अविभावकले ताला लाइदिएपछि विद्यार्थीले पढ्न पाएनन्
विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ । तर शिक्षाको यो क्षेत्रमा हुने स्वार्थको राजनीतिले सयौं बालबालिकाको शिक्षा र भविष्यलाई नै अन्धकारमा धकेल्न सक्छ । जसको पछिल्लो उदाहरण बनेको छ, सुनसरीको दक्षिणवर्ती क्षेत्र राजगञ्ज सिनुवारी ६ मा पर्ने फोचोदास निमावि ।
विद्यालयमा शिक्षक नियुक्तीको विवाद चर्कँदै जाँदा यो विद्यालयमा ताला लाग्यो । आफ्नो पक्षमा शिक्षक नपाएको विरोधमा उत्रेका केही व्यक्तिहरुले विद्यालयमा गत जेठ ८ गते ताला लगाए । ताला खोल्न कुनै पक्षले पहल नगर्दा विद्यालय आजका दिनसम्म पनि बन्द छ । विद्यालयमा अध्ययनरत् तीन सय ५० जना बालबालिकाहरु विद्यालय बन्द भएपछि घण्टौं हिडेर छिमेकी गाविसका विद्यालय जान बाध्य छन् । लामो बाटो हिड्न नसक्नेहरु पढाइ छाडेर विद्यालय खुल्ने दिन पर्खिरहेका छन् ।
हालको व्यवस्थापन समिति हुन्जेल ताला खोल्दै नखोल्ने असन्तुष्ट पक्षले अडान लिएको छ । मंसिर ८ गते हालको समितिको म्याद सकिएपछि ९ गते मात्र ताला खोल्ने विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका विद्यानन्द मेहताले बताए । विद्यालयमा व्यापक अनियमितता भएकोले ताला लगाएको उनले बताए ।ताला लगाएको दुई दिनपछि विद्यालय व्यवस्थापन समितिको पक्षले ताला खोल्यो । तर सोही क्रममा दुई पक्षिय झडप भयो र एक दर्जन बढी घाइते भए । त्यसयता विद्यालय खोल्ने आँट कसैले गर्न सकेको छैन । अनावश्यक माग राखेर बलका भरमा आफ्नो मान्छे नियुक्ती गर्न दिइएको दबाब विद्यालयले नमानेपछि केही व्यक्तिले व्यक्तिगत स्वार्थका कारण ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरीले बताए ।
विद्यालयलाई आफ्नो स्वार्थका लागि बन्द नै गराएर आन्दोलन नगर्न स्थानिय समाजसेवीहरु आग्रह गर्छन् । विद्यालय जस्तो महत्वपूर्ण क्षेत्रमा स्वार्थको राजनीतिका कारण हस्तक्षेप गर्नु र सयौं विद्यार्थीको भविष्यलाई अन्धकारमय बनाउनु जघन्य अपराध हो । विद्यार्थीको शिक्षा र भविष्यमाथि भइरहेको खेलबाडलाई जिल्ला शिक्षा कार्यालयले नियन्त्रण गर्न जरुरी छ । purwanews, kartik 1
प्रतिक्रिया दिनुहोस् >>