ठग बाबाहरु रंगेहात समातिए

धर्म र चमत्कारका नाममा नेपाली समाजमा ठगहरुको बिगबिगी छ । तन्त्रमन्त्र तथा चमत्कारको झुठो कहानी सुनाएर मानिसलाई ठग्दै हिड्ने व्यक्तिहरु खुलेआम घुमिरहेका छन् । अधिकांश भारतीय यस्ता ठगहरुले दिनहुँ सयौं नेपालीलाई ठगिरहेका छन् । न त प्रशासनले यस्ता व्यक्तिलाई कारवाही गर्न सकेको छ, न त सर्वसाधारणहरुले नै सजगता अपनाउन सकेका छन् । तर पछिल्ला केही दिनमा राजधानी काठमाडौ र सुनसरीको धरानमा यस्ता तीन जना ठगहरु पक्राउ परेका छन् । चामत्कारिक बुटी, औषधी भन्दै सर्वसाधारणलाई ठग्दै हिड्ने बाबा र गुरुहरु पक्राउ परेसँगै मानिसहरु सजग समेत हुन थालेका छन् ।
विभिन्न बुटी तथा औषधीहरुको साथमा दुई भारतीय ठगलाई प्रहरीले बुधबार सुनसरीको धरानस्थित पुरानोबजारबाट पक्राउ गरेको छ । भविष्य हेर्ने र समस्या समाधान गर्ने भन्दै विभिन्न औषधी बेच्ने भारतको उत्तर प्रदेश घर भएका मिलन साह र सलिम सालाई स्थानियको सुचनाको आधारमा पक्राउ गरेको धरानका प्रहरी नायव उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
मुस्लिमको भेषमा आएका उनीहरुले विभिन्न धर्मका देवताहरुको मूर्ति तथा बुटीहरु बोकेर धरानमा विगत केही हप्तायता व्यापारी तथा सर्वसाधारणलाई ठग्दै हिडेका थिए । प्रत्येक व्यक्तिलाई उसको ग्रहदशा तथा समस्या समाधान हुने चामत्कारिक बुटी तथा औषधी दिने भन्दै चलनचल्तीकै विभिन्न औषधीहरु बेच्ने गरेका थिए । प्रत्येक व्यक्तिबाट दुई सयदेखि बीस हजारसम्म पनि ठग्ने गरेको स्थानियले बताएका छन् ।
उनीहरुको साथबाट विभिन्न बुटीहरु तथा नगद १२ हजार ४५ रुपैया अन्य कागजपत्र समेत फेला परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र विष्टले बताए ।
यसैबीच आफ्नो धर्मको नाममा ठगी गरेको भन्दै अन्जु मन स्लामियाले उनीहरुमाथि आवश्यक कारबाहीको माग गर्दै इलाका प्रहरी धरानमा जाहेरी समेत दिएकी छिन् । आफ्नो समुदायको भेषमा ठगी गर्दै हिड्नेको विषयमा अनुसन्धान गरी कारवाही गर्न उनको माग छ ।
यता राजधानी काठमाडौंमा पनि बुधबार नै एक व्यक्ति समातिएका छन् । नक्कली बाबा बनेर ठगी गर्ने सुनसरीका शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनले विगत ६ वर्षदेखि यस्तै ठगीधन्दा गर्दै आएकाछन् । सयौं नागरिकहरुलाई ठगी गरिसकेका उनी बुधवार भने प्रहरीको फन्दामा परे । यी व्यक्तिले धार्मिक गतिविधि तथा तान्त्रिक शक्तिको आधारमा थुप्रै मानिसलाई सरकारी जागिरेहरुलाई पदोन्नति गराइदिने जस्ता आश्वासनमा धेरैले यी योञ्जनलाई पैसा दिएका रहेछन् । अरु त अरु, बाबा शिशिर योञ्जनका पुजारी बनेका  जीवन आलेमगर आफै पनि ठगिएछन् । उनी अहिले घरको न घाटको जस्तो बनेका छन
 । तर, बाबा योञ्जन भने आफू निर्दोष रहेको प्रतिकृया दिन्छन् । नक्कली बाबालाई थप अनुसन्धानको लागि प्रहरीले हनुमानढोका पठाएको छ ।
देशभर नै यस्ता अनेकन बाबा, गुरु, माताहरुको ठगी चलिरहँदा पनि प्रशासन उदासिन देखिएको छ । केही समय अघि मात्र सुनसरीमा पनि एकमुखे रुद्राक्ष भन्दै पैसा नै नपर्ने रुद्राक्षका दाना बेचेर केही व्यक्तिहरुले गठी गरेका थिए । चामत्कारिक बुटी तथा औषधी दिने भन्दै विभिन्न व्यक्तिहरु ठगी गर्दै हिडेका छन् । यसरी ठग्ने काममा भारतीयहरुको बाहुल्यता रहेको छ । स्थानिय प्रशासनले यस्ता ठगलाई पक्राउ गरी कारवाही गर्नुपर्छ भने सर्वसाधारण पनि सचेत हुनुपर्ने अवस्था छ । एउटा बुटीले करोडपती बनाउँछ भन्नेहरु आखिरमा आफै फुटपाथमा हिडिरहेका छन् । आफै त दुनियालाई ठग्दै हिड्नेहरुले अरुलाई एउटा बुटीको भरमा करोडपती बनाउन सक्लान् ? चमत्कारको पछि लागेर खल्ती रित्याउनुभन्दा आफ्नो परिश्रममा भर पर्नु उचित होला । purwanews, with the help of Shantosh Kafle, Dharan /kartik3/


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :