मृगौला बचाऔं, मुटु जोगाऔं
Posted by
purwanews
Published on
Wednesday, March 9, 2011
‘मृगौला बचाऔं, मुटु जोगाऔं’ भन्ने मूल नाराका साथ यो वर्ष मुटु र मृगौला दुवैको महत्वलाई मनन् गर्दै दुवैलाई स्वस्थ राख्ने हरसम्भव प्रयासका लागि आज मार्च १० तारिखका दिन इन्टरनेशनल सोसाईटी अफ नेफ्रोलोजी र इन्टरनेशनल फेडरेशन अफ किड्नी फाउन्डेसन्सले संसारभर विश्व मृगौला दिवस मनाउँदैछ ।‘मृगौला–मुटु दाजुभाइ, जरुरी छ प्राणलाई, एउटाको चोट अर्कालाई– बचाइराखौं दुवैलाई’ पूर्वाञ्चलका विभिन्न स्थानहरुमा हरेक सप्ताहान्त आयोजना गरिने मृगौला रोग परीक्षणका क्रममा के.एच.डी.सि. (किड्नी, हाईपरटेन्सन, डाईबिटिज, कार्डियोभास्कुलर डिजिज) नेपालले तयार गरेकोे उपरोक्त नाराकै भावनालाई टपक्क टिपेर यसपटक अन्तर्राष्ट्रियस्तरमै स्वस्थ्य मुटु र मृगौलाका लागि अभियानकै थालनी गरिएको छ ।
मृगौला र मुटुबीचको सम्बन्ध ः
मुटु र मृगौला शरीरका अभिन्न दुई अङ्ग हुन् । शरीर सञ्चालनमा दुवैको महत्वपूर्ण भूमिका हुन्छ । कुनै एकलाई असर पर्यो भने स्वतः अर्कोलाई असर पर्ने गर्दछ । मृगौला खराब भएर मृगौलाको शुद्धीकरण दर घट्नु वा पिसाबमा प्रोटिन जानुले हृदयाघातको जोखिमलाई अत्यधिक बढाउने गर्छ । पूर्वाञ्चलका करिब ३५ हजार सर्वसाधारणको घरदैलोमै पुगी विगत केही वर्षदेखि हामीले गरेको अध्ययन–अनुसन्धानबाट पिसाबमा प्रोटिन जानु एवम् मृगौलाको शुद्धीकरणको दर घटनाले कार्डियोभास्कुलर रोगको जोखिम २० प्रतिशतले बढ्ने देखिएको छ । जसलाई हामीले अन्तर्राष्ट्रिय जर्नलमार्पmत् सन् २०१० मा सार्वजनिक गरेका थियौं ।
सोही अनुसन्धानबाट २० दशमलव ७ प्रतिशत मानिस मेटाबोलिक सिन्ड्रोम (मोटोपना तथा रगतमा बोसोपन देखिनु) बाट ग्रसित भएको देखिएको थियो भने १० प्रतिशतलाई कुनै न कुनै प्रकारको मृगौला रोगका लक्षणहरु समेत देखिएको थियो । यसले के देखाउँछ भने, मृगौला तथा मुटुरोगीहरु समाजमा भुसको आगोसरि बढिरहेका छन् । मुटु र मृगौला दुवैलाई बिगार्ने कारकतत्वहरु (जस्तैः मधुमेह, हाइपरटेनसन, धूमपान, शारीरिक व्यायामको अभाव आदि) एकै प्रकारका भएका कारणले पनि यी दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई हामी सबैले महसुस गरेका छौं ।
त्यसैले मृगौलामा असर पर्नु भनेको मुटुमा असर पर्नु हो । त्यसैले भनिन्छ, मृगौला जोगाउनु भनेको मुटुलाई जोगाउनु हो । मृगौलाबाट उत्पादन हुने हर्मोनले रक्तचाप नियन्त्रणमा अहम् भूमिका खेल्दछ । त्यस दृष्टिकोणले पनि रक्तसञ्चार प्रक्रियामा मृगौलाको प्रत्यक्ष असर देखिन्छ ।
मृगौला के हो ? यसले कसरी काम गर्छ ?
मानव शरीरको पेटभित्र मेरुदण्डको दुवैतिर मुठ्ठी आकारका दुईवटा मिर्गौला हुन्छन् । मिर्गौलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपबाट बाहिर पुर्याउँछ । यसका अतिरिक्त मिर्गौलाले राता रक्त कोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पुर्याउँछ । मिर्गौलामा समस्या देखिएमा यसले माथि उल्लिखित काम गर्न सक्तैन र यसका कारणले विभिन्न समस्या उत्पन्न हुन्छ ।
मधुमेहलाई सामान्य भाषामा चिनी रोग भनिन्छ । शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ । यसले शरीरमा भएको चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ । यसको कमी हुँदा शरीरमा चिनीको मात्रा बढ्न जान्छ– जसले आँखा, मुटु तथा मिर्गौलाजस्ता शरीरका विभिन्न अङ्गमा असर गर्दछ ।
मृगौलाका तीन कार्य ः
१. यसले रगतमा भएका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर फँ्याक्ने गर्दछ र शुद्ध रगत फेरि शरीरमा पठाउने गर्छ ।
२. स्वास्थ्यको लागि शरीरलाई चाहिने पानी र खनिज पदार्थको मात्रालाई सन्तुलित राख्ने गर्छ ।
३. शरीरको अन्य कार्यलाई नियन्त्रण गर्नको निम्ति ग्रन्थीरस (हर्मोन) उत्पादन गर्छ ।
मृगौला रोगका लक्षण तथा चिह्नहरु ः
मृर्गौला रोगको मुख्य लक्षण भन्नु नै सुरुवातमा यसको कुनै लक्षण नदेखिनु हो । तपाईलाई थाहा नभइकन नै तपाईको मृगौला खराब हुन सक्छ । जबसम्म मृगौला पूर्णरुपले खराब हुँदैन, तबसम्म त्यसका लक्षणरु नदेखिन सक्छन् । त्यसैले समयमै रगत तथा पिसाब परीक्षण गर्नु अति आवश्यक हुन्छ ।
मृगौला रोगका लक्षण तथा चिह्नहरु ः
१. पिसाबमा प्रोटिन/एल्बुमिन निस्कनु ।
२. उच्च रक्तचाप हुनु ।
३. खुट्टा सुन्निनु र खुट्टा बाउँडिनु ।
४. धेरैपटक पिसाब लाग्नु (विशेष गरी राति)
५. मधुमेहको बिरामीले लिने इन्सुलिन सुई वा चक्कीको आवश्यकता कम हुनु ।
६. वाक्वाक् लाग्नु र बान्ता हुनु ।
७. कमजोरी र रगतको कमी हुनु ।
मिर्गौला रोग र मधुमेहको सम्बन्ध ः
मिर्गौला रोग सामान्यतः जन्मजात विकृति, मूत्र प्रणालीको सङ्क्रमण, बाथरोग, उच्च रक्तचाप र मधुमेह रोग आदिका कारण लाग्दछ । यीमध्ये मधुमेह र उच्च रक्तचाप मिर्गौला रोगका प्रमुख कारण हुन् । मधुमेह रोग सुरुसुरुमा विकसित देशमा देखा परेको भए पनि आजभोलि विकासोन्मुख देशमा यो एउटा महामारीको रूपमा देखापरेको छ । यसको उपचारमा ठूलो धनराशि खर्च गर्नुपरेकाले यसले देशको आर्थिक स्थितिमा नकारात्मक असर पारेको छ । यो दुवै रोगबीच अन्तर्सम्बन्ध छ । मिर्गौला रोगका विभिन्न अवस्थामध्ये अन्तिम अवस्थामा हुने यस रोगको प्रमुख कारण मधुमेह हो । मधुमेहको कारणले गर्दा मिर्गाैलासम्बन्धी रोग र मुटुसम्बन्धी रोग भएमा निको हुने सम्भावना ज्यादै नै न्यून हुने कुरा अनुसन्धानबाट पनि देखिएको छ । मधुमेह रोगका कारणले मिर्गौलाकोे झिल्ली (ग्रोमेलुरो) लाई नष्ट गरी मिर्गाैलाले गर्ने काममा बाधा पुर्याउँछ । परिणामस्वरूप शरीरलाई चाहिने प्रोटिन तत्व (एल्बुमिन) झिल्लीबाट छिरेर पिसाबको माध्यमबाट बाहिर निस्कन्छ र शरीर सुन्निनेजस्ता लक्षण देखापर्छ । जसलाई डाइबेटिक नेफ्रोप्याथी भनिन्छ । नेपालमा अन्तिम अवस्थाको मिर्गौला रोगको प्रमुख कारण मधुमेह नै हो भन्ने कुरा अध्ययनले देखाएको छ ।
अमेरिकामा बितेको २५ वर्षको अवधिमा मधुमेह रोगीको सङ्ख्या दोब्बर बढेको छ भने भारत, इण्डोनेसिया, चीन, कोरिया र थाइल्याण्डजस्ता देशमा यस्ता रोगीको सङ्ख्या तीनदेखि पाँच गुणा बढेको पाइएको छ । सन् २०२५ सम्ममा यस्ता रोगीको सङ्ख्या ३८ करोड पुग्ने अनुमान गरिएको छ । तीमध्ये भारत र चीनमा मात्र १३ करोड पुग्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा छुट्याएको कूल बजेटको ४० प्रतिशत रकम यस रोगको उपचारमा खर्च हुने अनुमान अनुसन्धानले देखाएको छ ।
मृर्गाैला र मुटु रोगको स्थिति ः
मिर्गौला रोग विश्वमा एउटा महामारीको रूपमा फैलिएको पाइन्छ । विश्वमा ४० देखि ६० करोड मानिस मिर्गौला रोगको शिकार भएको अनुमान गरिएको छ । पूर्वी नेपालको २० वर्षभन्दा माथिका ३५ हजार मानिसमा गरिएको एक अध्ययनअनुसार १० प्रतिशत मानिसमा मृर्गौलासम्बन्धी समस्या भएको पाइएको छ । मिर्गौला रोगको अर्को महत्वपूर्ण पक्ष के हो भने यसको लक्षण ज्यादै ढिलो देखापर्छ । धेरै कम मिर्गौला रोगीलाई मात्र आफ्नो रोगका बारेमा जानकारी भएको कुरा अध्ययनले देखाएको छ । यसको कार्य क्षमता यति धेरै हुन्छ कि ९० प्रतिशतभन्दा बढी मिर्गाैला खराब भए पनि शारीरिकरूपमा कुनै समस्या देखिँदैन तर जब बिरामीमा यसको लक्षण देखापर्छ त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ । जसको परिणामस्वरूप उसले नियमितरूपमा मेसिनद्वारा रगत सफा गर्नुपर्ने
(डायलाइसिस) र मिर्गाैला नै प्रत्यारोपण गर्नुपर्ने स्थितिसम्म आउँछ ।
विश्वभर हुने सबैप्रकारको मृत्युको ३० प्रतिशत र स्वथ्य जीवन क्षति हुने १० प्रतिशत कारण कार्डियोभास्कुलर (मुटु) रोग भएको अध्ययनले देखाएको छ । यद्यपि पछिल्लो समयमा विकसित देशहरुमा मुटु रोगीहरुको सङ्ख्या कमी देखिए पनि विकासोन्मुख देशमा यसको बढ्दो दर भयावह छ । सन् २००४ मा रगतको शुद्धीकरण गर्ने दरमा आउने कमीका कारणले मुटु रोगबाट हुने मृत्युमा वृद्धि भएको यथार्थ सार्वजनिक भएको थियो । यसैगरी सन् २००६ मा पिसाबबाट प्रोटिन जाने समस्याले हृदयाघातबाट हुने मृत्युलाई बढाउने गरेको तथ्य फेला परेको थियो । यसबाट के देखिन्छ भने मुटु र मृगौलाबीचको सघन सम्बन्ध रहेको छ । दुवैमध्ये कुनै एकमा आएको खराबीले अर्कोलाई प्रत्यक्ष असर पुर्याउँदछ ।
मिर्गौला रोगको चुनौती ः
संसारमा बढ्दै गएको अस्वस्थ जीवनशैली तथा त्यससँग सम्बन्धित मोटोपना, त्यसबाट उब्जाइएको मधुमेहको महामारीसँगै मिर्गौला रोगीको सङ्ख्या पनि बढ्दो छ । सुरुको अवस्थामा नै मधुमेह रोगको पहिचान गरी उपचार गरेमा वा यो रोग लाग्नबाट जोगिएमा धेरै हदसम्म रोगबाट बच्न सकिन्छ । यी रोगलाई नियन्त्रण गर्न उपलब्ध चिकित्सकहरूबाट मात्र सम्भव छैन । यसका लागि आम स्वास्थ्यकर्मी, जनस्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्था, स्वयम्सेवकहरूको संयुक्त प्रयासमा जनचेतना ल्याउनु र यी रोगको महामारीबाट बच्नु प्रमुख चुनौतीको विषय बनेको छ ।
मिर्गौला रोगबाट बच्ने उपाय ः
- मिर्गौैला रोगसम्बन्धी जनचेतना जगाउन सरोकारवाला सङ्घसंस्थाको सक्रियता ।
- मिर्गाैलासम्बन्धी रोग छ कि छैन भनेर ए–एल्बुमिन (पिसाबमा प्रोटिन) बी. (ब्लड प्रेसर), सी. (क्रिएटिनिन र कोलेस्टोरेल) डी. (डाइबिटिस–मधुमेह) इ. (इ.जिएफआर (मिर्गौलाको रक्त शुद्धीकरण दर) नियमित परीक्षण गराउने ।
- नियमित व्यायाम गर्ने ।
- सन्तुलित आहार लिने र शरीरको तौल सामान्य राख्ने ।
- धूमपान तथा मद्यपान नगर्ने ।
- दुखाइ कम गर्ने (आइबुप्रोफेनआदि पेन किलर) जस्ता औषधी जथाभावी प्रयोग नगर्ने ।
- तयारी खाना तथा पेयपदार्थ (फास्टफुड तथा जङ्क फुड) को उपभोगमा कमी ल्याउने ।
- जोखिमपूर्ण अवस्थामा रहेका (वंशानुगत मधुमेह, रक्तचाप र मृर्गौलासम्बन्धी रोग, मोटोपन भएका तथा ५० वर्ष उमेर कटेका) मानिसले अनिवार्यरूपमा नियमित मृर्गौलाको कार्य क्षमता जाँच गराउने ।
अन्तर्राष्ट्रिय नेफ्रोलोजी समाजको सहयोगमा विकासोन्मुख देशहरुमा किड्नी, हाईपरटेन्सन, डाइबिटिज, कार्डियोभास्कुल डिजिज ‘के.एच.डी.सी.’ कार्यक्रम सञ्चालन भइरहेका छन् । यस कार्यक्रमको मुख्य उद्देश्य मिर्गाैला, उच्च रक्तचाप र मुटु रोगको समयमा नै पहिचान गरी व्यवस्थापन गर्नु हो । हाल नेपालको पूर्वी क्षेत्रमा ‘के.एच.डी.सी. नेपाल’ को नामबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ । हालसम्म यस क्षेत्रका ३५ हजारभन्दा बढी व्यक्तिमा सर्वेक्षण गरिएको छ । यसबाट पत्ता लागेका रोगीहरूको उपचार तथा अनुगमन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियमितरूपमा भइरहेको छ ।
विश्व मृगौला दिवस ः
प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मृर्गौैला दिवस मनाइन्छ । यसको प्रमुख उद्देश्य जनमानसमा मृगौला र मृगौला रोगबारे चेतना जगाउनु र विश्वमा बढ्दै गएको मृगौला रोगको महामारी नियन्त्रणका लागि प्रयास गर्नु हो ।
(डा. शर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका प्रोफेसर हुन्) सन्दर्भ : विश्व मृगौला दिवस (१० मार्च २०११)
प्रा. डा. सञ्जीवकुमार शर्मा (source: www.blast.com.np)
प्रतिक्रिया दिनुहोस् >>