कोशीको पुर्वी तटबन्ध फुट्ने चेतावनी-संवेदनशील क्षेत्र घोषणा
Posted by
purwanews
Published on
Wednesday, June 29, 2011
प्रेम बास्तोला/ पूर्वन्युज
कोशी ब्यारेजमा पानीको वहाव दिनानुदिन बढीरहेको अवस्थामा कोशीको पुर्वी तटबन्धलाई सरकारी प्राविधिक टोलीले अतिसंवेदनशील क्षेत्र घोषणा गर्दै जुनैसुकै बेला फुट्न सक्ने चेतावनी दिएको छ ।
पुर्वाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय विराटनगरका निर्देशक मनिकलाल कालुको नेतृत्वमा बुधबार सुनसरीको प्रकाशपुरस्थित कोशीको तीब्र कटान स्थलको निरिक्षण गर्न पुगेको सरकारी प्राविधिक टोलीले कोशीको पुर्वी तटबन्ध जुनै सुकै बेला फुट्न सक्ने चेतावनी दिएको हो ।
निर्देशक कालुका अनुसार कोशीको प्रमुख भंगालो पुर्व तर्फ केन्द्रित भएकाले प्रकाशपुर स्थित २५ दशमलब २५ देखि २६ दशमलब ४० सम्मका चार वटा स्परहरुमा कटान तिब्र बनाएकाले बाँध जुनै बेला पनि फुट्न सक्ने अवस्था रहेको छ । कटान नियन्त्रणका लागि भारतीय पक्षले प्रयास जारी राखेपनि विफल भएकाले सो क्षेत्र बढी संवेदनशिल भएको उनले बताए ।
‘कोशीको पानीको बहाव र कटान हेर्दा ०६५ भदौ २ को अवस्था दोहोरिने अवस्था प्रवल छ । पहाडी क्षेत्रमा बर्षा निरन्तर भएकाले कोशीमा पानीको बहावपनि बढीरहेको छ । कति खेर के हुन्छ यसै भन्न सक्ने अवस्था छैन । हाल स्पर कटान गरेको क्षेत्रबाटै बाँध फुटेमा पहिलेको भन्दा बढी धनजनको क्षति हुन सक्ने छ । स्थानीय बासिन्दा र सुरक्षाअधिकारीहरु हाइअलटमा बस्नु पर्ने अवस्था मैले पाएँ । ’–कोशी कटानको निरिक्षणपछि कालुले भने ।
समयमै भारतीय पक्षले स्पर कटान हुन नदिनेका लागि ध्यान नदिएकाले कोशीको खतरा दिनप्रतिदिन बढ्दै गएको निरिक्षणमा सहभागी जलउत्पन्न प्रकोप नियन्त्रण डिभीजन कार्यालय विराटनगरका इन्जिनियर मोहन भट्टराईले बताए । केही दिनभित्रमै नेपाल सरकारले भारतीय सरकारलाई बिषेश आग्रह गरि कटान नियन्त्रणका लागि अन्य कुनै प्रयास नगरिए बाँध फुट्ने उनले दावी गरे । उनका अनुसार निरिक्षणपछि टोलीमा सहभागी प्राविधिकहरुले आफ्नो विभागलाई पनि कोशीबाँध जतिसुकै बेलापनि फुट्न सक्ने भन्दै जानकारी गराई सकिएको छ ।

सोमबार मात्र सुनसरीका प्रमुख जिल्ला अधिकारी चूणमणि शर्मा सहितको स्थानीय सरकारको एक टोलीले कोशी कटान क्षेत्रको स्थलगत निरिक्षण गरि पुर्वी तटबन्ध खतरामा रहेको निष्कर्ष निकालेको थियो ।
बुधबारै विराटनगरमा भएको क्षेत्रीय तहको सुरक्षा बैंठकमा कोशीको तिब्र कटान र पुर्वी तटबन्ध खतरामा परेको बिषयलाई प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरिएको बैंठकमा सहभागी सुनसरीका प्रमुख जिल्ला अधिकारी चूणामणि शर्माले बताए । शर्माका अनुसार हाल कोशीले कटान गरिरहेको स्थान र त्यसबाट उत्पन्न हुने संभावित खतराका बिषयमा तयार पारिएको भिडियो डकुमेन्ट्री पनि बैंठकमा प्रस्तुत गरिएको थियो । बैंठकमा सहभागी गृहमन्त्रालयका पदाधिकारीहरुले कोशी बाँधको संवेदनशिलताका बिषयमा तत्काल नेपाल सरकारको ध्यानकर्षण गराई भारत सरकारलाई जानकारी गराउने बिषयमा पनि छलफल भएको प्रजिअ शर्माले बताए ।

यसैबीच कोशी ब्यारेज प्रहरी चौकीका अनुसार बुधबार कोशीमा पानीको बहाव एक्कासी बढेको छ । विहान ८ बजेअघि कोशी बहाव प्रतिसेकेण्ड १ लाख ९ हजार ६ सय २० मापन गरिएको थियो । दिंउसो १ लाख ४ हजार मापन गरिएको थियो । कोशीमा पानीको बहाव बढेकाले व्यारेजका १५ वटा ढोका खुल्ला गरिएको थियो । पहाडी क्षेत्रमा भारी बर्षा जारी रहेकाले कोशीमा पानीको बहाव अझै बढ्न सक्ने कोशी व्यारेज प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>