तेस्रोलिंगीले यसरी मनाए तीज (फोटो फिचरसहित)
Posted by
purwanews
Published on
Saturday, August 27, 2011
तीज अर्थात् महिलाहरुको चाड । महिलाहरु रातो साडी चोलो लगाएर तीज मनाउन भेला हुन्छन् । गाउँदै नाच्छन् र दर खान्छन् । तर महिला र पुरुष बाहेक फरक स्वभाव भएका तेस्रो लिंगीहरु चाहि के गर्छन् ?परिवार र समाजले हेँला गरेतापनि तेस्रोलिंगीहरुले आफ्नो चाडपर्वलाई भने बर्षेनी मनाउँदै आएका छन् । तीज उनीहरुको वार्षिक क्यालेण्डरमा छ । सोही अनुसार उनीहरुले शनिबार इटहरीमा नाचेर र दर खाएर तीज मनाएका छन् ।
तीजको अवसरमा विभिन्न ठाउँमा विभिन्न समुहका महिलाहरुले संयुक्त रुपमा नाचगान गर्दै तीज मनाइरहेका बेलामा पुर्वाञ्चलका अल्पसंख्यक समलिंगी तथा तेस्रो लिंगीहरुले भने इटहरीस्थित आफ्नै कार्यालयमा भेला भएर तीज मनाए ।
इटहरीस्थित ब्लु डायमण्ड सोसाइटीले तेस्रो लिंगीहरुको लागि तीज मनाउने वातावरण बनाइदिएपछि शनिबार इटहरीस्थित सोसाइटीको क्षेत्रीय कार्यालयमा भेला भएका अल्पसंख्यकहरुले समेत उन्मुक्त भएर नाच्दै तीज मनाएका हुन् । घरपरिवारबाट हेँला र तिरस्कार पाएपनि साथीहरु मिलेर पर्व मनाएको उनीहरको भनाई थियो । उनीहरुको निमन्त्रणामा नगरका विभिन्न दलका प्रतिनिधिका साथै पत्रकारहरु समेत कार्यक्रममा पुगेका थिए ।
पछिल्लो समयमा दातृ निकायले तेस्रो लिंगी एचाइभी संक्रमितहरुको लागि दिँदै आएको औषधी सहायता कोष रोकिदिएपछि समलिंगीहरु समस्यामा परेको गुनासो कार्यक्रममा सहभागि तेस्रोलिंगीहरुले राखेका थिए । सहयोग सुचारु गराएर सहयोग गरिदिन तीजकै अवसरमा उनीहरुले माग समेत गरे । यता कार्यक्रममा उपस्थित दल प्रतिनिधि लगायतले समेत सक्दो पहल गरिदिने आश्वासन दिएका थिए ।
घर परिवार र समाजबाट हेँला पाएका तेस्रो लिंगीहरुले राज्यबाट नागरिकता र समाजबाट सामाजिक सद्भाव नपाएको गुनासो गर्दै आएका छन् । गैससको अनुदान समेत रोकिएपछि एचआइभी र एड्सको औषधी समेत खान नपाउँदा उनीहरु समस्यामा परेका छन् । पूर्वन्युज/भदौ १०
प्रतिक्रिया दिनुहोस् >>




