दशैमा कति चामल नाश हुन्छ ?

तपाई दशैमा कति टिका लगाउनुहुन्छ ?कति जनाकोमा टिका थाप्न जानुहुन्छ ?दिनमा कति ठाउँ भ्याउनुहुन्छ? के तपाईले दशैमा आफ्नो निधारमा टाँसिने टिकामा प्रयोग हुने अक्षताको बारेमा अनुमान लगाउनुभएको छ? टिका लगाएर आशिर्वाद थाप्न हामी लालायित हुन्छौं तर टिकाको रुपमा कति परिमाणमा चामल नष्ट हुन्छ त्यो भने हामी विचार गर्दैर्नौ ।
आयुद्रोणसुते… भन्दै हाम्रा ठूलाबडाले हाम्रो निधारै भरिने गरी अक्षताको टिका लगाइदिन्छन् । हामी पनि हामी भन्दा सानालाई त्यसैगरी निधारमा टिका थुपारिदिन्छौं । तर आशिर्वाद लिने र दिने सुरमा हाम्रो निधारमा टाँसिएर कति परिमाणमा अन्नको नाश हुन्छ त्यसको गणना गर्यौं भने हामी अचम्ममा पर्छौं । दशैमा मात्र अक्षताको रुपमा हामी चालिस हजार टन भन्दा बढी चामल नष्ट पारिरहेका हुन्छौं । सो को गणनाको प्रयास यसरी गरिएको छः-

नेपालमा दुई करोड पचास लाख जसंख्या मध्ये करिब असी प्रतिशत जनता हिन्दु धर्म मान्ने गर्छन। त्यो भनेको संख्याको हिसाबमा दुई करोड हुन आउँछ । यानी दुई करोड मानिसले दशै मान्छन । त्यसमध्ये जुठो परेर धर्म नमान्ने टिका लाउन नपाउने गरी करिब पचहत्तर लाख मानिस मानियो भने बाँकी एक करोड पच्चिस लाख नेपालीहरु दशैमा टिका लगाउँछन । दशैमा एकजना मानिसले दिनमा औसत तीन ठाउँमा टिका लगाउँछ । जसको लागि उसलाई १०० ग्राम चामल आवश्यक पर्छ भन्ने मानौं । वास्तविकता त्यो भन्दा बढी हुन सक्छ । किनकी आशिष भट्याउँदै निधारभरी टिका लगाउनु त धार्मिक फेशन जस्तै बनेकोछ । यसो गर्दा दशैमा उसले कम्तिमा तीन दिन टिका लगाउँदा तीनसय ग्राम चामल नाश हुन्छ । अतः जम्मा एक करोड पच्चिस लाख जनसंख्याको लागि तीन सय ग्रामको दरले गुणन गर्दा जम्मा तीन अरब पचहत्तर करोड ग्राम चामल टिकाको रुपमा प्रयोग हुन्छ । यो भनेको ३७ लाख पचास हजार किलो चामल हो । अर्थात ३७ हजार पाँचसय टन ।
यो त भयो व्यक्तिले निधारमा थाप्ने टिकाको कुरा त्यसमाथि उसले विभिन्न पुजा पाठ मन्दिर इत्यादिमा गरी ठूलो परिमाणमा चामल नाश गरिरहेको हुन्छ । विभिन्न पुजा पाठमा अक्षताको रुपमा हुने चामलको खर्च प्रति परिवार २५० ग्राम हुन्छ भन्ने अनुमान गर्दा एक लाख २५ हजार जनसंख्याको पाँच जनाको एक परिवारको दरले २५ लाख परिवार हुन आउँछ । जसले जम्मा ६२ करोड ५० ग्राम अर्थात६ लाख २५ हजार किलो अर्थात ६ हजार दुईसय पचास टन चामल पूजा पाठका क्रममा नष्ट हुन्छ ।
यसरी हेर्दा दशैंको बेलामा मात्र जम्मा ४३ हजार सात सय ५० टन चामल नष्ट हुन्छ । दशैमा मिठो नखाए पनि आशिर्वाद लिने ध्याउन्नमा सबै हुन्छन। यसो हुँदा पेट खाली राखेर भएपनि हामी ठूलो परिमाणमा चामल टिकाको रुपमा नाश गरिरहेका हुन्छौं । अन्न कसैको हुँदैन त्यो त धर्तीले आफ्ना सन्ततीको बाँच्ने आधारको रुपमा फलाएको हो । यसको दुरुपयोग गर्ने हक कसैमा छैन । आर्शीर्वाद भनेको शुभेच्छा हो । शुभेच्छा भनेको राम्रो होस भन्ने इच्छा । त्यो इच्छा राख्न टिका नै लाउनुपर्छ भन्ने छैन । सकारात्मक चिन्तन गर्दै आफन्तको हित चिताएर सहयोग गरेमा त्यो नै सुभेच्छा हुन्छ । र वास्तविक आशिर्वाद् पनि । नेपालका कैयौं ठाउँमा खाद्यान्न अभावको कारण नेपालीहरु भोकै बस्नुपरिरहेको परिस्थितीमा हामी भने अन्न सडाइरहेका छौं । एउटा दशैंमा टिकाको रुपमा नाश हुने अन्न जति कुनै गाउँका भोका जनताको लागि बाँडिने हो भने अढाइ लाख जनसंख्या भएको गाउँले महिना दिनसम्म मजाले खान पाउँथ्यो ।
त्यसमाथि निधारभरी टिका लाउने परम्परागत चलन अविलम्ब तोडिनुपर्छ । टिका लगाए पनि त्यसको परिणाम घटाएर दिनभरीमा निधारको एक चौथाइ हुने गरी मात्र टिका लगायौं भने पनि नष्ट हुने अन्नको ठूलो हिस्सा जोगिन्थ्यो । यदी यो चलन हामीले सुरु गर्यौं भने हाम्रा वृद्ध समुदायमा असन्तुष्टि पैदा होला । तर हामीले वहाँहरुलाई बुझाउन सक्नुपर्छ । संस्कृतिका कतिपय पक्षहरु खराब छन् भन्ने कुरा पुष्टि भइसकेको छ । त्यसैले सिमीत अन्नको नाश गर्ने यो परम्पराको अन्त्य हुनुपर्छ ।
उल्लेखित तथ्यांक कुनै औपचारिक प्रक्रियाबाट गरिएको तथ्यांक संकलन होइन, अनुमान मात्र हो । २०६५ सालमा गरिएको अनुमान हो । purwanews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :