मिस पूर्वाञ्चलको तयारी
Posted by
purwanews
Published on
Monday, May 30, 2011
लुकेर रहेको प्रतिभा तथा सौन्दर्यता, बौद्धिकता र क्षमतालाई बाहिर ल्याउन उद्येश्यका साथ अगामी जेष्ठ तेस्रो साताबाट सुरु हुन लागेका ‘दोस्रो मिस पूर्वाञ्चलको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वाञ्चलका १६ देखि २३ वर्षसम्मका युवतीहरु प्रतिष्पर्धा गराइने प्रतियोगिताको अडिसन अगामी जेष्ठ १८ गतेबाट धरानमा सुरु भई अगामी असार १८ गते फाइनल हुने भएको हो ।
पूर्वाञ्चलमा स्थाई बसोवास भएका न्युनतम एसएलसी उत्तिर्ण युवतीहरुले भाग लिन पाउने दोस्रो मिस पूर्वाञ्चलको फारम धमाधम बिक्री भइरहेको आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष विरेन्द्र लिम्बूले बताए ।
अडिसन मार्फत् छनौट गरिएपछि प्रतियोगीहरुलाई, ¥याम्प मोडलिङ, व्यक्तित्व विकास, ग्रुमिङ, फेशन, पर्यटन, ट्राफिक सचेतना, सामाजिक सचेतना, संस्कृति, इतिहास, व्यूटी टिप्स लगायतका विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट १५ प्रशिक्षण तथा अध्ययन गराइने व्यवस्था मिलाइएको अध्यक्ष लिम्बूले बताए ।
फाइनल प्रतिस्पर्धाबाट निष्पक्ष रुपमा निर्णायक मण्डलीहरुको निर्णयानुसार तथा प्रतियोगीहरुको आफ्नो प्रतिभा र क्षमता अनुरुप तय एसएमएस भोटिङको आधारमा टप टेन प्रतियोगी लगायत प्रथम हुनेलाई ‘मिस पूर्वाञ्चल’ घोषणा गरिनुका साथै ताज सहित स्कुटी मोटरसाइकल प्रदान गरिने तथा दोस्रो हुनेलाई ताज सहित ल्यापटप र तेस्रो हुनेलाई ताज सहित कम्प्यूटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा मिस क्याटवक, मिस टयालेण्ट, मिस फ्रेण्डसिप, मिस वेष्ट फिगर, मिस कल्चर, मिस टुरिजम, मिस डिसिप्लन, मिस भ्यूअर्स च्वाइस, मिस व्यूटीफुल हेयर, मिस वेष्ट स्माइल, मिस फोटोजेनिक लगायतका विभिन्न विधाको विजेताहरु समेत घोषणा गरी पुरस्कारहरु प्रदान गरिने संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतियोगीतालाई पूर्वाञ्चलव्यापी बनाउन धरान बाहिर इटहरी, विराटनगर, विर्तामोड, उर्लाबारी लगायतका स्थानहरुमा मिस पूर्वाञ्चलको फाइनल प्रतिष्पर्धा अघि गरिने विभिन्न कार्यक्रमहरुमा समेत सहभागी गराइने छ ।
मिस पूर्वाञ्चलको प्रतिस्पर्धामा उत्कृष्ट योग्यता पुगेका तीन युवतीहरुलाई मिस नेपालको फाइनल प्रतिस्पर्धामा समेत भाग लिन पाउने संयोजक श्रेष्ठले वताए । गत वर्ष मिस पूर्वाञ्चलमा दोस्रो हुने धरानकी प्रिया लामाले सो अवसर पाएकी थिइन । उनले मिस नेपालको फाइनल प्रतिस्पर्धामा मिस वेष्ट कम्पिलिक्समेन्टको एवार्ड हात पारेकी थिइन ।
सन्तोष काफ्ले /धरान
प्रतिक्रिया दिनुहोस् >>