पूर्वमा कहाँ बसे प्रचण्ड ?


न त भुमीगत, न त अपरिचित । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा बहुचर्चित नेपाली नेता प्रचण्डले पछिल्ला तीन दिनमा जे गरे, त्यसले पुर्वाञ्चलको सुरक्षा निकायका साथै माओवादीकै जिल्ला तहका नेता र पत्रकारहरुलाई लाजमर्नु नै बनायो । देशकै सबैभन्दा ठूला पार्टीका माउ नेता दुई दिन पुर्वी क्षेत्रमा आएर काठमाडौं फर्के । तर उनी कहाँ गए, कसलाई भेटे भन्ने बारेमा कसैले केही सुइको पाएन ।
शुक्रबार साँझ प्रचण्ड अचानक विराटनगरमा देखिएका थिए । त्यसपछि उनी कहाँ गए, कसैले चाल पाएनन् । न त सुरक्षाकर्मी, न त पत्रकार । न नेपालको अनुसन्धान ब्युरोले नै चाल पाए । सुटुक्क आएर घुमे प्रचण्ड । जिल्ला तहका माओवादी नेताहरु नै अनभिज्ञ देखिए । 
प्रचण्ड गोप्यरुपमा पुर्व आएको खबरले जति सनसनी मच्चायो, उनी कहाँ बसेका थिए भन्ने जिज्ञासाले त्यती नै पत्रकारको दिमाग घुमायो । कतिले चुलाचुलीस्थित माओवादी शिविर पुगेको अनुमान गरे त कतिले कांग्रेस सभापति सुशील कोइरालासँग 'वार्ता गर्न' गोप्य रूपमा यहाँ आएको अनुमान गरे। सिलगुडी गएको, अनि कतिले इटहरीमै बसेको अनुमान गरे । प्रचण्ड सुनसरी मै बसेको खबर अनुमानका भरमा नेपालका टेलिभिजनले बडो चाख दिएर प्रशारण गरे तर त्यसको पुष्टि उनी काठमाडौ फर्किसक्दा पनि भएको छैन ।  
शुक्रबार पार्टीका तीनै जना उपाध्यक्षसँग गोरखामा भएको कार्यक्रमपछि काठमाडौँ फर्किएलगत्तै कसैलाई पत्तै नदिई सुटुक्कै विराटनगर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई दिन कहाँ रहे, अझै खुल्न सकेको छैन। आज मध्याह्न काठमाडौँ फर्कने क्रममा सञ्चारकर्मीहरुलाई उनले भने, 'नेपालबाहिर गइनँ, नेपालमै थिएँ'। 
आउँदा विमानस्थलको  साधारण कक्षबाट बाहिरिएका दाहालले आज विराटनगर विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, 'भ्रमण गोप्य थिएन, थाहा हुनुपर्नेलाई थाहा थियो, प्रधानमन्त्रीलाई र सुरक्षा निकायका प्रमुखहरुलाई पनि जानकारी थियो।'
उनले व्यक्तिगत र पारिवारिक समस्यामा भ्रमण केन्द्रित भएको स्पष्ट पारे। कहाँ गएको भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा उनले भने, विभिन्न ठाउँमा पुगेँ, ठाउँको नाम नभनौँ।' उनले आफ्नो व्यक्तिगत र पारिवारिक समस्या सुल्झिएको पनि बताए। 
भ्रमणबारे बाहिर प्रचार भए जस्तो कारण नभएको बताउँदै दाहालले आफ्नो भ्रमणबारे कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि जानकारी भएको बताए। बा  ००१ अ ८ नम्बरको गाडीमा श्रीमती सीता र छोरा प्रकाशसहित कोचिला राज्यसमितिका प्रमुख हरिबोल गजुरेलसहित आएका दाहालले फर्कँदा कुरा गर्छु भनी आउँदा सञ्चारकर्मीहरुसित कुरा  नगरेको बताए।

सुरक्षा निकाय र पार्टीका कार्यकर्ता तथा नेतालाई सुइँकोसम्म नदिई आएका दाहाल विमानस्थलको विशिष्ट कक्षमा समेत नगई साधारण यात्रु कक्षबाट बाहिरिएर गाडीमा चढेका थिए । त्यसबेला विमानस्थल सुरक्षामा खटेका प्रहरीले समेत थाहा पाएनन् । एयरलाइन्सका केही कर्मचारीले मात्र दाहाल परिवारलाई देखेका थिए । पूर्वक्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत शनिबार दिनभर दाहालकै खोजीमा लागेका थिए । प्रहरी प्रशासन, पत्रकार तथा माओवादी पार्टीका जिल्लादेखि केन्द्रीय नेताले समेत दाहालको खोजी गरे तर खास कुरा भने पत्ता लाग्न सकेन ।   
सम्भावना १ : अध्यक्ष प्रचण्ड निताःन्त व्यक्तिगत विवाद मिलाउन सिलगुडी गएका थिए ।
माओवादी स्रोतका अनुसार दाहाल भारतको सिलिगुडीमा रहेकी कान्छी छोरीको घर गएका हुन् । 'शुक्रबार साँझ ८ बजे दाहाल चढेको गाडी झापाको दमक बजारबाट अघि लागेको थियो, साथ रहेका कोचिला राज्य समिति इन्चार्जको मोबाइलमा सम्पर्क हुन सकेको छैन,' जिल्ला नेता टंकी गिरीले भने, 'हरि दाइ (कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेल) ले शुक्रबार पूर्व जान्छु, शनिबार साँझसम्म र्फकन्छु भन्नुहुन्थ्यो ।' 
माओवादी अध्यक्ष दाहाल पूर्व आएको खबरपछि शनिबार दिनभर झापाका सुरक्षाकर्मी र सञ्चारकर्मी पनि हैरान भए । विराटनगरबाट झापा हुँदै सिलिगुडी गएको चर्चा सुनेका पत्रकारहरू उनी र्फकने प्रतीक्षामा काँकडभिट्टा नाकामा बसेका थिए ।
भारत, सिलिगुडीका पत्रकारले पनि दाहालको सिलिगुडी भ्रमणबारे चासो व्यक्त गरेका थिए । पत्रकारहरू दिनभर दाहालकै खोजीमा व्यस्त भएको पत्रकार विजय रुचालले जानकारी दिए । उनले भने, 'प्रचण्ड सिलिगुडी आएको भन्ने सुनियो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन ।' दाहालले सिलिगुडी जाँदाताका सधैंजसो भेट गर्ने डुवर्सको बाग्राकोटका कान्छा ज्वाइँ नारायणविक्रम प्रधानले दाहाल आएको जानकारी नभएको बताए । प्रधानका अनुसार दाहाल सिलिगुडी आउँदा प्रधानलाई बोलाएर भेट गरेर मात्रै फर्कने गर्थे । दाहालपुत्री सीमा दाहाल केही वर्षदेखि पतिसँग छुट्टिएर छोरी स्मितासहित काठमाडौंमा बस्दै आएकी छन् । धेरैले दाहाल ज्वाइँसँगको बिग्रिएको सम्बन्ध सुधार्न गएको अनुमान लगाएका छन् ।
तर उनले आफू नेपालमा नै बसेको विराटनगरमा बोलेका थिए । तर कहाँ बसेको भन्ने उनले खुलाएनन् । उनको व्यत्तिःगत काम सिलगुडीमा मात्र हुनसक्छ भन्ने अनुमान छ । यदी उनी सिलगुडी गएका हुन् भने उनले पत्रकारलाई ढाँटेका छन् ।

सम्भावना २ : सभापती कोइरालासँग राजनीतिक कुरा गर्न यहाँ आएका हुन् 
वीपी जयन्तीका विभिन्न कार्यक्रममा सहभागि हुन विहीबार नै पुर्व आएका काँग्रेस सभापती सुशील कोइरालासँग राजनीतिक वार्ता गर्न पुर्व आएका हुन् भन्ने शंका पनि केहीको छ । उनले जाँदाजाँदै विराटनगरमा पत्रकारहरुसँग केही दिनमै शान्ती प्रक्रियाले पूर्णता पाउने समेत ठोकुवा गरेका छन् । तर यता सभापती कोइरालाले शनिबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा कार्यक्रम मञ्चबाटै उनले प्रचण्डले पुर्व आएर आफूलाई नभेटेको बताएका छन् भने प्रचण्डले समेत व्यक्तिगत कामका लागि आएको बताउँदै आएका छन् । प्रचण्ड चुलाचुलीस्थित शिविर गएको वा पुर्वका नेता र कार्यकर्ता भेटघाटको लाििग आएको भनेर शंका गर्नेहरु पनि छन् । तर उनीहरुसँग भेट भएको कतैबाट पुष्टि हुन सकेको छैन ।
देशको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष पुर्वाञ्चल आएर दुई दिन बसेर फर्किदा समेत सबै बेखबर बने । पत्रकारहरु त हैरान भए नै, सुरक्षा निकायका प्रमुखहरुको लागि समेत टाउका दुःखाइका विषय बनेको छ । भदौ २६, पूर्वन्युज

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :