माइक्रोसफ्ट अफिस २०१० नेपालीमा - उपयोगि कि बेकार ?


अंग्रेजी भाषा नजान्ने मानिस पंगु सावित हुन्छन् अचेल । यता गयो अंग्रेजी उता गयो अंग्रेजी । अंग्रेजी नजान्ने मानिस त सत्तोसराप गर्छन् अंग्रेजीको । तर जतिसुकै गाली गरेपनि के गर्नु, तिनैका छोराछोरी अंग्रेजी माध्यमका विद्यालयमा पढिरहेका हुन्छन् ।
सरकारी विद्यालय त अंग्रेजीमा अध्यापन गराउन लागिरहेका छन् । तर अंग्रेजी नजानी नहुने अवस्थामा पनि नेपाली युनिकोडका सफ्टवेयर बनिरहेका छन् । यो नेपाली प्रयोगकर्ताको लागि उपयोगि छ वा छैन, त्यो बहसको विषय बन्न सक्छ, तर अहिलेलाई भने यो नयाँ आविष्कारका सम्बन्धमा जानकारी लिऔं :

अब कम्प्युटर चलाउन अंग्रेजी भाषा जान्नैपर्छ भन्ने छैन। माइक्रोसफ्टले एक वर्ष अघिमात्र
सार्वजनिक गरेको 'अफिस २०१०' लाई नेपालीकरण गरिएको छ।
यसअघि एक्सपी, भिस्टा, अफिस सेभेनलाई नेपालीकरण गर्न खटिएको टिमले अफिस २०१० लाई पनि नेपालीकरण गर्ने काममा सफलता पाएको छ। 'झन्डै एक वर्षको लगातार प्रयासपछि हामीले यो सफलता पाएका हौं,' सफ्टवेयर स्थानीयकरण विभागका मेनेजर प्रदीप न्यौपानेले भने।
माइक्रोसफ्टले नेपालको अनलिमिटेड टेक्नोलोजीसँगको सहकार्यमा सफ्टवेयरलाई नेपालीकरण गर्दै आएको छ। अफिस २०१० को नेपाली भर्सन सार्वजनिक गर्न आयोजित कार्यक्रममा अनलिमिटेडका प्रबन्धक एलेन बेलोचन तुलाधरले स्थानीय भाषाको प्रयोगबाट सामान्य साक्षरले पनि कम्प्युटर चलाउन सक्ने वातावरण बनेको बताए।
माइक्रोसफ्टले एक वर्षअघि पहिलेको अफिस सेभेनलाई अझै परिस्कृत गरेर अफिस १० ल्याएको हो। यसले गर्दा अंग्रेजी भाषा नजाने पनि कम्प्युटर चलाउन कुनै समस्या पर्दैन। नेपालीकरण गरिएपछि अंग्रेजीमा रहेका टुलबार, मेनुबारमा नेपाली शब्द देखिन्छन्।
नेपालीकरण गरिएको माइक्रोसफ्ट अफिस २०१० कम्प्युटरमा राख्न ३२ बिट प्रणालीको लागि १३ दशमलव ७ एमबी र ६४ बिटको लागि १५ दशमलव २ एमबी इन्टरफेस आवश्यक पर्छ। यसलाई इन्टरनेट लिंकबाट निशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। यसमा निशुल्क नेपाली भाषाको हिज्जे परीक्षणसमेत गर्न सक्ने सुविधा छ।
गत वर्ष १५ हजार विद्यार्थीलाई निशुल्क विन्डोज सेभेन वितरण गरेको माइक्रोसफ्टले यस वर्ष नेपालमा २९ हजार विद्यार्थीलाई वितरण गर्ने लक्ष्य लिएको छ। माइक्रोसफ्टले अफिस २०१० लाई नेपालीकरण गरिसकेपछि अब विन्डोज ८ लाई भाषा स्थानीयकरण सुरु गरेको छ। (२०६८ असार ११)news source : Nagarik

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :