झमक बलेपछि धनकुटा झलमल

साहित्यकार झमककुमारी घिमिरेले यस वर्षको मदन पुरस्कार पाएको घोषणा हुनेबित्तिकै धनकुटा कचिडेस्थित उनको परिवारका सदस्य सबै काम रोकेर भलाकुसारी गर्दै खुसी साट्न थाले।
'जीवन काँडा कि फूल' नामक झमकको आत्मपरक ग्रन्थले मदन पुरस्कार पाएपछि शनिबार साँझदेखि घरमा बधाईका फोन आउन थाले। झमक काठमाडौं गएकी थिइन्। उनका बुबा र बहिनीले सहर्ष बधाई स्वीकार गरे।
शनिबार साँझ कचिडेस्थित घरमै झमकका बुबा कृष्णबहादुर घिमिरेले भने, 'छोरीको सफलताबाट ज्यादै खुसी छु। पुरस्कार त पहिले पनि पाएकी थिइन्, तर मदन पुरस्कार पाउँदाको खुसी छुट्टै छ।'
११ वटा किताब लेखिसकेकी झमकलाई 'जीवन काँडा कि फूल'ले यसअघि नै पद्यश्री पुरस्कार, शंकर लामिछाने पुरस्कार, उत्तम शान्ति पुरस्कार, गुञ्जन प्रतिभा पुरस्कारलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान दिलाइसकेको छ। 'यही किताबका लागि दिदीले पाएको यो सातौं पुरस्कार हो,' झमककी बहिनी मीनाले भनिन्।
झमकले मदन पुरस्कार पाएपछि निकै खुसी देखिएका उनका आफन्त देवी श्रेष्ठले ३१ वर्षीया यी साहित्यकार पुरस्कारको सही हकदार भएको बताए। पुरस्कारका लागि निवेदनसहित पुस्तक बुझाउन आफैं गएको र अहिले यो घोषणाले खुसीको सीमा नरहेको उनले बताए।
२०३७ सालमा जन्मेकी झमक परिवारकी जेठी छोरी हुन्। उनले २०५३ सालदेखि खुट्टाको औंलाले लेख्न थालेकी हुन्। जन्मँदै अपांग झमकले भाइबहिनीले लेखपढ गरेको देखेरै अक्षर लेख्न सिकेकी हुन्।
अपांग झमकको धेरैले खिसिट्युरी गर्ने बुबा कृष्णबहादुरले बताए। 'हामीले कहिल्यै नराम्रो सोचेनौं, नरमाइलो लागे पनि आफूले जन्माएको छोरीको माया लाग्दो रहेछ, छोरी र हाम्रो भाग्य नै यस्तै रहेछ भनेर सोच्थ्यौं,' उनले विगत कोट्याए।
२०४४ सालतिर सिरक बनाउन आएको व्यक्तिले 'यस्तालाई मारेर फालिदिनुपर्छ' भन्दा साह्रै चित्त दुखेको बुबाले सम्झिए। 'आज छोरीले सबैको इज्जत राखी, त्यस्ता पीडा सबै भुलेको छु,' उनले भने।
बहिनी मीनाका अनुसार उनीहरू पढ्दा झमक नियालेर हेर्थिन्। 'हामी कापीमा कलमले लेख्थ्यौं, दिदी खुट्टाको बुढीऔंलाको टुप्पो र अँगारले धुलोमाटोमा लेख्नु हुँदो रहेछ, हामीले पछि मात्रै थाहा पायौं,' उनले भनिन्।
त्यही धुलोमा थालेको अभ्यासले झमकलाई आज मदन पुरस्कार दिएको छ। अक्षर लेख्न र पढ्न सिकेपछि झमक दिनभरि नै लेखपढमा व्यस्त हुने मीनाले बताइन्। 'भेट्न आउनेले राम्रा किताब, कापीकलम ल्याइदिँदा खुसी हुन्थी,' उनले भनिन्, 'खानेकुरा ल्याइदियो भने रिसाउँथी।'
अहिले धनकुटामा झमकका कृति संरक्षण, विकास र प्रवर्द्धन गर्न झमक घिमिरे साहित्य कला प्रतिष्ठानसमेत स्थापना भएको छ।
मदन पुरस्कार गुठीले शनिबार नै जगदम्बाश्री पुरस्कार 'गत चार दशकदेखि आफ्नो मातृभाषा तथा नेपालीमा सुमधु गीत, कविता तथा बाल साहित्य लेखी नेपाली वाङ्गमयलाई समृद्ध तुल्याउने काम निरन्तर गरिरहेवापत्' कवि दुर्गालाल श्रेष्ठलाई दिने घोषणासमेत गरेको छ।
दुबै पुरस्कार दुई/दुई लाख रूपैयाका छन्। पुरस्कार आउँदो नौरथामा अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ।
दोस्री महिला
मदन पुरस्कार पाउने झमक दोस्री महिला भएको मदन पुरस्कार गुठीले जनाएको छ। यसअघि २०२२ सालको पुरस्कार पारिजातले 'शिरीषको फूल'का लागि पाएकी थिइन्।
संयोगवशः मदन पुरस्कार बिजेता दुबै महिला शारीरिक रुपमा अशक्त परेका छन्। त्यसैगरी दुबैका पुरस्कृत कृतिको शीर्षकमा फूल शब्द परेको छ।
यसैबीच राजधानीमा रहेकी झमकले नागरिकलाई एसएमएसमा प्रतिक्रिया दिँदै पुरस्कारलाई 'दबिएको आवाजको एक सारपूर्ण मूल्यांकन' भन्ने टिप्पणी गरिन्। हाल निबन्धको अर्को पुस्तक तयारीमा रहेकी उनले अर्को प्रश्नमा भनिन्, 'यो पुरस्कार पाउने आशा गरेकी थिइन, तर (पुस्तक) योग्य छ भन्ने चाहि" लागेको थियो।' भदौ ४ Nagariknews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :