जागिर छाडेर भैसी गोठालो
Posted by
purwanews
Published on
Sunday, October 9, 2011
बेरोजगारीको संख्या बढ्दो छ । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिर खोज्दै हिँड्दा पनि पाउने अवस्था छैन । तर माझफाँट-४ पर्वतका खिमनाथ पौडेललाई न जागिरको पिरलो छ न प्रमाणपत्र बोकेर रोजगारी खोज्दै हिँड्नुपर्ने बाध्यता । उनी भैंसी गोठमै रमाइरहेका छन् ।वाणिज्यशास्त्रमा ०५२ सालमा स्नातकोत्तर गरेका पौडेलले प्रमाणपत्र बाकसमा थन्क्याएर राखेका छन् । त्यही भएर उनी जागिर खोज्नका लागि हातमा प्रमाणपत्र बोकेर होइन दूध बोकेर बजार पुग्ने गर्छन् । ४६ वषर्ीय पौडेलले बैंकको जागिर छाडेर व्यावसायिक रूपमा भैंसीपालन गरेपछि समाजमा पढेको भैंसी गोठालाको रूपमा चर्चित बनेका छन् ।
'जागिर खानका लागि मात्र पढ्नुपर्छ भन्ने छैन,' उनले भने 'पढेर पनि सफल कृषक बन्न सकिन्छ ।' त्यसो त उनी अलि समय विदेश पनि घुमे । वित्तीय संघसंस्थामा पनि केही वर्ष अलमलिए । तर उनलाई कुनैमा रस बसेन । 'कोरियामा नेपालीले ज्यान फालेर काम गरेको देखें, त्यति काम नेपालमा गरे त सुन फलाउन कत्ति समय लाग्छ र ?' उनले भने ।
उनी दिनप्रतिदिन नेपालीहरू रोजगारीका लागि बिदेसिएको देखेर बिरक्तिएका छन् । त्यही भएर उनले एक वर्षअघिबाट १५ रोपनी जग्गा भाडामा लिई भैंसीपालन सुरु गरेका छन् । सुरुमा ६ वटा भैंसीबाट व्यवसाय सुरु गरे पनि उनको गोठमा अहिले २६ भैंसी छन् । एक्लैले हिम्मत गरेर भैंसी गोठालो बनेका पौडेल कत्ति पनि विचलित छैनन् । गाउँमा ऋण खोजेर ३ लाख ५८ हजार रुपैयाँ भैंसीमा लगानी गरेका हुन् उनले । गोठ निर्माण गर्न मात्र चार लाख रुपैयाँ खर्चिएका छन् उनले ।
आफन्त र छिमेकले उनलाई पढेकाको बुद्धि हुँदैन भन्थे, यसको पनि पढेको बुद्धि माटैमा मिसिएछ भनेर खुब खिल्ली उडाए ।
तर उनले त्यसलाई आफ्नो कामको फल भनेर साहसलाई ढुंगोजस्तो दह्रो बनाएर व्यवसायमा तल्लीन भई लागिपरिरहे । यत्तिसम्म कि छिमेक र आफन्तले भनेको कुरालाई उनले इख माने । 'यत्रो पढ्नुभएको मान्छे के दिनरात भैंसीको भकारो सोरेर बस्नुहुन्छ, त्यही भएर व्यवसाय छाड्नुस् बैंकमा काम गर्न आउनुस् भन्दै पैसाको लालच देखाएर विभिन्न्ा निजी बैंकले निम्तो पठाए,' उनले भने, 'मैले त उल्टै पढेकाले चाहिँ भैंसीको भकारो सोर्नु हुँदैन भनेर कुन शास्त्रमा लेखेको छ भन्दै म पढेको सच्चा भैंसी गोठालो बन्छु, मैले पढेर सुकिलामुकिला लुगा लगाई कुर्सीमा बसेर जागिर खानु छैन भन्ने जवाफ फर्काइदिए ।'
त्यसो त उनले वाषिर्क ७ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरेका हुन् । एक वर्षमा नाफा भएको सबै रकम व्यवसायलाई बलियो र ठूलो बनाउनमै खर्च गरेको उनले बताए । उनले ३ जना कर्मचारी राखेका छन् । तर पनि काममा भने उनी नै अहोरात्र खटिन्छन् । राति ११ बजेसम्म भैंसीको स्याहार सुसार गर्नमै समय बिताउने उनी बिहान ३ बजे नै उठ्छन् । चार घन्टाभन्दा बढी समय निदाउन नसक्ने उनलाई परिवारको भन्दा भैंसीको माया धेरै छ । बिहानै उठेर पहिला भकारो सोर्ने अनि दूध दुहेर मोटरसाइकलमा भाँडा बोकी छिमेकी जिल्ला म्याग्दीतिर हानिन्छन् ।
बिहान तीनपटक र बेलुका दुईपटक गरेर उनी १ सय ६५ लिटर दूध साढे ३ किलोमिटर दूरी छिचोल्दै म्याग्दीसम्म पुर्याउँछन् । वारिबेनीमा डेरी उद्योग भएकाले उनले दूध भुइँमा राख्न नपाउँदै बिक्री भइहाल्छ । 'दूधको माग यति धेरै छ,' उनले भने, 'त्यही भएर माग धान्न्ौ सकिएको छैन । अब छिट्टै नै ५० वटा भैंसी पाल्ने सोचमा छु ।' त्यसो त पढेका कृषकको व्यवसाय हेरौं भन्दै भैंसी गोठमा आउनेको पनि राम्रै लर्को लाग्ने गरेको छ । यसरी आउनेमा राजनीतिज्ञ, युवा र विदेश जान लागेकाहरू धेरै छन् ।
व्यवसाय हेर्न र बुझ्नकै लागि कास्की, सदरमुकाम कुश्मा, बागलुङ र म्याग्दीदेखि आउने गरेका छन् । 'मेरो उद्देश्य पढेकाले पनि कृषिको काम गर्नु हुन्छ र बिदेसिनेहरूलाई विदेशमा बगाउने पसिना स्वदेशमै बगाएर सजिलैसँग जीवन निर्वाह गर्न सकिन्छ भन्ने देखाउनु हो,' उनले भने, 'त्यही भएर म भन्छु विदेशमा अरूको कामदार भएर आफ्नो नेपालीपन बिक्री गरी पीडा सहनुभन्दा स्वदेशमै व्यवसाय गरेर इज्जत कमाउनु बेस हुन्छ ।' विदेश जान लागेका म्याग्दीका केही युवाले पौडेलसँग परामर्श लिएर गाउँमा यही व्यवसाय सुरु गरेका छन् ।
श्रीमती घरकै काममा व्यस्त हुने भएकाले उनी एक्लै यो व्यवसायमा सक्रिय छन् । चार छोरी र एक छोरामध्ये दुई छोरी र एक छोरालाई काठमाडौंका महँगा कजेलमा यही व्यवसायको आम्दानीले पढाएका छन् उनले । 'यो व्यवसायलाई ठूलो बनाएर अन्य बेरोजगारहरूलाई पनि रोजगार दिने सोचमा छु,' उनले भने, 'त्यही भएर एक मुठी सास रहुन्जेल भैंसी गोठालोबाट अवकाश लिनेछैन ।'
आश्विन २२, ekantipurप्रतिक्रिया दिनुहोस् >>