ठेकेदारको ठाउँ लिँदै महिला : कार्यप्रगती दोब्बर
Posted by
purwanews
Published on
Thursday, June 16, 2011
महिलाहरुले के गर्न सक्छन् ? चुल्हो चौको अनि घरधन्दाका अन्य काम । तर महिलाहरु सडक निर्माणको जिम्मा लिएर कुनै ठेकेदारले भन्दा राम्रो काम गरेर देखाउन सक्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर मोरंग केराबारीका महिलाहरुले आफ्नो गाउँको सडक बनाएरै देखाए ।
अघिल्लो वर्ष ठेकेदारले गरेको काम बढी खर्चिलो भएपछि महिलाहरुको सक्रियतामा गत जेठमा खोर्साने–बेलबारी सडक खण्डको ६ किलोमिटर सडक ग्राभेल गरिएको छ । महिलाहरुकै सक्रियतामा भएको यो निर्माण समयमा र कम खर्चिलो भएको हो ।
गत वर्ष पनि खोर्साने–बेलबारी सडक खण्डको तीन किलोमिटर सडक ग्राभेल गर्न स्थानिय ठेकेदारलाई ठेक्का दिइएको थियो । तीन किलोमिटर सडक ग्राभेल गर्दा नौ लाख रुपैया सकियो । ठेकेदारले ठेक्काबापत बढी रकम कमिसन खाएका कारण बढी खर्च भएको विश्लेषण गरिएको थियो ।
गाउँ विकासको लागि त्यती धेरै रकम आउँदैन । भएको रकम पनि कमिसन खुवाउनु पर्दा सोचेजस्तो विकास हुन नसकेको स्थानिय महिलाहरुले निष्कर्ष निकाले । ‘यसपालीको सडक निर्माणको जिम्मा हामीलाई दिनुप¥यो भनेर माग ग¥यौं ।’ खोर्साने बेलबारी सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष शान्ती लिम्बुले भनिन्, ‘योजना भन्दा बढी सडक निर्माण भएपछि अहिलेको कार्यप्रगतिले सबै खुसी छन् ।’
जिविसले ४.८ किलोमिटर सडक ग्राभेल गर्न दिएको नौ लाखको बजेटबाट उनीहरुले ६ किलोमिटर बढी सडक ग्राभेल गर्ने आँट गरे । काम गर्दै जाँदा केही रकम अपुग भएपछि अहिले पुनः रकमको लागि जिविसलाई घच्घच्याइरहेका छन् । तर ठेकेदारलाई दिँदा भन्दा निकै सस्तो र राम्रो काम भएको भन्दै उनीहरुको सर्वत्र प्रशंसा भइरहेको छ । महिलाहरुको सक्रियतामा कम खर्चमै बढी काम भएको केराबारी गाविस सचीव सुर्यप्रसाद लम्सालले बताए ।
ठेकेदारको काम आफूहरुले गर्न थालेपछि ठाउँठाउँमा च्याँखे थापेर आफुहरुलाई असजिलो बनाउन ठेकेदारले खोजेको समेत लिम्बुले खुलाइन् । ‘सुरु सुरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा केही दबाबहरु आएको थियो ।’ उनले भनिन्, ‘निरन्तर काम अघि बढ्दै गएपछि अहिले सबै ठीक छ ।’
महिलाहरु सडक निर्माणको लागि राती अबेरसम्म घरको काम माया मारेर खटिए । कहिलेकाही खाना खान घर पनि जान नभ्याउँदा सडक छेउछाउ नै खाना पकाएर खाए । सडक निर्माण उपभोक्ता समितिकै विन्दा श्रेष्ठले भनिन्, ‘आफ्नै गाउँको विकास भन्दा दुई चार दिनको घरको खाना ठुलो होइन भन्ने ठान्यौं ।’ महिलाहरु सडक निर्माणको लागि निःशुल्क खटिएका हुन् । बाटो छेउमा खाने खाजा र खाना पनि स्थानिय युवाहरुले समय समयमा ल्याइदिएका हुन् । ‘सामाजिक विकासका लागि सबै एउटै परिवार झै बन्न सकेका छौ ।’ अध्यक्ष लिम्बुले भनिन् ।
गाउँदखि सडक निर्माण स्थलसम्मको लामो बाटो हिडेरै आवत जावत गर्नुपर्दा समस्याको सामना समेत उनीहरुले गरे । ‘पुरुषहरु मोटरसाइकलमा सरर हिड्छन् ।’ सदस्य विन्दा श्रेष्ठले बताइन्, ‘हामीहरु चाहिँ कि त हिडेरै आवत जावत गर्नुपर्छ, कि त मोटरसाइकल चलाउने पुरुषहरुलाई गुहार्नुपर्छ ।’
समस्याका बिचमा महिलाहरुको सक्रियता देखेपछि गाउँका पुरुषहरुले महिलाको प्रशंशा गर्न थालेका छन् । महिलाहरु घर व्यवहारको काम मात्र गर्न सक्छन् भन्ने आफ्नो मानसिकता तोडिएको केरावारीका युवाहरुले प्रतिक्रिया छ । ठेकेदारहरुले बढी नाफा मात्र खोज्ने हुँदा आगामी विकास निर्माणका काम ठेकेदारलाई दिन नहुने स्थानिय बताउँछन् । अनुगमन टोलीका अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय समिति सदस्य दीप भण्डारी त आगामी दिनमा महिलाहरुलाई नै विकास निर्माणका काममा अघि बढाउनुपर्ने र सबै निर्माणको जिम्मा महिलाहरुलाई नै दिनुपर्ने विचार राख्छन् ।रात दिन दुःख गरेर ग्राभेल गरेको सडकलाई कालोपत्रे बनाउने सपना महिलाहरुको छ । यो सडक खण्ड कालोपत्रे भएमा सिंहदेवी, भोगटेनी, केराबारी र पाटी लगायतका गाविसका वासिन्दालाई पुर्वपश्चिम महेन्द्र राजमार्गसम्म सहज यातायातको सुविधा हुनेछ । इमान्दारितापुर्वक काम गर्ने महिला समुहको व्यवहारले केराबारीवासीलाई मात्र होइन, छेउछाउका गाविसवासीलाई पनि प्रभाव पारेको छ ।
महिलाअधिकारका पक्षमा लामो समयदेखि विभिन्न समुह तथा संस्थामार्फत् सक्रिय रहीआएका केराबारीका महिलाहरुको भौतिक विकास निर्माणमा यो पहिलो प्रयास थियो । लाखौं रकम खर्चेर भौतिक विकास निर्माणको काम गरेका महिलाहरुमा अब त झन् आँट थपिएको छ । अध्यक्ष लिम्बुले भनिन्, ‘समय पाउनु र महिलाहरुले पनि हिम्मत गर्ने हो भने गर्न सक्ने रहेछौं भनेर आत्मविश्वास बढेको छ ।’
प्रतिक्रिया दिनुहोस् >>
