चिनिँया लगानीकर्ताको यो दादागिरी
Posted by
purwanews
Published on
Saturday, September 24, 2011
चिनिँया लगानीको उद्योग भन्ने बित्तिकै तपाइको सोचाइमा के आउँछ ? पक्कैपनि अन्तर्राष्ट्रिय स्तरको उद्योग तपाइको दिमागमा आउँछ । तर सुनसरीको नर्सिंहमा चीनियाँ लगानीकर्ताहरुले खोलेको मासु उद्योग तपाइले सोचेभन्दा फरक छ । यो उद्योग यति अव्यवस्थित तरिकाले सञ्चालन गरीएको छ कि, उद्योगकै कारण स्थानियहरु विस्थापित हुने अवस्थामा पुगिसकेका छन् । स्थानिय निकायले दिएको चेतावनीलाई धोती लगाउँदै उद्योगले जसरी वातावरण बिगारीरहेको छ, त्यो हेर्दा तपाईलाई सोध्न मन लाग्छ, यो कस्तो दादागिरी हो निनियाँ व्यवशायीको ? के यी निनियाँहरु, जो नेपालमा उद्योग खोलेर मालिक बनेका छन्, उनीहरुले यस्तै उद्योग आफ्नो देशमा खोल्न सक्छन् ?
चिनियाँ लगानीमा सुनसरीको नर्सिंहमा सञ्चालनमा रहेको सिम्याक्स फुड प्रालिले वातावरण नै दुर्गन्धित हुनेगरी फोहोर फाल्ने गरेपछि स्थानिय तीन दर्जन परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
महामारी फैलाउने गरी वातावरणमा प्रदूषण फैलाएर सरोकारवालाको आग्रह समेत वेवास्ता गरेपछि आफूहरु गाउँमा बस्ने वातावरण नभएको स्थानियले गुनासो गरेका छन् ।
उद्योगका मासु सिधै चीन निर्यात हुन्छ । देशकै एकमात्र तथा पुर्वाञ्चलको दोस्रो मासु उद्योगका रुपमा रहेको उक्त उद्योगबाट निस्केका मासु, रगत लगायतका फोहोर वस्तुहरु राम्रो व्यवस्थापन नगरी यत्रतत्र फाल्दा वातावरण दुर्गन्धित भएको, फोहोर वस्तु खोलामा मिसाउँदा खोलाको पानी खाएर गाईवस्तु बिरामी परेको र खोलामा माछा समेत पाइन छाडेको समेत स्थानियको गुनासो छ । सिनो यत्रतत्र खुला रुपमा फाल्दा गाउँमा मानिस बस्न सकिने अवस्था छैन । कतिपय त पटक पटक बिरामी पर्ने गरेका छन् । तर ती निम्नवर्गिय परिवारका गुनासामा कसैको ध्यान गएको छैन ।दैनिक दुई सयसम्म भैसी काटेर मासु विदेश निर्यात गर्ने उक्त उद्योगले वातावरण सफाइमा भने ध्यान पुर्याएको छैन ।
उजुरीअनुसार जिल्ला विकास समितिले वातावरणसँग सरोकार राख्ने सिमएन लगायतका संस्थासँग मिलेर निरीक्षण गर्दा वातावरणमा प्रतिकुल प्रभाव पार्नेगरी उद्योग सञ्चालन गरेको पाइएपछि तीन पटकसम्म पत्र काटीसकेको छ भने गत भदौ २० गते धरानमा बसेको सरोकारवालाहरुको बैठकले समेत उद्योगलाई चेतावनी दिएको छ ।
जिविसले उद्योग नै बन्द गराउने चेतावनी दिएर गत साउन २२ गते समेत पत्र काटेपनि उद्योगले अटेर गरेको स्थानिय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उद्योगसँगको छलफलमा बारम्बार प्रतिबद्धता व्यक्त गरेपनि कार्यान्वयन नगर्दा स्थानियवासीहरु दुर्गन्ध र फोहोरले पीडित हुनुपरेको स्वीकार गर्दै उद्योगलाई सचेत गराउने र नमानेमा बन्द गराउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य कर्मचारीले पछिल्लो समयमा विभिन्न बहाना देखाउँदै मलेसियामा रहेका मिस्टर खो भन्ने चिनियाँ नागरिकले रकम निकासा नगरी कुनै संरचना निर्माण गर्न नसक्ने भनेपछि जिविसले खोलाई उपस्थित गराउन अल्टिमेटम समेत दिएको छ ।नेपालमा लगानी गर्न नेपाली लगानीकर्ता डराइरहेका बेलामा सुनसरीको नर्सिंहमा भने चिनिया लगानीमा करिब एक वर्ष अघि स्थापित यो उद्योग बन्द गराउँदा विदेशी लगानीकर्तामा नकारात्मक असर पर्ने सम्भावना समेत रहेको सापकोटाले बताउनुभयो । यता स्थानियवासीहरु भने उद्योगलै फैलाएको प्रदुषणका कारण आजित बनेका छन् । दुर्गन्धले घरमा बस्नै नसकिने अवस्था उत्पन्न भएको उनीहरुको आरोप छ ।
उद्योगमा काम गर्ने अधिकांश चिनिँया नागरिक नै छन् । दुई दर्जन जति नेपालीलाई काममा राखिएको छ । तर उनीहरुको जिम्मेवारी फोहोर व्यवस्थापन गर्नु मात्र हो । नियमानुसार चिनियाँले ती नेपाली कामदारलाई काम सिकाएर जिम्मा दिनुपर्ने हो । तर उद्योग साँच्चै मनपरी ढंगले चलिरहेको छ भने अर्कातिर गाविसलाई कुनै कर समेत तिरेको छैन । ससंर्ती हेर्दा उद्योगले फाइदा भन्दा बेफाइदा दिएको छ ।
उद्योग सञ्चालनको स्वीकृती दिने निकायले राम्रो अनुगमन नगर्दा समस्या उत्पन्न भएको जिल्ला विकास समिति र वातावरणको क्षेत्रमा काम गरिरहेका संस्थाहरुको ठहर छ । मिस्टर खोलाई भेटेरै चेतावनी दिने, त्यसपछि पनि वातावरण सफाइमा ध्यान नदिए उद्योग नै बन्द गराउने जिविसले योजना बनाएको छ । खो भने दशैं अघि नै नेपाल आउने उद्योग प्रशासन प्रमुख लिलु पौडेलले जनाएका छन् । उनले आफूहरु वातावरण सफा राख्न प्रतिबद्ध रहेको र प्रयास गरिरहेको जनाए । तर पौडेलले मासु उद्योग चलाएर राम्रै कमाइ गरिसकेका छन् भने उनको विपक्षमा लेख्ने सुनसरीका केही पत्रकारहरुको खल्तीमा रकम हालिदिएको समेत बताउँछन् ।फेरीपनि त्यही प्रश्न, के यी चिनियाँ व्यवशायीहरु, जो नेपालमा उद्योग खोलेर मालिक बनेका छन्, उनीहरुले यस्तै उद्योग आफ्नो देशमा खोल्न सक्छन् ? सक्दैनन् भने नेपालमा चाहिँ किन यस्तो मनपरी । नेपाली भुभागको खोला, जमिन, वायुमा खुल्लमखुल्ला धावा बोल्ने अधिकार यिनीहरुलाई कसले दियो ? सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पूर्वन्युज विशेष अनुरोध गर्छ । असोज ५
प्रतिक्रिया दिनुहोस् >>
