ब्रम्हलुटको अखडा - वीपी प्रतिष्ठान
Posted by
purwanews
Published on
Wednesday, July 27, 2011
“अस्वस्थ र समस्याग्रस्त बालक जस्तै भएको छ वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ।”
मुलुककै ठूलो स्वास्थ्य संस्थाको रुपमा स्थापित धरानस्थित वि.पि. प्रतिष्ठानबारे गरिएको यो टिप्पणी सर्वसाधारणले भावावेशमा आएर गरेको टिप्पणी होइन । यो विश्लेषण त विज्ञहरुको हो । त्यो पनि सिनियर चाटर्डएकाउण्टेन अनुपकुमार श्रेष्ठको नेतृत्वमा विआरएस न्यौपाने एण्ड कम्पनीका चार्टर्ड एकाउण्टेण्टहरुको समूहले काठमाडौंबाट आएर धेरैदिन लगाई सन् २००९ को अगस्टमा गरेको अध्ययनको निष्कर्ष हो । उनीहरुको निष्कर्ष थियो “विमारीलाई उपचार गर्ने प्रतिष्ठान आफै विमारी भएको छ ।” प्रतिष्ठान कुपोषणले ग्रस्त भएको, पोलियो लागेको र सुस्तमनस्थितिबाट पीडित व्यक्तिको अवस्थामा छ । यो अवस्था प्रतिष्ठानका लागि अत्यन्तै हानिकार छ र प्रतिष्ठानलाई यस अवस्थामा पु¥याउने प्रतिष्ठान भित्रकै तत्वहरु हुन । स्वस्थ प्रतिष्ठान बनाउन अझै प्रयास नगरे प्रतिष्ठान भुताह खण्डरमा परिणत हुने छ ।
उनीहरुले प्रतिष्ठानको गतिविधिमा विश्वसनीयता र जिम्मेवारीबोध कसैबाट नपाएको र व्यवस्थापनका न्यनत्तम आधारभूतका कला समेत नपाएको बताएका थिए । उनीहरुले प्रतिष्ठानमा रहेका स्थाई प्रशासन भनिने कर्मचारीतन्त्रले जिम्मेवारीबोध नगरेकाले कार्यप्रणाली सुस्त भएको उल्लेख गर्दै कार्यसमितिका पदाधिकारीहरुमा दायित्वबोध नभएको स्पष्ट संकेत गरेका थिए । उनीहरुले प्रतिष्ठानको भण्डार व्यवस्थापन, खरिद प्रक्रिया, मानवसंशाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन र आन्तरिक लेखापरिक्षण प्रणाली अत्यन्तै कमजोर भएको उल्लेख गर्दै भण्डार (स्टोर) शाखामा ८ महिनादेखिको कुनै अभिलेख नै नभएको उदाहरण पेश गरेका छन् ।
त्यसैगरी सो समूहले प्रतिष्ठानका कर्मचारीहरु दक्ष नभएको स्पष्ट उल्लेख गर्दै कर्मचारीहरुमा आफूले के काम गर्ने भन्नेसम्मको जानकारी पनि नभएको र उनीहरु दिनदिनै प्राप्त निर्देशन अनुसार परिचालित हुने गरेको उल्लेख गरेका छन् । यसो हुनु लक्ष्यविहीनता हो र प्रतिष्ठानलाई जोखिममा पु¥याउने लक्षण भएको विज्ञहरुको धारणा छ । चार्टर्ड एकाण्टेण्टहरुको समूहले प्रतिष्ठानका सम्बन्धमा लगभग ८० पृष्ठको अध्ययन प्रतिवेदननै तयार पारेको थियो, जसमा प्रतिष्ठानको अवस्थाबारे मात्रै उल्लेख गरिएको छैन, प्रतिष्ठानले के गर्नुपर्ने हो, के गर्नु नपर्ने हो लगायतसम्मको सुझाव दिइएका छन् । दुई वर्षअघि दिइएका सुझाव प्रतिष्ठानका पदाधिकारीहरुले रद्दीको टोकरीमा मिल्काएर फ्याँकेका कारण समस्या ज्यूँका त्यूँ छ ।
प्रतिष्ठान भित्रै सशस्त्र गतिविधि
धरानको ७ सय एकड भूमिमा अवस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल र नेपालीको प्रतिष्ठाको सवाल हो अनि नेपाली जनताको खुन पसिनाबाट आर्जित राजस्वबाट संचालित प्रतिष्ठान स्वभाविकरुपमा जनसरोकारको पनि विषय हो । अझ प्रतिष्ठानलाई यो अवस्थाबाट जोगाउनु नागरिकहरुको दायित्व पनि हो । प्रतिष्ठान राजनैतिक अखडा र कर्मचारीतन्त्रको खेलमैदान भएको नागरिकहरुले १७ वर्षसम्म मुकदर्शक भएर हेरिरहेका थिए । यसबीचमा प्रतिष्ठानमा हुनु नहुनु भयो । यहाँका उपल्लो तहमा बसेका पदाधिकारीले पदको दूरुपयोग गरेर प्रतिष्ठानमा ब्रह्मलुट गरे, अहिले पनि गरिरहेका छन् । उनीहरुले कतिसम्म गरे भने प्रतिष्ठानमा हतियारधारी डाँकाहरु ल्याएर कयौं दिनसम्म अतिथि बनाएर राखे । उनीहरुले प्रतिष्ठानका हितमा कार्य गर्ने र संघर्षको अगुवाई गर्नेहरुलाई सशस्त्र समूहको आडमा परिवारलाई नै अपहरण गरेर सिध्याउनेसम्मको धम्किदिने र उनीहरुलाई सताएर निरुत्साहित र निस्तेज तुल्याउने गरे । त्यसो त उनीहरुले धरानका पूर्वदूव्र्यसनीहरुको समूहलाई प्रयोग गरेर धरानका पूर्व मेयरलाई सिध्याउने धम्किदिन पनि पछि परेनन् ।
राजमार्ग उत्तर र पहाडी समुदायका डाक्टर–कर्मचारीहरुलाई पूर्वदूव्र्यसनीहरुको समूह लगाएर तह लगाउने तथा राजमार्ग दक्षिणका र तराईका डाक्टर र कर्मचारीहरुलाई भने मधेशका सशस्त्र समूह र डाँकाहरु लगाएर तहलगाउने कार्य गर्दै प्रतिष्ठानमा उनीहरुले एकछत्र राज गर्दै आएका छन् । यसले गर्दा प्रतिष्ठानबाट राम्रा शिक्षक र डाक्टरहरु पलायन पलायन भईरहेका छन् । उनीहरु प्रतिष्ठानमा आउनपनि चाहदैनन् । विज्ञापन गरे अनुसारको कहिल्यै पदपुर्ति नहुनु यसको गतिलो उदाहरण हो । प्रतिष्ठानले यहाँका शिक्षकहरुलाई उत्कृष्ट आवास तथा अध्ययन अनुसंधानको सुविधा उपलब्ध गराउनुका साथै उनीहरुका छोराछोरीलाई निःशुल्क अध्ययन गर्ने सुविधा समेत दिने गरेको छ । प्रतिष्ठानले दिए जतिसुविधा सम्भवतः नेपालका कुनै पनि अन्य सरकारी लगानीका शिक्षण संस्थाले दिएको छैन । हो, अहिले भर्खरै खुलेका निजी क्षेत्रका केही संस्थाले भने प्रारम्भमा प्रलोभनका चारो छरेका छन् तर त्यो दीर्घकालीन होइन । केही चिकित्सकहरु यसैका प्रलोभनमा फसेका पनि छन् तर धेरै जसो प्रतिष्ठानमा भएको मनपरितन्त्रको शिकार भएर उनीहरु पलायन भएका हुन् ।
प्रतिष्ठानमा छोटे राजाहरुको विगविगी
“धराने जनताले भि.सी.को कार्यकक्षमा ताला लगाउने हो ? उनीहरुले त राम्रो उपचार देऊ भनेर भिख माग्ने हो । ” छोटे राजाहरुको आसय यस्तो छ । उनीहरु आफूलाई प्रतिष्ठानको राजा–महाराजा ठान्छन् र भन्छन् “उनीहरुले त आफूलाई अध्ययन सामाग्री बनाइदिएर ठूलाठूला डाक्टर बनाउन चुपचाप सहयोग गर्ने पो हो त ।” वि.पि. प्रतिष्ठान शिक्षण संस्था भएकाले यहाँ आउने बिमारीको पहिले उपचार हैन अध्ययन गरिने उनीहरुको भनाई छ, । यो कुरा सर्वसाधारणले पनि थाहा पाउनुपर्नेमा जोडदिन्छन् । राम्रो डाक्टरको उपचार पाउन त लामो समय कुर्नु पर्ने उनीहरु बताउछन् । यी भनाईहरु कपोकल्पित होइनन् । “राम्रो प्रतिष्ठान, हाम्रो प्रतिष्ठान कसरी बनाउन सकिन्छ” भन्ने सन्दर्भमा केही दिन अघि ब्लाष्ट दैनिकमार्फत सार्वजनिक भएका कुराकानी हुन । के साँच्चै उनीहरुले भने जस्तै हो त प्रतिष्ठान ? के उनीहरुले भने जस्तै हुन्छ दुनियाँभरका स्वास्थ्य शिक्षण संस्थाहरु ? “लाटो देशको गाँडो तन्नेरी” भनेजस्तै हो, उनीहरुको भनाई किन कि मानवजाति भनेको पृथ्वीका सर्वोत्कृष्ट प्राणी हो, उनीहरु कुकुर–बिरोलो वा खसी–बोका होइनन् । मानिसलाई ‘गिनी पिग’ (अध्ययन सामाग्री) बनाउन पाईदैन । मानवाधिकारका दृष्टिकोणले पनि मानव शरीरलाई जीवत अवस्थामा त के शवलाई पनि मृतकको अग्रिम स्वीकृतिबिना ‘गिनी पिग’ बनाउन पाईदैन । बिमारी र आफन्तजनको स्वीकृृतिबिना दूनियाँको कुनैपनि कानुनले विमारीको शरिरलाई अध्ययन सामाग्री बनाउन स्वीकृति दिदैन । हामी विकासोन्मूख राष्ट्रका जनता हुनुको हामी पीडा भोगिरहेका छौं र उनीहरु ‘लाटो देशको गाँडो तन्नेरी’ भएका मात्र हुन । होईन भने कुनै पनि विमारीको शरीरलाई उनीहरुले अध्ययनको विषय बनाउन लाखौं रुपैयाँ लगानी गर्नुका साथै निश्चित् समयका लागि सम्झौता गर्नुपर्ने हुन्छ अनि विज्ञहरुको निगरानी र निर्देशनमा अध्ययन गराउने चलन छ ।
पछिल्लो समयमा त बिमारीको भिडियो रेकर्ड गरेर अध्ययन–अध्यापन गराउने गरिन्छ, जुनियर चिकित्सकहरुलाई बिमारीको शरिर छुन पनि दिइदैन तर यहाँ त ‘ईन्टर्नसीप’ गर्दै गरेका विद्यार्थीले नै सम्पूर्ण रेखदेख गर्छन । उनीहरु नेपालीको गरिबीको फायदा उठाईरहेका छन् र लाजैबिना भन्छन्, “प्रतिष्ठानलाई शिक्षण संस्था भनेर नलेख्दा भ्रम भएको हो ।” उनीहरुले के बुझ्न जरुरी छ भने शिक्षण संस्था मात्रै भन्ने हो भने चीनबाट डाक्टर भएर आएकाहरुको गति हुने दिन पनि आउने छ । धरानले आफ्ना नगरवासीहरुलाई प्रतिष्ठानको अध्ययन सामाग्री नबनाउन र नगरवासीहरुका निम्ति छुट्टै स्वास्थ्य उपचारसेवाको व्यवस्था गर्ने हो भने र मुलुक संघीयतामा प्रवेश गरिरहेका बेला राज्य सरकारले आफ्ना नागरिकका लागि अलगै स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउने व्यवस्था ग¥यो भने प्रतिष्ठानले उत्पादन गर्ने जनशक्ति चीनबाट डाक्टर भएर आएकाहरुको भन्दा भिन्न हुने छैन ।
अर्कोतर्फ प्रतिष्ठानका शिक्षकहरुको मनपरीतन्त्रका कारण विद्यार्थीहरु आत्महत्या गर्नसम्म बाध्य भएका छन् । लाखौं लगानी गरेर अध्ययन गर्न आएका विद्यार्थीहरु शिक्षकको मनपरीतन्त्रको शिकार भईरहेका छन् । अन्य स्वास्थ्यकर्मि र कर्मचारी पनि असमान व्यवहारको शिकार भई रहेका छन् । प्रतिष्ठानलाई भड्खालोमा हालेर उनीहरुले लगानी गरेका र कमिशनका लागि निजीक्षेत्रका स्वास्थ्य केन्द्रलाई उकास्ने षड्यन्त्रमा लागि रहेका छन् । प्रतिष्ठानलाई राजनैतिक भर्तिकेन्द्र बनाइएका कारण यहाँका तल्लास्तरका कर्मचारीले समेत आमजनतालाई दूव्र्यवहार गर्न हिच्किचाउदैनन् । नागरिकले तिरेकै राजस्वबाट जीविकोपार्जन गर्ने प्रतिष्ठानका पदाधिकारी, चिकित्सक र कर्मचारीहरु जनतालाई भुसुना बराबर पनि मान्दैनन् ।
प्रतिष्ठानः संघर्षको प्रतिफल
धरानमा ठूलो स्वास्थ्य संस्थाको स्थापना गरिनुपर्छ भनेर धराने नागरिकहरुले १८ वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिराजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएका थिए । त्यसबेला धराने युवाहरुले ‘ईण्डिपेण्डेट युथ अर्गनाईजेशन’ भन्ने संस्था गठन गरेर टोलटोलबाट संघर्षको थालनी पनि गरेका थिए । अर्कोतर्फ ब्रिटिशले आधारभूत आवश्यकताका साधन सहित छाडेर गएको ७ सय एकडको विशाल भूमि भारतीयहरुले मनपराएपछि विराटनगरमा स्थापना गर्ने तयारी भएको प्रतिष्ठान धरानमा आएकोे हो । यो स्थानमा हजार शैयाको शिक्षण अस्पताल खोल्न अर्को विदेशी संस्था पनि आएका थियो । त्यसबेला राजनैतिक पूर्वाग्रह राखेर सो संस्थाको प्रस्तावलाई तत्कालिन सरकारले अस्वीकृत गरेको थियो र धरानेहरुलाई रुष्ट तुल्याएको थियो । यो ईतिहास कसैले भुल्न खोज्छ र धरानेहरुलाई कमारो बनाउने प्रयास गरिन्छ भने त्यो दुस्साहस हो ।
प्रतिष्ठानलाई ‘राम्रो र हाम्रो’ बनाउनु हाम्रो दायित्व हो, हामी धरानेहरु त्यही भूमिका निर्वाह गर्ने प्रयासमा छौं तर केहीले जनताको उपस्थितिलाई आफ्नो स्वर्गमा धावा बोलेको ठानेका छन् र जनतालाई रोक्न अनेक बहाना बनाईरहेका छन् । उनीहरुले बुझ्न आवश्यक छ, लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हुन्छन् र जनता महान हुन्छन् । तसर्थ पहिला जनता, त्यसपछि प्रतिष्ठान अनि मात्रै उनीहरुको अस्तित्वको गणना हुन्छ । अर्को कुरा लोकतन्त्रमा पारदर्शिता पहिलो सर्त हो । जनताबाट लुकाउनुपर्ने र जनताका माझमा ल्याउन नहुने सार्वजनिक संस्थाहरुको केही पनि हुँदैन । जति जनताका माझमा ल्याउन सकियो, संस्थाहरु त्यति नै मजबुत हुन्छन् । अझ अस्वस्थ र समस्याग्रस्त बालक जस्तो प्रतिष्ठानको उपचार सहीमानेमा जनताले मात्रै गर्न सक्छन् । प्रतिष्ठानलाई जनताबाट टाढा राख्नु प्रतिष्ठानलाई सिध्याउने खेलबाहेक अरु केही होइन । प्रतिष्ठानलाई तथाकथित उपल्लोतहका पदाधिकारीहरुबाटै सिध्याउने खेल भएको छ । यही कुरा बुझेर तत्कालिन अर्थसचिव रामेश्वर खनालले प्रतिष्ठानमा आर्थिक अनियमितता भएको संकेत गर्दै बजेट रोकेका थिए । यसपटक सरकारले तीन करोड रुपैयाँ मात्रै बजेट दिएर पुनः प्रतिष्ठानको त्यही मूल्यांकन गरेरको पुष्टि गरेको छ किनकि प्रतिष्ठानको बजेटवृद्धि गर्न उपकुलपति, रजिष्टार, निर्देशक लगायतले काठमाडौंमा केहीदिन डेरानै जमाएका थिए तर केही गर्न सकेनन् ।
प्रतिष्ठानमा ब्रह्मलुट अझै जारी
प्रतिष्ठानको अवस्था बारे विआरएस न्यौपाने एण्ड कम्पनीका चार्टर्ड एकाउण्टेण्टहरुले गरेको विश्लेषण र संलेषण अहिलेसम्म युक्तिसंगत छ । उनीहरुले दिएको सुझाव प्रतिष्ठानमा अझै लागु गरिएका छैनन् । आर्थिक मितव्ययिता कुन चरीको नाम हो, प्रतिष्ठानलाई थाहा छैन । वर्षेनी सरसफाई र सुरक्षाका नाममा तीन करोड रुपैयाँको सेरोफेरोमा खर्च गरिन्छ । त्यसैगरी मेशिन मर्मत र सवारी साधन मर्मतमा पनि तीन करोड रुपैयाँ भन्दाबढी नै खर्च गरिन्छ । जनशक्तिको प्रयोग हुने क्षेत्रमा त यथावत् वा त्यो भन्दा बढी खर्च हुनसक्छ तर मेशिन र सवारी साधन मर्मतको खर्च बर्षैपिच्छे बढ्दैन । विभिन्न मर्मतका नाममा वर्षेनी ६ करोडभन्दा बढी रुपैयाँ खर्च हुने गरेको छ । प्रतिष्ठानले वार्षिक एक करोड रुपैयाँ जति त खानेपानीमा मात्रै खर्च गर्दै आएको छ । त्यसैगरी दक्ष जनशक्तिको उत्पादन र विकास गर्ने प्रतिष्ठानमा वर्षैपिच्छे अर्धदक्ष र अदक्ष कामदारको संख्या घट्दै जानुपर्ने हो, तर यहाँ जहिलेसुकै अदक्ष जनशक्तिले नै कार्य गरिरहेको र प्रतिष्ठानले समस्याको सामान गर्नु परिरहेको पाइन्छ ।
प्रतिष्ठान स्थापना भएको १८ वर्ष भईसक्दा पनि आत्मनिर्भर हुन नसक्नु यो भन्दा लज्जास्पद विडम्बना अरु के हुन सक्ला ? सरकारले बजेट कम दिएको निहूँमा जनताको ढाड सेक्ने नीति अख्तियार गरेको छ । आर्थिक मितव्ययिताको नीति अपनाउन नसक्ने पदाधिकारीहरुले प्रतिष्ठानमा ब्रह्मलुट मचाउन जनताको ढाड सेक्ने नीति अख्तियार गरेका हुन भन्दा फरक नपर्ला । तर पनि दिगो र भरपर्दो आर्थिकस्रोत भने अस्पताल सेवाबाट प्राप्त हुने रकम होइन । दिगो स्रोत शैक्षिक कार्यक्रम नै हो । भनिन्छ, यसबाट प्राप्त हुने रकमले प्रतिष्ठानको आन्तरिकखर्चको साठी प्रतिशत मात्रै धान्ने गर्छ । पछिल्लोपटक प्रतिष्ठानले शिक्षक, चिकित्सक, स्वास्थ्यकर्मि र कर्मचारी लगायतको तलबभत्ता र सुविधामा गरेको वृद्धिले प्रतिष्ठानको खर्च लगभग ७५ देखि ८० करोड रुपैयाँसम्म पुगेको छ । गतवर्ष प्रतिष्ठानलाई तलब धान्न पनि धौधौ परेको थियो । प्रतिष्ठानका उपकुलपतिले राजनैतिकपार्टीलाई गुहार्नुका साथै सरकारका मन्त्री र सचिवहरुको कम्ति चाकडी गर्नु परेको थिएन । यती हुँदाहँुदै पनि तीन–चार महिनापछि मात्रै तलब निकासा हुन सकेको थियो ।
यस्तो अवस्था हुँदाहुँदै पनि उच्चपदस्थ पदाधिकारीहरु प्रतिष्ठानलाई पारदर्शी बनाउन मानिरहेका छैनन् । जनतासंग सहकार्य गर्न त परै जावोस, जनताको चासो र चिन्तालाई पनि गलत व्याख्या गरिरहेका छन् । जिम्मेवार राजनैतिकदलहरु समेत प्रतिष्ठानमा भईरहेको गतिविधिलाई आँखा चिम्लेर बसेका छन् । अझ स्पष्टरुपमा भन्दा प्रतिष्ठान उनीहरुको पनि ‘दुहुनो भैसी’ भएको छ । यस्तो अवस्थामा जनताले हस्तक्षेप गर्नुको अब विकल्प छैन । किनकि प्रतिष्ठान कसैको बपौती पनि होईन, न त कसैको आमाको दाईजो ।
भारतीय सहयोगमा निर्माण भएकै कारण प्रतिष्ठानमा नेपाली जनताको पहुँच कम हुनुपर्छ भनेर कसैले भन्छ भने त्यो भ्रम पनि आजैका मितिबाट त्यागे हुन्छ किनकि नेपाली युवाहरुले भारतका लागि बगाएको खुन–पसिना र नेपाली प्राकृतिक सम्पदाको दोहन एवं भारतसंग नेपालले भोग्दै आएको व्यापार घाटा लगायतको हिशाब किताबका तुलनामा प्रतिष्ठानमा भारतले गरेको लगानी अत्यन्तै न्यून हो । अर्को कुरा, भारतीय नेताहरुले प्रतिष्ठानमा आफ्नो निजी सम्पत्तिबाट सहयोग गरेका होइनन् । त्यहाँका जनताको रगत–पसिनाबाट आर्जित राजस्वबाट गरिएको हो । त्यसैले जनताको तहबाट भएकोले जनतासंगको सम्बन्ध र साईनो नेपाली जनताको पनि उस्तै हो । प्रतिष्ठानले अस्पताल सेवाको शुल्क बढाएर होस्, वा शिक्षण शुल्क बढाएर प्रतिष्ठान चलाउन खोजेपनि जनतासंग गाँसिएकै सवाल हो । प्रतिष्ठानको सवालमा नेपाली जनतालाई अलग गरे हेर्नपनि सकिन्न र कसैले हेर्ने दुस्साहस पनि गर्नुहुन्न ।
अन्त्यमा ...
स्थापना भएको १८ वर्ष पुगेपनि प्रतिष्ठानलाई युवा हुन नदिई अस्वस्थ र समस्याग्रस्त बालक सरह बनाइएको छ । प्रतिष्ठानभित्रका धमिराहरुलाई अब जनताले मात्रै ठीक गर्नसक्छन् । यो दायित्व हामी सबै नेपालीको हो । तसर्थ, यस दायित्वबाट हामी कोही पछि पर्नु हुन्न अन्यथा प्रतिष्ठान भूतहा खण्डर भएको हेर्नुको विकल्प हुने छैन ।
- महेश श्रेष्ठ
( लेखक पत्रकार एवं उच्चस्तरीय निगरानी, अनुगमन तथा समन्वय समिति, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयोजक हुन) प्रतिष्ठानको फोटो प्रतिष्ठानको वेभसाईट खोलेर तान्नु होला ।
सम्बन्धित समाचारहरु :
प्रतिक्रिया दिनुहोस् >>
