एजुकेसन कन्सल्टेन्सी निर्देशिका जारी
Posted by
purwanews
Published on
Monday, July 25, 2011

निर्देशिकाअनुसार देशभरका कन्सल्टेन्सी तथा ल्याङ्वेज सेन्टरको नियमन गरिने मन्त्रालयले जनाएको छ। निर्देशिकाअनुसार अब कन्सल्टेन्सीको सबै विवरण शिक्षा मन्त्रालयमा हुनेछ र कन्सल्टेन्सीहरूको दर्ता मन्त्रालयमै गर्नुपर्नेछ। यसअघि कन्सल्टेन्सीले कम्पनी रजिस्ट्रार तथा घरेलु कार्यालयमा दर्ताको बेला विवरण बुझाउँदै आएका थिए।
भाषा कक्षा, तालिम, प्रवेश परीक्षा तयारी कक्षा र परामर्श सेवाबापत कन्सल्टेन्सीले लिने शुल्क तथा त्यहाँबाट प्रदान गरिने सेवा तथा सुविधाबारे निर्देशिकाले स्पष्ट पारेको मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काले बताए।
निर्देशिकाअनुसार शैक्षिक परामर्श, पूर्व तयारी कक्षा, भाषा शिक्षण सञ्चालन गर्न चाहने संस्थाले न्यूनतम शर्तहरू पालना गर्नुपर्ने हुन्छ। जान चाहने देश, उच्चअध्ययनको उद्देश्य, कलेजको नाम, लाग्ने खर्चलगायत विवरण भरी कन्सल्टेन्सी र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने व्यवस्था छ। निर्देशिकाले परामर्शदाता तथा भाषा शिक्षकको योग्यता पनि तोकेको छ। कन्सल्टेन्सी र सरकारबीच समन्वय गर्न सेवाप्रदायका समेतको उपस्थिति रहने गरी समन्वय समितिको व्यवस्था गरेको छ।
निर्देशिकामा परामर्श वा पूर्वतयारी कक्षा वा भाषा शिक्षणसम्बन्धी गतिविधिको अनुगमन मन्त्रालय वा मन्त्रालयले तोकेको निकायले गर्ने उल्लेख छ। कन्सल्टेन्सीलाई मर्यादित तथा अनुशासित बनाउन निर्देशिका जारी गरेको उपसचिव खड्काले बताए। उनले भने, 'अब विदेश अध्ययन गर्न जाने विद्यार्थी तथा पठाउने कन्सल्टेन्सीहरूको सम्पूर्ण तथ्यांक मन्त्रालयमा हुन्छ।' निर्देशिका कार्यान्वयन भएपछि विदेश अध्ययन गर्न चाहने विद्यार्थी ठगिनबाट जोगिने विश्वास खड्काले व्यक्त गरे । यसले कन्सल्टेन्सीको दक्षता अभिवृद्धिमा समेत सघाउ पुर्याउने उनको भनाइ छ। मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका जारी गरेकोमा नेपाल शैक्षिक परामर्श संघ, नेपाल (इकयान) ले सकारात्मक प्रतिक्रिया दिएको छ। यस प्रावधानबाट विद्यार्थी ठगिनबाट बच्नुका साथै शैक्षिक परामर्शदात्री संस्था मर्यादित तथा व्यवस्थित हुने इकयानका कोषाध्यक्ष विष्णुहरि पण्डेले बताए।
अहिले देशभर नेपाल शैक्षिक परामर्श संघ, नेपाल (इकयान) र नेपाल राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)मा आबद्ध करिब ५ सय कन्सल्टेन्सीहरू छन्। साउन ९, nagarik
प्रतिक्रिया दिनुहोस् >>