मोरंगमा झाडापखलाले एकको मृत्यु


चार दर्जन बिरामीका लागि एक स्वास्थ्यकर्मी
मोरङको पश्चिम सिमामा पर्ने दुलारी र सुन्दरपुर गाविसको वीचमा रहेको बाँसबारीमा दशैंको रौनक सुरु हुँदै थियो । सप्तमीको दिन सबै दशैंको तयारी गर्दै थिए । तर एक दर्जन बढी स्थानियहरुलाई एकसाथ पखलाले च्याप्यो । सुकुम्बासी उक्त वस्तीमा पखलालाई धेरैले त्यती महत्व र ध्यान दिएनन् ।
झाडापखला लागेका स्थानिय सोमराज राई निकै नै सिकिस्त बनेपछि उपचारको लागि स्वास्थ्य संस्था दौडाइयो । तर धेरै ढिलो भइसकेको थियो । बाटैमा उनको मृत्यु भयो भने उनकी श्रीमती कोपिला राई र उनीहरुका एक छोरा र एक छोरी समेत पखलाकै कारण थला परे । अस्पतालको उपचारपछि अहिले घरमै उनीहरुको उपचार भइरहेको छ ।
एकातिर अविभावक गुमाउनुको पिडा, त्यसमा पनि आफै बिरामी हुँदा राई परिवारलाई यसपटकको दशैं साच्चैको दशा बनेको छ । राई परिवार मात्र होइन, गाउँका डेढ दर्जन बढी परिवारका सदस्य झाडापखलाबाट थला परेका छन् । अविभावकहरु समेत झाडापखलाले सिकिस्त बनेपछि बालबालिका र वृद्धहरुको अवस्था झन् दयनिय बनेको हो ।
झाडापखलाले स्थानिय बाँतर बस्ती र सरदार वस्तीमा महामारीको रुप लिएको हो । बाँतर वस्तीको झाडापखाला नियन्त्रणमा आए पनि सुकुम्बासी बस्तीमा फैलिएको झाडापखाबाट बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार आउन सकेको छैन । दुइ स्थानमा गरेर चार दर्जन बढी झाडापखलाबाट बिरामी भएका छन् ।
पश्चिम नेपालका विकट जिल्लाहरुमा झाडापखलाले वर्षेनी ठूलै महामारीको रुप लिने गर्छ । तर पुर्वाञ्चलमा शहर छेउको गाउँका वासीन्दा नै बिरामी पर्ने गरी फैलिएको महामारीले उग्र रुप लियो यो पटक । तर न त कुनै स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्ने संस्थाहरुले चासो देखाए, न त जिल्ला जनस्वास्थ्य कार्यालयले नै ।
झाडापखलाबाट दर्जनौ थलिएर एक जनाको मृत्यु भइसकेपछि मात्र स्थानिय स्वास्थ्य चौकीले केही चासो देखायो । दुलारी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण अधिकारी जीवनजलसहित झाडापखला प्रभवित क्षेत्रमा खटिएका छन् । चार दर्जन बढी प्रभावित वस्तीको लागि एक जनामात्र स्वास्थ्य कर्मी खटाइएको छ, त्यो पनि जिवनजलको साथमा ।
अधिकारीका अनुसार दुई दिन लगाएर स्वास्थ्य जाँचका साथै औषधी वितरण र जनचेतनामुलक कार्यक्रम गरिएको छ । उनका अनुसार गाउँमा झाडापखाला नियन्त्रणको क्रममा छ तर पूर्ण रुपमा नियन्त्रणमा आउन स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् ।
विभिन्न गैह्रसरकारी संस्थाको सक्रियता र लाखौ खर्च हुने कार्यक्रमका बाबजुद शहर नजिककै वस्तीमा झाडापखला जस्तो सामान्य रोगले प्रकोपको रुप लिनुमा त्यस्ता संस्थाहरुको असक्षमता झल्कन्छ भने प्रकोप देखिएको एक हप्ता बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालयले थप जनशक्ति नखटाउनु र स्वास्थ्य सेवामा गम्भीरता नदेखाउनुले सरकारी संस्थाहरुको जिम्मेवारीतामा पनि प्रश्नचिन्ह खडा भएको छ । पूर्वन्युज, असोज २५


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :