विश्वको नम्बर वान आतंकवादी ओसामा विन लादेनको मृत्यु पछि विश्वको दोश्रो नम्बरमा रहेका मस्ट वाण्टेड आतंकवादी दाऊद इब्राहिमले आफू बस्दै आएको स्थान परिवर्तन गरेको बताइएको छ ।
भारतीय टेलिभिजन आजतकका अनुसार भारतले पनि अमेरिकाकै शैलीमा पाकिस्तानमा हमला गरेर दाऊदमाथि निशाना लगाउने डरले पाकिस्तानले नै ओसामाको मृत्युपछि दाऊदलाई कराची शहरबाट बाहिर पठाएको छ ।
विश्वको दोश्रो नम्बरको मस्ट वाण्टेड आतंकवादी दाऊद पाकिस्तानको उत्तर पश्चिमी इलाकामा लुकेर बसेको सुचना प्राप्त भएको पनि आजतकले जनाएको छ । लादेनको मृत्युपछि आइएसआईले नै दाऊदलाई कराचीबाहिर बाहिर लगेर लुकाएको पनि समाचारमा दावी गरिएको छ ।
दाउदका साथमा छोटा शकील र अनीस पनि रहेको बताइएको छ । अहिलेसम्म विश्वका मस्ट वाण्टेडको सुचीमा दाउद तेश्रो नम्बरमा थिए भने लादेन पहिलो नम्बरमा । लादेनको मृत्युपछि मेिक्सकोको कुख्यात तस्कर एल शापो गुजमान अव पहिलो नम्बरमा पुगेको छ भने दाउद दोश्रो नम्बरका अपराधी भएका छन् ।
कुनै बेला एउटै ग्याङमा रहेका अन्डरवल्र्डका कुख्यात डन दाउद इब्राहिम र छोटा राजन दुई समूहमा विभाजित भएपछि यी दुई डनलाई भारत र पाकिस्तानले उपयोग गर्दै आएको आरोप लाग्ने गरेको छ । भारतमा हुने आतंकवादी हमलामा पाकिस्तानको संरक्षणमा दाउदले सघाउने गरेको भारतीय आरोप छ भने पाकिस्तानको पक्षमा रहेका भारतविरोधीहरुलाई भारतको संरक्षणमा छोटा राजनले आक्रमण गर्दै आएको आरोप लाग्ने गरेको छ । मुम्बईको संगठित आपराधिक समूह डी कम्पनीका प्रमुख व्यक्ति दाउदमाथि सन् १९९३ मा मुम्बईमा बम आक्रमण गरेको आरोपसमेत लगाउँदै आएको छ भारतले । अहिलेसम्म भारतीय प्रहरीको नजरबाट छिप्दै आएका दाउद पाकिस्तानमा लुक्दै आएको भारतले दाबी गर्दै आएको छ ।
दाउदको बासस्थान पाकिस्तानको कराँचीमा समेत रहेको र पाकिस्तानी खुफिया एजेन्सीले दाउदको संरक्षण गरिरहेको भारतीय जासुसी संस्था रअले समेत दाबी गरेको छ । केही पहिले त भारतले दाउद इब्राहिम पाकिस्तानमै भएको दाबी गर्दै भारतलाई बुझाउन पाकिस्तान सरकारकारसँग औपचारिक रुपमै आग्रह गरेको थियो । भारतले दाउदसहित ३८ जना कुख्यात आपराधी पाकिस्तानमा लुकेको भन्दै पाकिस्तानलाई अपराधीको विवरणसमेत बुझाएको थियो ।
भारतको खुफिया एजेन्सीले सन् २००८ को नोभेम्बरमा भारतको मुम्बईमा भएको आतंकवादी हमलालगायत अरु विभिन्न आतंकवादी हमलामा दाउदको सम्बन्ध रहेको दाबी गर्दै आएको छ । सन् २००८ को मुम्बई हमलामा दाउदले आतंकवादीलाई बन्दोबस्तीका सामान उपलब्ध गराएको दाबी गरिएको छ । १ सय ७३ जनाको ज्यान जाने गरी भएको मुम्बई हमलामा संलग्न बन्दुकधारी हमलामा अमिर कसाबले दिएको बयानअनुसार दाउदको संगठनले लस्कर ए तोयबा समूहलाई हतियार र विस्फोटक पदार्थ उपलब्ध गराएको थियो ।
सन् १९९० को दशकमै दाउदले तालिवानको संरक्षणमा अफगानिस्तानको भ्रमण गरेका थिए । भारतको गुजरातमा लस्कर ए तोयबाले गर्ने आक्रमणमा पनि उनले आर्थिक सहयोग गरेको भारतीय सुरक्षा अधिकारीको दाबी छ । दाउदको सम्बन्ध पाकिस्तानका क्रिकेट खेलाडीसँग समेत रहेको दाबी गरिएको छ ।
पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान जाबेद मियादाद त दाउदका सम्धी नै हुन् । यिनै दाउद इब्राहिमको निकट मानिने व्यक्तिमाथि अन्डरवल्र्डका कुख्यात डन छोटा राजन समूहले आक्रमण गर्दै आएको छ । ०५५ असारमा बेलुका साढे ७ बजे मित्रपार्कमा रहेको घर जाने क्रममा सांसद मिर्जा दिल सादबेगको हत्या पनि छोटा राजन समूहले नै गरेको थियो । किनभने मिर्जामाथि पनि पाकिस्तानसँग निकट सम्बन्ध रहेको र दाउद इब्राहिमसँग नजिकको सम्बन्ध कायम गरेको आरोप लाग्दै आएको थियो । पहिले छोटा राजन र दाउद इब्राहिमसँग उत्तिकै नजिकको सम्बन्ध राखेको भनिने मिर्जा दिलसादबेगले पछि छोटा राजन समूहलाई धोका दिएपछि उनको हत्या भएको हो ।
दुई वर्षअगाडि नेपालगन्जमा मारिएका मजित मनिहारले पनि दाउदसँग मिलेर नक्कली नोटको कारोबार गरेको आरोप लागेको थियो । मजिदको सम्बन्ध पाकिस्तानसँग रहेको र दाउदको मिलोमतोमा पाकिस्तानलाई केन्द्र बनाएर नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लागिरहेकै बेला मजितको हत्या पनि छोटा राजन समूहबाटै भएको आशंका गरिएको थियो ।
सञ्चारउद्यमी जमिम शाहको हत्यालाई पनि यसै शृङ्खलासँग जोडेर हेरिएको छ । शाहमाथि पनि पाकिस्तानसँग निकटको सम्बन्ध राखेको आरोप लाग्दै आएको थियो । अझ भारतीयले त उनको सम्बन्ध पनि दाउद इब्राहिमसँग भएको आरोप लगाउँदै आएका थिए । यही अवस्थामा छोटा राजन समूहले भारतविरोधी भन्दै जमिमको हत्या गरेको हो ।
अर्कातर्फ उनको हत्यालगत्तै अर्को गिरोह युनुस अन्सारीको हत्याको योजनासाथ नेपाल छिरेको उतिबेलै बताइएको थियो । नभन्दै भारतविरोधी र पाकिस्तान समर्थक भनिने युनुसमाथि पनि जेलभित्रै गोली प्रहार भयो । धन्न युनुस बाँचे । नक्कली नोटको कारोबारका कारण पक्राउ परेका अन्सारीको सम्बन्ध पनि दाउदसँग भएको आरोप लाग्ने गरेकाले उनी छोटा राजन समूहका निशानमा परेको खुलासा भएको हो । (vishwanews)