काजकिरियाः १३ होइन ३ दिन

चितवनका मुक्तिनाथ दाहालको निधनमा छोरा पुष्पकमल दाहाल (प्रचण्ड) ले काजकिरिया नै गरेनन् । दागबत्ती दिएर उनी काठमाडौं फर्किर्ए भने भाइ गंगाराम पनि १३ दिनसम्म कोरामा बसेनन् । मुलुकको सबैभन्दा ठूलो दलका नेता भएका कारण 'प्रचण्ड'लाई सामाजिक बहिष्कार वा टिकाटिप्पणी गर्ने हिम्मत कसैमा भएन । बरु मिडियाले यसलाई चर्चित बनाइदियो । तर प्रचण्ड र दाहाल परिवारको यो पारिवारिक निर्णयलाई एउटा सामाजिक आन्दोलनका रूपमा अगाडि बढाउनु जरुरी छ ।
त्यसो त बाबुआमाको काजकिरिया नगर्ने प्रचण्ड पहिलो व्यक्ति होइनन् । बीपी कोइरालाले बाबुको किरिया गरेनन् । बीपीले आफ्नो पनि काजकिरिया नगर्नु भनेका थिए । कतिपयले प्रधानमन्त्रीको दौडमा लागेको आरोप लगाए पनि माधवकुमार नेपालले पनि आमाको किरिया गरेनन् । माओवादी सभासद नरेन्द्र कँुवर र लेखक खगेन्द्र संग्रौला पनि सेतो वस्त्र धारण गरेर बसेनन् । उनीहरूले नत पिण्ड दिने संस्कृति नै अवलम्बन गरे । खोज्दै जाने हो भने यस्ता सन्तानको सूची लामो हुनसक्छ ।

अरू धर्म-संस्कृतिभन्दा हिन्दु मान्यताअनुसार, किरिया बस्ने परम्परा अनौठो छ । बाबुआमाको निधन भएपछि छोरा-बुहारीले १३ दिन किरिया बस्नुपर्छ । पितृसत्ताको बोलवाला भएका कारण किरिया बस्ने क्रममा पनि आमा, छोरी र बुहारीलाई गरिने अतिरिक्त विभेदहरू उत्तिकै आपत्तिजनक छन् । तर छोरालाई पनि १३ दिन किरिया बस्न उत्तिकै कठिन छ । यो अवधिमा अवलम्बन गरिने विधिहरू यतिविघ्न पाखण्डी, अवैज्ञानिक र पीडादायी छन्, भनिसाध्य छैन । पृथ्वीमा गरेको दान परलोकमा पितृलाई प्राप्त हुने जस्ता अपत्यारिला कथाहरू सुनाइन्छ ।
सेतो कोराको लुगामा बस्नुपर्छ । खाली खुट्टाले हिँड्नुपर्ने र परालमाथि सुत्नुपर्छ भन्ने मान्यता छ । किरियापुत्रीका लागि पानी, खाद्यान्न अरूले छुनुहुन्न । खेतबारीमा पकाएर नुनबिनाको भात खानुपर्छ, तरकारी बेगर । आफूलाई एकदमै कष्ट दिएर १३ दिन बिताएपछि मात्रै बाबुआमा अथवा आफूले मान्ने मान्छे स्वर्ग जाने विश्वासमा यी कामहरू गरिन्छन् । हिजोआज सामाजिक डर मान्दै पनि कतिपयले १ वर्षसम्म र आफूलाई आधुनिक बताउने छोरा र श्रीमतीले ४५ दिनमा सेता लुगाको साटो सामान्य लुगा लगाउन थालेका छन् ।
आफ्ना बाबु, आमा वा मान्यजनप्रति श्रद्धा गर्ने कामकै सिलसिला हो, काजकिरिया पनि । त्यसैले उनीहरूको योगदान सम्भिmएर श्रद्धा व्यक्त गर्नु एकदमै जरुरी छ र त्यो आवश्यक पनि छ । तर एक्काइसौं शताब्दीमा आएर बाबुआमा स्वर्ग जाने नाममा हदैसम्मका अविश्सनीय र कष्टसाध्य काम गर्नु संस्कार होइन, यो त कुसंस्कार हो । किरिया बसेको तीन वा पाँच दिनपछि सुनाइने गरुड पुराण लगायतका कथाहरू यतिविघ्न हावादारी छन्, ती सुन्दै लाज लाग्ने खालका छन् । लैंगिक हिसाबमा त झनै ढोँगी छ, गरुड पुराण । आजको लोकतान्त्रिक समाजले यसलाई पूरै खारेज गर्नुपर्छ, यात यसको परिमार्जन गर्नुपर्छ ।
प्रचण्डले कोट, पाइन्ट, सर्ट र टाईमा सजिएर बाबुको लास उठाउने र दागबत्ती दिने काम गरे । यसमा आ-आफ्ना विचार हुनसक्छन् । बाबुप्रति श्रद्धाञ्जली दिन उपस्थित हुँदा उनको पोसाक र हाउभाउ त्योभन्दा भिन्न भए हुन्थ्यो भन्ने कतिलाई लाग्ला । मेरो विचारमा प्रचण्डले कुनै गल्ती गरेका छैनन् । किनकि सामाजिक परिवर्तनको अभियानमा कसै न कसैले कुसंस्कारका सीमाहरू मिच्नैपथ्र्यो ।
दुःख परेका बेला इष्टमित्र भेट्न आउनु स्वाभाविक मानिन्छ । हिजोआज १३ दिनसम्म कसैलाई नछोई किरिया बस्न सम्भव छैन । 'पहिले-पहिले कृषिमात्र मुख्य पेसाको रूपमा थियो । तर आजभोलि धेरै पेसा र व्यवसाय चलाएर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि काजकिरिया गर्ने १३ दिने अवधि छोट्याउनुपर्छ' भन्छन् संस्कृतिविद मोदनाथ प्रश्रति । प्रश्रतिका भनाइमा, १३ दिन अति नै लामो भयो भनेर कर्मकाण्ड महासंघले पनि ३ दिन अथवा धेरैमा ५ दिन किरिया बसे पुग्ने प्रस्ताव गरे पनि अहिलेसम्म यो क्रम सुरु हुनसकेको छैन । बाँचुन्जेलसम्म आफ्ना आमाबुबाका लागि १३ दिन सँगै बसेर माया गर्न समय नभएका लागि मरेपछिको १३ दिनको कुनै औचित्य हुँदैन । त्यसैले कसैलाई माया र स्नेह दिने हो भने बाँचुन्जेल नै दिउँ । बाँचुन्जेल गर्न नसकेको कर्तव्यलाई मरेपछि पूरा गर्ने संस्कारलाई त्याग्नैपर्छ  ।
कसैको निधनमा उसका परिवारका सदस्यको भावना संवेदनशील हुन्छ । त्यस्तो अवस्थामा उनीहरू समाज वा छिमेकीको डरले अन्धविश्वास पछ्याउन विवश हुन्छन् । त्यसैले समाजमा आधुनिक सोचाइ राख्ने हरेकजसो व्यक्ति काजकिरियाको यो अवधि छोट्याउनुपर्छ र यसलाई वैज्ञानिक बनाउनुपर्छ भन्ने पक्षमा हुँदाहुँदै पनि परिवर्तनको कदम उठाउने आँट गर्न सक्दैनन् । अहिले प्रचण्डले आँट गरेका छन् । यसको स्वागत गर्नुपर्छ ।
हामीले धर्म र संस्कृतिसँग सम्बद्ध दसैं-तिहारजस्ता पर्वमा दिने विदा छोटो पार्दै लगेका छौं । यस परिवेशमा अब काजकिरियाजस्ता संस्कारको अवधि पनि घटाउँदै लैजानुपर्छ । यसको अगुवाइ सरकारले नै गर्न सक्छ । किनकि निजामती, प्रहरी, सेना, शिक्षक लगायतका क्षेत्रमा किरिया विदा दिँदा १३ दिन दिने गरेको छ भने अब त्यसलाई ३ दिनमा झार्नुपर्छ । यसपछि समाजले आफैं यसको अनुशरण गर्न थाल्छ । यस्ता कुसंस्कारलाई सच्याएर समयसापेक्ष बनाउने कामको अगुवाइ गर्न सरकार अघि सर्ने बेला आयो ।
काजकिरिया गर्ने काम भनेको मृतकप्रति श्रद्धाञ्जली दिने कार्यक्रममात्रै हो । त्यस अवसरमा आफन्त र मित्रहरू बोलाएर क्षमताअनुसार मृतकको सम्मानमा फूलगुच्छा चढाएर श्रद्धा गर्न सकिन्छ । त्यसपछि वाषिर्क रूपमा उनको सम्झनामा श्रद्धासुमन चढाउन सकिन्छ, सहिद दिवस मनाएझैं । यसो भएमा मरेर जानेप्रति श्रद्धाञ्जली अर्पण गर्न पनि सकिन्छ र नचाहिँदा सामाजिक कुसंस्कार बोकेर हिँडिरहनु पनि पर्दैन । कथित समाज र छिमेकीका डरले यस्तो कुसंस्कार बोकेर हिँडिरहने हो भने सामाजिक परिवर्तन सम्भव हुनसक्दैन ।
- निर्मला शर्मा
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :