दशैंको मुखमा 'घुमुवालाई कारवाही गर्ने' रे !
घुमुवा प्रहरीहरु, इलाकामा प्रहरी निरिक्षक पदीय मर्यादा क्रममा उचो भएपनि गाउँ, नगरका हर्ताकर्ता भनेका घुमुवा प्रहरी नै हुन् ।
वर्षौंदेखि प्रहरी निक्षिकदेखि एसपी र डीएसपी अनि डिआइजीको बफादार गोठालोजस्तै भएर व्यवशायी दुहेर खुवाउन बानी परेका घमुवा प्रहरीहरु व्यवशायीहरुसँग नजराना उठाउनेदेखि प्रहरी कार्यालयमा आएका विपक्षीलाई थकाएर मुद्धा नै फिर्ता लिन बाध्य सम्म बनाउने क्षमता राख्छन् । प्रहरी निरिक्षकको लगौंटी झै भएर पैसा उठाइदिन सक्रिय यस्ता प्रहरीलाई आफूले वर्षौंदेखि काम गरेको नगरको एक एक कुना थाहा हुन्छ । त्यही भएर घुमुवाको सरुवा हुनु भनेको प्रहरी निरिक्षकको गाँस नै अड्किनु जस्तै हुन्छ । घुमुवाको सरुवापछि प्रहरी कार्यालय व्यवस्थित बनाउन अझै धेरै समय र मेहेनत लाग्ने गर्छ । त्यसैले सयौं प्रहरी निरिक्षक परिवर्तन हुँदा पनि घुमुवा भने जहाँको तहीँ रहेर नजरानाको क्रम चलाइ नै रहन्छन् ।
घुमुवाले आर्थिक संकलन गर्ने क्रम धेरै भइसकेको छ । हप्तावारी, महिनावारीकाका साथै दशैं तिहारमा समेत खसी बोका र पैसा उठाउन व्यस्त हुन्छन् प्रहरी । इलाका प्ररी कार्यालय इटहरीमा मात्रै एउटा दशैंमा पाँच लाख रुपैया बढी संकलन गर्छन् घुमुवाहरु । यसबाट पनि घुमुवाहरुको प्रभाव र जगजगी कतिसम्म छ भनेर थाहा हुछ ।
तर कतिपय अवस्थामा भने व्यवशायीहरुले नै खुसीसाथ घुमुवाहरुलाई रकम दिने समेत गरेका छन् । आफ्नो कालो व्यवशायको पर्दाफास नहोस् भन्नका लागि उनीहरुले घुमुवा मार्फत् प्रहरी अद्दिकृतहरुलाई दशैं मनाउन भन्दै राम्रैं रकम दिने गरेका छन् । विशेषगरी अवैद्य यौनधन्दा गराइने होटल रेष्टुरेन्ट, मिसावटयुक्त सुन बेच्ने सुन पसल, नक्कली भ्याट बिल बनाएर कर छली गर्ने व्यवशायीहरु र ठेक्का पट्टामा संलग्न युवा व्यवशायीहरु घुमुवा पोस्ने परम्परागत पार्टीहरु हुन् ।
घुमुवाको काँडा समाजमा लामो समयदेखि गढिरहेपनि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुरक्षाकर्मीलाई अनुशासनको दायरामा ल्याउने घोषणालाई राहत योजनामा समेटेका छन् र सोही अनुसार दशैं नजिकिन लागेको पछिल्लो समयमा पूर्वाञ्चलमा घुमुवा प्रहरीलाई विशेष निगरानी गरीने डिआइजीले बताएका छन् । घुमुवा प्रहरीहरुलाई अनुशासनमा ल्याउन नयाँ व्यवस्था गर्ने भनिएको छ ।
'मार्सल' नाम दिएर बिहीबारदेखि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट परिचालित एसपी, डिएसपी र इन्सपेक्टर सम्मिलित टोलीलाई आचरणविपरीत कार्य गर्ने प्रहरीलाई 'ठेगान लगाउन' नसिहत र निलम्बन मात्रै होइन, सिधै बर्खास्त गर्नेसम्मको अधिकार दिइएको छ।
पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरेन्द्रबहादुर सिंहले आचरण, पुलिसिङ र ड्युटी जाँच गर्न टोली खटाएका हुन्।
प्रहरी उपरीक्षक ठाकुरराम बर्तौलाको नेतृत्वमा गठन भएको टोलीमा दुई जना डिएसपी पालैपालो खटिनेछन्। आवश्यकता अनुसार इन्सपेक्टर र तल्लो तहका कर्मचारीलाई खटाउने योजना छ। पूर्वभरि परिचालन हुने टोलीलाई आचरणविपरीत जाने प्रहरीलाई बर्खास्त गर्नेसम्मको अधिकार दिइएको छ।
'घुस खाने, हप्तावारी र महिनावारी उठाउने दिन गए अब,' डिआइजी शाहले नागरिकसँग भने, 'अन द स्पट कारबाही गर्न प्रस्ट निर्देशन छ।' संगठनात्मक शुद्धीकरणको अभियान अन्तर्गत 'मार्सल' टोली पूर्वभरि परिचालन गरिएको शाहले बताए।
'राज्यले जीविकोपार्जनका लागि प्रहरी कर्मचारीलाई तलब भत्ताको राम्रै व्यवस्था गरेको छ,' शाहले भने, 'त्यसले नपुगेर घुस खाने गरेको धेरै गुनासो छ, कम्तीमा सादा जीवन उच्च विचारका साथ कार्यसम्पादन गर्नुपर्छ भन्ने मेरो उद्देश्य हो।'
'मार्सल' अभियान काठमाडौं उपत्यकामा मात्रै लागू गरिएको थियो। पूर्वमा प्रहरी शुद्धीकरणका लागि अभियान थालिएको यो सम्भवतः पहिलो हो। आफ्नो अभियान सफल हुने विश्वास उनले लिएका छन्।
शाहले सुरक्षा व्यवस्था सुदृढ पार्न आन्तरिक शुद्धीकरण प्रमुख चुनौती रहेको औंल्याए। 'शान्ति सुरक्षा व्यवस्थित गर्न पहिले प्रहरी आफैं नै स्वच्छ बन्नुपर्छ', उनले भने, 'आन्तरिक शुद्धीकरण मेरो प्रमुख उद्देश्य हो।'
उनले कसैले 'चेन अफ कमान्ड' नमाने तुरुन्त कारबाही गर्ने बताए। 'सरुवा बढुवामा चेन अफ कमाण्ड बाहिर गएर नेता वा माथिल्लो निकाय धाएको थाहा पाए तिनलाई कालोसूचीमा राख्छु,' शाहले भने, 'अन्यत्र दरबन्दी रहेर लामो समय काजमा बसिरहने परिपाटी पनि बन्द गर्छु।'
घुमुवा प्रहरीले पैसा उठाएर जनतालाई सास्ती दिएको आफूले थाहा पाएको उनले बताए। 'मेरो कार्यकालमा प्रहरी संगठनमा जनतालाई सेवा गर्न आएको हुँ भन्ने भावना विकास गर्छु,' उनले भने। इमानदार नेतृत्व, जनशक्ति विकास र व्यवस्थापन, आचरण व्यवहारमा सुधार, जिम्मेवारी बहन, आचारसंहिता पालना, पारदर्शीता र व्यावसायिकता भएमात्रै संगठनको मर्यादा रहने उनले बताएका छन्।
डिआईजी शाहले आफ्नो कार्यकालमा आर्थिक प्रभावमा परेर कुनै सम्झौता गर्न नदिने बताए। 'बरु दुई महिना बसेर जान्छु तर यस्ता अनैतिक कार्यमा सम्झौता गर्दिनँ,' शाहले भने, 'कुनै प्रहरीले घुस खाएको थाहा पाए सूचना दिनुहोस् तुरुन्तै कारबाही गर्छु।'
घुमुवा प्रहरीले सर्वसाधारणलाई दिने दुःख वा कालो धन कमाउने व्यवशायीहरुसँगको साँठगाठ र लेनदेन तोड्न यो प्रहरी टोली सफल होला भन्नेमा विश्वास गर्ने आधार भन पटक्कै छैन । किनकी नजरानाको क्रम घुमुवाले संकलन गरेपछि वितरणको भागबण्डामा डिआइजीसम्मको संलग्नता हुने गर्छ । आखिरमा डिआइजी पनि त कुनै समय निरिक्षक थिए । यत्तिका लामो समयसम्म घुमुवाको जगजगी चलिरहनु र अहिले आएर मात्र यस्तो कारवाहीको नाटक गरिनुले प्रशासन जनताको आँखामा धुलो छ्याप्ने काम त गरिरहेको छैन भन्ने शंका आम सर्वसाधारणले गरेका छन् ।
हेरौं, गोठाला तह लगाएर आफूले खाँदै आएको दुध त्याग्न कतिसम्म प्रहरी अधिकृतहरु तयार हुन्छन्, अनि हेरौं, कुन हदको नाटक गर्छन् यसपटक । घुमुवामाथिको निगरानीमा पूर्वन्युजको विशेष निगरानी रहनेछ ।
कान्तिपुर दैनिकमा असार १८ गते छापिएको घुमुवा प्रहरीको इतिवृति तल साभार गरिएको छ :
'घुमुवा' । अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लोपटक जिम्मेवारी छाडेर 'शतप्रतिशत' महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ । देशभरि घुमुवाहरू स्थानीय सुरक्षा प्रमुखकहाँ पैसा उठाएर पुर्याउने विश्वासिला माध्यम बन्न थालेका छन् । घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यहीँ वा आसपासका जिल्लाबाट पाउने गरेका छन् । केहीलाई उजुरीका आधारमा प्रहरी प्रमुखले दुर्गम क्षेत्रमा पनि सरुवा गरिदिएका छन् तर केही महिनामै प्रभावशाली व्यक्तिहरूको आडमा उनीहरू उही स्थानमा काजमा खटिरहेका भेटिन्छन् । घुमुवाका कारण प्रहरी संगठनमा बदनाम हुन थालेपछि गृह मन्त्रालयले केही अघि मुख्यालयलाई विशेष आदेश दिएको थियो । 'अनुसन्धान गर्ने निकायबाहेक कुनै पनि कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्ने, कुनै निकायलाई विशेष कामका लागि आवश्यक परे निश्चित समयका लागि माथिल्लो कार्यालयका आदेश लिएर मात्रै घुमुवा राख्ने ।' मन्त्रालयको आदेश पाएलगत्तै पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरीले तीन चरणमा देशभरिका झन्डै दुई सय बदनाम घुमुवाहरूलाई काठमाडौंमा उपस्थित गराएका थिए । काठमाडौंमा बोलाएलगत्तै ती सबैलाई खटाएको विभिन्न पहाडी र दुर्गम जिल्लामा २४ घन्टाभित्र पुगी बर्दीमा काम गर्न पठाइयो । बदनाम घुमुवाहरूलाई तह लगाउन यो नै पहिलो निर्णय भएको मानिन्छ । प्रहरी महानिरीक्षकका पहिलो आदेश शतप्रतिशत जस्तै कार्यान्वयन भएको थियो तर दोस्रो र तेस्रो आदेशमा प्रहरी प्रमुख नै टिक्न नसक्दा झन्डै ५० प्रतिशत घुमुवाहरू काठमाडौंबाट पुरानै स्थानमा फर्किएका थिए । मन्त्रालयको आदेशमा आफैंले गरेको निर्णयमा टिक्न नसक्दा तत्कालीन प्रहरी प्रमुखका अधिकृतहरूले आलोचना पनि गरेका थिए । प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतका अनुसार तीन समूहमा दुर्गम खटाइएकाहरूमध्ये ९५ प्रतिशतभन्दा बढी पुरानै स्थानमा पुगिसकेका छन् । ती अधिकृतका अनुसार पुरानै स्थानमा फर्काउन दबाब दिनेहरूमा प्रहरी संगठनकै क्षेत्रीय प्रहरी प्रमुखहरू हुँदारहेछन् । त्यसपछि क्रमशः अञ्चल र जिल्ला प्रहरी प्रमुखको माग हुने देखिएको छ । जिल्लाको सभासद र मन्त्रीहरूले समेत उनीहरूलाई पुरानै स्थानमा पठाइदिन दबाब दिने गरेको ती अधिकृत बताउँछन् । घुमुवाले नियमित रूपमा पैसा उठाएर जसजसलाई बुझाउँछन् तिनैले उनीहरूको संरक्षण गरेको देखिन्छ । जिल्ला, अञ्चल र क्षेत्र बसेका उच्च अधिकृतहरूले बढुवा हँुदै प्रहरी मुख्यालय बस्दासमेत त्यहीँबाट पनि उनीहरूले ती घुमुवाहरूको संरक्षण गरेको देखिन्छ । कुल ६० हजार ७६ जनशक्ति रहेको प्रहरीमा घुमुवाका रूपमा देशभरि कति परिचालित छन् यसको आधिकारिक आँकडा प्रहरी मुख्यालयलाई समेत छैन । सामान्यतया घुमुवाहरू जवानदेखि सइ दर्जासम्मको राख्ने प्रचलन छ । पछिल्ला दिनमा केही प्रभावशाली उच्च अधिकृतहरूले प्रहरी निरीक्षकलाई समेत घुमुवाका रूपमा राख्न थालेका छन् । 'म जहाँ प्रहरी प्रमुख भएर बसे पनि त्यहाँ कहिल्यै घुमुवा राखिन्न । नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका केशव बराल भन्छन्, 'घुमुवा राख्नै हुँदैन भन्ने होइन राख्नुपर्छ । तर जिम्मेवार अधिकृतको कमान्डमा पर्याप्त तालिम दिएर विशिष्ट शैक्षिक योग्यता भएकालाई
मात्र ।' इमान्दारीपूर्वक काम गर्ने हो भने घुमुवाको काम एकदमै जोखिमपूर्ण हुन्छ । उनीहरूलाई राम्रो काम गर्दा पाइने पुरस्कार र गलत गर्दा हुने सजायका बारेमा प्रस्ट निर्देशन हुनुपर्छ । बरालले भने । खासगरी घुमुवाले तराईमा खुला सीमाबाट तस्करी गर्ने, लागू पदार्थका व्यापारी र अपराधीहरूबाट रकम संकलन गर्ने गर्छन् । केहीले एक पक्षलाई लखेटेर अर्को पक्षलाई संरक्षण समेत दिने गर्छन् । काठमाडौंमा परिचालित हुने घुमुवाहरूले अवैध विदेशी मुद्राको कारोबार गर्ने, हुन्डीको कारोबार गर्ने, रेस्टुरेन्ट, डिस्को, डान्स बार, वैदेशिक रोजगारलगायतका स्थानबाट महिनावारी
संकलन गरी कार्यालय प्रमुखलाई बुझाउने प्रचलन छ ।
विराटनगर संवाददाता लीलावल्लभ घिमिरे र काँकडभिट्टा संवाददाता पर्वत पोर्तेलका अनुसार पूर्वमा प्रहरीका 'घुमुवा' शंकास्पद कार्यमा छन् । अपराध अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्य भन्दै प्रहरीले तल्लो इकाईसम्म सादा पोसाकमा खटाउने गरेका 'घुमुवा' का गतिविधि आफैंमा शंकास्पद हुने गरेका छन् । विभाग, जिल्ला, इप्रका र चौकीमा 'इन्टेलिजेन्स' -इन्ट) भन्ने गरिए पनि घुमुवा भनिने सादा पोसाकका प्रहरी अपराधको अनुसन्धानभन्दा आफ्ना हाकिमको 'लाइन' मिलाउन सक्रिय देखिन्छन् । फाइदा दिने भएकैले घुमुवामाथिका अनधिकृत गतिविधिको आरोप उनीहरूका प्रमुख मान्न तयार छैनन् । भारतीय सीमा जोडिएका जिल्लाहरूमा घुमुवाको काम अवैध मालसामान ओसारपसारदेखि सुन तस्करीसम्म हुने गरेको
छ । त्यस अलावा व्यापारीहरूसँग लाइन मिलाएर रकम उठाउनु घुमुवाको धन्दा बनेको छ । चन्दा असुली, हतियार बेचबिखन, अपहरण र डकैतीसम्मका घटनामा घुमुवा प्रहरीको संलग्नता शंकास्पद हुने गरेको छ । चाडबाडका बेला जुवातास खेलाउन लाइन मिलाउनसमेत प्रहरी प्रमुखहरूले घुमुवाको माध्यम उपयोग गर्ने गरेका समाचार नौला छैनन् । आफ्नो विश्वासपात्रलाई घुमुवामा राखेर रकम असुली गर्ने काममा प्रमुखहरू खप्पिस हुने गरेको प्रहरीकै एक अधिकृतले बताए । पूर्वका मोरङ, सुनसरी र झापा जिल्लाका घुमुवा प्रहरीका यस्ता क्रियाकलाप नौला मानिँदैनन् । झापामा अहिले पनि घुमुवा आतंक जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतले सूचना संकलन गर्न भन्दै सादा पोसाकमा जवान र सोही दर्जाभन्दा केही माथिका सुरक्षाकर्मीलाई बाहिर निकाल्ने गरेको छ । सादा पोसाकमा गुप्तचरीका लागि अनुसन्धानको छुट्टै इकाई नभएको भने होइन । यस्ता कामका लागि राष्ट्रिय अनुसन्धान विभाग छ । तर अनुसन्धान विभागले सूचना समन्वय नगरेका कारण भन्दै घुमुवाका विषयमा तथ्य बताउन प्रहरी प्रमुखहरू पन्छिने गरेका छन् । एक अधिकृतले भने, 'राअको काम पनि घुमुवा प्रहरी कै जस्तो
छ । सूचना ल्याउँदैन । बरु माल कताबाट मिल्छ त्यहीँ खोजी गर्छ ।' गत जेठ २१ गते मोरङ जिल्ला अदालतमा पेसीका लागि ल्याइएका हत्याका एक आरोपीमाथि आक्रमण भयो । त्यसलगत्तै पत्रकार खिलानाथ ढकालमाथि आक्रमण घटना भयो । दुवै घटनामा संलग्न रहेको आरोप युथफोर्स मोरङ संयोजक पर्शुराम बस्नेतमाथि लागेको छ । तर बस्नेत पक्राउ परेनन् । बरु उनलाई लुक्न र प्रहरी गतिविधिको सूचना दिन संलग्नताको आरोप मोरङ जिल्ला प्रहरी कार्यालयका चार जना घुमुवालाई लाग्यो । घुमुवाका रूपमा खटिने सइ सुवास खनाल, हवल्दारहरू श्याम गुरुङ, बाबुराम कार्की र परिचर देवानन्द साहलाई प्रहरी प्रधान कार्यालयले झिकाएर अनुसन्धान थालेको छ । घुमुवाका विषयमा बुझ्न बाँकी रहेको मोरङका लागि भर्खरै आएका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बताए । उनले भने, 'मैले पनि सुनेको छु, तर भर्खरै आएकाले सब बुझ्न बाँकी
छ ।' पूर्व क्षेत्रका प्रहरी प्रमुख डीआईजी विनोद सिंह घुमुवाका विषयमा नकारात्मक सुन्न तयार छैनन् । 'कुनै व्यक्तिले गलत गर्यो भन्दैमा सिंगो संस्थालाई हिलो छ्याप्न हुँदैन, उनले भने, 'हो, घुमुवा भन्ने शब्द नै समाजमा आज बदनामको अर्को नाम भएको छ, तर नेपाल प्रहरीमा घुमुवा भन्ने शब्द नै छैन ।' अपराध अनुसन्धानमा सादा पोसाकमा प्रहरी परिचालन नगरी दोषीसम्म पुग्न नसकिने भएकाले यो बाध्यता भएको सिंहको भनाइ छ । तर यसरी खटाएका इन्टहरूको कार्यदिशा प्रस्ट नहुँदा केही गलत काममा समेत उनीहरू प्रयोग भएको उनले स्वीकारे । अब यो घुमुवा भन्ने शब्द नै राख्न नहुने उनले बताए ।
घुमुवा प्रहरीका बारेमा धेरै सुन्नमा आएपछि क्षेत्रीय प्रहरी कार्यालयले यसलाई व्यवस्थित गर्न थालेको उनले बताए । 'क्षेत्रीय अपराध अनुसन्धान ब्युरो' गठन गरी काम अघि बढाएको डीआईजी सिंहले बताए । 'अहिले प्रहरी नायब उपरीक्षकको कमान्डमा १२ जनाको एक टोली सादा पोसाकमा बाहिर निकालेको छु, उनले भने, 'यसले जघन्य अपराध, हतियार खरखजाना, बम, भूमिगत समूहका गतिविधि निगरानी
गर्नेछ ।' यो टोलीले आर्थिक गतिविधिसँग जोडिएका कुनै विषय नहेर्ने दाबी उनले गरे । ब्युरोमा २५ जना रहने डीआईर्जी सिंहले बताए । यसैगरी अञ्चल प्रहरी कार्यालयमा १५ जना, जिल्लामा १० जना र अन्य त्यसभन्दा तलका इकाईमा एक वा दुई जनासम्म भए पनि इन्टमा बाहिर निकाल्ने तयारी भइरहेको उनले बताए । यसले अपराध हुनुपूर्वका सूचना आउनुका साथै अपराधी नजिक पुग्न सजिलो हुने उनको भनाइ छ । उता झापामा भने अझै घुमुवा आतंक जारी छ । अञ्चल प्रहरी कार्यालय मेचीदेखि 'ख' श्रेणीको इलाका प्रहरी कार्यालय धुलाबारीसम्म घुमुवा छन् । अञ्चल प्रहरी र जिल्ला प्रहरी कार्यालयसहित मातहतका 'क' श्रेणीका सबै चौकी र सशस्त्र प्रहरीको सीमा सुरक्ष्ाा बलमा तीन जनासम्म घुमुवा सक्रिय खटाइएको छ । स्रोतका अनुसार सीमा सुरक्ष्ाा बलमा रमेश कुँवर, डिल्लीराम पराजुली र शेरबहादुर कार्की रहेका छन् भने सशस्त्रकै गौरीगन्ज बेस क्याम्पमा प्रेम बुढाथोकी छन् । अञ्चल प्रहरीमा सुवास केसी र गणेश लुइँटेल, जिल्लामा टेकेन्द्र लिम्बू र यज्ञ पोखरेल, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तुलसी श्रेष्ठ र भोला लुइँटेल घुमुवा प्रहरी हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय दमकले पनि घुमुवा छोडेका छन् । आपराधिक घटनाको अगि्रम सूचना प्रवाह गर्न घुमुवा प्रहरीलाई परिचालन गरिने भए पनि हालै धुलाबारी बजारमा चोरले एकैचोटि ६ वटा पसलका सटर फुटाउँदा प्रहरीले सुइँकोसम्म पाएन । जिल्लाका अधिकांश सीमा क्षेत्रका प्रहरी चौकीमा घुमुवा खटिएको पाइएको छ । केही जिल्ला प्रहरीको निर्देशनमा खटिएका छन्, केही आफुखुसी सादा पोसाकमा हिँडेका भटिन्छन् । अधिकांश घुमुवा हवल्दार दर्जाका छन् । जिल्लाका पोखरेल भने असइ हुन् । आफू कार्यरत प्रहरी कार्यालयलाई गोप्य सूचना उपलब्ध गराएर आपराधिक गतिविधि नियन्त्रण गर्न र अपराधी पक्राउ गर्न सघाउ पुर्याउने उद्देश्यका साथ इन्टेलिजेन्स ब्युरोका रूपमा उनीहरूलाई खटाउने गरिए पनि उद्देश्य बमोजिम काम गरेको पाइँदैन । 'झापामा खटिएका घुमुवाहरू गोप्य खबर संकलन कम र अर्थ संकलन बढी गर्ने गरेको पाइएको छ, सशस्त्र प्रहरीका एकजना अधिकृतले भने 'सूचना संकलनमा भन्दा पनि आफू निकटका कार्यालय प्रमुखहरूको सेवामा उनीहरूका लागि परेका देखिन्छन् ।' व्यवसायी, अवैध कारोबारी, विभिन्न आपराधिक समूह, ठेक्कापट्टा व्यवसायीहरूसँग घुमुवाको उठबस हुन्छ । 'अवैध कारोबारीहरूसँग लाइन उठाउने र हाकिमसम्म पुर्याउने काम पनि घुमुवाकै हो, ती प्रहरीले भने, 'उनीहरू कार्यालय प्रमुखको तजबिजीमा परिचालन रहन्छन् ।' जिप्रका झापाका टेकेन्द्र लिम्बू, अञ्चलका सुवास केसी र सशस्त्रको सीमा सुरक्षा बलका घुमुवा रमेश कुँवरले केही दिनअघि झापाको काँकडभिट्टास्थित रजत होटलमा मादक पदार्थ खाएर उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए । अनारमनीका घुमुवा अम्बिका पोखरेलमाथि एक महिनाअघि बिर्तामोडको व्यस्त सडकमा गोली प्रहारको घटना भएको थियो । 'घुमुवाको नाममा विकृति अझै कायमै छ,' एक प्रहरीले नाम नछाप्ने शर्तमा भने 'घुमुवाका कारण सिंगो संगठनमा असर परिरहेको छ ।' अञ्चल, जिप्रका र सशस्त्रको सीमा सुरक्ष्ाा बलका प्रमुखहरूले झापामा घुमुवा प्रहरी नभएको दाबी गर्छन् । झापाका प्रहरी उपरीक्षक रवीन्द्र शर्माले प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घुमुवा हटाइसकिएको दाबी गरे । उनले आपराधिक गतिविधि नियन्त्रणका लागि केही सादा पोसाकका प्रहरीको एउटा टोली भने
इन्टेलिजेन्स ब्युरोका रूपमा रहेको स्विकारे । उनले भने, 'नियमविपरीत काम गरेको पाए कारबाही हुन्छ ।'
वीरगन्ज संवाददाता भूषण यादवका अनुसार वीरगन्जमा परिचालन घुमुवा हाकिमका लागि पैसा असुल्ने गर्छन् । हाकिमलाई निश्चित रकम बुझाउने सर्तमा परिचालित हुने यस्ता घुमुवाले तस्कर, अपराधीसँग पैसा असुलेर तिनलाई संरक्षण दिने गरेका छन् । उनीहरू आफैसमेत अपराधकर्ममा संलग्न भएको पटकपटक खुलासा भएको छ । 'घुमुवाको मुख्य काम यहाँका व्यवसायीलाई डर त्रास देखाएर हाकिमको नाममा पैसा असुल्ने हो,' वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, 'हामीले तिनलाई गोप्य सूचना संकलन गर्ने प्रहरी मानेका छैनौं ।' अवैध कारोबार बढी हुने वीरगन्जमा तस्करसँगको मिलेमतोमा घुमुवाले हाकिमका नाममा संस्थागत चोरी पैठारीमा समेत संलग्न हुन्छन् । प्रायः सादा पोसाकमा घुम्नेहरू महँगा मोटरसाइकल चढ्न
रुचाउँछन् । पर्सा प्रहरी प्रमुख भएर आएका रमेश खरेलले कमान्डरको आर्थिक फाइदाका कारण घुमुवा प्रहरीको गलत प्रयोग भएको बताउँछन् । उनले भने, 'गोप्य सूचना बिना प्रहरी अपांग हुन्छ ।' सशक्त पुलिसिङका लागि सशक्त घुमुवा परिचालन गर्नुपर्छ । अपराधीको घेरामा छिरी सूचना ल्याउने सादा पोसाकधारीको कर्तव्य हो । यसमा घुमुवाको कुनै गल्ती छैन खरेलले भने, 'उनीहरूलाई परिचालन गर्ने कमान्डर नै गलत भए ।' वीरगन्जमा घुमुवा खट्नका लागि प्रहरीले महिनाको २ लाखदेखि ३ लाख रुपैयाँ हाकिमलाई बुझाउने गरी टेन्डर हालेर आउँथे सम्बद्ध स्रोतको दाबी छ । व्यापारी, उद्योगीदेखि लिएर सर्वसाधारणलाई अपरिचित स्थानमा थुनेर पैसा असुल्ने कामले यहाँका घुमुवाहरू बदनाम छन् । एकताका सादा पोसाकधारीका कारण आतंकित बनेको वीरगन्ज सहर नयाँ एसपी आएपछि केही राहत पाएको उद्योगीहरू बताउँछन् । तस्करीका साथै व्यवसायीमाथि जबर्जस्ती असुलीमा आपराधिक समूहलाई संरक्षण दिने गरेको आशंकामा घुमुवा प्रहरीको समूहलाई कारबाहीस्वरूप गत वैशाख ७ मा यहाँबाट अन्यत्र सरुवा गरिएको थियो । तस्करी लाइन र अवैध असुलीमा उनीहरूको संलग्नता लगायतको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको आदेशमा चार जना विवादास्पद घुमुवालाई अन्यत्र पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस् >>