घरमै बसेर सगरमाथालाई लाइभ हेर्ने हो ?
Posted by
purwanews
Published on
Monday, October 10, 2011
विश्वव्यापी जलवायु परिवर्तनको अध्ययनका लागि विश्वको आँखा सर्वोच्च शिखर सगरमाथा तिर तानिएको छ । जलवायु परिवर्तनबाट विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र प्राकृतिक प्रकोप सबै वैज्ञानिकको लागि टाउको दुःखाइ बनिरहेको छ । जलवायु परिवर्तनको तह र सम्भावित परिणाम भविष्यवाणी गर्न विश्वको सर्वोच्च शिखरलाई विशेष निगरानीमा राखिएको हो ।
जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न सगरमाथाको कालापत्थरमा वेबक्याम जडान भएको छ । अब सगरमाथाका लाइभ तस्बिर इन्टरनेटको सहायताले हेर्न सकिने भएको छ । अहिले सगरमाथाको तस्वीर कस्तो देखिन्छ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
यो प्रणाली राखिएको ठाउँ समुद्र सतहदेखि ५ हजार ६ सय ७५ मिटर उचाइमा छ । यसले विश्वकै अग्लो ठाउँमा जडित वेबक्यामको रेकर्ड राखेको छ । यसअघि अर्जेन्टिनाको अकोन्कागुआ हिमालको आधार शिविरमा जडित क्यामेराले यो रेकर्ड राखेको थियो । उक्त आधार शिविर समुद्र सतहदेखि ४ हजार ३ सय ८९ मिटर उचाइमा छ ।
सन् २००६ देखि जलवायु परिवर्तनबारे नेपालमा अध्ययन गरिरहेको इटालियन वैज्ञानिकहरूको समूहले यो प्रणाली जडान गरेका हुन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नेहरूले यसलाई 'ऐतिहासिक फड्को,' भनेका छन् । 'एउटा ठूलो उपलब्धि,' पूर्ववातावरणमन्त्री गणेश शाहले कान्तिपुरसित भने, 'एकातिर विश्वकै ध्यान तानिने भयो अर्कोतिर सगरमाथाको सुरक्षा पनि ।'
उनका अनुसार नेपालमात्रको ध्यान खिच्न विश्वकै अग्लो स्थानमा राखिएको क्यामेराले थप सघाउ पुर्याउनेछ । विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल (नास्ट) का योजना प्रमुख शेखर शाहले यो सफलताले अनुसन्धानमा थप सघाउ पुर्याउने उल्लेख गरे । 'अरूलाई काम गर्न हौस्याउनेछ,' उनले शनिबार कान्तिपुरसित भने ।
यो क्यामेरा सोलारमार्फत सञ्चालित छ । हिमाली अध्ययन समूह इभिकेटुसिएनआरले जडान गरेको यो प्रणाली जर्मनी कम्पनी मोबोटिक्सले बनाएको हो । इभिकेटुसिएनआर विगत डेढ दशकदेखि नास्टसँगको सहकार्यमा नेपालमा अनुसन्धान गर्दै आएको छ । 'हामीले महिनौं खर्च गर्यौं,' समूहका प्रविधि प्रमुख गियामपेट्रो केलले भने, 'यो प्रणाली जडान गरेर विश्वकै अग्लो स्थानमा वेबक्याम राखेको रेकर्ड राख्ने इच्छा थियो, पूरा भयो ।'
वेबक्यामले बिहान ६ बजेदेखि १२ घन्टासम्मका सगरमाथाका तस्बिरहरू कैद गर्नेछ । प्रत्येक ५ मिनेटमा अनुसन्धानकर्ताले बादलको प्रकृतिअनुसार क्यामेरालाई घुमाउने छन् । समूहका नेपाल प्रतिनिधि इन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार नास्टको विशेष सहयोगमा यो उपलब्धि हासिल भएको हो । 'नेपाल सरकारले पनि धेरै सहयोग गरेको हो,' उनले भने । 'अनुसन्धानकर्ताहरूले कालापत्थरलाई क्यामेरा राख्ने स्थान रोज्नुको कारण,' मोबोटिक्सका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनेका छन्, 'त्यहाँबाट सगरमाथाको उत्तरी र दक्ष्ािणीसहित पश्चिमी भाग निकै सफासँग देखिन्छ ।'
अघिल्लो महिनादेखि प्रयोगमा आएको यो क्यामेरा इभिकेटुसिएनआरको प्रयोगशालासँग बेतारे कनेक्सन गरिएको छ । यो प्रयोगशाला ५ हजार ५० मिटर उचाइमा छ । क्यामेराले खिची पठाएका तस्बिरलाई प्रयोगशालामा इटालियन वैज्ञानिकहरूले विश्लेषण गर्नेछन् । ती वैज्ञानिकहरूले प्राप्त सगरमाथाका तस्बिरहरूमार्फत आइरहेका परिवर्तनहरूबारे अध्ययन गर्ने बताइएको छ ।
आश्विन २३, with the help of ekantipur
प्रतिक्रिया दिनुहोस् >>