'म माथिबाटै बस पल्टियो’
Posted by
purwanews
Published on
Thursday, October 13, 2011
दुर्घटना भएको बस सिन्धुलीबाट आउने पहिलो ट्रिप हो । बिहान ६ बजे जिल्लाकै भद्रकाली-२ चियाबारीबाट काठमाडौं आउन बस चढेको थिएँ । बसभित्र मान्छे अटाई नअटाई थिए । भित्र बस्न नसक्ने अवस्था देखेर म छतमा चढेँ । छतमा र बसभित्र गरेर करिब ७५/८० जना यात्रु थिए । झाँगाझोलीको रिट्ठे भन्ने स्थानमा बाटो ओरालो खालको, साँघुरो र घुम्ती थियो । चालकले घुम्तीको मोड काट्न बसको स्टेरिङ घुमाउँदा एक्कासि बसले सडक छोड्यो र खस्यो । त्यसबेला करिब साढे १० जति भएको थियो । छतमा बसेकाले बस खस्न लागेपछि म आत्तिँदै हाम फालें । मैले भीरमा रहेको बुटो समात्न सकें । मेरो टाउकै माथिबाट बस पल्टिँदै खस्यो । तर बसले मलाई छोएन । छोएको भए सायद म बाँच्ने थिइनँ होला । बस खसेको एक मिनेटपछि बल्ल मलाई सास आएछ । त्यसपछि बुटो समात्दै म जुरुक्क उठेर बस खसेको भीरतिर हेर्दा मान्छे वरपर छरिएका थिएँ । म आत्तिँदै छरिएका साथीहरूलाई उठाउन थालें । बसबाट उछिट्टिएका मान्छेहरू कराउँदै छटपटाइरहेका थिए ।(धुलिखेल अस्पतालमा उपचारका क्रममा मनोज बस्नेतसँग गरेको कुराकानीमा आधारित)
बढी दुर्घटना हुने झाँगाझोली
बीपी राजमार्गको सिन्धुलीस्थित झाँगाझोली सडक खण्डमा बढी बस दुर्घटना हुने गरेको छ । घुम्तीहरूको संख्या त्यही क्षेत्रमा बढी रहेको र बाटो पनि साँघुरो भएकाले दुर्घटना बढी हुने गरेको हो । सोही स्थानमा २०६७ सालमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने २०६८ वैशाख २० गते पनि सिन्धुलीबाट बनेपा आउँदै गरेको बा२ख ३३७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १० र उपचार लागि ल्याउँदै गरेको अवस्थामा दुई जना यात्रुको मृत्यु भएको थियो । बिहीबार पनि त्यही स्थान नजिकै बस दुर्घटना हुन पुग्यो ।
'त्यो ठाउँमा धेरै दुर्घटना हुने गरेको छ,' सिन्धुली मझुवा-५ डाँडागाउँका केबल कार्कीले कान्तिपुरसँग भने, 'त्यस ठाउँमा बाटो साँघुरो र घुम्ती पनि छ । बस आइरहेको अवस्थामा मोटरसाइकल आयो भने पनि त्यसलाई साइड दिन समस्या पर्छ ।' उक्त क्षेत्रमा सञ्चालित बसहरूले साँघुरो बाटो हुँदाहुँदै पनि बसमा क्षमताभन्दा बढी यात्रुहरू चढाउने गरेका छन् ।
खचाखच बस खस्यो
४१ जनाको मृत्यु, १५ घाइते
राजकुमार कार्की/सिन्धुली
मनोज बस्नेत/धुलिखेल
सिन्धुली सदरमुकामबाट काठमाडौंतर्फ गइरहेको बस पुरानो झाँगाझोली गाविस-४ को मूलकोट गहते पाखामा बिहीबार दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ । १५ घाइते छन् ।
निर्माणाधीन बीपी राजमार्गको तेस्रो खण्डअन्तर्गत ट्रयाक सडकबाट ना३ख ९४१२ नम्बरको बस खस्दा घटनास्थलमै ४० जना र धुलिखेल अस्पतालमा उपचार गर्ने क्रममा एक जनाको मृत्यु भएको हो ।
बस चालक प्रेम थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । अप्ठ्यारो बाटोमा अत्यधिक यात्रु बोकेर उक्त गाडी सञ्चालन हुँदै आएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा कमलामाई नगरपालिका-५ का ईश्वर पोखरेल, सञ्जीव कार्की, वडा-३ का विकास परियार, वडा-४ की सुशीला, श्याम विक, उदयपुर-४ का सिंहबहादुर खड्का, बासेश्वरका विवेक बराल र युवराज श्रेष्ठ, भद्रकाली-३ का पूर्ण आले छन् । त्यस्तै, भीमेश्वर गाविसका खुसबहादुर श्रेष्ठ, धुलिखेल-५ का चन्द्रगोपाल श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ । बिहीबार राति अबेरसम्म मृतकमध्ये २६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
बसका सहचालकलगायत अन्य केही सकुशल छन् । घाइते सबै १६ जनालाई उपचारार्थ धुलिखेल र काठमाडौं पठाइएको उद्धारमा संलग्न झाँगाझोली रातमाटा प्रहरीचौकी प्रमुख धर्मेन्द्रकुमार झाले बताए । घाइतेमध्ये ६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचारकै क्रममा सिन्धुली बन्दीपुर-९ का वीरबहादुर तामाङको मृत्यु भएको छ ।
दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको र सात जना उपचारपछि घर फर्केको प्रहरी निरीक्षक पदम जोशीले बताए ।
दुर्घटनाको कारण खुल्न नसके पनि यात्रुको अत्यधिक चाप र अत्यन्तै साँघुरो र अप्ठ्यारो सडक भएकाले बस भीरबाट खसेको अनुमान प्रत्यक्षदर्शीको छ ।
प्रत्यक्षदर्शी कृष्णबहादुर रम्तेलका अनुसार ट्रयाक सडकबाट खसेको बस निर्माणाधीन बीपी राजमार्गबाट समेत तल खसेर सुनकोसी नदी किनारमा पुगेको थियो । 'ट्रयाक सडकबाट निर्माणाधीन सडकमा झरेर बजि्रँदा बस क्षतविक्षत भएको थियो,' उनले भने, 'एक स्टेप झन् तल झरेपछि त टुक्रा-टुक्रा नै भयो ।' प्रहरीका अनुसार बस ट्रयाक सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।दुर्घटनाग्रस्त बस क्षतविक्षत हुँदै सुनकोसी किनारको बगरमा पुगेको थियो । बसको सामान्य 'बडी' मात्र सुनकोसी किनारमा थियो ।बसको छतमा यात्रा गर्नेहरू उछिट्टिएर बाँचेको स्थानीयको भनाइ छ । अर्का स्थानीय शंकर रम्तेलका अनुसार निर्माणाधीन राजमार्गमा काम गर्नेहरू दुर्घटना हुँदा भागाभाग गरेका थिए ।
'हामी काम गरिरहेका थियौं,' उनले भने, 'एक्कासि ठूलो आवाज आएर बस झरेपछि ज्यान बचाउन भागाभाग गर्नुपर्यो ।'
घाइतेको प्रहरी, स्थानीयवासी र निर्माणाधीन राजमार्गमा कार्यरत मजदुर मिलेर उद्धार गरेका थिए । भीर भएकाले शव निकाल्न उनीहरूलाई हम्मे परेको थियो । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले अप्ठ्यारो सडक र ओभरलोडले दुर्घटना भएको प्रारम्भिक अनुमान गरे । उनले थप अनुसन्धान गरिने जनाए ।
चाडबाड भएकाले अप्ठ्यारो सडकमा समेत छतमा अत्यधिक यात्रु राख्दा बढी दुर्घटना हुने गरेकाले अब छतमा यात्रु राख्न प्रतिबन्ध लगाइने जनाए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव पोस्टमार्टम र सनाखतका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ ।
आश्विन २७, ekantipur
प्रतिक्रिया दिनुहोस् >>