जेल ? काम पाइने पनि ठेगान छैन । त्यतीञ्जेल उनीहरुको लागि बोझ भएर बस्ने ... ?
“केही चाहिँदैन । मात्र केटी भए हुन्छ भनेकाछन् रे ।” उसले यो पनि सुनाएकी थिइ ।
मैले पनि त त्यसरी नै माग्ने हो । म आफ्नै पौरखमा केही गर्न सक्छु । तर दुवै जनाको परिवार हाम्रो सम्बन्धलाई स्वीकार्न तयार छैन र हामी पनि शायद तयार छैनौं । यस्तोमा के गर्ने ?
रातभर छटपटी चलिरह्यो ।
बिहान उठेँ । रातभरीको सोचाइबाट पनि कुनै निष्कर्ष निकाल्न सकिरहेको थिइँन । तर आज त केही गर्नु नै थियो । निर्णय अनि त्यसको कार्यान्वयन । तर के गर्ने ... उफ् कस्तो समस्या !
===
मध्यान्नको चर्को घाममा दोबाटोको पसलबाट एक जोडी युवा युवती हात समातेर निस्के अनि बस चढे । बसले गती लिन थाल्यो । बसमा सबैको अनुहार शान्त थियो । उनीहरु बाहेक । उनीहरु अर्थात् ऊ र म ।
मैले उसको आँखामा व्यग्रताका बादलहरु मडारीरहेको देखेँ । उसले पनि मेरो आँखामा शायद त्यस्तै भाव देखी होली । दह्रो गरी मेरो हात समाइ । मैले हात थापीदिएँ हाम्रा हातहरु कसिए । यसरी कसिए कि हामीलाई कसैले पनि छुटाउन सक्दैन । हाम्रो विश्वास थियो । मेरो आँखामा निकैबेर नियालिसकेपछि उसले मेरो काँधमा आफ्नो शिर अड्याइ । उसको नरम गालाले मेरो काँधमा स्पर्श गरिरहँदा मैले भने गाँस र बासको लागि सहज रुपमा सहयोग गर्न तयार हुने मेरो काकालाई मनमनै धन्यवाद् दिइरहेँ । मद्धत माग्दा उनले दिउँसो फोनमा भनेका थिए, “यस्तो नाथे समस्या, तैले कुनै चिन्ता लिनु पर्दैन । खुरुक्क मेरो घरमा लिएर आइज । आखिर तेरी काकीलाई पनि त मैले त्यसरी नै भगाएको हुँ क्यारे । ”
–हिमाल दहाल


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :