मुसाले विमान रोक्यो कि विमानले मुसा ?

चाल्र्स शोभराज भन्ने एकजना खुंखार अपराधि छन् । अन्तर्राष्ट्रिय अपराधिको सुचीमा उनी राम्रै स्थानमा पर्छन् । नेपालमा पनि अपराध गर्न भ्याएकोले उनलाई नेपाल सरकारले ससम्मान जेल हालेको छ । एक तरिकाले उनी घरज्वाईँ हुन् नेपालका ।
उनले धेरै अघि भनेको यौटा कुरा नेपालका प्रहरी र पत्रकारहरु आजसम्म पनि सम्झिरहन्छन् । उनले भनेका थिए, नेपालको एअरपोर्टबाट हात्ती पनि छिर्छ । नक्कली पासपोर्टमा आफूले आवतजावत गरेर होला नेपालको एअरपोर्टबााट जे पनि 'पास' हुन्छ भनेका थिए । तर आज नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जे भयो, त्यसले शोभराज बुद्धिमान अपराधी होइन भन्ने पुष्टि गरेको छ । नेपालको सुरक्षा निकायले चाह्यो र सुईको पायो भने हात्ती त परको कुरा झिँगा पनि एअरपोर्ट पस्न पाउँदैन भन्ने पुष्टि गरेको छ । किनकी सोमबार नेपालको त्रिभुवन विमानस्थल प्रयोग गरेर थाइल्याण्ड जान खोजेको एउटा मुसालाई त प्रहरीले जान दिएन भने शोभराजले कुन हात्तीको कुरा ग¥या होला । घटना यस्तो हो :

विमानमा यात्रु चढ्छन्, तर सोमबार बिहान त्रिभुवन विमानस्थलमा बैंकक उड्न ठिक्क परेको नेपाल वायुसेवा निगमको विमानमा मुसो पनि चढ्यो । 'क्याबिन क्रु' ले विमानमा राखिएको 'ड्राई क्याटरिङ बक्स' जाँच गर्दा मुसो मात्र होइन, त्यसको गुँड नै फेला पर्‍यो । 'लौ न, कसरी यस्तो भो ?', जहाजका क्याप्टेन युवराज भट्टराई झस्किएनन् मात्र, उनले तत्काल निर्णय लिए, 'जे पनि हुन सक्छ ! अब उडान क्यान्सिल !'
हेर्दाहेर्दै फुत्त भागेको मुसा विमानको कुन कुनातिर छिर्‍यो, जति खोजे पनि फेला परेन । निगमका कर्मचारी असिनपसिन भए तर राति अबेरसम्म पनि विमानभित्र मुसा फेला पार्न सकिएको छैन ।
चिया, कफी, फलफूल, पाउडर दूध, बियर राखिने 'ड्राई क्याटरिङ बक्स' मा गुँडसहित मुसा पाइएपछि बिहान ९ बजेको उडान रद्द गरियो । नेपाली विमान कम्पनीको जहाजभित्र मुसा देखिएको यो पहिलो घटना हो । व्यवस्थापकीय कमजोरीकै कारण यसअघि जहाजको उपकरण हराउने, नक्कली नियुक्ति लिएका कर्मचारी ह्यांगरसम्म पुग्नेलगायत घटना हुँदै आएका छन् । जहाजभित्र मुसा हुनु सुरक्षा हिसाबले 'खतरापूर्ण' भएको विज्ञहरूले बताए । जहाजका कुनै एउटा मात्र तार काटिए उडानमा समस्या आउन सक्छ र त्यसले दुर्घटना निम्तिन सक्छ ।
मुसाको फोहोर खानेकुरामा परे यात्रुलाई 'फुड प्वाइजिनिङ' हुन सक्छ । चालकको स्वास्थ्य तत्काल बिगि्रएमा पनि उडानमा गडबडी हुने सम्भावना रहन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले यस्ता कुरालाई ध्यानमा राखी मापदण्डसमेत बनाएको छ । 'तर यस घटनाले निगमले मापदण्ड पूरा गरेको देखिएन,' एक जानकारले भने, 'स्टोर र बक्स नियमित जाँच र सफा नगरिएकाले मुसा आएको हुन सक्छ ।'
अन्य खाना 'एलएफजी क्याटरिङ' ले जहाजमा पुर्‍याउने भए पनि चिया, कफीलगायत भने निगमकै क्याटरिङ विभागले तयार गर्छ । 'यसअघि यस्तो भएको थिएन,' निगम प्रवक्ता राजु केसीले भने, 'गल्तीले यस्तो भयो ।' बोर्डिङ प्रक्रियाअघि क्याटरिङले खानेकुरासहितको 'बक्स' लोड गरेपछि 'क्याबिन क्रु' ले त्यहाँ राखिएको सामान जाँच गर्ने क्रममा मुसा देखिएको थियो ।
नियमअनुसार मुसा फेला नपारी उडान गर्न मिल्दैन । मुसा मार्न नमिल्ने भएकाले पासोमा पार्नुपर्छ । त्यस्तै जहाज उडिरहेको समयमा मुसा देखिए तत्काल नजिकको विमानस्थलमा अवतरण गर्नुपर्ने पनि आईकाओको नियम छ । निगमका कार्यकारी अध्यक्ष मनरूप शाही, प्रवक्ता केसीसहितको टोली जाँचका लागि विमानस्थल पुगेका थिए । शाहीले भने, 'जाँचपछि क्याटरिङ विभागलाई तत्काल सेवा सुधार गर्न निर्देशन दिइएको छ ।'
उडान रद्द भएपछि निगममा १ सय ३३ यात्रुलाई थाई एयरवेजबाट बैंकक पठाइएको क्याप्टेन भट्टराईले बताए । भाद्र १९, ekantipur
लौन अब कहाँबाट खोज्ने मुसा ? फेरी त्यो मुसा नेपालको पुर्वराजा ज्ञानेन्द्र हो र देख्नेबित्तिकै चिन्नु ? फेरी चिनेपनि गुँड बनाउन समेत भ्याइसकेको मुसाका लालाबाला नहोलान् भन्न सकिन्छ ? अब यौटा काम गर्नुपर्ने भो,  विमानलाई मुसाप्रुफ बनाउने । त्यो सकिएन भने पुरै जहाजमा बिरालोको जस्तो आवाज निकाल्ने  हर्न राखे पो समस्या समाधान होला कि । विमानमा शिव पुत्र गणेश त चढ्नुभएको थिएन ? अनुसन्धान गर्ने जिम्मा नेपाल सरकारलाई र कहिल्यै नउडाउने उड्ययन मन्त्रालयलाई । तर त्यो बिचरो गणेशको वाहनप्रति पो दया लाग्यो । त्यसले थाइल्याण्ड नदेख्ने भो कठै । मुसाको लक्ष्यमा पानी छ्याप्यो विमानले । आफू चढ्ने विमानमा क्षती पु¥याउने मुख्र्याइ बुद्धिमान मुसाले गर्यो होला त ? मुसाको बुद्धिमत्ता र खुबी देख्नुभएको छ ? ल यो लिंकमा क्लिक गरेर गरेर हेर्नुहोस् मुसाको क्षमता : http://www.youtube.com/watch?v=aqw9TT1kM54

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :