प्रहरी चौकीको सय मिटर क्षेत्रभित्रै चोरी : प्रहरी निरिक्षक १८ घण्टासम्म बेखबर

प्रहरी नै नजराना उठाउन सक्रिय
अपराधि खुल्यो अपराधि खुलेनन्
व्यापारीहरुद्वारा आन्दोलनको चेतावनी
इटहरी, कात्र्तिक ८

पूर्वाञ्चलको व्यापारीक केन्द्रको रुपमा विकास हुन थालेको इटहरी चौकमा बितेको तीन महिनामा आपराधिक गतिविधिमा तीव्रता आएको छ । हत्यादेखि साना तिना चोरीका घटनाहरु बारम्बार दोहोरिन थालेका छन् ।
पछिल्लो समयमा त इटहरीको मुख्य चौकलाई केन्द्रित गरेर चोरी तथा लुटपाटका घटना बढेपछि व्यापारी तथा स्थानियवासीहरु त्रसित बनेका छन् । अझ अचम्मको कुरा त अपराधमा संलग्नहरुमध्ये आजसम्म एक जना पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले अपराधि पत्ता लागिसकेको जनाउँदै आएतापनि पक्राउ नपर्नुले प्रहरीहरु नै अपराधिहरुसँग साँठगाँठमा लागेको आशंका उब्जिन थालेको छ ।
इटहरीको मुख्य चौक नजिकै पार्र्किङ गरेर राखेको एक कारमा तोडफोड गरि सामान चोरी भएको चौबिस घण्टा नबित्दै इलाका प्रहरी कार्यालय अगाडी रहेका केही पसलहरुमा रातको समयमा चोरी भएको छ ।
प्रहरी कार्यालयको अगाडी एक सय मिटरको दुरी भित्रै रहेको पूर्वाञ्चल पोलिक्लिनिकबाट एउटा माइक्रोस्कोप सहित २८ हजार रुपैया बराबरको मेडिकल सामानहरु आइतबार राती चोरी भएको छ । सो संगै रहेको मितेरी होटलबाट कुकर, टेलिभिजन डिभिडी प्लेयर लगायतका २५ हजार रुपैया बराबरको सामान चोरी गरिएको छ ।
यसैगरी मितेरी होटल अगाडी ठेलामा राखिएको चुरा पसलबाट समेत २५ हजार रुपैया बराबरको चुरा लगायतका सामान चोरी भएको पीडितले बताएका छन् । ठूलो रकम चोरी भएपछि ठेलाका व्यापारी अनिल शाह मर्माहत भएका छन् । यता आइतबार राती नै ब्लाष्ट दैनिक रहेको भवनमा रहेको सियोन चर्चबाट समेत पाँच हजार रुपैया चोरी गरिएको छ ।
दशैं अगाडी इटहरीका केही घुमुवा प्रहरीहरुले अनुसन्धानका प्रहरीहरुसँग मिलेर इटहरीबाट लाखौं रुपैया उठाएको गुनासो व्यापारीहरुले गरेका थिए । इटहरीको धरान रोडस्थित एक ज्वेलर्सले इलाका प्रहरी कार्यालयका एक जना घुमुवा प्रहरीलाई बीस हजार रुपैया र दुई वटा खसी बुझाएको बताएका थिए । ती व्यापारीसँग घुमुवा प्रहरीको अभिनय गर्दै फोन गर्दा उनले सो कुरा खुलासा गरेका थिए ।
यता इटहरीको पुर्व लाइनमा रहेको रक्सीको डिलरबाट समेत बीस हजार रुपैया माग गरेको ती डिलर सञ्चालकले बताएका थिए । त्यहाँ पुगेका प्रहरीले पैसा नदिए नराम्रो हुने भन्दै व्यवशायको सुरक्षा गरिदिने बचन दिएको समेत खुलाए ।
आम व्यापारीवर्गलाई नै आतंकित पार्नेगरी चन्दा आतंक मच्चाएको प्रहरीले दशैं पछि समेत युवाहरुबाट पैसा असुल गरेको पीडितले गुनासो गरेका छन् । इटहरी ४ का विकास यादवले आफ्नो पुरानो केश बल्झाइदिने भन्दै धम्की दिएर सोमबार नै एक हजार रुपैया आफूबाट लगेको आरोप लगाए । उनकाअनुसार इलाका प्रहरी कार्यालय इटहरीका गिरीराज खड्काले तीन महिना अघि कुटपिटको घटनामा आफूबाट २५ हजार रुपैया लिएको र आइतबार पनि एक हजार रुपैया लगेको बताए । शनिबार राती इटहरी चौकमा रमाइलो मेलाको नाममा जुवा खेलाइने स्थानमा आफ्ना साथी वादविवादमा परि कुटिएको विषयमा प्रहरी कार्यालयमा पुगेका उनलाई समातेर तीन महिना अघिको केश फेरी ब्युताइदिने भन्दै रकम असुल गरेको उनले गुनासो गरे ।
प्रहरीको लापरवाहीका कारण इटहरीमा भएका विभिन्न घटनाका आरोपितहरु पक्राउ पर्न सकेका छैनन् । तीन महिना अघि इटहरी ४ स्थित आफ्नै घरमा हत्या गरिएकी पूर्णमाया राईको हत्याराको अझै पहिचान हुन सकेको छैन । सक्दो कोशिश गरेर पनि हत्यारा पत्ता लाग्न नसकेको उनले बताउँदै आएका छन् । पूर्वी क्षेत्रीय पृतनालय नजिकै रहेको उनको घरमा गत साउन ३ गते उनको सुनियोजित हत्या हुँदा समेत प्रहरीले सुराकसम्म नपाएको बताएको छ ।
राईको हत्या भएको केही दिन पछि नै मोरङ केरौन घर भएका ५४ बर्षिय भुपाल कार्किको अपहरणपछि हत्या गरियो । हाँसपोसास्थित पानिपियाबाट अपरहणमा परेका कार्किका बारेमा सर्बसाधारणले घटना भएको आधा घण्टा भित्रमा नै प्रहरीलाइ जानकारी गराएपनि प्रहरीले कडाइका साथ खोजि नगर्दा अपहरणकारीहरु कार्किको बिभत्स हत्या गरि फरार भए । हालसम्म उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको देखिँदैन ।
सोही सेरोफेरोमा रहेर इटहरी चौक नजिकै रहेको एक मोबाइल पसलमा लुटपाट भयो । सो कार्यमा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न नसकेको पसल सञ्चालक महेश न्यौपानेले बताए ।
यसैगरी दशैंकै मुखमा इलाका प्रहरी कार्यालयबाट झण्डै २ सय किलोमिटर पश्चिममा रहेको पेटो«ल पम्पमा सम्साँझै पेस्तोल पड्काएर लुटपाट भयो । तर घटनामा संलग्नलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन ।
घटना भएको पाँच मिनेट भित्र अपराधि पत्ता लगाउनका लागि प्रहरीले सञ्चालनमा ल्याएको सिआर भिको समेत प्रभावकारीता देखिएको छैन । एकपछि अर्को घटना हुनु, घटनालगत्तै प्रहरीलाई खबर गरेतापनि ढिलो गरी पुग्नु, घटनामा संलग्नहरुको पहिचान नहुनु र पहिचान भएकाहरु प्नि पक्राउ नपर्नुले प्रहरीकै संलग्नतामा इटहरीमा आपराधिक घटनामा वृद्धि भएको सर्वसाधारणको आशंकालाई बल पुगेको छ ।
यता दशैं तिहारमा शान्ती सुरक्षाकोृ लागि भन्दै सीआरभी गस्तीको लागि पेट्रोल सहयोग माग्ने प्रहरी आफूहरुको सुरक्षामा गम्भीर नभएको भन्दै व्यापारीहरुले आक्रोश व्यक्त गरेका छन् । उद्योग बाणिज्य सङघ इटहरीका अध्यक्ष रोहित प्रसाइले केहि दिनमा नै प्रहरी प्रसाशनमा डेलिगेशन जाने समेत बताए ।
यता इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षकले श्यामल सुब्बा भने आफ्नै कार्यालय अगाडी भएको घटनाको बारेमा बेखबर छन् । आइतबार राती भएको चोरीको घटनाको विषयमा उनलाई सोमबार दिउँसोसम्म पनि थाहा थिएन । ब्लाष्टले उनीसँग घटनाको बारेमा जानकारी लिन खोज्दा उनले उजुरी नै नपरेको घटनाको बारेमा पत्रपत्रिकाले लेखेको भन्दै आपत्ती जनाएका थिए । पछि उजुरी खातामा हेरेपछि मात्र आफूले थाहा पाएको प्रतिक्रिया दिए ।
आफ्नै कार्यालय छेउमा भएको घटनाको बारेमा जानकारी नराख्ने प्रहरी निरिक्षकसँग उनीभन्दा तल्ला तहका प्रहरीहरुसँगको सम्पर्क नै राम्रो नभएको पुष्टि यो घटनाले गर्छ । यसबाट प्रहरीभित्रको कमजोर सुचना प्रणाली उदाङ्गो भएको छ । साथै घटनाको बारेमा प्रहरी निरिक्षकलाई जानकारी नगराउने उनीभन्दा तल्ला तहका प्रहरीहरु समेत शंकाको घेरामा छन् । इटहरीका होटल तथा व्यवशायीहरुसँग फिरौती उठाउने काममा कार्यालयका सइ तथा असइहरु नै सक्रिय हुने गरेको बताइएको छ ।
अपराध र गुण्डागर्दी नियन्त्रणका लागि राज्यको तलब दिएर राखिएका प्रहरीहरु आफै आपराधिक गिरोहसँगको साँठगाँठमा लागेको देखिएको छ । जसका कारण इटहरीका आम व्यापारी र स्थानियवासीहरु प्रहरीहरुबाटै असुरक्षित र त्रसित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :