समान कामको असमान ज्याला


मजदुरको पक्षमा आवाज उठाउने भन्दै विभिन्न ट्रेड युनियनहरु खुलेका छन् । तर नेपालको ग्रामिण क्षेत्रमा काम गर्ने महिलाहरु असमान ज्यालाको समस्यामा छन् । महिला भएकैले आधा कम ज्यालामा काम गर्न बाध्य छन् महिला कृषि मजदुरहरु ।
‘पुरुषले दिनको दुई सय रुपैया पाएभने महिलाले बढीमा डेढ सय रुपैया पाउँछन् ।’ सुनसरीको सोनापुरकी सविना खातुनले भनिन्, ‘समान कामको असमान ज्याला दिन्छन्, भन्छन् महिलाले पुरुषको जति काम गर्न सक्दैनन् ।’
खेतबारीमा काम गर्नेमा महिलाहरु नै बढी हुन्छन् । महिलाहरु विदेश जान र कारखानामा काम गर्न पाउँदैनन् । धार्मिक तथा सामाजिक संस्कारले पनि कारखानामा काम गर्न गाह्रो हुने बताउँदै खातुनले भनिन्, ‘घर बस्ने हुँदा महिलाहरु थोरै ज्यालामा पनि काम गर्न तयार हुन्छन् ।’ राम्रो कार्यसम्पादनका लागि महिलाको प्रयोगमा जोड दिने गरिन्छ । खेतबारीमा गोडमेल गर्नेदेखि उपज तौलने र बजारमा बिक्रि गर्ने सम्म काममा महिलाहरु नै अघि रहन्छन् । ‘तर पुरुषले जति काम गर्न सक्दैनन् भनेर समाजले महिलाको ज्याला थोरै कायम गरेको छ ।’ कृषि समुह सोनापुरका कजामुद्धिन मियाँले भने ।
सोनापुरमा कृषि मजदुरहरुको एउटा समुह समेत छ । विगत दुई वर्षदेखि त्यहाँका किसानहरुले संगठित रुपमा काम गर्दै आएका छन् । नियमित छलफल र काम गर्दाका समयमा आएका समस्याहरुको समाधानका लागि जुट्ने गरेका छन् । ३५ जना सदस्य रहेको उक्त समुहमा २० जना भन्दा बढी महिला छन् । तर पनि उनीहरु समान ज्यालाको लागि आवाज उठाउन सक्दैनन् । ‘हामीलाई घर बाहिर निस्कन नै समस्या हुन्छ ।’ स्थानिय एक महिला कृषकले भनिन्, ‘कहाँ आवाज उठाउनुपर्ने हो, कसरी उठाउनुपर्ने हो, थाहा छैन ।’
ग्रामिण समुदायका महिलाहरुलाई न त ज्यालामा समानता हुनुपर्छ भन्ने थाहा छ, न त ट्रेड युनियनको विषयमा नै । झन् मुसलमान समुदायहरुमा त पुरुषको निर्णय नै सर्वोपरी हुन्छ । पछिल्लो समयमा परिवारको आय आर्जनमा महिलाहरुको समेत सहभागिता बढेको छ । ‘जसबाट महिलाहरु आफ्ना समस्याहरु निर्धक्क राख्न सक्ने भएका छन् ।’ स्थानिय सामाजिक परिचालक सञ्जय घोषले भने, ‘तर समान ज्यालाको लागि भने अझैपनि आवाज उठाउन सकेका छैनन् ।’
संगठित क्षेत्रहरुमा विभिन्न मजदुर संगठनको दबाबपछि परिवर्तन आएपनि कृषिजस्ता असंगठित क्षेत्रहरुमा भने अझैपनि असमान ज्यालाको विरुद्ध आवाज उठ्न सकेका छैन । ठाउँ अनुसार ज्यालामा असमानता छ । असमान ज्याला कृषि, निर्माण लगायतका क्षेत्रमा चर्को छ । पुरुषलाई दिनको तीन सय रुपैया दिने समुदायले महिलालाई दुई सय भन्दा बढी दिँदैनन् भने पुरुषले दुई सयमा काम लगाउने चलन रहेको ठाउँमा महिलालाई बढीमा डेढ सय रुपैया दिने गरिन्छ ।
पुरुषहरु प्रायःजसो खेतमा काम गर्दैनन् । उद्योग कारखाना नजिक छ भने त्यतै लाग्छन् । नेपालमा काम गर्ने मन नभए विदेश गएपनि भो । तर महिलालाई न स्वदेशमा पैसा छ, न विदेशमा । वैदेशिक रोजगार र उद्योग कारखानामा हतपत काम गर्ने अनुमती पाउँदैनन् । ‘पुरुषले विदेश जान्छु भन्दा पाउँछ’ स्थानिय महिला कृषकले भनिन्, ‘तर महिलाले कतैबाट सहयोग पाउँदैन ।’
वैदेशिक रोजगार र उद्योग कारखानामा काम गर्न त्यती नजाने हुँदा मुसलमान गाउँमा महिला कामदारको कमी छैन । त्यसैले पनि थोरै ज्यालामा काम लगाइने गरिन्छ । ‘समान ज्यालाको माग गर्दा साहुहरुले दिँदैनन् ।’ कजामुद्धिनले भने, ‘थोरै ज्यालामा काम गर्ने भए गर, नत्र नगर् भन्छन् ।’
राजनीतिक अवस्थाले पनि महिलाहरुको अधिकार प्राप्तीको अवस्थालाई अफ्ठ्यारो बनाएको छ । भोट बैंकको लागि संगठित क्षेत्रमा नेताहरुको आँखा लाग्ने भएपनि छरिएर रहेका मजदुरको क्षेत्रमा काम गर्न राजनीतिक दलले समेत वास्ता गरेका छैनन् । नीतिगत सुधारका लागि स्थानिय हाजि हकिम जोड दिन्छन् । ‘सरकारले नै श्रमिकलाई समान ज्याला र अधिकारको लागि व्यवस्था गरेर कडाइका साथ लागु गर्नुपर्छ ।’ हकिमले भने, ‘आफ्नो स्वार्थमात्र हेर्ने राजनीतिक दललेसमेत आफूलाई सच्याउनुपर्छ ।’
महिलाहरुको पहुँच अभावकै कारण कृषि क्षेत्रमा विभिन्न समस्याहरु देखिएको बताउँदै सोनापुरकै नुर महम्मद भन्छन्, ‘पहुँच भएको भए समान ज्याला र सुविधा महिलाहरुले पाउन सक्थे ।’ Himal Yugpath


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :