'गर्लफ्रेन्ड’का पतिले बीच सडकमै कुटे भुवन केसीलाई
Posted by
purwanews
Published on
Sunday, May 15, 2011
फिल्मको पर्दामा गुन्डाहरूलाई 'रामधुलाइ' गर्दै आएका अभिनेता भुवन केसीले शनिबार बीच सडकमा वास्तविक 'धुलाइ' भेटेका छन् । 'रिल लाइफ'मा झगडापछि कुर्सीमा आराम गर्ने भुवनले 'रियल लाइफ'मा कुटाइ खाएर भाग्नुपर्यो ।भुवनलाई बाटो छेकेर, गाडीबाट तानेर कुट्ने व्यक्ति उनकै नयाँ 'गर्लफ्रेन्ड' का पति हुन् । सम्पत्तिका लागि आफ्नी श्रीमती शर्मिला डंगोललाई बरालेको भन्दै उनका पतिले भुवनलाई हातपात गरेका हुन् ।
दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध तोडेको घोषणापछि भुवनले २ वैशाखमा वरदान फिल्मको मुहूर्तमा ललितपुर कुपन्डोलमा बुटिक चलाउँदै आएकी शर्मिलालाई आपनी 'लेटेस्ट गर्लफ्रेन्ड' भनेर चिनाएका थिए । उनैै 'लेटेस्ट गर्लफ्रेन्ड' का पतिले भुवनलाई शनिबार दिउँसो ११:४५ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका हुन् ।
भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन्, छेउमा भुवन थिए । तर, उनीहरूको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो ।
मोटरसाइकलमा सवार पुरुषले आक्रोशित स्वरमा शर्मिला र भुवनलाई 'गाडी रोक' भन्दै कराइरहेका थिए । शर्मिलाले ती पुरुषको आदेशको वास्ता नगरी गाडी हाँकिरहेकी थिइन् ।
केही बेरपछि ती पुरुषले गाडी अगाडि लगेर मोटरसाइकल तेस्र्याए । शर्मिलाले बाध्य भएर गाडी रोकिन् । मोटरबाइकबाट झरेर ती पुरुषले हेल्मेटले भुवन बसेको गाडीको सिसा फुटाउन थाले । आत्तिएका भुवनले सिसा खोले । यही मौकामा उनले गाडीभित्र हात छिराए र भुवनको कपाल भुत्ल्याउँदै चिच्याए, 'साले झर, तँसँग हिसाबकिताब गर्नु छ ।'
भुवन पनि 'नायक' हुन्, झट्ट किन मान्थे ? शर्मिलाले मोटरबाइक तर्काएर गाडी हाँक्न खोजिन् । तर, ती पुरुषले दिएनन् । उनी भुवनलाई समातेको समात्यै भए । त्यसपछि भुवन गाडीबाट झरे । ती पुरुषले भुवनको टाउकोमा लगातार हेल्मेटले हाने । एक, दुई, तीन । प्रत्यक्षदर्शीले ६ गन्न भ्याएका थिए, भुवन भाग्न सफल भए ।
तर, यतिन्जेल शर्मिलाका पतिले भुवनलाई हेल्मेटले मात्रै होइन, चार-पाँच मुक्का र दुई-तीन लात्ता पनि हानिसकेका थिए ।
घटनाका प्रत्यक्षदर्शी बालकोटनिवासी राजन ढुंगानाका अनुसार शर्मिलाका पतिले भुवनलाई तथानाम गाली गर्दै पिटेका थिए । भुवन भने 'यो बेबकुफ हो, यो पागल हो' भन्दै कराइरहेका थिए ।
शर्मिलाका पतिले भुवनलाई हेल्मेटले टाउकोमा हानिरहँदा भुवनले हातले छेक्ने कोसिस गरेका थिए । तर, उम्कन उनलाई झन्डै पन्ध्र मिनेट लागेको थियो । त्यसैबीच सडकछेउ रहेका ट्राफिक प्रहरी पनि 'द्वन्द्वस्थल' मा आइपुगे । ट्राफिक प्रहरीलाई भुवनले यो साले बेबकुफ हो, यो बहुलाएको छ भन्दै भागेका थिए । 'भुवन भीडबाट निस्किएर कोटेश्वर चोकतिर भागे,' प्रत्यक्षदर्शी राजनले भने ।
भुवन भाग्नुअघिसम्म भीडले के भएको हो भन्ने ठम्याउनै सकेको थिएन, गाडीले कतै दुर्घटना गराएर भागेकाले झगडा भएको होला भन्ने अनुमान मात्र थियो । तर, शर्मिलाका पतिले नै सबै कुरा बताएपछि भीड छक्क परेको थियो ।
भुवन भागेपछि शर्मिलाका पति हेल्मेट बोकेर गाडीमा चढेका थिए । उनले पत्नी शर्मिलालाई सम्झाउने कोसिस गरेका थिए । तर, शर्मिला सुन्न तयार थिइनन् । सार्वजनिक स्थलमा झगडा भएको भन्दै ट्राफिकले सो गाडी महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वर लगेको थियो ।
'पछि पनि गाडी शर्मिलाले चलाइन् । उनका पति पहिला अभिनेता भुवन बसेको सिटमा बसे । ट्राफिक प्रहरी पछाडिको सिटमा बसे,' प्रहरी वृत्तसम्म पुगेका प्रत्यक्षदर्शी राजनले भने, 'ट्राफिक प्र्रहरीमा पुगेपछि ट्राफिकले डंगोल दम्पतीको लाइसेन्स लिए । शर्मिलाको लाइसेन्सबाट ती पुरुष उनका पति हुन् भन्ने पुष्टि भएपछि प्रहरीले तत्कालै छाडिदियो ।' केही बेरपछि दुवैजना प्रहरीबाट बिदा भए ।
महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वरका प्रहरी निरीक्षक प्रेमराज जोशीले भने घटनाको विस्तृत विवरण दिन चाहेनन् । 'पति-पत्नीको झगडा रहेछ । पछि मान्छे पठाएर गाडी लगे,' उनले भने, 'हामी पुग्दा पिटाइ खाने मान्छे भागिसकेको थियो । हामीले देख्न पाएनौँ । तर, प्रत्यक्षदर्शीले अभिनेता भुवन केसी हुन् भन्दै थिए ।' यससम्बन्धमा अभिनेता भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् । काठमाडौं, ३१ वैशाख, nayapatrika
प्रतिक्रिया दिनुहोस् >>