स्वास्थ्य केन्द्रमा भ्रष्टाचार

नक्कली बिलको चलखेल आरोप
इटहरी/ इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । केन्द्रमा स्थापनाकालदेखि रहेका कर्मचारीले केन्द्रलाई दुहुनो गाई बनाएपछि सेवाग्राहीको सेवामा समेत प्रत्यक्ष असर पुगेको केन्द्रकै जिम्मेवार कर्मचारीले आरोेप लगाएका छन् ।
सुत्केरी भत्तादेखि दन्त चिकित्सामा प्रयोग हुने कुर्सी सम्ममा केन्द्रमा भ्रष्टाचार भएको स्रोतले जनाएको छ । सोबाहेक केन्द्रमा आउने औषधीमा समेत व्यापक भ्रष्टाचार हुने गरेको स्रोतको दावी छ । केन्द्रमा आउने बजेटको नक्कली बिल बनाएर अहेब रामचन्द चौधरीले केन्द्रलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेको आरोप लगाइएको छ । जिल्ला जनस्वास्थ्यबाट औषधी, मट्टितेल लगायतका विभिन्न वस्तुहरुका लागि आउने रकम तथा विरामी पुर्जीवापत आउने रकम समेतमा भ्रष्टाचार हुने गरेको आरोप केन्द्रकै कर्मचारीले लगाएका छन् ।
सुत्केरी भत्ता १९०० आउनेमा पाँच सय सुत्केरीलाई, तीन सय सुत्केरी गराउनेलाई र ११ सय औषधी, खानेकुरा तथा भोटो दिनुपर्नेमा सो रकम बिल बनाएर कुम्ल्याउने गरेको आरोप छ भने विद्युत् नहुँदा सुई तथा औजार निर्मलिकरण गर्नको लागि भन्दै ४–४ महिनामा २० लिटरको दरले मट्टितेल खरीद गर्न जिल्ला जनस्वास्थ्य मार्फत् आउने रकम समेत प्रयोगमा आउने गरेको छैन । विद्युत् नभएको समयमा निर्मलिकरण नै नहुने र अपरेशन नै रोकिने गरेको बताइएको छ ।
दाँत सफा गर्न दुई सय रुपैया मात्र लाग्ने भनिएकोमा गर्दै जाँदा ६०० भन्दा बढीको समेत बिल पु¥याउने गरेको बताइएको छ । दन्त विभाग हेर्नका लागि स्टोरकिपर समेत रहेका दुर्गा खड्का खटिएका छन् । उनको इटहरी नगरपालिका अगाडी आफ्नै औषधी पसल छ । उनले अस्पतालको लागि आएकोे औषधी आफ्नो पसलमा लुकाइछिपाइ ल्याइ बिक्रि गरेको समेत स्रोतले दावी गरेको छ । जिल्ला जनस्वास्थ्यबाट आउने औषधीमा लेबल लागेको हुन्छ । त्यसैले उक्त औषधी बाहिर लगेर नबेचिएपनि अन्य संस्थाबाट आउने औषधीमा अनियमितता हुने गरेको बताइएको छ । त्यस्तै केन्द्रमा औषधी नभएको तर आफूले बिरामीको सुविधाको लागि केन्द्रमै मगाएको भन्दै निःशुल्क आउने औषधीमा पनि पैसा खाएको आरोप खड्का माथि लगाइएको छ ।
त्यतीमात्र होइन, स्वास्थ्य तालिममा आउने रकममा समेत चौधरीले ढलिमलि गरेको बताइएको छ । डेन्टल चेयर किन्न दुई लाख खर्च पाएकोमा सो रकममा समेत भ्रष्टाचार भएको बताइएको छ । कुर्सी किन्नको लागि टेण्डर निकाल्ने र व्यवस्थापन समितिबाट पास गराउने काम समेत नभएको भनाई छ ।
एमबी, एचए, स्टाफ नर्स तालिममा विभिन्न कलेजले आफ्ना विद्यार्थीलाई केन्द्रमा पठाउने गर्छन् । विद्यार्थी आएवापत कलेजले केन्द्रलाई दिने शुल्कमा समेत अनियमितता भएको आरोप लगाइएको छ । ‘कलेज अनुसार प्रतिव्यक्ति ७०० देखि ११ सय सम्म आउँछ ।’ स्रोतले भन्यो, ‘३० प्रतिशत व्यवस्थापनलाइ र बाँकी स्टाफलाई वितरण गर्नुपर्ने नियम भएपनि न त व्यवस्थापनले पाउँछ, न त स्टाफले नै ।’
महिला स्वयंसेविकाको लागि आउने रकममा समेत अनियमितता हुने गरेको स्रोतले बतायो । ४८ जनाको लागि रकम आउने गरेको छ । स्रोतले भन्यो ‘तर स्वयंसेविकाको संख्या त्यो भन्दा कम छ, बचेको रकम पनि भर्पाइ बनाउने गरिएको छ ।’
यता चौधरीले भने आरोप झुटो भएको स्पिष्टिकरण दिएका छन् । केन्द्रले चार डेढवर्षदेखि आन्तरिक आयबाट चार जना कर्मचारी राखेको जनाए । स्वीपर, कार्यालय सहयोगी, अनमी र सीएमएलाई केन्द्रले नै तलब दिएर राख्नुपर्ने अवस्था रहेको बताए ।
उनले सुत्केरीलाई दिने रकममा समेत कुनै अनियमितता नभएको बताउँदै एक हजार रुपैया संस्थामै सुरक्षित रहने गरेको बताए । यस्तै दन्त विभागको कुर्सी इटहरी नगरपालिकाले नै किनेर दिएको दावी गरे । उनले औषधीहरु जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिधै आउने हुँदा कुनै पनि अनियमितता नभएको दावी गरे ।

लथालिंग स्वास्थ्य केन्द्र
‘स्वास्थ्य केन्द्र क्वाटरमा परिणत’
इटहरी/ नक्कली बिल बनाइ इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भ्रष्टाचार हुने गरेको समाचार ब्लाष्टमा प्रकाशित भएसँगै केन्द्रमा हल्लिखल्ली मच्चिएको छ ।
समाचार प्रकाशित भएसँगै केन्द्रका प्रमुख समेत रहेका डाक्टर रवीन्द्र केसीको पहलमा केन्द्रका कर्मचारीहरुसमेतको सहभागितामा विहीबार केन्द्रमा बैठक बसेको छ । केन्द्रमा सुत्केरी भत्तादेखि औषधीको वितरण समेतमा भ्रष्टाचार हुने गरेको खबर ब्लाष्टमा प्रकाशित भएपछि बसेको बैठकमा कुनै निर्णय हुन नसकेको बैठकमा सहभागि एक कर्मचारीले बताए । समाचारको खण्डन गर्दै भ्रष्टाचार नभएको स्पष्टिकरण निर्णय गर्ने तयारी गरिएपनि केही कर्मचारीहरुले निर्णयमा हस्ताक्षर गर्न नमानेपछि बैठक विथोलिएको बताइएको छ ।
केन्द्रमा स्थापनाकालदेखि रहेका हेल्थ असिस्टेन्ट रामचन्द चौधरी र स्टोरकिपर दुर्गा खड्काले केन्द्रलाई दुहुनो गाई बनाएपछि सेवाग्राहीको सेवामा समेत प्रत्यक्ष असर पुगेको छ । चौधरी र खड्काले केन्द्रको अधिकांश जिम्मेवारी लिएका हुँदा केन्द्र प्रमुख भएपनि डाक्टरले कुनै भूमिका निभाउन नपाउने बताइएको छ । ‘केन्द्रको व्यवस्थापनमा डाक्टरले हस्तक्षेप गरेभने डाक्टर नै निकालिन्छन् ।’ स्रोतले भन्यो । ब्लाष्टसँगको कुरामा पनि केन्द्रप्रमुख केसीले कामको चापका कारण प्रमुख भएपनि व्यवस्थापनको जिम्मा चौधरीलाई दिएको बताए ।
सामान्य रोगको समेत उपचार गर्न नसक्ने केन्द्रले अधिकांश बिरामीहरुलाई जाँच विना नै धरानस्थित विपी कोइराला स्वास्थ्यढ विज्ञान प्रतिष्ठान रेफर गर्ने गरेको छ । झण्डै दुई करोडको लगानीमा स्थापित केन्द्रमा बालबालिकालाई खोप लगाउने र घाउमा पट्टी लगाउने बाहेकका काम हुँदैन । जसका कारण ठूलो लगानी विना उपलब्धी खेर गइरहेको छ ।
जिम्मेवारी लिएका कर्मचारीहरु नै अनियमिततामा संलग्न हुँदा केन्द्रको सेवा अस्तव्यस्त बनेको नागरिक समाजको समेत टिप्पणी छ । अनुगमन र व्यवस्थापनको अभावमा केन्द्र क्वाटरमा परिणत भएको व्यवशायी तथा केन्द्रको भवन निर्माण समितिका कोषाध्यक्ष रहेका तीर्थ गौतमले बताए । उनले कर्मचारीको लापरवाही र स्वार्थका कारण सेवाग्राहीले सेवा नपाइरहेको बताए । अनियमितता तथा लापरवाहीकै कारण केन्द्र दिनानुदिन खोक्रो बन्दै गएको छ । केन्द्रमा एक्सरेसम्मको सुविधा नभएका कारण पनि केन्द्र अनियमितताले जकडिएको हुनसक्ने उनले बताए ।
केन्द्रमा विपी प्रतिष्ठानको प्रारम्भीक सेवा दिनेगरी इकाइ राख्न सकिने भएतापनि पहल गर्ने व्यक्ति नभएका कारण सम्भावनाका बिचमा पनि केन्द्रले सेवा दिन नसकेको उनले जनाए । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नगरपालिकाका कार्यकारी अधिकृत रहेका छन् । कार्य व्यस्तताका कारण उनले समय दिन नपाएको हुँदा कार्यरत् कर्मचारीले अनियमितता गर्ने अवसर पाएको बताइएको छ ।
कर्मचारीहरुले सुत्केरी भत्तादेखि दन्त चिकित्सामा प्रयोग हुने कुर्सी खरीद तथा महिला स्वयंसेविकाको लागि आउने रकममा समेत भ्रष्टाचार गर्ने गरेको स्रोतको दावी छ भने यता चौधरीले भने केन्द्रको आम्दानीले खर्च नै धान्न गाह्रो हुने गरेको बताउँदै भ्रष्टाचार नभएको दावी गर्दै आएका छन् । 
पत्रकार बोलाइ आयोजक नै बेपत्ता
इटहरी/इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको भ्रष्टाचारको बारेमा ब्लाष्टले प्रकाशन गरेको समाचारको खण्डन गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख नै बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भनी पत्रकारहरुलाई बोलाएका अस्पताल प्रमुख डाक्टर रवीन्द्र केसी नै सम्मेलनमा अनुपस्थित रहे । केन्द्रका अन्य कर्मचारीले भने डाक्टर कुनै तालिमको लागि बाहिरिएको जवाफ दिएका थिए ।
विहीबारको बैठकमा कुरो नमिलेपछि विवादका कारण भाँडिएपछि इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको शुक्रबारको बैठकमा भने आइन्दा खर्च विवरण पारदर्शी गर्ने भनी केन्द्रका हेल्थ असिस्टेन्ट रामचरण चौधरीले बताएको स्रोतको दावी छ । डाक्टर केसीले पनि तपाइहरुको गल्ती छ, सुधार्नुस् भनेपछि आइन्दा खर्च विवरण पारदर्शी बनाउने भन्ने प्रतिबद्धता चौधरीले गरेको बताइएको छ ।
अस्पतालमा लामो समयदेखि कार्यरत् चौधरी पटक पटक सर्वोच्चबाट स्टे अर्डर लिएर केन्द्रमा बस्ने गरेका छन् । पछिल्लो पटक पनि दुई वर्ष अघि उनलाई तेह्रथुम सरुवा गरिएको थियो । उनको स्थानमा मनोज शाह आएतापनि शाहले काज नबुझाइ पढ्न गएपछि चौधरीले नै स्टे अर्डर लिएर बसेको बताइएको छ । यस्तै स्टोरकिपर दुर्गा खड्काको पनि लम्जुङ सरुवा भएको थियो । उनी पनि स्टे अर्डर लिएर इटहरीमै बसेका हुन् । कर्मचारीले केन्द्र छाड्न नचाहनु र केन्द्रकै कर्मचारीले केन्द्रमा भ्रष्टाचार भइरहेको खुलासा गर्नुले केन्द्रलाई अनियमितताको अड्डाकै रुपमा विकास गरिएको पुष्टि हुन्छ ।
स्वास्थ्य उपचारमा समेत लापरवाही
केही कर्मचारीको मनपरीको केन्द्र बनेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचारमा समेत व्यापक लापरवाही हुन गरेको बिरामीहरुको गुुनासो छ । केन्द्रका डाक्टर आफै प्रायः केन्द्रमा नभेटिने गरेको बिरामीहरुले गुनासो गरेका छन् । विभिन्न स्वास्थ्य शिक्षण संस्थाहरुमा अध्ययनरत् विद्यार्थीको प्रयोगशालामा सिमीत बनेको केन्द्रमा उनीहरुलाई प्रशिक्षण दिने चिकित्सकले समेत प्रभावकारी अनुगमन गर्दैनन् ।
केन्द्रका कर्मचारीको लापरवाहीका कारण डेलिभरीको लागि केन्द्रसम्म पुग्ने सुत्केरीहरुको संख्या समेत घटेको स्वास्थ्य केन्द्रको रेकर्डले देखाउँछ । केही महिना अघिसम्म मासिक आधा दर्जनदेखि एक दर्जनसम्म डेलिभरी गराउने केन्द्रमा पछिल्लो समयमा सो संख्या आधा भन्दा पनि कम भएको बताइएको छ । डेलिभरीका लागि इटहरी १ स्थित सामुदायिक स्वास्थ्य केन्द्रलाई अधिकार तथा सुविधा दिएपछि सरकारी लगानीको स्वास्थ्य केन्द्रमा भन्दा निजी लगानीको सामुदायिक अस्पतालतर्फ चाप बढेको डाक्टर केसीले दावी गरेका छन् । तथापी सुरक्षित सुत्केरीका लागि सो स्वास्थ्य केन्द्र भरपर्दो नभएकाले बिरामीको आकर्षण घटेको बताइएको छ ।
जनतालाई स्वास्थ्य सेवा दिनको लागि सरकारी तलबमा कर्मचारी खटाइएको प्राथमिक स्वास्थ्य केन्द्र कर्मचारीकै भ्रष्टाचारका कारण सेवा दिने भन्दा स्वार्थपुर्तीको थलो बनेकोछ । केन्द्रको भवन कर्मचारीको क्वार्टरमा प्रयोग भएको छ भने केन्द्रमा आउने औषधीको समेत दुरुपयोग भइरहेको छ । त्यस्तै केन्द्रले विभिन्न शीर्षक अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयबाट पाउने रकम, पुर्जावापत पाउने रकम तथा अन्य सहयोगमा समेत अनियमितता भएको छ ।
सम्बन्धित पक्षको वेवास्ताका कारण स्वास्थ्य केन्द्रलाई सिमित कर्मचारीहरुले स्वार्थपुर्तीको केन्द्र बनाउने गरेका छन् । सञ्चालक समितिका पदाधिकारीहरुले समेत केन्द्रको अनुगमन गर्न छोडेपछि लामो समयदेखि केन्द्र अस्तव्यस्त बनेको हो ।

उपचार केन्द्रमा औषधी क्लिनिकमा
इटहरी/ सरकारले स्वास्थ्य सेवाका लागि स्थापनिा गरेको इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको भ्रष्टाचारका सम्बन्धमा ब्लाष्टले समाचार प्रकाशित गरेसँगै केन्द्रभित्र स्वास्थ्य सेवामा चरम लापरवाही हुने गरेको तथ्य समेत फेला पर्न थालेको छ ।
केन्द्रको ताला, साँचो हातमा लिएका व्यक्तिहरु नै नक्कली बिल बनाउन तथा केन्द्रलाई आफ्नै पेवा सम्पत्ती झै प्रयोग गर्न लागेपछि केन्द्रमा रहेका अन्य कर्मचारीहरु पनि बिरामीलाई ठग्न लागिपरेका छन् ।
केन्द्रमा स्टोरकिपर रहेका दुर्गा खड्काले इटहरी १ स्थित नगरपालिका अगाडी जनसेवा औषधी पसल नामक औषधी पसल खोलेका छन् । उनी आफै औषधी समेत बेच्छन् । उनले केन्द्रमा आउने बिरामीहरुलाई समेत औषधीका लागि नगरपालिका अगाडीको आफ्नै औषधी पसलमा पठाउने गरेका छन् ।
‘विशेष गरी दाँतको उपचार गर्ने क्रममा बिरामीलाई औषधी लिन आफ्नै औषधी पसलमा जानु भनेर पठाउने गर्छन्’ स्रोतले भन्यो, ‘केन्द्रमै पाउने औषधीको लागि पनि आफ्नो क्लिनिकसम्म पठाउने गर्छन् ।’
कतिपय बिरामीका आफन्तलाई त खड्काले सामान्य औषधीलाई पनि आफ्नो पसलमा बाहेक कतै नपाइने भन्दै लेखेर पठाइदिने गरेका छन् । बिरामीका आफन्तलाई उदृत गर्दै इटहरीकै एक औषधी व्यापारीले भने, ‘अन्त कतै नपाइने भनेको औषधी यहाँबाट लिएर जान्छन् ।’ खड्काले केन्द्रलाई आफ्नो औषधी पसल चलाउन दुहुनो गाईको रुपमा प्रयोग गरेको स्रोतको दावी छ । खड्काले दन्त चिकित्सासम्बन्धि सामान्य तालिमको भरमा दाँतको विभिन्न थरीका उपचार गर्दै आएका छन् ।
यता ल्याबमा समेत व्यापक लापरवाही हुने गरेको स्रोतको दावी छ । प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा जाँच नै हुन नसक्ने कतिपय जाँचको लागि पैसा लिएर बाहिरबाट समेत गराएर दिने गरिएको छ । कमिसनको चक्करमा ल्याब टेष्ट बाहिर गराएर बिल दिने गरिएको समेत स्रोतको दावी छ ।
सम्बन्धित पक्षको लामो समयको वेवास्ताको फाइदा उठाउँदै केन्द्रलाई मनपरी प्रयोग गरेपछि केन्द्रको कार्यप्रभावकारीतामा कमी आउनुका साथै बिरामीहरुको उक्त स्वास्थ्य केन्द्रप्रतिको आकर्षणमा कमि आएको छ ।
सबैको चासो/अनुगमन गर्ने
ब्लाष्टमा स्वास्थ्य केन्द्रमा हुने गरेको भ्रष्टाचार, अनियमितता तथा दुरुपयोगको विषयमा निरन्तर समाचार प्रकाशित भएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केन्द्रको निरिक्षण गर्ने बताएको छ । केन्द्र प्रमुख नारायण ले चाँडै निरिक्षण गर्ने जनाएका छन् । उनले सुनसरीभरीकै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा समस्याहरु रहेको बताउँदै सबे पक्ष मिलेर समस्याको उजागर तथा समाधानको प्रयास गर्नुपर्ने बताए ।
निर्देशनालयकै एक कर्मचारीले भने इटहरीस्थित केन्द्रमा देखिएको समस्या कर्मचारीकै लापरवाहीको पराकाष्ठा भनी टिप्पणी गरेका छन् । ब्लाष्टसँगको कुराकानीमा उनले कर्मचारीको लापरवाहीका कारण केन्द्र आफै बिरामी रहेको प्रतिक्रिया दिए ।
यता समाचार प्रकाशनले केन्द्रभित्रको अस्तव्यस्ततालाई उजागर गरेको इटहरीवासीले प्रतिक्रिया दिएका छन् । इटहरीकै व्यवशायी तीर्थ गौतमले केन्द्रको नयाँ भवन बनाउन सहयोग गरेको भएतापनि केन्द्र भित्रको अस्तव्यस्तताले दुःखी बनाएको प्रतिक्रिया दिए । केन्द्र क्वार्टरमा परिणत भएको आफूले पाएको बताउँदै व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै स्वास्थ्य सम्बद्ध व्यवशायीहरुले केन्द्रलाई केही कर्मचारीहरुले मनोमानीको अखडा बनाएको बताएका छन् । व्यवस्थापन समितिले चासो नदिँदा स्वास्थ्य उपचार देखि औषधी वितरणसम्म लापरवाही भएकोे बताउँदै कर्मचारीको इच्छाशक्ति र राम्रो व्यवस्थापनको अभावमा केन्द्रले सेवा दिन नसकेको बताएका छन् । ‘इटहरीमा आधा दर्जन क्लिनिक खुलिसके’ ती व्यवशायीले भने, ‘तर प्राथमिक स्वास्थ्य केन्द्र भने झन् झन् बेकम्मा बन्दै गइरहेको छ ।’
यता केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी नगरपालिकाका अधिकृत गणेश दाहालले पनि केन्द्रमा देखिएका कमजोरीको बारेमा सम्बन्धित पक्षलाई सजग गराउने बताएका छन् । कार्यगत त्रुटी भएको देखिएको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए ।
उनले चौतर्फी जिम्मेवारी रहेको बताउँदै कामको बोझका कारण केन्द्रको व्यवस्थापनमा ध्यान दिन नसकिरहेको समेत जिकिर गरे । उनले धर्मभकारीलाई नगरपालिकाको आयआर्जनको लागि प्रयोग गर्नसकिने बारेमा छलफल गर्न सकिने समेत बताए ।
काँग्रेसले अनुसन्धान थाल्यो
अन्य दलले छलफल चलाउने
इटहरी/ इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रभित्र भइरहेका भ्रष्टाचार र अनियमितता बारे छानविन गर्न नेपाली काँग्रेसले कमिटि गठन गरेको छ ।
ब्लाष्ट दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि जनगुनासोका आधारमा कमिटि गठन गरी काम सुरु गरिसकेको काँग्रेस नगर अध्यक्ष हेमकर्ण पौडेलले जानकारी दिए । तीन दिन अघि गठित उक्त समितिले छानविन गरिरहेको उनले बताए । हालसम्मको अनुगमनका क्रममा समितिले केन्द्रप्रति सेवाग्राहीहरुले सेवा नपाएको भन्ने जनगुनासो रहेको बताए । उनले चार दिनपछि केन्द्रमा भइरहेका भ्रष्टाचारको बारेमा यथार्थता सार्वजनिक गर्ने समेत जनाए ।
स्वास्थ्य केन्द्रमा भइरहेको भ्रष्टाचारविरुद्ध पार्टीगत रुपमा नै अभियान थाल्ने तयारीमा रहेको समेत बताए । उनले पछिल्लो समयमा कर्मचारी तथा इटहरीका व्यवशायीहरु निजी स्वास्थ्य संस्था स्थापना गर्न लागिपरेको जनाउँदै सरकारी सेवालाई नै व्यवस्थित बनाउन समेत आग्रह गरे ।
यस्तै एमाओवादीका जिल्ला पार्टी सचिवालय सदस्य तथा इटहरी नगर सचीव मुक्ति रिजालले समेत केन्द्रमा भइरहेको भ्रष्टाचारबारे छानविन गर्ने जनाए । ब्लाष्टसँग कुरा गर्दै उनले केन्द्रमा अनियमितता भइरहेको बारेमा पार्टीले छानविन गर्ने बताए । उनले प्राविधिक रुपमा इटहरी पछिल्लो समयमा गाँजिदै गएको समेत टिप्पणी गरे ।
यता नेकपा एमाले नगर अध्यक्ष याम सुब्बाले समेत केन्द्रमा भएको भ्रष्टाचारका विषयमा ब्लाष्ट दैनिकमा प्रकाशित समाचारप्रपित ध्यानाकर्षण भएको बताए । उनले सेवाग्राहीले सेवा नपाएको गुनासो आएको बताउँदै संयन्त्रको बैठकमा ऐजेन्डा बनाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले डेढ वर्ष अघि पनि केन्द्रको भ्रष्टाचारको विषयमा कुरा उठेको र सो समयमा गठित छानविन टोलीले केन्द्रको अनुगमन समिति नै प्रभावकारी नभएको निष्कर्श निकालेको जानकारी दिए । केन्द्रको व्यवस्थापन समितिमा कर्मचारी र व्यापारीहरुलाई राखिएकोले केन्द्रको कामकारवाहीमा अनुगमन नपुगेको बताए ।
संक्रमणकालिन अवस्थामा भ्रष्टाचार र अनियमितता भइरहेको जनाउँदै छानविन गर्नुपर्ने र त्यसको लागि दलहरुबिच छलफलको आवश्यकता रहेको जानकारी दिए ।
इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउने रकममा अहेब रामचन्द चौधरीले नक्कली बिल बनाएर व्यापक अनियमितता गरेको तथा केन्द्रका स्टोरकिपर दुर्गा खड्काले समेत केन्द्रमा आउने औषधीको दुरुपयोग गरेको लगायतका अनियमितताका खबर प्रकाशन गरेको थियो । बढ्दो जनसंख्या रहेको इटहरीमा सुविधासम्पन्न स्वास्थ्य केन्द्रको खाँचो रहेको जनाउँदै इटहरीका विभिन्न पक्षले स्वास्थ्य केन्द्रमा भइरहेको भ्रष्टाचारबारे छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने तथा केन्द्रलाई व्यवस्थित तथा सेवामुखी ढंगले सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
(source :blast.com.np) 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :