फुटबल खेलाडीलाई अपार्टमेन्ट पुरस्कार
Posted by
purwanews
Published on
Monday, August 22, 2011
सोह्र वर्ष लामो खेलजीवन । अन्तर्राष्ट्रिय खेलको १२ वर्षे यात्रा । निकै अनुशासित र निरन्तर उत्कृष्ट प्रदर्शन । घरेलु फुटबलमा हात पारेको थुप्रै सफलता । यस्तो उपलब्धि र योगदानका लागि नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राकेश श्रेष्ठले 'अपार्टमेन्ट' पुरस्कार पाउने भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समय गरेको योगदानका लागि सर्वोत्कृष्ट खेलाडी ठहर्याउँदै उनलाई अखिल नेपाल फुटबल संघ -एन्फा) ले शनिबार अपार्टमेन्ट दिने घोषणा गर्यो । अन्तर्राष्ट्रिय खेलबाट संन्यास घोषणाको केहीबेरअघि मात्रै उनले यस्तो पुरस्कार पाएका हुन् । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपार्टमेन्टको 'डमी' हस्तान्तरण गरे । नेपाली खेलकुदमा अपार्टमेन्ट पुरस्कार पाउने उनी पहिलो हुन् । रोयल अर्किड डेभलोपर्स प्रालिको ललितपुरको हात्तीवनस्थित 'मेरो सिटी' मा दुई बेडरुमसहितको अपार्टमेन्ट राकेशले पाउनेछन् । अहिले त्यसको बजार मूल्य २५ लाख ९९ हजार रुपैयाँ छ ।
गत वर्ष असोजमै एन्फाले १८ लाख ९९ हजार रुपैयाँमा अपार्टमेन्टका लागि रोयल अर्किडसँग सम्झौता गरेको थियो । नेपाली फुटबल खेलाडीका लागि कारपछि सबैभन्दा ठूलो पुरस्कार हो, यो । वि.सं.२०६२ मा उपेन्द्रमानसिंह र ०६३ मा हरि खड्काले टोयोटा यारिस कार पुरस्कार पाएका थिए ।
'अपार्टमेन्ट पाउँछु, पुरस्कार पाउँछु भनेर फुटबल खेलेको थिएनँ,' ३४ वषर्ीय राकेशले भने, 'नेपाली खेलकुदको इतिहासमा पहिलोपल्ट अपार्टमेन्ट पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको छु । खेलाडी नभएको भए यो खुसी र सम्मानको दिन आउने थिएन । अनुशासन, दृढ इच्छाशक्ति र मिहिनेतले मलाई यो दिनसम्म ल्याएको हो र अझै यस्ता दिन आओस् भन्ने चाहन्छु ।'
राकेशले थपे, 'फुटबल मात्र होइन, अन्य खेलका खेलाडीले पनि अपार्टमेन्ट पाउने अवस्था बनोस् । त्यो दिन नेपाली खेलकुदकै सबैभन्दा गौरवशाली र खुसीको दिन हुनेछ ।' सम्मानमा राकेश परिवारसहित उपस्थित थिए । उनका पिता माधवले भने, 'सानैमा फुटबल खेल्दा छोरा खेलाडी हुन्छजस्तो लागेको थियो । नभन्दै उनी खेलाडी बने । मान-सम्मान पाए । छोराको यस्तो सफलतामा बुवाका लागि यो नै सबैभन्दा ठूलो खुसीको क्षण हो ।'
राकेशकी पत्नी पुनमले भनिन्, 'उहाँले लामो समयदेखि फुटबल खेल्नुभएको थियो । धेरै सम्मान पाउनुभयो । त्यसैले धेरै खुसी लागेको छ ।'
माओवादी अध्यक्ष दाहालले भने, 'अपार्टमेन्ट पुरस्कार राकेश श्रेष्ठलाई मात्र गरिएको सम्मान होइन, आमफुटबल खेलाडी सबैलाई गरिएको सम्मान हो ।' राकेशको सम्मानसँगै अन्य सबै खेलाडी पनि मनोवैज्ञानिक ढंगले पुरस्कृत भएको उल्लेख गर्दै युवा तथा खेलकुदमन्त्री ओनसरी घर्तीले भनिन्, 'खेलमै जीवन समर्पण गरेको हकमा यो पुरस्कार फल हो ।'
एन्फा एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका एन्फा अध्यक्ष गणेश थापाले भने, 'नेपाली खेलाडी अहिले फुटबल खेलेरै मासिक ५० हजार रुपैयाँसम्म कमाउन सक्ने भएका छन् । फुटबलकै कमाइले कार किनेर चढ्न सक्ने भएका छन् । उनीहरूले चाँडै नेपालमै मासिक एक लाखसम्म कमाउने अवस्था आउँदैछ । उनीहरूलाई डेरामा होइन, घरमा बसेको हेर्न चाहन्छौं ।'
'खेलाडीका लागि अपार्टमेन्ट कारभन्दा बढी उपयोगी हुन्छ,' अर्किड डेभलोपर्सका निर्देशक विकास वज्राचार्यले भने, 'एन्फा अध्यक्ष गणेश थापाले कोठामा बसेका खेलाडीलाई घरका लागि निकै जोड गरेका थिए । त्यसैले खेलाडीकै लागि भएकाले अपार्टमेन्टमा विशेष छुट दिएका छौं ।' अहिले निर्माणाधीन हाउजिङ दुई वर्षमा पूरा भएपछि हस्तान्तरण गर्ने उनले बताए ।भाद्र ६ ekantippur
प्रतिक्रिया दिनुहोस् >>