९४ वर्षमा बैंश आएपछि
Posted by
purwanews
Published on
Wednesday, September 7, 2011
मानिसले सामान्यतया २५-३० वर्षमा बिहे गर्छ । दोश्रो बिहे नै गर्नपरेपनि धेरै भए ४०-५० । तर बेलायतमा एक महिलाले ९४ वर्षको उमेरमा बिहे गरेकी छिन् । ९४ वर्षकी महिलाले बिहे गर्ने बेहुलाको उमेर कति होला ? सायद सबैले लख काट्लान्, सय वर्ष भन्दा माथि । तर ती बुढी तरुनीले बिहे गर्ने बेहुला उनीभन्दा १० वर्ष कान्छा हुन् , अर्थात् उनको उमेर ८४ वर्ष छ ।
बुढ्यौलीको रोगले थलिएर अस्पतालमा भर्ना भएकी ९४ वर्षकी वी स्टान्नार्ड आफ्ना प्रेमी डेरेक वाल्करसँग बिहे गर्ने भनेपछि एकाएक तन्दुरुस्त भइन् । अनी हि्वल चेयरमा बसेर घर फर्किन् । त्यसपछि एक चर्चमा गएर दुईजनाले बिहे गरे ।
वास्तवमा यी दुईको अफेयर १२ वर्षदेखि चलेको रहेछ । १५ वर्षअघि वी आफ्ना छोरानातीकहाँ गएको बेला बेलायती जलसेनाका पूर्व कमाण्डर समेत रहेका डेरेकसँग उनको भेट भएको रहेछ ।३ वर्षसम्म लगातार देखभेट भएपछि १२ वर्षअघि डेरेकले वी सँग प्रेम प्रस्ताव राखेका रहेछन् । बुढेसकालसम्मै कुमार नै रहेका डेरेकले राखेको प्रेम प्रस्ताव वीले सहर्ष स्विकारिछन् । त्यसपछि दुईबीच पिरती गाँसिएछ ।
हुनत आफ्नी प्रेमिका वीसँग डेरेक तत्काल बिहे गर्न चाहन्थे तर कट्टर क्रिस्चियन वी भने आफ्नो पहिलेको श्रीमान जिवितै भएकाले बिहे गर्न मानिनन् । पहिलेको श्रीमानसँग सम्बन्ध विच्छेद भैसकेको भएपनि धर्मभिरु वी ले डेरेकलाई कुराइन् । गएको अक्टोबरमा पूर्व पतिको मृत्यु भएपछि मात्र बिहेको चाँजोपाँजो सुरु भएको थियो ।
बुढेशकालमा बिहे गरेको यो जोडी अल्डेवर्गको सामुद्री किनारको रिसोर्टमा हनिमुन मनाउने योजनामा थियो । तर विवाह समारोहका बेला वी अचानक लडेपछि हनिमुनको योजना रद्ध भएको छ ।
यद्यपि केही महिना अस्पतालमा बसेपछि ९४ वर्षकी श्रीमती निको होलिन् र उनलाई लिएर समुद्री किनारामा मस्ती गरौँला भन्ने सोंचमा छन् ८४ वर्षका पति डेरेक । बुढेशकालको पिरती दिगो होस, शुभकामना छ । onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>