बर्बाद पारे हाकिम बाबाले !
Posted by
purwanews
Published on
Tuesday, July 19, 2011
के तपाइलाई कुनै कार्यालयको हाकिम बन्न मन छ ? कि आफ्नो गाउँ ठाउँको टेण्डर पार्न मन छ ? त्यसो भए हाकिम बाबालाई भेट्नुहोस् । तर भेटी चाहिँ टन्नै चाहिन्छ है । नत्र आशीर्वाद नपाइने सम्भावना मात्र होइन, ग्यारेन्टी नै हुन्छ । किनकी व्यवशायको जमाना छ । उनको आशिर्वादले तपाइको काम बन्यो भने त्यही अनुसारको दक्षिण टक्रयाउनुपर्छ । दक्षिणा ल्याउन गाह्रो हुन्छ भने बाबालाई चेक भएपनि हुन्छ । तर मनोकामना पुरा भएन भने दुःख मनाउ नगर्नुहोला । किनकी यिनको बानी नै यस्तै छ । लौ त उसोभए यी हाकिम बाबाको परिचय तर्फ लागौं :
वास्तविक नाम : विकास कुमार चौधरी
ठेगाना : पुर्व कुशाहा ६, सुनसरी
पेशा : नखुलेको
बसोबास : काठमाडौ, सुनसरी, मोरङ (जहाँ मन लाग्छ, त्यही)
यी नै हुन् हाकिम बाबा । तर यिनी त्यसै हाकिम बाबा बनेका होइनन् । आफू गच्छदारको निजी सचिव भएको बताउदै चौधरीले देशभरबाट झण्डै डेढ दर्जन व्यक्तिहरुबाट विभिन्न बहानामा झण्डै पचास लाख लिएर ठगि गरेका छन् ।
करोडौंको विकास निर्माण दिलाउने, शसस्त्र, जनपथ प्रहरीको अधिकृत तहमा तथा खानेपानीको सहायक अधिकृत, नेपाली सेनाको अधिकृतमा जागिर लगाइदिने लगायतका प्रलोभन देखाउँदै रौतहदेखि सुनसरीसम्मका १५ भन्दा बढी व्यक्तिसंग ४४ लाख रुपियाँ लिएर चौधरी फरार भएको पिडितहरुले गुनासो गरेका छन् ।
उनले रौतहट जिल्लाका विकास चौधरीसंग खानेपानीमा सहायक अधिकृतको जागिर दिलाइदिने भन्दै २० लाख, शसस्त्र प्रहरीको प्रहरी निरिक्षक पदमा जागिर लगाइदिने भन्दै रौतहटकै अजित कुमार चौधरीसंग ८ लाख, राष्ट्रिय अनुसन्धानमा प्रहरी सहायक निरिक्षमा जागिर लगाईदिने भनी सर्लाहीका सुनिलबिक्रम चौधरीसंग पटक पटक गरि १२ लाख रुपियाँ लिएका छन् ।
उनले सुनसरी भादँगाँउ सिनवरीका अमनकुमार चौधरीलाई झुम्काको सडक, बस स्टेन तथा ड्रेन निर्माणका लागि पौने तीन करोडको योजना दिलाउने भन्दै एड्भान्स रकम स्वरुप चौधरीले २ लाख ५० हजार लिएको पिडितले जनाए ।
मन्त्रालयका सचिव देखि लिएर डिईसम्मलाई भेट गराउने हुँदा चौधरीको विश्वास गरेर रकम दिएको पीडितहरुको गुनासो छ । पैसा लिएर काम नदिलाएपछि उसले प्रयोग गर्दै आएको को ७ प ५७४० नम्बरको सेतो रंगको अपाचे मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् पीडितहरुले ।
हाकिम खानु र विकासे ठेक्का पाउनु त कता हो कता उल्टै आफूसँग भएको लाखौ रकम समेत गुमाउनुपरेपछि रन्थनिएका पीडितहरुले फोरम लोकतान्त्रिकको कार्यालयमा उजुरी दिने क्रम बढेको छ । विकासले अझै पनि आफुलाई गच्छादारको निजी सचिव भनेर धेरैलाई ठगिरहेको गुनासाहरु पार्टी कार्यालयमा आएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रिय कार्यालयका सचीव परमानन्द मेहताले बताए । विकास विरुद्ध रौतहटबाट समेत कारवाहीको माग गर्दै लिखित उजुरी आएको मेहताले पुष्टि गरेका छन् ।
विकास कुमार चौधरीका विभिन्न बैक भौचर सहित उनीबाट ठगिएका सुनसरीको पकलीका एक व्यवशायीको गुनासो तल भिडियोमा जस्ताको तस्तै :
प्रतिक्रिया दिनुहोस् >>

