गृहमन्त्रीलाई जनताले दिए कार्यालय भवन

सरकारसँग सधै जनताले विकास माग गर्दै आएका छन् । बाटोघाटो, पुल तथा शान्ती सुरक्षाको माग गर्दै कतिपय अवस्थामा त विरोधका कार्यक्रम समेत गर्ने गरेका छन् । तर सुनसरीको हरिनगराका वासिन्दाहरुले भने आफ्नो गाउँमा प्रहरी कार्यालय भवन बनाएर आइतबार एक कार्यक्रमका बिच गृहमन्त्री विजयकुमार गच्छदारलाई साँचो हस्तान्तरण गरे ।
‘वर्षौंदेखि भारतीय डाँकाहरुको लुटपाटको केन्द्र बनेका थियौं ।’ १८ लाखको कार्यालय भवनको साँचो गृहमन्त्रीलाई हस्तान्तरण गरेका भवन निर्माण समितिका अध्यक्ष सुदीलाल मेहताले भने, ‘आफ्नै देशमा पनि असुरक्षित भएपछि हामी आफैले आँट गरेर प्रहरी कार्यालय भवन बनायौं ।’
सुनसरी सिमावर्ती हरिनगरामा भारतीय डाँकाहरुको बिगबिगि हुन्थ्यो । खुला सिमाना भएका कारण भारतीय डाँकाहरु बेला बखत गाविसमा आउँथे र स्थानियका गाई, गोरु तथा अन्नहरु लुटेर लान्थे । शान्ती सुरक्षाको प्रत्याभुति नभएपछि धेरैले आफ्नो गाउँ समेत छाडे । शान्ती सुरक्षा दिन स्थापित प्रहरी चौकी २०५८ सालमा द्वन्दरत् माओवादीको निशाना बनेपछि सो ठाउँमा रहेको प्रहरी चौकी पनि उठ्यो । त्यसयता भारतीय डाँकाबाट सास्ती भोग्दै आएका स्थानियलाई मुद्धा मामिला पर्दा दुई घण्टा साइकल कुदाएर सदरमुकाम इनरुवा धाउनुपर्ने बाध्यता थियो ।
‘सरकारको मुख ताकेर बस्दा १० वर्ष बित्यो ।’ मेहताले भने, ‘आफ्नो गाउँ र आफ्नो सुरक्षाको लागि केही गरौं भन्ने भावनाले सबैले सक्दो चन्दा दिएर प्रहरी कार्यालय भवन बनायौं ।’ १८ लाखको लागतमा स्थानियले ११ लाख भन्दा बढी सहयोग दिएका छन् । बाँकी रकममध्ये तीन लाख रुपैया जिल्ला विकास समितिले दिएको छ भने हरिनगरा गाविसबाट साढे दुई लाख रुपैया छुट्याइएको थियो । वरीपरीका गाविसहरु मध्यहर्षाहि, गौतमपुर, वसन्तपुर लगायतले समेत सक्दो सहयोग गरेका छन् ।
स्थानियको सहभागितामा बनेको कार्यालय भवनबाट स्थानियहरु नै लाभान्वित हुने लोकतान्त्रिक फोरमका सुनसरी–मोरङ संयोजक प्रमोद यादवले बताए । सुनसरीको दक्षिणी क्षेत्रको केन्द्रका रुपमा रहेको सो स्थानमा प्रहरी कार्यालय बनेसँगै स्थानिय जनतालाई समेत उजुरी गर्न र कानुनी उपचार प्राप्त गर्न सहयोग पुगेको बताए ।
आफूहरुले कार्यालय भवन बनाएर दिएपछि कार्यालयको स्तरोन्नती गर्नुपर्ने स्थानियले माग गरेका छन् । हाल ख श्रेणीको रुपमा रहेको उक्त कार्यालयलाई क श्रेणीमा स्तरोन्नती गर्नुपर्ने माग स्थानियको छ । ‘प्रहरी कार्यालयको घेराबारा गर्दै यसलाई क श्रेणीमा स्तरोन्नती गर्नुपर्छ ।’ स्थानिय सीताराम चौधरीले भने । प्रहरी कार्यालयको स्तरोन्नतीपछि मुद्धामामिला तथा उजुरी गर्न दुई घण्टा भन्दा बढी समय लाग्ने सदरमुकाम इनरुवास्थित जिल्ला प्रहरी कार्यालय नै पुग्नुपर्ने स्थानियको बाध्यता समाप्त हुनेछ ।
स्थानियको सहभागितामा प्रहरी कार्यालय भवन बनेकोमा सुनसरीका प्रहरी प्रमुख समेत दंग छन् । ‘यो नमुना काम हो ।’ उनले भने, ‘स्थानियले यति जागरुक भएर प्रहरी, प्रशासनलाई सघाएको यसअघि देखेको थिइँन ।’ हरिनगरा प्रहरी चौकी पुनस्थापनाको लागि शान्ती मन्त्रालयबाट समेत बजेट छुट्टिइसकेको उनले बताए । शान्ती मन्त्रालयको प्राथमिकतामा परेको सो चौकी निर्माणको लागि बजेट छुट्टिनु अघि नै स्थानियको सहयोगले कार्यालय भवन बनेको उनले बताए । उनले हाल २४ जना प्रहरीहरु कार्यालयमा रहने जनाउँदै स्तरोन्नतीपछि ४७ जनासम्म प्रहरी रहने व्यवस्था रहेको बताए । स्थानियको जागरुकताका कारण हरिनगरालाई दक्षिणी सुनसरीको केन्द्रीय इलाकाका रुपमा सुरक्षा व्यवस्थापनमा प्रयोग गर्ने सम्भावना रहेको उनले बताए ।
सधै विकास र आश्वासन दिने गृहमन्त्रीलाई निर्माण समितिले हस्तान्तरण गरेको साँचो गृहमन्त्रीबाट एसएसपी रमेश फुँयलले पाएका थिए भने फुँयलले एसपी राजु मानन्धरलाई दिएका थिए । मानन्धरले कार्यालयका प्रमुख सइ नगेन्द्रकुमार भगत थारुलाई साँचो जिम्मा दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री गच्छदारले कार्यालय भवन उद्घाटनपछि निरिक्षण गर्दै स्थानियको प्रयासको सह्रना गरेका थिए । आफ्नो गाउँको विकासको लागि स्थानियले गरेको सहयोगलाई मनन् गर्दै जनताको साथी बनेर काम गर्न पनि गच्छदारले पुर्वका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए । उनले विभिन्न स्थानमा प्रहरी चौकीको माग भइरहेको सम्बन्धमा आवश्यक पहल गर्ने जनाउँदै इलाका प्रहरी कार्यालय हरिनगराको स्तरोन्नतीको लागि सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

15 kartik, purwanews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :