कोशी कटान : खतराको घण्टी


वर्षायाम सुरु भएसँगै यसवर्ष पनि फेरी सुरु भएको छ, सप्तकोशीको कटान । सप्तकोशी, ०६५ साल भदौ २ गते आफ्नो पुर्वी तटबन्ध भत्काएर गाउँ पसेको नदी । दक्षिण एसियाकै सबैभन्दा धेरै बालुवा बोक्ने नदी अनि पटक पटक धार परिवर्तन गरीरहने नक्कले नदी । हेर्दा जती शान्त र सौम्य छ, वर्षामा त्यतीनै विनाशकारी पनि हुन्छ । नेपालमा त्रासदी ल्याउँछ । तर त्यो भन्दा बढी थर्काउँछ भारतको विहार ।
तर पनि कोशी नदीको सम्पूर्ण जिम्मा लिएको भारत कोशीलाई त्यती वास्ता गर्दैेन । भारतीय ठेकेदार कम्पनिहरुको लापरवाही तटबन्धको मर्मतमा प्रत्यक्षरुपमा देखिन्छ । तटबन्ध मर्मतको कामलाई त्यती चासो दिइदैन । जब वर्षायाम सुरु हुन्छ, तबमात्र तटबन्धको हल्ला गरीन्छ र हतपतको काम लतपत भने झै कम गुणस्तरीय काम गरेर कोशी कटानलाई टालटुल पार्ने प्रयास गरिन्छ ।
तटबन्धको मर्मत समयमा नहुनुमा भारत सरकारका साथै स्थानिय ठेकेदार समेत जिम्मेवार छन् । कोशी तटबन्धमा खतरा देखिएको सुचना भारतीय पक्षले पाउनासाथ मर्मतका लागि साने भएपनि प्रयास सुरु गरिन्छन् । तर ठेकेदार तथा इन्जिनियर पक्षको लापरवाहीका कारण त्यस्तो सुचना समयमा दिँइँदैन । फलस्वरुप पानीको बहावले स्पर तथा बाँधमा प्रहार गर्न थालेपछि भने स्थानियवासीले हल्ला गर्न थालेपछि मात्र उनीहरुको कानमा बतास पस्छ ।
यस्तै समयमा दिगो निर्माण कार्य गर्नमा भन्दा पनि इन्जिनियर तथा ठेकेदारहरु कम गुणस्तरीय काम गरेरै आफ्नो जागिर अवधि बढाउने पक्षमा देखिन्छन् । प्रकोपाइनको नटदेखि सिमेन्ट र तारजाली समेतमा अनियमितता हुने गरेको र कतिपय अवस्थामा त काम देखाउन बोरा त्यसै पानीमा मिल्काएर ड्याम भत्काएको समेत दावी गर्न पछि पर्दैनन् भारतीय इन्जिनियर तथा ठेकेदारहरु ।
विगत दुई वर्षदेखि सुनसरीको बराहक्षेत्र, प्रकाशपुर गाविसका विभिन्न स्परमा मर्मत अवरुद्ध हुँदा कटानको सम्भावना बढेको हो ।
पछिल्लो समयमा स्पर नं. २३५२ मा मर्मत नहुँदा कटानको सम्भावना बढेको स्थानियवासीले जनाएका छन् । मर्मत नगरेका कारण कोशी फेरी फुट्न सक्ने सम्भावना बढेको स्थानिय कोशी बाढी पिडित संघर्ष समितिका सहसचीव बाबुराम कार्कीले बताए । राम्रो काम नभएका कारण कोशी बाँध फुटेर जनधनको ठूलो क्षती हुनसक्ने सम्भावना औंल्याए ।
पछिल्लो समयमा स्पर नं. २५.२५, २५.५७, २६.००, २६.४० खतरामा परेको हो । महेन्द्रनगरको सिसौलीघाटबाट जलालघाटमा पानी ठोकिइ पुर्वी तटबन्ध तर्फ पानीको वेग पसेपछि पुर्वी तटबन्धहरुमा खतरा बढ्दै गएको स्थानियवासीले जनाएका छ । स्परहरु पुराना र कमजोर भएकाले पानीको बेग थाम्न नसक्दा निरन्तर कटानमा पर्दा बाँधमा जोखिम उच्च रुपमा परेको छ ।
प्रकाशपुरकै धरहराटपन र कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमामा रहेको २३.१० स्परमा खतरा बढेको छ । भारतीयहरुले समयमै र मजबुत काम नगर्दा अझसम्म रोकथामको प्रयास ओझेलमा परेको छ ।
कोशी तटबन्धको २९ किलोमिटर क्षेत्र भारतीय पक्षले तटबन्ध मर्मत तथा संरक्षणको जिम्मा पाएपनि फितलो कामका कारण तटबन्धहरु भने वर्षायाम लागेसँगै जोखिममा पर्ने गरेका छन् ।
गुणस्तरीय मर्मत अभावकै कारण ०६५ मा कोशीको पुर्वी तटबन्ध भत्केर ठूलो भुभाग मरुभूमीमा परिणत भएको थियो भने हजारौं स्थानिय वासीन्दा घरबार विहीन भएका थिए । मरुभूमीमा रुपान्तर भएका भुभागलाई पुनः पहिलाको झै प्रयोग गर्न दशकौं लाग्ने पक्का पक्की छ । तर ती भन्दा पनि बाढी र कटानका कारण जतिपनि मानिस घरबार विहिन भएका थिए, ती मानिस अझसम्म पनि कोशीको त्रासदी सम्झन्छन् र त्रस्त हुन्छन् । किनकी गाउँका गाउँ र ती गाउँमा स्थापित सामाजिक परम्परा र परिवेश पानीको एक भेलले बगाइसकेको छ ।
कोशी कटानबाट कोशी ब्यारेज समेत खतरामा पर्ने गरेको छ । पचास वर्ष अघि बनेको ब्यारेजको आयु सकिसकेको छ । समय सकिएसँगै यसको आधार समेत कमजोर भइसकेको छ । तर ब्यारेजको ढोका र ब्यारेजमाथिको सडक मात्र मर्मत गर्ने गरीएको छ । ब्यारेजको आन्तरिक मर्मत पनि समयमै हुनुपर्नेमा हुन नसक्दा वर्षायाममा पानीको ठूलो दबाब कोशी ब्यारेजले झेल्न नसक्ने पक्का छ । तर कोशी ब्यारेज भन्दा कैयौं गुणा कमजोर छ, कोशीको बाँध ।
हिमाल दहाल, सुनसरी

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :