स्मार्ट फोनको काइदा

आइबिएम सिमोनले सन् १९९२ मै फिजकल किप्याडविहीन मोबाइल सेट निर्माण गर्दा त्यसले सञ्चार क्षेत्रमा हलचल ल्याएको थियो । स्क्रिनमा औंलाले भर्चुअल किप्याड थिचेर चलाउन सकिने यो सेटले लामोसमय किप्याडयुक्त मोबाइललाई विस्थापित गर्न सकेन । अहिले समय बदलिएको छ । झन्डै डेढ दशकपछि एप्पलले स्क्रिनमा औंलाले छोएर (स्क्रिन टच) चलाउन मिल्ने आइफोन ल्याएर किप्याडयुक्त सेटलाई निकै चुनौती थपिएको छ । त्यसयता उसले चौथो संस्करण आइफोन-४ बजारमा ल्याइसकेको छ ।
 राजधानीको एक वाणिज्य बैंकमा कार्यरत नञ्जिता प्रधान (तस्बिरमा) लाई त्यही आइफोनले अधिकांश समय साथ दिन्छ । 'फुर्सदको समय म यही स्मार्ट फोनसँग बिताउँछु,' उनले भनिन्, 'फेसबुक चलाउन, गेम खेल्न कम्प्युटरमा भन्दा यसैमा सजिलो लाग्छ ।' लामो यात्रामा, कसैलाई कुर्नुपर्दा, कार्यालयमा काम सकेर बसेका बेला मोबाइलमार्फत इन्टरनेट संसारमा सयर गर्दा निकै आनन्द आउने उनी बताउँछिन् ।
 एप्पलसँग प्रतिपर्धा गर्दै गुगलले स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयर एन्ड्रोइड बनाएपछि स्मार्ट फोन सर्वसुलभ हुन थालेको छ । यसअघि आइफोन उत्पादकले आफ्नो सफ्टवेयर मात्र प्रयोग गर्थे । गुगलले मोबाइल क्षेत्रमा हात हालेपछि एप्पलसँगको उसको सम्बन्ध चिसिएको छ । दुईबीचको आइफोन प्रयोगकर्ता भने फाइदामा छन् ।
 यी दुईबीच त्यति प्रतिपस्र्धा नहुँदो हो त तपाईंको हातमा आइफोन यति छिट्टै आइपुग्ने थिएन । त्यति मात्र कहाँ हो र ? आइफोन जत्तिकै औंला नचाउँदै विश्व विचरण गर्न सकिने तपाईको बजेटभित्रको एन्ड्रोइडयुक्त स्मार्ट फोन किन्न तपाईंले कहाँ पाउनुहुन्थ्यो ? आइफोन निकै महँगो छ । एन्ड्रोइड फोनहरू भने महँगादेखि सस्तासम्म छन् ।
 त्यति मात्र कहाँ हो र ? मूल्य घटेअनुसार सुविधा झन् धेरै थपिएका छन् । त्यसैले त भर्खरै प्लस टु पढ्दै गरेकी कालोपुलकी एञ्जिला जोशीले अभिवाकले साधारण सेट किन्न दिएको पैसामा आफूले खाजा खर्चबाट जोगाएको केही रकम थपेर स्मार्ट फोन किनेकी छन् । 'केही वर्षअघिसम्म यसको म कल्पना पनि गर्न सक्दिनथें,' उनले सुनाइन्, 'अहिले खाना खाने र स्कुल जाने समयबाहेक मेरो दैनिकी यही सेटको सेरोफेरोमा बित्छ ।' उनका अधिकांश सहपाठीसँग स्मार्ट फोन छ । अधिकांशले 'सोसिएल नेटवर्किङ' साइटमा आफ्नो 'स्ट्याटस अपडेट' गर्न, गेम खेल्न स्मार्ट फोन प्रयोग गर्ने गरेको उनले बताइन् । हिजोआज तन्नेरीहरू पैदल हिँड्दा, सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा एयरफोन कानमा घुसारेर स्मार्ट फोनबाट संगीत सुनिरहेका भेटिन्छन् ।  
 फोनमा कुरा गर्ने, रेडियो बजाउने, अडियो रेकर्ड गर्ने/बजाउने, भिडियो रेकर्ड गर्ने/बजाउने, फोटो खिच्ने टर्च लाइट, फाइल साटफेर गर्ने ब्लुटुथ अचेलका सेटमा हुने सामान्य सुविधा भइसके । जमाना स्मार्ट फोनको आएको छ ।
 नामै स्मार्ट फोन । त्यसैले यो हरेक कुरामा स्मार्ट हुने नै भयो । यो फोनले सामान्य मोबाइल सेटभन्दा निकै बढी काम गर्छ । यसलाई सुविधाका दृष्टिले मोबाइल फोनका साथै पर्सनल डिजिटल असिस्टेन्ट भन्न थालिएको छ । यसमा मिडिया प्लेयर्स, हाई रिजोल्युसन क्यामेरा, ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) स्क्रिन टच, नेभिगेसन वाइफाई, मोबाइल ब्रोडब्यान्ड एक्सेसलगायत सुविधा हुन्छन् । आफ्नो आवश्यकताअनुसार सुविधा थपघटसमेत गर्न सकिन्छ । यस्ता सेटमा आफूलाई स्टोरेज चाहिएको बेला मेमोरी बढाउने सुविधा हुन्छ । यसमा तेस्रो पुस्ता (थ्रिजी) सिम प्रयोग गर्न मिल्छ । भर्खरै इन्टेक्सले टुजीकै सिम हालेर भिडियो कल गर्न सकिने सेट ल्याएको दाबी गरेको छ । केही सेटमा टेलिभिजन प्रसारणसमेत हेर्न सकिने सुविधा छन् । अधिकांश सामान्य मोबाइलमा एकै खालका सफ्टवेयरको प्रयोग गरिन्छ । स्मार्ट फोन भने मोबाइल अपरेटिङ सिस्टम (ओएस) बाट चल्छ । यस्ता सेटमा उच्चगतिको प्रोसेसर जोडिएको हुन्छ । तेस्रो व्यक्तिले बनाएका एप्लिकेसन्स सफ्टवेयर (एप्स) पनि इन्स्टल गर्न सकिने भएकाले आफ्नो आवश्यकताअनुसार यिनको प्रयोग गर्न सकिन्छ । 'स्मार्ट फोनलाई हातेकम्प्युटर भने पनि हुन्छ,' एलजीका स्मार्ट फोन बेच्दै आएको चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सका महाप्रबन्धक रमेश श्रेष्ठ भन्छन्, 'यसले कामकाजीको दैनिकीलाई निकै सहज बनाइदिएको छ ।'
 स्मार्ट फोन युवा समुदायबीच लोकपि्रय छ । भर्खरै सार्वजनिक भएको वल्सवाङ रिपोर्टअनुसार बेलायतका २२ प्रतिशत मोबाइल उपभोक्तासँग स्मार्ट फोन छ । यसमा ३१ प्रतिशत २४ देखि ३५ वर्षे युवा छन् । अघिल्लो वर्ष अमेरिकामा गरिएको सर्भेमा ४५ करोड ५० लाख उपभोक्ताले स्मार्ट फोन बोक्छन् । विश्व बजारमा स्मार्ट फोनको कारोबार सन् २००९ र २०१० को तुलनामा ७४ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।
 हेर्दा निकै आकर्षक स्मार्ट फोन यसमा प्रयोग गरिएको प्रविधिले स्मार्ट भएका हुन् । इन्टरनेट चलाउनका लागि त यी सेट बरदानै सावित भएका छन् । सिममार्फत चलाइने जिपिआरएस त छँदै छ, वाइफाईमार्फत इन्टरनेट चलाउन पनि यी सेट निकै उपयोगी छन् । स्मार्ट फोनमा तीव्र गतिमा इन्टरनेट चलाउन सकिन्छ । स्क्रिन टच नभएका क्वार्टी किप्याडयुक्त स्मार्ट फोन पनि बजारमा उपलब्ध छन् । अंग्रेजी वर्णमालाका छुट्टाछुट्टै किप्याड हुने भएकाले यी सेट चलाउन निकै सजिला हुन्छन् । सबै मोबाइलमा सन्देश (म्यासेज) आदानप्रदान गर्ने सुविधा हुन्छ । स्मार्ट फोनबाट भने व्यक्तिगत र व्यावसायिक इमेलसमेत आदानप्रदानको सुविधा हुन्छ । एकैपटक मल्टिपल एकाउन्टसमेत चलाउन सकिने भएकाले यी सेट साँच्चै स्मार्ट छन् । 'स्मार्ट बन्न स्मार्ट डिभाइस नै प्रयोग गर्नुपर्‍यो नि,' सामसङको ग्यालेक्सी पपमा गेम खेल्दै रत्नपार्कमा एकोहोरो गेम खेल्दै गरेका भेटिएका सिन्धुलीका रविन केसीले भने, 'एकपटक स्मार्ट फोन चलाउन थालेपछि अरू सेटमा आँखै नलाग्ने रहेछ ।'
 नेपाली बजारमा स्मार्ट फोन भित्रिएको धेरै भएको छैन । माग भने ह्वात्तै बढेको सामसङका सेट बेच्ने इन्टरनेसनल मार्केटिङका बजार प्रबन्धक पुस्कल खतिवडा बताउँछन् । 'सामसङका मासिक १ हजार ५ सय स्मार्ट फोन बिक्छन्,' उनले भने । नेपाली बजारमा अधिकांश स्मार्ट फोन उत्पादकले आफ्ना सेट उपलब्ध गराउँछन् । तपाईलाई पनि स्मार्ट फोनसँगै रमाउन मन लाग्यो कि ? Ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :