एनसेलको नयाँ स्किम
Posted by
purwanews
Published on
Friday, September 9, 2011
काठमाडौं, भदौ २३ (नागरिक)- एनसेलले मोबाइल टेलिफोनका कर्पोरेट उपभोक्तालाई लक्ष्य गर्दै उनीहरुको लागि सस्तो योजना ल्याएको छ। निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले पोस्टपेड मोबाइलका उपभोक्ताका लागि 'प्रिमियम योजना', 'प्लस योजना' र 'क्लासिक योजना' ल्याएको छ।
यी योजनाअन्तर्गत बढी कल गर्ने ग्राहकले आफूलाई उपयुक्त स्किम छनोट गर्न सक्ने छन्।
'हरेक मानिसको पेसा, व्यवसायअनुसार फोनको आवश्यकता फरक हुन सक्छन्, त्यसैअनुसार नयाँ स्किम ल्याएका हौं,' एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने। देशभरि एनसेलको पोस्टपेड मोबाइलका लागु हुने नयाँ महसुल दरसहितको स्किम अन्तर्गत कुनै समस्या परेमा ग्राहकलाई हटलाइनको रुपमा ९००७ नम्बर व्यवस्था गरिएको छ।
प्रिमियम स्किम
यो योजनाअन्तर्गत मासिक ९ सय ९९ रुपैयाँ महसुल तिरेपछि एनसेलका ग्राहकले ७ सय मिनेट कुराकानी गर्न पाउने छन्। एनसेलको मात्र नभई जुनसुकै नेटवर्कमा पनि यो कल गर्न पाइने कम्पनीले जनाएको छ।
त्यस्तै यो यो महसुल तिरेपछि ७ सयवटा एसएमएस र ७० मेगाबिटसम्म जिपिआरएस इन्टरनेट प्रयोग गर्न ग्राहकले पाउनेछन्। 'यो सुविधा लिनेले अन्तर्राष्ट्रिय कल गर्दा ५ प्रतिशत छुट पाउनेछन्,' पासीले भने। यसको लागि बढी फोन गर्नुपर्ने पाँच देशको जानकारी कम्पनीलाई दिएर दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ।
प्लस योजना
मासिक ४ सय ९९ रुपैयाँ तिरेपछि आवद्ध हुन पाइने यो स्किममा देशभरि जुनसुकै टेलिफोन कम्पनीको नेटवर्कमा ३ सय मिनेट कुराकानी गर्न पाइन्छ। त्यस्तै ३ सय वटा एसएमएस र ३० मेगाबिट जिपिआरएस समेत प्रयोग गर्न पाइनेछ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन अफिसर सञ्जु कोइरालाका अनुसार यो स्किममा आवद्ध ग्राहकले आफूले छनोट गर्ने दुई देशमा फोन गर्दा ५ प्रतिशत छुट पाउने छन्। दुई देश ग्राहक आफैंले छानेर लिन पाउने छन्।
क्लासिक योजना
यो योजना थोरै कल गर्ने पोस्टपेड ग्राहकलाई लक्षित गरिएको छ। मासिक ३ सय रुपैयाँ तिर्ने ग्राहकहरु यो स्किममा आवद्ध हुन सक्ने कम्पनीले जनाएको छ। यसअनुसार एनसेलको नेटवर्कमा कल गर्दा प्रति मिनेट १ रुपैयाँ २० पैसा र अन्य कम्पनीका नेटवर्कमा १ रुपैयाँ ५० पैसामा कल गर्न पाइने कम्पनीले जनाएको छ।
यो योजनामा आवद्ध हुँदा प्रति एसएमएसको १ रुपैयाँ र एक एमबी जिपिआरएस डाटालाई ४ रुपैयाँ पर्छ। एनसेलले रातको समयमा कल गर्दा मिनेटको ५५ पैसा, क्लोज युजर ग्रुप (नियमित कल गर्ने समूह) मा मिनेटको १० देखि ५५ पैसाको स्किम केही महिना अघिदेखिनै लागु गरेको छ।
मोबाइल सेटसँगै एक वर्ष निःशुल्क कल
एनसेलले पहिलोपटक विभिन्न कम्पनी तीन मोबाइल कम्पनीसँग बन्डलिङ सेवा सुरु गरेको छ। कम्पनीले नोकिया, एलजी र मोटोरोलाका स्मार्टफोनसँग 'प्लस योजना' लाई आवद्ध गराएको छ। एनसेलले बन्डलिङ स्किमअन्तर्गत बिक्री सुरु गरेको स्मार्ट फोनको मूल्य कम्तीमा १३ हजार ९ सय ९९ देखि बढीमा ४९ हजार ९ सय ९९ रुपैयाँ पर्छ।
यो योजनाअन्तर्गत नोकियाको इ-सेभेन र एन-८, एलजीको ब्ल्याक पी-९७०, एलजी अप्टिमस र मोटोरोलाको डेफी गरी ७ वटा मोडल एनसेलको काउन्टरबाट किन्दा प्लस योजनामा स्वतः आवद्ध पाइन्छ। यो योजनाअन्तर्गत मासिक ३ सय मिनेट कल, ३ सय एसएमएस, ५० एमबी डाटा र दुई वटा देशमा कल गर्दा ५ प्रतिशत छुट पाइन्छ।
प्रतिक्रिया दिनुहोस् >>