विचार गर्नुहोस्, तपाइ के खाँदै हुनुहुन्छ ?

दशैं तिहार नजिकिँदै गर्दा बजारमा सुरु भएको छ ठगी । यौटा त्यस्तो ठगी जसलाई तपाइले चिन्नुभएन भने तपाइको ज्यानै समेत जानसक्छ । खाद्य पदार्थमा हुने मिसावट हुन् वा अखाद्य वस्तुको प्रयोग गरी बनाइएका खाद्य पदार्थ, मानिसको स्वास्थ्य डामाडोल पारेर महिनौ अस्पतालको बेडमा थलाउन पर्याप्त छन् । होटलदेखि पाउरोटी उद्योग अनि मासु पसलदेखि गुदपाक पसलसम्म मिसावट र अखाद्य पदार्थको प्रयोगका कारण मानिसको स्वास्थ्य जोखिममा पर्दै गएकोछ । भर्खरै राजधानी काठमाडौको यौटागुदपाक पसलमा गरिएको अनुगमन  र अनुगमनबाटप्राप्त नतिजाले त्यो गुदपाकका पारखीहरुको होस हवास नै उडाएको छ ।
राजधानीमै बसेर गुदपाक खाने र राजधानी बाहिर बसेर राजधानी पुग्नेहरुलाई गुदपाक ल्याइदिनु है भन्नुहुन्छ भने एकपटक सोच्नुहोस्, तपाइ के खादै हुनुहुन्छ ?
राजधानीको न्यूरोड गेटनिरको अत्यन्त लोकप्रिय गुँदपाक पसलले म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएको छ। वाणिज्य विभागको अनुगमन टोलीले सोमबार 'गुँदपाक भण्डार'को उत्पादन स्थल निरीक्षण गर्दा 'म्याद गुज्रेको भनी फर्काइएका' लाखामरी, पुष्टकारी र गुँदपाकलाई नै फेरि प्रशोधन गरिएको फेला परेको हो।
'दुषित मिठाइ प्रशोधन गरेर गुँदपाक बनाएको भेटिएपछि गुँदपाक भण्डारको उत्पादन र बिक्री रोक्का राख्न निर्देशन दिएका छौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले सोमबार भने, 'सञ्चालक नरेन्द्र मास्केलाई स्पष्टीकरणसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेका छौं।'
कारखानामा पुनः प्रयोगका लागि फिर्ता ल्याइएका १ हजार ३ सय किलोभन्दा बढी म्याद गुजि्रएका दुषित मिठाइ फेला परेको उनले जानकारी दिए। ती मिठाइ काठमाडौं महानगरपालिकाको सहकार्यमा नष्ट गरिएका छन्। विभागको निर्देशनपछि सोमबार दिउँसोदेखि गुँदपाक भण्डार बन्द छ।
वास्तविक नाम 'कर्नर ताजा गुँदपाक भण्डार' भए पनि सर्वसाधारणमा 'गुँदपाक भण्डार'को नामले चर्चित यो सम्भवतः देशकै चल्तीको गुँदपाक पसल हो। काठमाडौंलगायत देशका सबै जिल्लाबाट र विदेशमा रहेका नेपालीले पनि यहीँको गुँदपाक मगाउने गर्छन्।
वर्षौंदेखि गुणस्तर र स्वादमा अब्बल छवि बनाएकैले यसको लोकप्रियता चुलिएको हो। यहाँ हरेक दिन बिहान पसल खुलेदेखि बेलुकी बन्द नहुँदासम्म उपभोक्ताको भीड लाग्छ। न्यूरोडकै अन्य पसलमा भने ग्राहकको चाप सामान्य हुन्छ। वर्षैभरि भीडभाड रहने गुँदपाक भण्डारको कारोबार दसैं, तिहारजस्ता चाडपर्वमा अझ उत्कर्षमा पुग्छ।
सोमबार विभाग नेतृत्वको अनुगमन टोली ताहाचलस्थित गुँदपाक भण्डारको कारखानामा छिरेपछि भने कसैले नसोचेको तस्बिर सार्वजनिक भयो।
कामदारहरू बजारबाट फर्काइएका लाखामारी, पुष्टकारी, गुँदपाकलगायत मिठाइ फेरि प्रयोगका लागि धुलो पारिरहेका थिए। 'हामी कारखाना पुग्दा कामदारहरू बजारबाट फिर्ता आएका मिठाइ धमाधम रिसाइकल गर्दै थिए,' थापाले भने। उनका अनुसार कामदारसँग बयान लिँदा म्याद गुजि्रएका मिठाइ 'प्रशोधन गरेर फेरि बिक्रीमा पठाउन लागेको' स्वीकार गरेका थिए।
अनुगमन टोलीले कारखानाबाट संकलित अन्य नमूना खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षणका लागि पठाएको छ।
विभागले गत साता अनुगमनका क्रममा अस्वस्थकर मिठाइ उत्पादन र बिक्री गरेको भेटिएपछि दुईवटा पसललाई कारबाही गरेको थियो।
ढलमाथि भान्छा बनाएर अस्वस्थकर रूपमा उत्पादन गरिरहेको नक्सालको केशरभोग मिठाइ पसलको बिक्री बन्द गरी तीनदिने स्पष्टीकरण सोधेको थियो। केशरभोगले स्पष्टीकरणमा गल्ती सकारिसकेको छ। उसले फोहोर व्यवस्थापन गरेको दाबी गर्दै पसल सञ्चालनको अनुमति मागेको छ। विभागले भने एकचोटि फेरि अनुगमन गर्ने र सुधार गरेको भेटिए अनुमति दिने जवाफ दिएको छ।
अनमोल मिठाइ पसलमा भेटिएको कन्हैया घिउ मिसावटयुक्त भएको शंका गरी परीक्षणका लागि पठाएकोमा प्रतिवेदन आइसकेको छैन। अनमोल मिठाइलाई स्पष्टीकरण लिएर छाडिएको छ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा खाद्यवस्तुको अनुगमन र निरीक्षण तीव्र पारिएको छ। विराटनगरको मेन रोडमा रहेको आदर्श जलपान गृहले दूषित मिठाई बेच्ने गरेको पाइएपछि पसल बन्द गरिएको छ।
शाकाहारी नास्ता र मिठाईका लागि चर्चित आदर्श जलपान गृहले बेच्ने खाद्यवस्तुमा मिसावट र अस्वस्थ्यकर भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन टोलीले मङ्गलबार पसलमा ताला लगाइदिएको छ। आदर्शले बेच्ने मिठाई दूषित, खाद्यवस्तु उत्पादन भएको मिति उल्लेख नभएको, परिकारमा डाल्डा प्रयोग गर्ने गरेको, भान्सा घर सफा नरहेको र होटलनजिकैको शौचालय खुल्ला र फोहर देखिएपछि कार्वाहीस्वरुप पसल बन्द गरिएको अनुगमनमा सहभागी उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए।
अनुगमनमा सहभागी पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले खाद्य परिकारमा समस्या रहेको भन्दै धेरैपटक सच्याउन आग्रह गरे पनि आदर्श जलपान गृहले अटेरी गरेकाले पसल नै बन्द गराइएको बताए।
अनुगमन टोलीले उत्पादन मिति नभएको भवानी खाद्य उद्योगबाट उत्पादित वृन्दावन ब्राण्डका ४५ बोरा वेसन बसपार्कस्थित मित्तल इन्टरप्राइजेजबाट बरामद गरेको छ। टोलीले विराटनगर–१२ बाटा रोडमा रहेको क्वालिटी सेन्टरमा बेच्न राखेको म्याद सकिएको खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ। क्वालिटी सेन्टरबाट ६ महिनाअघि पनि म्याद नाघेको सामग्री भेटिएको टोलीका सदस्य ढुङ्गेलले बताए। लभली चाट हाउसमा डल्लो परेको गनाउने एकबोरा मैदा, पकाउनका लागि भिजाएको किराले खाएको मटर, चनाको दाल समेत टोलीले फेला पारेका छन्।
दर्शै  तिहारको अवसर पारेर ठग व्यवशायीले उपभोक्ताहरुको डाढै सेकिने गरी ठग्ने गरेका छन् । सार्वजनिक यातायातदेखि सबैतिर ठगनिे क्रम सुरु भइसकेको छ । यस्तो अवस्थामा बजार अनुगमनका केही प्रयास सुरु भएका छन् । ती प्रयासलाई निरन्तरता दिन र ठगी गर्नेलाई कडा कारवाही गराउन दबाब दिन आवश्यक छ ।

भदौ २० ,with the help of Nagariknews


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :