'गोजी गह्रौँ हुनेहरू रातारात हिट'
Posted by
purwanews
Published on
Wednesday, March 9, 2011

संगीतकार छवि बनाएको डेढ दशक भइसक्दा पनि बजारमा त्यति धेरै सुनिनुहुन्न नि ?मेरो स्वभावका कारण त्यस्तो भएको हो । म कुनै पनि मान्छेसँग हत्तपत्त खुल्न सक्दिनँ ।
आत्मविश्वासको कमीले ?
मेरो संगीतका 'आधा उमेर...,' 'खोटाङ हलेसी...' जस्ता गीत एक समय सर्वाधिक चर्चित थिए । मेरा सिर्जनाले श्रोताहरूको मन छोइरहेको प्रमाण हो यो । कुनै पनि संगीतकर्मीको आत्मविश्वास बढाउन योभन्दा गतिलो आधार कुरो अरू के हुन्छ ? २०४६ सालको आन्दोलनयता नेपाली संगीतमा फैलिएको विकृति के हो भने संगीत ज्ञान कम हुने तर गोजी गह्रौं भएकाहरू रातारात हिट भनिइन थाले । संगीतमा सात वटा सुर हुन्छन्, सारेगमपधनि । तर नेपालमा ध र नि (धनी) को मात्रै प्रयोग भइरहेको छ । रेडियोले आफूनिकट मान्छेका गीत बजाएको बजायै हिट बनाइदिने गरेका छन् । कान पाक्ने गरी एउटै गीत बजाइदिएपछि श्रोतामा त्यसको छाप बसिहाल्छ नि । 'भत्काइदिन्छु बाख्राको खोर पनि...,' 'ए बाउ किन्देऊ न भटभटे...' जस्ता गीत धेरै चोटि बजाएर पब्लिकलाई के म्यासेज दिन खोजिएको हो ?संगीतको काम मनोरञ्जन पनि होइन र ?
यति सस्तो मनोरञ्जनका लागि गीत गाइरहनुपर्दैन । संगीतमा मनोरञ्जनकै बाहुल्य भएपछि बच्चु कैलाश, अम्बर गुरुङ, नारायणगोपाल, भक्तराज आचार्यका गीत कसरी सुन्ने ? रेडियो र टीभीले यस्ता प्रतिभालाई प्राथमिकता दिए नेपाली संगीतको स्तर पनि उक्सिन्थ्यो ।
समयअनुसार श्रोताहरूको रुचि बदलिन सक्छ नि ?
नेपालमा अचेल आरजे र भीजेलाई जे मन परेको हुन्छ, श्रोताले त्यही सुनिरहेका छन् । बिस्तारै श्रोताहरू त्यस्तै गीत सुन्न बानी पर्दै जान्छन् । त्यसको प्रभाव घुमीफिरी संगीतकर्मीमा पर्दै जान्छ । अचेल यति धेरै गीतहरू आइरहेका छन्, तर तीमध्ये एउटा चाहिं 'आहा, क्या मीठो बनेछ' भन्ने खालको पाइन्छ त ? सस्तो लोकपि्रयताका लागि सर्जकहरूले यस्तो गरिरहेका छन् ।
तपाईं जति बेला संगीतमा लाग्नुभयो, त्यति बेला यसलाई कमाइको हिसाबले राम्रो मानिँदैनथ्यो, तैपनि कुन कारणले प्रेरित हुनुभएको थियो ?
गाउँमा सांगीतिक माहौल थियो । गणेश रसिक, बुलु मुकारुङ जस्ता धेरै अग्रजहरू यही क्षेत्रमा हुनुहुन्थ्यो । उहाँहरू हाम्रो आदर्श हुनुहुन्थ्यो । साहित्य र संगीत भनेपछि म सानैदेखि हुरुक्क हुन्थें । साँच्चै भन्नुपर्दा, मलाई आफू संगीतकार हुन्छु भन्ने नै थिएन । २०४८/४९ तिर एसएलसी पास गरेपछि म उच्च शिक्षा लिन र बाँसुरीवादक बन्न काठमाडौं आएको थिएँ ।
अहिले बाँसुरी वादनलाई चटक्कै छोड्नुभएको हो ?
अग्रजहरूको ईखले मलाई बाँसुरी वादनबाट छुटाएको हो । २०५०/५१ तिर गीतकार शुभ मुकारुङले आफ्नो एल्बमका लागि एउटा गीत कम्पोज गर्न दिनुभएको थियो । त्यो रेकर्ड गर्न गायक शम्भु राईको स्टुडियोमा गयौं । त्यहाँ दुईतीन जना सिनियर दाइहरू पनि हुनुहुन्थ्यो । उहाँहरूले 'ओहो, नेपालमा पनि एआर रहमान जन्म्यो है' भन्दै मेरो खिल्ली उडाउनुभयो । अन्तर्मुखी स्वभावको मलाई त्यो व्यवहारले यति पिन्च गर्यो नि, त्यसपछि म कम्पोजिसनमै लागिरहें । पूर्णकालीन बाँसुरी वादन छोडिदिएँ । २०५३ मा रेडियो नेपालको कम्पिटिसनमा भाग लिएँ, उहाँहरू पनि प्रतियोगी हुनुहुन्थ्यो । संगीतकारमा म पुरस्कृत भएँ । त्यसपछि पनि रेडियो नेपालमा दुई चोटि पुरस्कृत भएँ । ती मान्छेहरूलाई हराउँदाजतिको आनन्द जीवनमा मलाई फेरि भएको छैन ।
नयाँ पुस्तामा कसलाई सुन्न पाउँदा बढी आनन्द अनुभव गर्नुहुन्छ ?
गायकहरूमा राजेशपायल राईको गायिकी राम्रो छ । तर उनले आफूलाई सम्पूर्ण रूपमा चिन्न सकेका छैनन् । उनको स्वरले बेलामा पर्याप्त साधना पाएको भए उनी भारतीय गायकको स्तरमा पुगिसक्थे । शिव परियारको स्वर धेरै साधनाले खारिएको छ । त्यही कारण उनलाई श्रोताहरूले अहिले ज्यादै मन पराइरहेका छन् । प्रमोद खरेलको स्वर पनि मीठो लाग्छ । गायिकाहरूमा अञ्जु पन्तको स्वर निकै माथिल्लो स्तरको छ । उनलाई ठयाक्कै सुहाउँदा गीतहरू हामीले अझै बनाउन सकेका छैनौं ।
(ekantipur)
प्रतिक्रिया दिनुहोस् >>