प्रतिष्ठानको टेण्डरमा अनियमितता

वीपी प्रतिष्ठानमा भएको अनियमितताको आरोप, अनि प्रतिष्ठान निर्देशक स्वयं वीपी दासले स्वीकार गरेको भिडियो । एक्स्क्लुसिभ पुर्वन्युज डट कम मा । यहाँ क्लिक गर्नुहोस् ।


कर्मचारी आन्दोलन र कमजोर व्यवस्थापनका कारण धराशायी बन्दै गएको सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेण्डर प्रक्रियामा व्यापक अनियमितता हुने गरेको खुलासा भएको छ ।
प्रतिष्ठानको टेण्डर सिमित व्यापारीको हातमा जाने र त्यसबाट प्रतिष्ठानका केही पदाधिकारीहरुले मोटो रकम कमिसन पाउने गरेको खुलासा भएको हो । प्रत्यक्ष फर्म भर्ने टेण्डरबाट झमेला हुने भन्दै विगत केही वर्षदेखि इ टेण्डर थालेको प्रतिष्ठानका केही पदाधिकारीहरुको मिलेमतोमा कमिसनको खेल हुने गरेको छ । प्रतिष्ठानका प्रमुख वीपी दासले समेत सो कुरा स्वीकार गरेका छन् ।
प्रतिष्ठानका केही पदाधिकारीको कमिसनको चक्करका कारण टेण्डर प्रक्रिया अड्किएको छ । कमिसनमा कुरो नमिलेपछि प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदा प्रतिष्ठान मासिक लाखौं रुपैया घाटामा समेत छ । औषधीको टेण्डर कसलाई दिने भन्ने टुंगो नलाग्दा प्रतिष्ठान मासिक सात लाख रुपैया घाटामा रहेको समेत प्रतिष्ठान स्रोतले जनाएको छ । राम्रो कमिसन दिने कम्पनीलाई टेण्डर पार्नको लागि प्रतिष्ठानका केही पदाधिकारीहरुले ढिलाइ गरेको बताइएको छ ।
प्रतिष्ठान भित्र बिक्रि गरिने औषधी आपुर्ती, सेक्युरिटी गार्ड, सफाइ मजदुरको बोलपत्र स्वीकृतीमा प्रतिष्ठानका उच्च तहका कर्मचारीहरुले कमिशन वापत मोटो रकम लिने गरेको प्रतिष्ठान स्रोतले बताएको छ ।
९८ जना सेक्युरिटी गार्डका लागि बैशाख १४ गते प्रतिष्ठानले ई प्रविधिबाट टेण्डर आह्रवान गरेको थियो । सो टेण्डरमा आधादर्जन बढी सेक्युरिटी कम्पनीबाट भिन्ना भिन्ने रेटमा बोलपत्र परेको थियो । सबै भन्दा कम रेटमा सुप्रिम गोरखा सेक्युरिटी गार्ड सर्भिसले बोलपत्र हालेको थियो ।
सो कम्पनीले एक बर्षमा ९८ जना गार्डका लागि १ करोड २ लाख रुपियाँको बोलपत्र हालेको थियो । त्यसपछि दोस्रोमा जीफोर नामक सेक्युरिटी गार्ड कम्पनीले १ करोड ३० लाखमा हालेको थियो । प्रतिष्ठान प्रशासनका अनुसार तेस्रो स्थानमा इफेक्टीभ सेक्युरिटीले १ करोड ५० लाख र डिभाइनले १ करोड ५२ लाख, कालिन्चोकले १ करोड ७० लाखको बोलपत्र पेश गरेका थिए । नियमले जुन कम्पनीले कम रेटमा बोलपत्र पेश गर्दछ, त्यसैले स्वत सो ठेक्का पाउने हुन्छ । तर टेण्डर परेको दुई साता भन्दा बढी समय बितिसक्दासम्म प्रतिष्ठानले निर्णय नगरेको सम्बन्धित सेक्युरिटी कम्पनीहरुले जनाएका छन् ।
निर्णयको माग गर्दै दैनिक सेक्युरिटी कम्पनीका संचालकहरुले आ आफ्नै तरिकाले प्रतिष्ठानमा लविङ गरिरहेकाछन् । प्रतिष्ठानका उपकूलपति पूर्णचन्द्र कर्मचार्य र निर्देशक वीपी दासको हातमा निर्णय भएकाले दुवैलाई भेट्न र दवाव दिन सेक्युरिटी कम्पनीका संचालकहरु प्रतिष्ठानमा गई धर्नासम्म दिन थालेका छन् ।
ई टेण्डर मार्फत ठेक्का परेको भन्दा कम रेटमा हाल्ने सुप्रिम गोरखाले एक पैसा कमिशन नदिने बताएपछि कर्मचार्य र दासले विभिन्न बहना निकालेर ढिला गरिरहेको प्रतिष्ठान प्रशासनले स्रोतले जनाएको छ । जीफोरले आफुलाई पारे राम्रै रकम कमिशन वापत दिने वचन दिएकोले ढिलाई गरेको स्रोतको दावी छ ।
त्यसैगरि प्रतिष्ठानले अस्पताल, प्रसुति गृह, आकष्मिक कक्ष लगायत गरी ४ स्थानमा औषधी आपुर्तिका लागि स्थापना गरेको फार्मेसी सञ्चालनका लागि आह्वान गरेको वोलपत्रमा पनि उच्च पदस्थ कर्मचारीहरुकै संलग्नतामा गलत कार्य भई रहेको स्रोतले वताएको छ ।
BP Das
आर्थिक अनियमितता भएको विषयमा प्रतिष्ठानका अस्पताल निर्देशक प्रोफेसर डा. वीपी दासले फार्मेसीको वोलपत्रमा अनियमितता भएको कुरा आफुले पनि सुनेको बताए । सेक्युरिटी गार्डका बिषयमा त्यस्तो नभएको दावी गरे ।
प्रतिष्ठानभित्र उपचारमा आउने बिरामीको हित र सुविधालाई ध्यानमा राखेर ४ स्थानमा फार्मेसी आपुर्तिका पसलहरु सञ्चालनमा रहेका छन् । फार्मेसी सञ्चालनको अनुमति प्राप्त गर्नका लागि यो वर्ष २२ वटाभन्दा वढी संस्थाले वोलपत्र प्रस्तुत गरेका थिए ।
यो वर्ष परेका वोलपत्रमध्ये १६ वटा विधिसम्मत रहेको प्रतिष्ठानका सूचना अधिकृत विजय रिमालले बताए । उनले यसको स्वीकृति प्रदान गर्ने जिम्मेवार पदाधिकारीबाट नै वास्तवकिता खुल्ने वताए ।
यता अस्पताल निर्देशक डा. दासले समेत फार्मेसी सञ्चालनको स्वकृतिका लागि परेका वोलपत्रको अनुमति दिँदा विधिसम्मत कार्य नभएको गुनासो गरे । उनले सेक्युरेटी गार्डको काम गराइबाट आफू असन्तुष्ट रहेको जनाउँदै आर्थिक चलखेलका आधारमा टेण्डर दिन नहुने कुरामा आफ्नो समेत पहल भएको जनाए ।
फाईल स्वीकृति गर्ने अधिकार प्राप्त प्रतिष्ठानका रजिष्टार नन्दकुमार थापाले भने यो विषयमा आफुलाई केही जानकारी नभएको र ठेक्का स्वीकृतिका लागि कार्य समितिमा फायल प्रस्तुत भईसकेको मात्र जानकारी दिए । यता फार्मेसी सञ्चालनमा परेका वोलपत्र कति कति र क–कसको परेको थियो भन्ने विवरण भने खरिद शाखाका नारायण चापागाईले दिएनन । चापागाईले फाईल स्वीकृतिका लागि कार्य समितिमा गएकाले आफुलाई सवैको नाम याद नभएको वताए ।
त्यसैगरी सफाई मजदुर परिचालनका लागि लाग्दै आएको ठेक्कामा झनै आर्थिक अनियमितता हुने गरेको प्रतिष्ठानकै जिम्मेवार कर्मचारीले खुलासा गरेका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा. दासले समेत सफाइ मजदुरहरुको टेण्डर प्रक्रियामा व्यापक अनियमितता भएको जनाए । उनले प्रतिष्ठानमा ७४ जना सफाई मजदुर भएको भनिएपनि कार्यक्षेत्रमा ४० जना पनि भेट्न नसकिने स्थिति रहेको जानकारी दिए ।
अस्पताल निर्देशक डा. दासले भने, ‘जो कोहीले आएर गन्दा पनि हुन्छ ।’ उनले भने, ‘सफाई मजदुरको सङ्ख्या जति भनेर वोलपत्र हालिएको छ, त्यो वास्तविकताासँग मेल खाँदैन ।’ उनले अनियमितता भएको जनाएपनि कसबाट भएको हो भन्ने विषयमा केही खुलाउन चाहेनन् ।
अर्कोतिर सर्वब्यापी मान्यता अनुसार हरेक ठेक्कामा ३ जनाभन्दा वढी प्रतिस्पर्धी हुनु अनिवार्य भएपनि सफाई मजदुर परिचालनका लागि लागेको ठेक्कामा दुई जना ठेकेदारले मात्र वोलपत्र प्रस्तुत गरेको स्रोतको भनाई छ ।
प्रतिष्ठानकै उच्च तहका कर्मचारीहरुका अनुसार सफाई मजदुर परिचालनका लागि यो पटक परेको वोलपत्रमा अपुश्री इन्टरनेशनल र ग्रुप फोरको मात्र वोलपत्र परेको छ । वोलपत्रमा सफाई मजदुर परिचालनका लागि अपुश्रीले वार्षिक १ करोड ३३ लाख रुपियाँमा आफुले काम गर्ने सक्ने मुल्य राखेर वोलपत्र दाखिला गरेको छ । अर्का प्रतिस्पर्धी ग्रुप फोरले भने ६५ लाखमा नै आफु त्यो काम गर्न राजी हुने भनि वोलपत्र दाखिला गरेका थिए ।
दुवैको वोलपत्र हेर्दा ग्रुप फोरले अपुश्रीकोभन्दा ६९ लाख रुपियाँ कममा काम गर्ने इच्छा देखाएको भएपनि सफाई मजदुर परिचालन ठेक्का कसलाई दिने भन्ने विषयमा विवाद भईरहेको प्रतिष्ठान स्रोतले बताएको छ ।
प्रतिष्ठानको ताला चाबी बोकेर बसेका केही पदाधिकारीहरुको कमिसनको खेलका कारण प्रतिष्ठान आफै धराशायी हुने अवस्थामा पुगेको प्रतिष्ठान स्रोतको भनाई छ । ‘प्रतिष्ठानमा हुने अनियमितता रोक्न सकिएन भने प्रतिष्ठान चाँडै धराशायी हुनेछ ।’ (Purwanews)
इटहरी

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :