नेपाली मेलामा भारतीयको मस्ती
वर्षायाम सकिएसँगै नेपालभर महोत्सवको बाढी लागेको छ । पुर्वका विभिन्न स्थानमा विभिन्न नाममा महोत्सवहरु लागेका छन् । तर यस्ता महोत्सवबाट नेपाललाई भन्दा पनि भारतलाई बढी फाइदा हुने गरेको र प्रशासनको मिलेमतोमा लाखौं रुपैया राजस्व छलिरहेको खुलासा भएको छ ।
मेलामा राखिने विभिन्न सर्कस, रोटेपिङ, डुंगा, मौतका कुवा लगायतका खेल सामाग्रीका सञ्चालकहरु सबै भारतीय हुन् । मेला तथा महोत्सवमा उनीहरुको आम्दानी करोडौं हुने भएपनि नेपालले भने राजस्वमा समेत ठगीनुपरेको लिम्बुवान मुक्ति मोर्चाका जिल्ला कोषाध्यक्ष नारायण महतोले बताउनुभयो ।
आफूले पटक पटक जिल्ला प्रशासन र गृहमन्त्रालयसम्मको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको वहाँको गुनासो छ । स्वदेशी बजारबाट विदेशी व्यवशायीले लाखौं कर छल्दै करोडौं लगिरहेपनि रोक्न जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व विभागले समेत पहल गरेको छैन । आफूहरु राजस्व छली र भ्रष्टाचारका विरुद्ध शशक्त रुपमा उत्रिएको बताउँदै वहाँले राजस्व र प्रशासनको मिलेमतोमा अनियमितता भएको पाइएको आरोप लगाउनुभयो ।
देशभर विभिन्न स्थानमा चल्ने यस्ता खेल सामाग्रीको आपूर्ती भारतीय दुई व्यापारीहरु अर्जुन चौधरी र मंगला चौधरीले गर्ने गरेका छन् । तराई देखि पहाडसम्मका महोत्सव तथा मेलामा प्रयोग हुने ठुला रोटेपिङ लगायतका ठूला खेल सामाग्री भारतीय व्यापारीकै हो । ‘उनीहरुसँग चार सेटसम्म खेल सामाग्री छन् ।’ महतोले भन्नुभयो, ‘तीन महिनाको लागि स्वीकृति लिएर वर्षौंसम्म पनि उनीहरुले नेपालमा खेल सामाग्रीको प्रयोग गरिरहेका छन् ।’ काठमाडौंको भृकुटीमण्डपमा यीनै व्यवशायीको रोटेपिङ वर्षौदेखि सञ्चालनमा रहेको र स्थानको भाडा बाहेक अन्य कर नतिरेको उहाँको दावी छ ।
भारतीय व्यवशायीहरुले कर छलेर नेपालमा व्यवशाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले १३ प्रतिशत भ्याट र २४ प्रतिशत आयकर कतै तिर्दैनन् । कर तिर्नुको साटो महोत्सव तथा मेलाका आयोजकलाई थोरै रकम बुझाएर ठाउँ भाडामा लिन्छन् । ‘प्रत्येक मेलाबाट ७० लाख देखि डेढ करोड रुपैयासम्म व्यवशाय सञ्चालकले उठाउने गर्छन् ।’ महतोले भने, ‘तर उनीहरुले राजस्व बुझाउनुको साटो १० देखि २० लाख रुपैया दिएर महोत्सव आयोजकसँग स्थान किन्ने गरेका छन् ।’ तर यसरी भाडा लिएर खेल सामाग्री राख्न दिनेहरुले पनि खेल सामाग्री वापतको कर बुझाउँदैनन् । यसरी भारतीय खेलले लाखौं रकम राजस्व छलेको छ भने करोडौं रकम विदेश लगेको छ ।
आफूले झापाको प्रमुख जिल्ला अधिकारीदेखि गृहमन्त्रीलाई समेत सप्रमाण निवेदन बुझाउँदा पनि कसैले चासो नदिँदा नेपालमा वर्षेनी झण्डै एक अरब रुपैया विना कर भारत निकासा भइरहेको वहाँको भनाई छ । कतिपय मेलामा त भारतीय बिल समेत प्रयोग भएको पाइनुले नेपालमा मनपरी व्यवशाय सञ्चालन गरेको पाइएको वहाँको भनाई छ ।
पुर्वका विभिन्न स्थानमा यस्ता खेल सामाग्री सहितको मेला सञ्चालन हुँदैछन् भने कतिपय ठाउँमा हुने तयारीमा छन् । सुनसरीको धरानमा लागु औषध विरुद्धको समुहले मेला सञ्चालन गरिरहेको छ । मंसिर महिनामा सुनसरीको इटहरीमा पुर्वाञ्चल महोत्सव र भोजपुरमा ट्याम्के महोत्सव हुने भएको छ भने अन्य ठाउँमा समेत महोत्सवको तयारी भइरहेका छन् ।
लाखौको राजस्व छल्दै करोडौ रुपैया भारत लाने खेललाई प्रोत्साहन दिने क्रम रोकिनु आवश्यक छ । यस्ता खेलको साटो देशलाई नै फाइदा हुनेगरी राष्ट्रीय खेललाई प्रोत्साहन दिन सके रकम नविदेशिने र राष्टिरय खेल र खेलाडीले समेत प्रोत्साहन पाउने स्वदेशी व्यवशायीहरुले बताएका छन् । purwanews, kartik 2
प्रतिक्रिया दिनुहोस् >>