‘राम्रो’ डाँडाबजार
Posted by
purwanews
Published on
Saturday, April 16, 2011
स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै आधा घण्टाको ठाडो उकालो उक्लेपछि गुराँसैगुराँसको बीचमा सूर्य उदाएको हेर्न लालायित ३० जनाको उत्साह थामिनसक्नुको थियो । १० वर्षे बालकदेखि कपाल र दाह्री सेतै फुलेका डाक्टर टङ्क न्यौपानेसमेत उत्साहित थिए । पारी क्षितिजबाट चियाउन लागेको सूर्यतिर एकोहोरिएर न्यौपानेले भने ‘लु राम्रो ।’
समुद्री सतहभन्दा एक हजार सात सय मिटरको उँचाइमा रहेको ध्वजे डाँडाबाट सूर्योदयको किरणमा पूर्वका १६ जिल्ला नियाल्ने सपना बोकेर झिसमिसेमै उकालो लागेको झुण्डको लामो प्रतीक्षापछि सूर्य देखियो । पारी क्षितिजमा अन्तुलाई छुँदै निस्क्यो सूर्यलाई सबैले एकैपटक अङ्गाले अनि क्यामेराभित्र कैद गरे ।
...

पानी परेर हिलाम्मे भएको बाटोभरि गुराँसका पातहरु । राताम्मे पहाड अनि राताम्मे बाटो । रातै थियो डाँडाबजार अनि रातै ध्वजे डाँडा । कसैले गुराँससँग अँगालो मारे त कसैले गुराँसलाई कोटमा सिउरे ।
कुनै यौवनाले कपालमा फूल सिउरिएझै डाक्टर न्यौपानेले कोटमा सिउरिएको गुराँस हेर्दै धेरैले भने ‘राम्रो ।’ न्यौपाने मख्ख परे । दुई दिनको यात्रा अवधिभर नै उनको फुर्ती हेर्नलायकको थियो । जतिखेरै ‘राम्रो’ भन्ने उनको राम्रोलाई रामै्रसँग धेरैले राम्रो भनेर रमाइलो समेत गरे । ‘राम्रै राम्रो’ वातावरणमा ‘राम्रै राम्रो’ उद्देश्य बोकेका कलाकार तथा साहित्यकारहरुले ‘राम्रैराम्रो’ देखे । चित्रकारहरुले चित्रमा कोरे, ‘सुन्दर डाँडाबजार’ अनि कविहरुले कवितामा लेखे, ‘कुमारी डाँडाबजार’ ।
...

डाँडाबजारवासीको न्यानो स्वागतमा मख्ख कलाकार तथा साहित्यकारहरु थकाइ बिर्सेर मध्यरातसम्म कला र साहित्यको छलफलमा सामेल भए । गुराँसले धपक्कै बलेको थियो डाँडाबजार । अझ सुनसरी, मोरङ, काठमाडौं, झापा तथा भुटानबाट पुगेका चार दर्जन जति गुराँसहरु थपिएपछि झन् के चाहियो ? मध्यरातमा पनि डाँडाबजारको भानु माविको एउटा कोठा चल्मलाइरह्यो । तराईको उखरमाउलो गर्मीबीचबाट आएकाहरुले त भने, ‘यस्तो पो मौसम ।’ कलाकारहरुको स्वागतका लागि दिउँसो आयोजित साँस्कृतिक कार्यक्रममा हुर्रा नाचेका डाक्टर न्यौपाने, कवि हेमन यात्रीलगायत रातको ११ बजेसम्म तरोताजा देखिन्थे । अनि सँगै मख्ख थिए डाँडाबजारवासीहरु ।
...
पत्रकारको हेराइमा चार हजार व्यक्तिको सानो बस्ती हो डाँडाबजार । साहित्यकार एकु घिमिरेको शब्दमा भौगोलिक रुपमा कुमारी हो डाँडाबजार । कवि मनु मञ्जिलको कवितामा कसैलाई पर्खिरहेको गाउँ हो डाँडाबजार । प्रकाश आङदेम्बेको अनुभवमा गुराँसमा उभिएर सूर्यलाई समाउन पाइने ठाउँ हो भने कवि रासको अभिव्यक्तिमा डाँडैडाँडाको बजार हो डाँडाबजार । खानेपानी, बाटोका समस्या छन् । पर्यटन वर्षको नाममा करोडौं खर्च गर्ने सरकारको एक रुपैयाँ पनि डाँडाबजारले पाएको छैन । प्रशस्त सम्भावना हुँदाहुँदै पनि ध्वजेडाँडा, अजङ्गको बरको प्रचार र विकासमा सम्बन्धित निकायले ध्यान नदिए तापनि आफ्नो गाउँको सम्पदा चिन्ने अनि चिनाउनसक्ने क्षमता भएका मानिसहरु बस्ने गाउँ हो डाँडाबजार । त्यसैले त उनीहरु ध्वजेडाँडामा विश्वभरका राष्ट्रको झण्डा गाड्न चाहन्छन् । विश्वभरका झण्डा भएको डाँडाको रुपमा ध्वजेडाँडालाई चिनाउन चाहन्छन् । तर स्थानीय प्रशासनले भने असुरक्षाको कारण जनाउँदै झण्डा गाड्न नदिएको उनीहरुको गुनासो छ ।
...
कार्यक्रमको नाम थियो, विम्ब र रङ्गहरुको यात्रा ः गन्तव्य ध्वजेडाँडा । आयोजक थिए, कलरब, कलालय र साहित्य सञ्चार प्रतिष्ठान । साहित्यकारहरुले डाँडाबजारलाई कवितामार्फत् राम्रै व्यक्त गरे भने लामो घुमाइपछि पनि थकाइको वास्ता नराखी कलाकारहरुले डाँडाबजार, ध्वजेडाँडा अनि एसियाकै ठूलो मानिएको लाप्चेटारको वरको रुखलाई क्यानभासमा उतारे । १३ रोपनी क्षेत्रफलमा फैलिएको २२ मिटर गोलाइको अजङ्गको वरको रुख क्यानभासमा उत्रिएको देखेर लाप्चाटारवासीहरु आफ्नो गाउँ देखेर डाँडाबजारवासीसमेत दङ्ग परे ।
दुईदिने बसाइपछि कलाकारहरु डाँडाबजारबाट फर्के । फर्क्रदै गर्दा कवि मनु मञ्जिलले डाँडाबजारवासीअघि उभिएर भने, ‘अब डाँडाबजार यौटा लामो यात्रामा निस्कनेछ ।’
हिमाल दाहाल
प्रतिक्रिया दिनुहोस् >>