खुलेआम यौन : विकृतीसँगै अपराध

‘दुई चार पैसाको लागि तपाईहरु बिक्न मिल्छ ?’ आमा समुहकी पवित्रा वाग्लेले यसरी सोध्दा उपस्थित धेरैले ताली बजाएर समर्थन गरे । लगत्तै कार्यक्रम मञ्चमा पुगेकी निरु भारतीले सोधिन्, ‘प्रहरीको समेत खिल्लि उडाइएको छ, एउटाले गरेको कामको असर अर्कोलाई परेको छ, यो कस्तो समाज हो ?’
नेपाल पर्यटन वर्ष २०११ मनाइरहेको नेपालमा होटल व्यवशायको आवरणमा यौन व्यवशाय फस्टाउन थालेपछि समुदायका अन्य सभ्य नागरिकलाई चिन्ता लाग्नु स्वभाविक नै हो । आफ्नो शरीर बेचेर छिटो र सजिलो तरिकाले पैसा कमाउन लागिपरेका यौन व्यवशायी महिलाहरु दिउँसै अर्धनग्न भएर रक्सी खाएर सडक बजारमा हिड्न थालेपछि छेउमै रहेको परिवारलाई पक्कैपनि पच्दैन । कानुनले अवैद्य भनेको र समाजका लागि अपाच्य यौन व्यवशाय गराउने होटल व्यवशायीले अचेल आमा समुहको यस्तै खप्की खान थालेका छन् । शनिबार इटहरीमा आफैले आयोजना गरेको कार्यक्रममा होटल व्यवशायीहरुले नराम्ररी गाली खाए महिलाहरुको ।
अर्धनग्न अवस्थामा युवतीहरु खुलेआम हिड्न थालेपछि परिवारका सदस्यमा नकारात्मक असर परेको, युवतीहरुकै कारण झैझगडा र असुरक्षा बढेको, इटहरी र आफ्नो समुदायको छवि धमिलिएको आरोप महिलाहरुले लगाए । यता इटहरीस्थित बसपार्कमा होटल व्यवशाय सञ्चालन गरेका महिलाहरु प्रतिवादमा उत्रिए, ‘होटलमा गरिएको लगानी फिर्ता देऊ, होटल बन्द गराउँछौं ।’ जवाफमा स्थानियवासीहरुले भने, ‘हाम्रो घर किनिदेऊ हामीलाई पनि यस्तो विकृती भरिएको स्थानमा बस्नु छैन ।’ जतिसुकै बहाना बनाएपनि सर्वपक्षीय दबाबका कारण अन्ततः व्यवशायलाई मर्यादित बनाउन होटल व्यवशायी महिलाहरु सहमत भए ।
इटहरीमा तीन सयको हाराहारीमा क्याबिन, रेष्टुरेन्ट, होटेल तथा लजहरु छन् । जसमध्ये अधिकांशमा यौन व्यवशाय हुन्छ । कति होटल तथा लजले यौन व्यवशायीलाई होटलमै राखेका छन् त कति महिलाहरु होटल मालिकको सम्पर्कमा आएका ग्राहकको लागि होटलसम्म आइपुग्छन् । विकृती हुँदै अपराधको डेरा बन्दैछन् इटहरीका होटल तथा लजहरु ।
यौन व्यवशायलाई पार्टी संरक्षण
पछिल्लो समयमा होटल तथा रेष्टुरेन्टमा हुने विकृती समाधान गर्नु त परै जाओस् राजनीतिक दलका स्थानिय नेताहरु नै होटल र गेष्ट हाउस खोल्न आफै तछाँडमछाड गरिरहेका छन् । विकृतीको बारेमा उनीहरु चुइकक बोल्दैनन् । यस्तै विषयमा इटहरीमा बेलाबखत हुने छलफलहरुमा होटल व्यवशायीको आमनेसामने हुन इटहरीका स्थानिय नेता र लब्धप्रतिष्ठीत भनीने व्यक्तिहरु नै तयार हुँदैनन् । कारण ः राती परेपछि क्याबिन र डान्सबार पुग्ने नेताहरुको पोल खुल्ने डर छ । निरिह प्रशासन, लाचार नागरिक समाज र असक्षम युवा संगठनको कारण यौन विकृतीले संस्थागत रुप लिँदैछ । त्यसको मुल कारण व्यवशायीले पाउँदै आएको राजनीतिक संरक्षण नै हो ।
प्रहरीहरु पनि नेताको लजमा हत्पत्ती नपस्ने हुँदा राजनीतिक शक्तिको आडमा लज चल्दैछ र तीनमा हुँदैछ यौन क्रियाकलाप अनि कानुनले वर्जित गरेको यौनको व्यापार ।
नजरानामै व्यस्त प्रहरी
केही हप्ता अघि इटहरीस्थित इलाका प्रहरी कार्यालयमा एक जना व्यक्ति आएर प्रहरी निरिक्षकसँग गुनासो गरे, ‘सर, मेरो घर न त कुनै होटल हो, न त कुनै गेष्ट हाउस, यौटा मानिस सिधै आएर यहाँ केटी पाइन्छ भनेर सोध्यो । म के गरुँ ?’ इटहरीस्थित बसपार्क छेउछाउ घर भएका मानिसको गुनासो हो यो । बसपार्कका घरै पिच्छे खोलिएका गेष्ट हाउस र त्यहाँ हुने यौन व्यवशायको ग्राहक बन्न आइपुगेको एक व्यक्तिले त्यसरी सोधेको घटनाले नै इटहरीप्रति मानिसको धारणा कस्तो छ भन्ने प्रष्ट हुन्छ ।
यता प्रहरी भने होटलबाट नजराना असुल्नमै रमाउने गरेको छ । मासिक पाँच देखि दश हजार रुपैया नजराना होटल व्यवशायीले प्रहरीलाई बुझाउँछन् । ‘बुझाएन भने रेड हान्देला भन्ने डर हुन्छ ।’ एक व्यवशायीले खुलासा गरे । पछिल्लो समयमा छापा मार्न जाँदा केही प्रहरीहरुले गेष्टहाउसका कोठामा रहेका जोडीहरुको नग्न तस्वीर समेत खिचेको छ प्रहरीले । व्यक्तिगत गोपनीयता र लैङ्गिक संवेदनशीलता विनाका यस्तो क्रियाकलाप अपराध हो, होइन सम्बन्धित निकायले मनन गर्नुपर्ने आवश्यकता छ ।
किनबेच गरिन्छन् बालिका
पारिवारीक मायाको अभाव, पैसाको आवश्यकता, साथीभाईको जस्तो खान र लाउन मनलाग्ने देखासिकी प्रवृत्तीका कारण १६ वर्ष मुनिका बालिकाहरु समेत यौन व्यवशायमा संलग्न छन् । बाल अधिकारको अन्तर्राष्ट्रिय मान्यता नै नंग्याउने गरी इटहरीमा बालिकाहरुको किनबेच गरिन्छ र यौन व्यवशाय गराइन्छ ।
क्याबिनका किशोरीहरुमा जोखिम समेत बढ्दै गएको छ । उनीहरु एचआइभी र एड्सको जोखिममा छन् । त्यसका साथै ग्राहकलाई रिझाउन सँगै बसेर चुरोट तथा मादक पदार्थ खाइदिनुपर्ने हुँदा उनीहरुमा अम्मलको समस्या देखिएको छ भने अत्याधिक रक्सी र शारीरिक पीडाको कारण इटहरीका क्याबिन रेष्टुरेन्टमा कार्यरत् चार जना किशोरीहरुले दुई वर्षको अन्तरालमा ज्यान गुमाइसकेका छन् ।
डोनेसनको व्यापारमा गैसस
क्याबिनका किशोरीहरुका साथै उनीहरुसँग जोडिएर आउने एचआइभी र एड्स लगायत बालबालिका र महिलाहरुको क्षेत्रमा काम गर्ने गैससहरु सुनसरीमा प्रशस्तै छन् । वर्षेनी आधा करोड भन्दा बढी रकम खर्च हुन्छ । तर उपलब्धी शुन्य छ । गैससहरु झन् समस्या समाधान भएको भन्दा बल्झेको हेर्न चाहन्छन् । समस्या बल्झियो भने उनीहरुको प्रपोजल राम्रो बन्छ र प्रोग्राम राम्रो पाइन्छ ।
हालसम्ममा धरानको उप्का नेपालले क्याबिनमा कार्यरत् किशोरीहरुको क्षेत्रमा व्यवहारीक रुपमा सुधारको सकारात्मक प्रयास गरेको देखिन्छ । केही किशोरीहरुलाई आर्थिक सहायता दिएर उनीहरुको जीविकोपार्जनको वैकल्पिक व्यवस्था समेत गरिदिएको छ । तर यस्ता कार्यक्रमबाट पनि अपेक्षित उपलब्धी आउन सकेन । दीर्घकालिन कार्ययोजनाको अभावका कारण असफल हँुदै गएका गैससले अब आफूलाई कार्यक्रममुखी भन्दा पनि परिणाममुखी बनाउनु आवश्यक छ ।
माग : रेडलाइट एरियाको
पुरुष वैदेशिक रोजगारीमा गएपछि उनीहरुका श्रीमतीहरु यौन आवश्यकता पुरा गर्न समेत यौन व्यवशायमा संलग्न हुने क्रम बढेको छ । त्यती मात्र होइन, श्रीमान नभएका तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवार चलाउनकै लागि समेत बाध्यतावश यौन व्यवशायलाई आफ्नो पेशाको रुपमा अंगालेका महिलाहरुको समस्या समेत दुःखद् छ ।
यौन आवश्यकता भएको जनाउँदै यौनलाई कानुनले नै रेडलाइट एरिया तोकेर सुरक्षा दिनुपर्ने माग यौन व्यवशायीहरुको छ । महिला अधिकारकर्मीहरु पनि यस कुरामा अधिक सहमत छन् । ‘गाउँ समाजमा विकृती बढ्नु भन्दा तोकिएको स्थानमा मात्र सिमित होस् यस्तो व्यापार ।’ अधिकांशको भनाईछ ।
आफूलाई बाँध्दै होटल व्यवशायी
पछिल्लो समयमा भने इटहरी बसपार्क क्षेत्रमा विकृती बढ्दै गएपछि स्थानिय महिलाहरुले छापा मार्न थाले । पछि प्रहरीले समेत उनीहरुलाई साथ दिएपछि होटल व्यवशायी अत्तालिएर गत शनिबार छलफल बोलाए । छलफलमा इटहरी नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी निरिक्षक, आमा समुह, पत्रकार लगायतले यौन विकृती हटाएर नगरको छवी र आफ्नो गाउँको परिचयलाई उचो राख्ने वातावरण बनाउन दबाब दिएपछि व्यवशायीहरुले आफ्नो लागि आफैले आचार संहिता निर्माण गरेका छन् ।
आचार संहितामा राती १० बजेभित्र होटल तथा रेष्टुरेन्ट बन्द गर्ने, कार्यरत् महिलाहरुको पुरा विवरण खुल्ने प्रमाण राखेर मात्र काममा राख्ने, काममा राख्दा ड्रेस अनिवार्य गर्ने, ग्राहकको समेत परिचय खुल्ने तथ्यांक राख्ने, अनुगमन कर्तालाई सहयोग गर्ने, होटलका क्याबिन पारदर्शी बनाउने लगायतका नियम छन् । नियम भदौ १ गतेदेखि कार्यान्वयन हुने संघका अध्यक्ष रितेश श्रेष्ठले जनाएका छन् ।
एक वर्ष अघि पनि इटहरीको पकलीस्थित नयाँ प्रगतिशिल आमा समुहले स्थानिय होटल तथा रेष्टुरेन्टमा हुने यौन व्यवशाय र त्यहाँ रहेका किशोरीहरुका कारण सामाजिक असभ्यता बढेको भन्दै आन्दोलित भएका थिए । सो लगत्तै डीआइजी भीष्म प्रसाई इटहरी आए अनि शान्ती सुरक्षा कायम गर्ने र इटहरीमा यौन विकृती हटाउने प्रतिबद्धतापत्रमा नगरवासिलाई हस्ताक्षर गर्न लगाए । तर त्यो कागजमा मात्र सिमित भयो ।
आचार संहिता पटक पटक बनेका छन् । गैससहरुले गरेका करिब आधा दर्जन कार्यक्रममा कार्यक्रम पिच्छे आचार संहिता जारी गरिए । तर समस्या घटाउने नाममा जारी गरिएका आचार संहिताहरुमा व्यवशायीकै जुझारुपन नदेखिएपछि त्यसै खेर गयो । तर यसपटक भने व्यवशायीहरु नियम पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याउन सहयोग समेत गर्ने जनाउँछन् । महिलाहरुले नै महिलालाई क्याबिनबाट घिसार्दै निकाल्ने अवस्था भएपछि होटल तथा रेष्टुरेन्टमा ग्राहक नै जान छाडेको भन्दै आत्तिएका व्यवशायीहरुले समस्या केही घटाउने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :