नेपाली साहित्यकारहरु बनारस जाने

तत्कालीन बनारसमा बसेर नेपाली भाषा साहित्यको सेवामा जीवन बिताएका काशीबहादुर श्रेष्ठको सम्झनामा नयाँदिल्ली स्थित साहित्य अकादमीले यहाँ जन्म शतवार्षिकी समारोह आयोजना गरेको छ।
आफ्ना कथा र उपन्यासबाट पनि उत्तिकै चिनिएका दिवंगत श्रेष्ठ यहीँबाट लामो समयदेखि प्रकाशन हुँदै आएको साहित्यिक पत्रिका 'उदय' का कारण नेपाली साहित्यकारमाझ अझ बढी आदरणीय छन्।
१९९३ सालमा प्रकाशन सुरु भएको र अहिले पनि उनका सन्तानले यहीँबाट निरन्तरता दिइरहेको 'उदय' थुप्रै नेपाली साहित्यकार र साहित्यिक अभियानको जन्म गराउने पत्रिकाका रूपमा चिनिन्छ। त्यसैले आजभन्दा ६८ वर्षअघि आफ्नो कविता 'पुतली' प्रकाशित गरिदिएर साहित्यकारका रूपमा जन्म गराइदिएको बताउने कमलमणि दीक्षितदेखि लिएर २०१३ सालताका यहीँबाट 'झर्रोवाद' आन्दोलन थाल्न सघाउ पुर्‍याएको सम्झना बोकेर आएका तारानाथ शर्मासम्म यतिबेला वाराणसीमा जम्मा भएका छन्।
गोलघरस्थित स्थानीय प्रेस क्लब भवनमा शुक्रबार समारोहको उद्घाटन गरिएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले प्रवासबाट नेपाली जातीय साहित्यिक वृत्तको विकास र उत्थानका निम्ति 'उदय'ले खेलेको भूमिका सदैव स्मरणीय रहने बताए।
'२०१३ सालमा मेरो पहिलो कृति त्यसैमा छापिएको क्षण अहिले पनि सम्झन्छु,' काइँलाले भने, 'पत्रिकामा कृति पढेपछि केही दिन त निद्रा पनि लागेको थिएन।'
शास्त्रदेखि लिएर सभ्यता र संस्कृतिसम्मको उत्पत्ति विन्दु काशीको प्रभावलाई नेपाली भाषामा मिसाएर बिस्तार गरिदिने काशीबहादुरको जन्म शताब्दी समारोहको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा पनि गर्ने भएको घोषणासमेत कुलपति काइँलाले समारोहमा गरे।
बनारस हिन्दु विश्वविद्यालयमा नेपाली अध्ययन केन्द्रकी निर्देशिका अञ्जुशरण उपाध्यायले अध्यात्म, साहित्य र राजनीतिक जीवनकै यो केन्द्रमा आएर आफूलाई समर्पित गर्ने काशीबहादुर जस्ताकै उर्जाले दक्षिण एसियाको यो सम्पूर्ण भेग सुवासित भएको उल्लेख गरिन्।
'यस्ता हस्तीले थातथलो छाडेर आएका होइनन्,' उनको भनाइ थियो, 'बरु ती सबैले काशीबहादुर जस्तै आफ्नो देश र समाज बोकेर यहाँ ल्याए र स्वयं भारतीय संस्कृतिलाई पनि अझ सम्पन्न बनाइदिए।'
कार्यक्रममा आसाम, सिक्किम, मेघालय र दाजिर्लिङका साहित्यकर्मीको पनि उल्लेख्य उपस्थिति छ। तिनै मध्येबाट दार्जिलिङस्थित नेपाली परामर्श मण्डलका संयोजक जीवन नामदुंगले उद्घाटन समारोहमा बोल्दै नेपाल मात्र नभई प्रवासमा समेत नेपाली भाषालाई बलियो बनाउन 'उदय'ले भूमिका खेलेको सुनाए।
आयोजक साहित्य अकादमीका प्रतिनिधि जे पोन्नुदुरैले नेपाली भाषाका क्षेत्रमा अकादमीले थप कार्यक्रम ल्याउने जानकारी गराएका थिए।
राजनीतिक चिन्तक प्रदिप गिरिले संविधानको अन्यौलताका कारण आफ्नो राजनीतिक जीवनले सार्थकता नपाउँला भनेर चिन्ता लिइरहेको बेला काशीबहादुरको सहयोगले बनारसमा पढ्दाकै बेला प्रकाशित गरेको पत्रिका 'रहर' मार्फत् थोरै भए पनि चित्त बुझाउने बाटो भेटेको बताए।
समारोहको सभापतित्व गरेका कमलमणि दीक्षितले उतिबेला प्रकाशित 'पुतली'को एक अंश पढेर सुनाएका थिए।
कार्यक्रममा भाग लिन नेपालबाट अभि सुवेदी, कुमार कोइराला, रुपा जोशी समेत वाराणसीमा छन्।
दुई दिन चल्ने यस आयोजनालाई दस्तावेजका रूपमा समेत तयार पारिने 'उदय'का वर्तमान सम्पादक एवं काशीबहादुरका छोरा दुर्गाप्रसाद श्रेष्ठले बताए। असोज २९, nagariknews


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :