सूर्य गार्मेन्टको ठाउँमा अर्को उद्योग
मजदुर हितको नाममा मजदुर संगठनका नेताहरुले गरेको गलत आन्दोलनको दुःखद् परिणाम मोरंग र सुनसरीमा देखिएको छ । मोरंगको सुर्य नेपाल उद्योग र सुनसरीको धरानस्थित औषधी उद्योग मजदुर आन्दोलनका कारण उद्योग आफैले बन्द गर्न बाध्य भएको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेको मजदुरको पारिश्रमिक विवादका कारण पुर्वाञ्चलमा रहेका उद्योगहरु धमाधम बन्द हुँदै गएका छन् । यसको दुरगामी परिणाम नेपालको अर्थतन्त्रले भोग्नुपर्नेछ ।
उद्योगीको लागि एउटा उद्योग बन्द गर्नु आफ्नो जीवनको ठूलो रकम र समयलाई डस्वीनमा फाल्नु जस्तै हो । तर मजदुर संगठनको अनावश्यक दबाबका कारण्ण उद्योगीहरु उद्योग सञ्चालन गर्नसक्ने अवस्थामा छैनन् । उद्योग बन्द भएको अवस्थामा पनि मोरंगको सुर्य नेपाल नयाँ उत्पादनका साथ सुरु हुने भएको छ ।
बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपालले मोरङस्थित गार्मेन्ट कारखानामा नयाँ उद्योग खोल्ने तयारी गरेको छ। मजदुर विवादका कारण व्यवस्थापनले गत साउन ३२ मा सूर्य गार्मेन्ट बन्द गर्ने निर्णय गरेको थियो।
'हामी नेपालभित्र उद्योग खोल्न हुँदैन भन्ने पक्षमा छैनौं र पलायन हुने सोचमा पनि छैनांै,' कम्पनीका कर्पोरेट भाइस प्रेसिडेन्ट रवि केसीले बिहीबार नागरिकसँग भने, 'हामीले गार्मेन्ट उद्योग रहेको स्थानमा अर्को उद्योग सञ्चालनमा ल्याउनेछौं।' उनले त्यहाँ स्थापना गर्ने उद्योगबारे केही खुलाउन चाहेनन्। तर, नयाँ उद्योग सञ्चालनको तयारी भएको जानकारी भने दिए।
केसीले निकासीमूलक उद्योगभन्दा नेपालमै बढी उपभोग हुने वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्नेतर्फ पहल भइरहेको जानकारी दिए। सूर्य नेपालले दुई वर्षअघि फास्टफुड र स्याम्फु उद्योग स्थापना गर्ने घोषणा गरेको थियो। 'निकासीमूलक उद्योग अहिलेको मजदुर समस्याका कारण चलाउन समस्या छ। त्यसैले हामीले मुलुकभित्रै खपत हुने उद्योग स्थापना गर्न खोजेका हौं,' उनले भने, 'गार्मेन्ट बन्द हुँदा भएको क्षति पूरा गर्न अर्को उद्योग स्थापना गरेर कम्पनी अघि बढ्छ।'
कम्पनीले गार्मेन्ट बनाउने अत्यधुनिक मेसिन अर्को कम्पनीलाई बिक्री गर्ने भएको छ। कम्पनीले दक्षिण एसियाकै सबैभन्दा राम्रो र अत्याधुनिक प्लान्ट किनेको दाबी गर्दै आएको थियो। नेपाली तयारी पोसाकको विश्व बजारमा निकासी घटिरहेकाले नेपाली उद्यमीले तत्काल प्लान्ट किन्ने अवस्थामा छैनन्। 'हामीले गार्मेन्ट बनाउने मेसिन अर्को कुनै उद्योगलाई बिक्री गर्नेछांै,' उनले भने। कम्पनीले ३० करोड लगानीमा गार्मेन्ट उद्योग स्थापना गरेको थियो। नेपालमा उत्पादन भएका जोन प्लेर्यस् ब्रान्डका कपडा अमेरिका, इटली, फ्रान्स, क्यानाडा र भारत निकासी हुँदै आएका थिए। गार्मेन्टमा ७ सय मजदुर थिए। तीमध्ये ५ सय ५० जना महिला थिए।
केसीले मजदुरलाई आन्दोलनमा उत्रिएर लगानीको वातावरण समेत नबिर्गान आग्रह गरे। 'मजदुरले गार्मेन्ट बन्द हुँदा भएको क्षतिबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ। तर, अहिले मजदुरले अनावश्यक आन्दोलन छेडिरहेका छन्,' उनले भने, 'यसले हामीलाई नयाँ उद्योग स्थापना गर्न हत्तोसाहित गरिरहेको छ।' व्यवस्थापनले उद्योग बन्दको निर्णयपछि पछिल्लो समयमा मजदुरले रिले अनसन गरिरहेका छन्।
उनले सूर्य नेपालले नेपालमा धेरै क्षेत्रमा लगानीको योजना बनाएको बताउँदै 'पाइपलाइन'मा रहेको योजनालाई प्रभावित नबनाउन समेत आग्रह गरे। केसीले कम्पनी नेपालमा रहेको द्वन्द्व समाधानका लागि रोजगारी सिर्जना गर्ने उद्योग स्थापना गर्ने योजना रहेको जानकारी दिए।
'सरकारले उपयुक्त श्रमिक नीति ल्याए हाम्रा धेरै योजनाले मूर्त रुप पाउँछ,' उनले भने, 'त्यस्तै ट्रेड युनियनले समेत भएका उद्योग बन्द गरेर बेरोजगार बनाउने काम गर्नुहुँदैन।' यो कम्पनीले अन्तर्राष्ट्रिय बजारमा तयारी पोसाकको निकासी घटिरहेको अवस्थामा तयारी पोसाक उद्योगमा हात हालेको थियो।
माओवादी शान्ति प्रक्रियामा आएपछि द्वन्द्व समाधानका लागि बढी रोजगारी दिने तयारी पोसाकमा कम्पनीले लगानी गरेको उनको दाबी छ। सूर्य नेपालले तनँहुमा चुरोट फ्याक्ट्रीको पूर्वाधार तयार गरिरहेको छ। तराईमा पटकपटक हड्ताल भएर उत्पादनमा समस्या भएपछि तनहुँमा चुरोट फ्याक्ट्रीको प्लान्ट स्थापना गर्न लागेको हो। भदौ २३, with the help of nagariknews
प्रतिक्रिया दिनुहोस् >>