६० 'पोर्नो साइट' नेपालमा बन्द
Posted by
purwanews
Published on
Wednesday, October 27, 2010

कात्तिक ११ - इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अश्लील साइट
नियन्त्रणलाई लिएर बुधबार दिउँसो गृह मन्त्रालय, प्राधिकरण र आइएसपीहरूको बैठक बसेको थियो। 'अश्लील हुन् भनेर पाएको सूचना र सुझावका आधारमा पहिलो चरणमा ६० वटा साइट बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिने निर्णय भयो,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'अश्लील साइट ६० वटामात्र होइन, हजारौं छन्, सबैलाई विस्तारै बन्द गर्दै जानेछौं।'
इन्टरनेट सेवाप्रदायक संस्थाहरूको संगठन आइस्पानका अध्यक्ष विनय बोहोराले संयुक्त बैठकको निर्देशनअनुसार अश्लील भनिएका सबै साइट बन्द गर्न थालेको जानकारी दिए।
संस्थामा आबद्ध सेवाप्रदायकलाई साइट बन्द गर्न निर्देशन दिइसकेको र आबद्ध नरहेकालाई प्राधिकरणले आफैं निर्देशन दिने तयारी गरिरहेको उनले बताए।
नेपालमा ४५ इन्टरनेट सेवाप्रदायक कम्पनी छन्। नेपालमा जतिपनि इन्टरनेट सेवाका ग्राहक छन् ती सबै ४५ कम्पनीमध्यबाटै सेवा लिइरहेका छन्।
बन्द गर्न निर्देशन दिइएका साइटमा थ्रीएक्सनेपाली डट् ब्लगस्पट डट कम, पिंकवर्ल्ड डट कम, नेपालीजेपिटी डट ब्लगस्पट डटकम, एक्सएक्सएक्स डट कमलगायत छन्। तर, बुधबार बेलुकीसम्म केही कम्पनीको इन्टरनेटबाट ती साइट चालू थिए।
अश्लील साइटमा युवाहरूको लत बसेको र समाजमा बलात्कारका घटना बढाउन सहयोग गरेको भन्दै मन्त्रालयले झन्डै तीन महिनादेखि रोक लगाउन गृहकार्य थालेको थियो।
गृह प्रवक्ता जयमुकुन्द खनालले अश्लील साइट हेर्ने व्यक्तिले त्यहाँबाट सिकेर समाजमा अपराध बढेकाले बन्द गर्नुपरेको बताए। 'बन्द भए/नभएको अनुगमन प्राधिकरणले गर्नुपर्छ,' उनले भने। (nagarik)
प्रतिक्रिया दिनुहोस् >>