नेपाली कागजबाट जापानी ऐन

सरकारले नागरिकता समेत छाप्न छाडेको नेपाली कागजमा जापानी मुद्रा येन छापिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । जापानले आफ्नो मुद्रा (येन) नेपालमै उत्पादित अर्गेलीको समेत प्रयोग भएर बन्ने कागजमा छाप्ने गरेको छ ।
यस उदाहरणले नेपाली कागज भनेर चिनिने रेसाजन्य बनस्पतिको बोक्राबाट बनाइने कागज विदेशमा माग प्रष्ट्याउछ ।  जापानले अर्गेलीको बोक्रा लगेर उतै प्रशोधन गरी मुद्रा -येन) छाप्ने कागज बनाउने गरेको नेपाल हाते कागज संघका सदस्य बेनुदास श्रेष्ठले बताए ।
'नेपालको अर्गेली गुणस्तरीय भएकाले जापानीले नोट छाप्ने कागज बनाउन प्रयोग गर्ने गरेका हुन्,' उनले भने । उनी सिन्धुपाल्चोकमा जुगल नेपाली कागज उद्योग सञ्चालन गर्दै आएका छन् ।
स्वदेशमा भने नागरिकताको प्रमाणपत्रमा समेत प्रयोग गर्न छाडिएको छ । नेपाली कागज किराले नखाने र लामो समय टिक्ने भएकाले लामो समय अभिलेख राख्नुपर्ने लिखतका लागि धेरै समय अघिदेखि प्रयोग गरिँदै आएको हो । अदालती लेखापढी र केही सरकारी कार्यालयमा भने नेपाली कागज प्रयोग गर्ने चलन कायमै छ ।
जंगलमा पाइने लोक्ताबाट गुणस्तरीय कागज बन्ने गरेको संघका सचिव मोहनकृष्ण मानन्धरले बताए । लोक्ता वनस्पति उच्च पहाडी भेगमा पाइन्छ । जुगलका सञ्चालक श्रेष्ठका अनुसार लोक्ताको बोटबाट बोक्रा झिकेर घाममा सुकाइन्छ । सुकेको बोक्रालाई कास्टिक सोडा हालेर पकाइन्छ । त्यसलाई कुटेर बनेको लेदोलाई भ्याटमा सुकाएपछि कागज तयार हुन्छ । अर्गेली, बाबियो, केरा, बाँस, अल्लो लगायत वनस्पतिबाट समेत कागज उत्पादन गरिन्छ ।
नेपाली कागज उत्पादनमा लाग्ने कच्चा पदार्थ, जनशक्ति र आवश्यक सामग्री स्वदेशी हुने भएकाले यसको सम्पूर्ण आम्दानी नेपालमै रहने मानन्धरले बताए । 'रङ र आवश्यक जालीबाहेक नेपाली कागजको मूल्य अभिवृद्धिमा हुने ९८ प्रतिशत खर्च स्वदेशी हो,' उनले भने, 'यसलाई व्यावसायिक बनाउन सके राम्रो फाइदा लिन सक्छ ।'
व्यवसायीले नेपाली कागज लेखनका अतिरिक्त विविध सामग्री उत्पादनमा पनि प्रयोग गर्छन । सुपेरियर ह्यान्डमेड पेपर प्रोडक्टका सञ्चालक रमेशलाल श्रेष्ठका अनुसार उनले नेपाली कागजबाट नोटबुक, डायरी, फोटोफ्रेम, खाम, एल्बम, ल्याम्पसेड, फोल्डर बक्स लगायत सामग्री बनाएर विदेश पठाउँदै आएका छन् ।
नेपाली कागजका सामग्री अधिकांश विदेशीले प्रयोग गर्छन् । उनका अनुसार पछिल्लो समय होटल, रेस्टुरेन्टले नेपाली कागजबाट बनेका फोल्डर बक्स, ल्याम्पसेड प्रयोग गर्ने क्रम बढेको छ । मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, राजीनामा र्फम, अदालती लिखत, कार्यालयमा उठाइने टिप्पणी, हाजिरी रजिस्टर लगायतमा नेपाली कागजको प्रयोग गरिँदै आएको हाते काजगका गिफ्ट सामग्री उत्पादन गर्ने नेपा भोनका सञ्चालक समेत रहेका मानन्धरले बताए । गि्रटिङ कार्ड, भिजिटिङ कार्ड, विवाहको कार्ड, चिनाटिप्पन, तमसुकमा समेत यसको प्रयोग हुँदै आएको छ ।
नेपालमा उत्पादित कागज अमेरिका, क्यानाडा, जर्मनी, जापान तथा युरोपेली मुलुकमा जान्छ । संघको तथ्यांकमा नेपाली कागजजन्य सामग्री निर्यात अघिल्लो वर्षको तुलनामा गत वर्ष १४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा ३१ करोड १ लाख ४५ हजार रुपैयाँको कागजका सामग्री निर्यात भएको थियो ।
विदेशमा नेपाली कागजको माग रहे पनि कागज उत्पादक भने कामदार र कच्चा पदार्थको अभाव झेल्दै आएका छन् । यसले गर्दा लागत बढेकाले अरू कागजसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनीहरूको भनाइ छ । 'जंगलबाट जथाभावी काट्दा लोक्ता मासिँदै गएको छ,' बेनुदासले भने, 'गाउँबाट युवा बिदेसिने लहर चलेकाले कामदार पाउनै छाडेको छ ।'
सामान्यतः लोक्ता ५ वर्षपछि उत्पादन लिन योग्य हुन्छ । बोक्रा संकलकले त्यस अगावै काट्ने गरेका छन् । संरक्षणको प्रयास नभएकाले लोक्ता मासिँदै गएको उनले बताए । जंगलमा दुःख गरेर लोक्ताको बोक्रा काढ्नुपर्ने भएकाले जनशक्ति पाउनै छाडेको उनको भनाइ छ ।
जनशक्ति र कच्चा पदार्थ अभाव खेपेका उद्योग बन्द हुँदै गएका छन् । उनका अनुसार २०५०/५१ सालतिर सिन्धुपाल्चोकमा कागज उत्पादन गर्ने ३२ वटा उद्योग थिए । अहिले चालू हालतमा ६ वटा मात्र छन् ।
संघका अनुसार मुलुकभर १ सयको हाराहारीमा कागज उत्पादन उद्योग सञ्चालनमा छन् । वाग्मती, गेट, इको क्राफ्ट, लोटस, नेचुरल, जमर्को नेपाल ह्यान्डमेड पेपर, भक्तपुर क्राफ्ट, नेचुरल रिसोर्स आर्ट, निभा, पेपर एन्ड क्राफ्ट, पि्रन्सेस पेपर, साना हस्तकला लगायतले कागजबाट विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको संघले जनाएको छ ।
निर्यातमूलक १९ मुख्य उत्पादनमध्ये ५ औंमा पर्ने नेपाली कागज उद्योगलाई संरक्षण गर्न सरकारले सहयोग नगरेको सरोकारवालाको गुनासो छ ।
'कागज उत्पादन गर्ने लोक्ताको संरक्षणमा सरकारले चासो दिएन,' संघका सचिव मानन्धरले भने, 'यसले पूर्णतः नेपाली कच्चा पदार्थमा आधारित उद्योग बन्द हुने अवस्थामा पुग्दै छन् ।'
संघले लोक्ताको दिगो विकास गर्ने खालका कार्यक्रम वाषिर्क बजेटमै ल्याउन सरकारसँग माग गर्दै आएको छ । उनीहरूले सरकारी कामकाजमा नेपाली कागज प्रयोग गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरेका छन् । उत्पादकहरूको माग अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाली कागजमा नागरिकताको प्रमाणपत्र छाप्ने भनी गरेको निर्णय अहिलेसम्म कार्यान्वयन नभएकामा संघका सचिव मानन्धरले आक्रोश पोखे । 'सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै पहिलेदेखि नेपाली कागजमा छापिँदै आएको नागरिकतामा अरू कागज प्रयोग गर्न थालिएको छ,' 'उनले भने, सरकारले गरेको निर्णय समेत कार्यान्वयन भएको छैन ।'
नेपाली हाते कागजको ब्रान्डिङ लगायत लोक्ता संरक्षणमा युरोपेली युनियन र जर्मन सहयोग नियोगमा सुरु भएको परियोजना समेत अवरुद्ध भएको छ । विदेशमा कागजको बजार प्रवर्द्धन गर्न हाते कागजको ब्रान्डिङको काम सुरु गरिएको थियो । संघका सचिव मानन्धरका अनुसार जर्मन सहयोग नियोगले परियोजनाबाट हात झिकेकाले काम बीचमै रोकिएको हो । परियोजनाले हाते कागजको गुणस्तर सुधार गर्ने, कच्चा पदार्थको उत्पादन बढाउने, लोक्ता संरक्षण्ा गर्ने, काट्ने तरिकाबारे तालिम दिने, हाते कागज बनाउन सिकाउने काम गर्दै आएको थियो ।
ekantipur/ वैशाख १८


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :